Aug 11, 2012

गीतकार कृष्णकला वनेमसंगको बार्ता

बि.सं.२०३०।०३।१६ हल्दिबारी गा.वि.स.वडा नं. - ८ ,मेची,झापामा जन्मनु भएका गीतकार कृष्णकला वनेम गीत,कविता,कथा तथा गायन बिधामा हाल सक्रिय हुनुहुन्छ ।वहाँले द रेयुकार्इ नेपालव्दारा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगीतमा मा प्रथम – २०५२,द रेयुकार्इ नेपालव्दारा आयोजित राष्ट्रब्यापी लोकगीत प्रतियोगीतमा सान्त्वाना – २०५२,द रेयुकार्इ नेपालव्दारा आयोजित क्षेत्रिय लोकगीत प्रतियोगी इटहरीमा  सान्त्वाना – २०५३ सम्मका पुरस्कारहरु हाँसील गरी सक्नु भएको छ । साथै नारीको पाश्चताप - एकांगी नाटक - २०५४ मा मञ्चित, उनको सम्झनामा - गीति नाटक – २०५३ प्रकाशोन्मुख छन् ।विभिन्न वेवपत्रिकाहरुमा दर्जनौ गीत,कविता र कथा प्रकाशित भैसकेका छन् । हालसालै इजरायलको बैदेशिक रोजगारको ब्यस्ततालार्इ चिर्दै विर्सीएका गीतहरु गीतिसंग्रह – २०६८ प्रकाशित गरी सक्नु भएको छ ।उनै प्रतिशाली गीतकार कृष्ण कला वनेमसंग मैले लिम्बुवान ब्लग र फेसबुकको लागि टंक सम्वाहाम्फेले कुराकानी गरेको अंश यहाँ प्रस्तुत छ । धन्यवाद ।
१. तपार्इले हालसालै मात्र बिर्सीएका गीतहरु गीति संग्रह प्रकाशनमा ल्याउँनु भएको छ । उमेर अनुसार त धेरै पछि मात्र प्रकाशनमा ल्याउनु भयो नि कारण के होला ? कि धेरै पछि मात्र लेखन सुरु गर्नु भएको हो ? यसरी कृति अलिपछि मात्र निस्कनु के ब्यावहारीक कारण नै हो त ? साथै आफ्नो लेखन र कृति बारे के भन्नु हुन्छ ?
मेरो गीती संग्रह प्रकाशन ढिलो हुनुको कारण लेखन यात्रा नै ढिलो भएर हो।लेखन यात्रा ढिलो हुनुको कारण सबै पारीवारिक र ब्यावहारको ब्यस्तताले गर्दा हो।गीती लेखनमा भने मेरो सानै देखीको चाख भने पक्कै थियो।तर मेरो त्यस्तै परीबन्ध थियो कि चाहेर पनि मैले त्यो बेला समय मिलाउँन सकिन।आज म रोजगारको अवशरमा ईज्रायल आई पुग्दा मेरो एक्लो पनको साथी नै साहित्य बन्यो।मेरा ती लेख्ने चाहनाहरु मनमा जिवीतै थियो। त्यसैले होला दुई दशक पछी पनि मेरो गीत लेख्ने मनोलिप्सा अंकुरिन थाल्यो।त्यसलाई आत्मसाथ गर्दै गए।मैले लेख्न सुरुवात गरेको दुई बर्ष नपुग्दै बिर्सिएका गीतहरु गीती संग्रहको जन्म भयो।यिनै बिबिध समस्याहरुले यो संग्रह आउँन ढिलो भएको हो।  आज मेरो अडतिसौ बर्षको उमेरमा यो मेरो पहिलो कृती सबै सामु सार्बजानिक गरेकीछु।म आफु त  गीती लेखन प्रती अहिले नै सन्तुष्ट त भएकी छुईन।सिकी रहेकोछु तर कुनै दिन सन्तुष्टी हुनेछु भन्ने अपेक्षा लिएकीछु। गीतमा आफ्नो जिन्दगीका हरेक अनुभुतीहरु समेटेर लेख्ने प्रयास गरेकीछु।गीत, गीत जस्तो नहुन सक्छ |त्यती अनुभव बटुली सकेकी छुईन।जानेर लेखे या नजानेर लेखे होला। यो मेरो पहिलो प्रयासको कृती आज तपाईहरुको हात सम्म पुर्याएकीछु। यस्मा धेरै असुद्द, भुल, तृटीहरु हुन सक्छ।गीतमा हुनु पर्ने पुर्ण भावहरुको अभाव कमी कम्जोरी हुन सक्छ। त्यसमा आदणिय अग्रज स्रष्टा सर्जक तथा साहित्य अनुरागी पाठकज्युहरुसंग सल्लाह सुझावको अपेक्षा गर्दछु ।   

२.बिर्सीएका गीतहरु गीति संग्रहमा खास गरेर कस्ता प्रकारका गीतहरु समेट्नु भएको छ ? गीत बढी कस्ता प्रकारका लेख्न रुचाउँनु हुन्छ साथै गीतलार्इ कसरी प्रस्तुत गर्न चाहनु हुन्छ ? गीत लेखी सकेपछि कस्तो अनुभूति प्राप्त हुन्छ ?
यो गीती संग्रहमा बिषेश गरेर प्रेम बिछोड, बियोग, देश भक्त, गाउँबेशी समेटिएका गीतहरुछन।वास्तबमा मलाई प्रेमिल गीतहरु लेख्न मन पर्छ।तर यो संग्रहमा भने बढी भन्दा बढी बिछोड र बियोगका गीतहरु समेटिएकाछन। सायद म आफु नै बिदेशमा रहेको हुनाले बिछोडको पिडामा तड्पिएर यस प्रकारको भावनामा बडी डुबेर लेखे होला जस्तो लाग्छ।मेरो सबै गीतहरु एकदमै सरल सब्दमाछन।मलाई लाग्छ बालक देखी बृद सम्मले त्यो गीत सुन्ने बितीकै उस्को अन्तर मन छुवोस र सजिलै बुझोस। र गीतलाई सहज ढंगले नै प्रस्तुत गर्न रुचाउँछु।जब म गीत लेखी सक्छु तव मलाई एक प्रकारको आनन्द महशुस हुन्छ।मन भित्र गुम्सिएर रहेका, मौखिक ओकाल्न नसकेका ती सब्द भावनाहरु गीत मार्फत सबै सामु पुर्याउन पाउँदा आफुले बोकेको निक्कै गर्हौ बोझ बिसाए झै लाग्छ र हर्षित हुन्छु।

३.इजरायल बसेर पनि साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । ब्यस्तताको बाबजूद पनि लेख्नु हुन्छ समय मिलि रहेको छ त ? गीत लेखन संगसंगै अरु बिधामा पनि कलम चलाउँनु भएको छ कुनले बढी सन्तुष्टि दिए जस्तो लाग्छ ? खास गरेर साहित्य किन र कस्को लागि लेख्नु हुन्छ ? 
म अनेसास ईज्रायल च्याप्टरमा आवद्दछु। म संग समय नभएको कारणले गर्दा अन्य संघ संस्थालाई समय दिन सकेको छुईन।  लेख्ने समय भनेको ड्युटी गर्दै अलि अलि बाँचेखुचेको समयलाई सदुपयोग गरेर लेख्ने र पढ्ने गर्छु। मैले कलम त धेरै बिषयमा चलाए तर पनि मेरो चाख लाग्दो बिधा भनेको गीत र कथा लेखन हो।अब आउँने मेरो दोस्रो कृती कथा संग्रह रहनेछ। मलाई गीतमा आफ्नो संस्कृती, भेषभुसा, मौलिकता, माया, बिछोड, बियोग अनि देश प्रेम यि बिभिन्न प्रकारका गीतमा आफ्नो मनको बह गीतमा पोख्न पाउँदा ज्यादै सन्तुष्टी पाउँछु। साथै कथामा रुढीबादी, कुरिती, हत्या, हिंसा, जात पात, धर्म, अत्यचार र कुसंस्कारको अन्त्य गराउँने बिचार, दर्शन, र चिन्तन समेटेर समाजमा केही परिबर्तन र सेवा पुग्ने खालका कथा लेख्दा स्वर्ग झै आनन्दभुती गर्छु। त्यसैले साहित्य लेखनको मेरो मुल उदेश्य नै सामाजिक सेवा हो।  देशको र बिश्वको सेवा हो।

४.साहित्य आफ्नै जीवन,परीवार,समाज,देश र बिश्वसंग जोडीएको पाउँनु हुन्छ हुन्न ? र साहित्यले तपार्इलार्इ के दिए जस्तो र पाए जस्तो लाग्छ ? र अहिले बिश्वभरी लेखिने नेपाली साहित्यलार्इ कसरी मुल्याङकन गर्नु हुन्छ ?
अवश्य साहित्य आफ्नो जीवन, परीवार, समाज, देश अनि बिश्व संग जोडिएको हुन्छ।साहित्यमा आफ्नो जीवन, परिवार, समाज, देश अनि बिश्वको बिचार, दर्शन चिन्तन नै उलङ्घन गर्न  सकिएन भने त्यो साहित्य को कुनै अर्थ हुदैन ।साहित्य हाम्रो एउटा नभै नहुने अंग जस्तै हो।सबै मानिसको जीवन संग साहित्य जोडिएको हुन्छ। साहित्य बिना हामी संधै अधुरो हुन्छौ। आज मलाई साहित्यले धेरै कुरा दिएकोछ। सबै भन्दा ठुलो मैले आफ्नो  स्थान पाएकोछु।ईज्वत, सम्मान र दुनियाँले मलाई हेर्ने शुन्दर दृष्टी पाएकोछु। र मैले पनि मेरो लेख रचना सृजना मार्फत साहित्यलाई केही योगदान पुर्याए जस्तो लाग्छ। अहिले आएर बिश्वभरी नेपाली साहित्यको प्रभाव उम्दोछ।एकसे एक नेपाली डायस्पोरा सृजनाहरु जन्मी रहेकाछन।हामी नेपाली जहाँ रहेर साहित्य कोरे पनि हाम्रो परीवार ,समाज, देश र बिश्वकोलागी कोर्ने गर्छौ।त्यसैले नेपाली बिश्वसाहित्य धेरै भन्दा धेरै  उर्बर हुदै गै रहेछ।

५.तपार्इ गीत लेखनसंगै गायनमा पनि आवद्ध हुनुहुन्छ ? गीत लेख्नु र गाउँनुमा के कति फरक पाउँनु हुन्छ ? लेख्न सजिलो की गाउँन सजिलो ? कहिलेसम्म गीत लेख्ने र गाउँने बिचार लिनु भएको छ ? नयाँ गीतकार र गायक बन्न चाहनेलार्इ कस्तो सुझाव दिनुहुन्छ त ?
वास्तबमा म साहित्यप्रती आकर्शित हुनुको कारण नै गायनबाट हो।जुन बेला म गीत गाउन मन भरी चाहना बोकेर भौतारिन्थे त्यो बेला मैले गायन क्षेत्रलाई आत्मसात गरेर अंगाल्न सकिन।त्यही आक्रोसले होला सायद आज म लेखन यात्रामा लागे। मलाई गीत गाउँने रहरले नझक्झक्याएको भए म यो क्षेत्रमा पक्कै आज लिप्त हुने थिईन।जब मेरो गाउँने सपनाहरु अधुरा रहे त्यस पछी गीत लेख्न थाले।गायन क्षेत्रमा पनि सन्यास त लिएकी छुईन प्रयासरत नै छु।मलाई यो दुबै पक्ष सजिलो चाही लागेन।गीत लेख्न र गाउँन दुबै सार्हो बिषय लाग्यो।तर पनि  मलाई यही बिषयमा नै बढी चाखछ।यस्लाई म जब सम्म समय र परिस्थीतीले साथ दिन्छ तब सम्म यो दुबै पक्षमा संघर्ष गरी रहनेछु। र एक दिन सबैको सामु आफुलाई चिनाउँने ढृडता समेत लिएकीछु |साथै नयाँ गीतकार अनि गायक बन्न चाहने ब्याक्तीहरुलाई म के भन्न चाहन्छु भने सबै भन्दा ठुलो प्रयास र संघर्ष हो। संघर्षले नै मानिसलाई लक्ष्यमा पुर्याउँछ। हर क्षेत्रमा जित गराउँछ।
अन्त्यमा प्रश्न कर्ता नेपाली साहित्य प्रतिष्ठान हंगकंग अध्यक्ष टंक सम्बाहाम्फे ज्यु र लिम्बुवान ब्लगस्पोट  डट कम साथै सम्पुर्ण साहित्य स्रष्टा, साहित्य अनुरागी पाठक ज्युहरुमा म आभार   प्रकट गर्दछु , धन्यवाद  |

Aug 9, 2012

साहित्यकार मुकेश रार्इ संगको बार्ता

बि.सं.२०२५ चैत्र ८ गते मेची अञ्चल इलाम जिल्ला अन्तर्गत पशुपतिनगर ४ मा जस बहादुरार्इ र रत्न कला रार्इको कोखबाट जन्मनु भएका प्रखर कवि तथा गीतकार मुकेश रार्इ हाल बेलायत बसोबास गर्नुहुन्छ । हालसालै अनुभूतिका रंगहरु कविता संग्रह प्रकाशन गरेर चर्चामा हुनुहुन्छ । फूटकर कविताहरु छाप्दाछाप्दै अलि ब्यस्तताका कारण अलि ढीलो मात्र कविता संग्रह पाठकहरुको सामु ल्याएका छन्। नेपाली प्रतिभा प्रतिष्ठान बेलायत,इलाम सोसाइटी बेलायतमा आवद्ध हुनुहुन्छ । यस पुस्तक पाश्चात नयाँ गीती एल्वमको तयारीमा जुट्नु भएको छ । पक्कै पनि केहि समयपछि नयाँ र हिट गीतहरु पस्केर हामीलार्इ मनोरञ्जन गराउँनु हुनेछ भन्ने कुरामा आशावादी छौ। उनै प्रतिभाका धनी कवि तथा गीतकार मुकेश रार्इसंग गरेको कुराकानी यहाँहरु समक्ष प्रस्तुत छ । धन्यवाद ।
१.तपार्इले हालसालै मात्र अनुभूतिको रङगहरु कविता संग्रह प्रकाशनमा ल्याउँनु भयो नि उमेर हेरेर त धेरै पछि मात्र प्रकाशन भयो ? कि धेरै अनुभूतिहरु संगालेर मात्र निकाल्नु भएको हो ? उमेरलार्इ हेर्दा त अलि धेरै कृतिहरु निस्कनु पर्ने हो यसमा केहि कारणहरु छन् ?
हो कृति निस्कन केही ढिलो भएको हो ! यसमा पहिले कारण त मेरो आफ्नै कार्य ब्यस्तता र कार्य स्थानान्तर भईरहनु पर्ने अवस्थाले गर्दा नै हो ! तर पनि फुटकर रुपमा विभिन्न पत्र पत्रीकाहरुमा आईरहेकै थियो ! उमेरको परिपक्वता सगैँ अनुभव थुप्रै नै सगाँलियो पातलै रुपमा भए पनि रचनाहरु गर्दै रहेँ प्रथम कृतिको रुपमा कवितासङ्रह अनुभूतिका रङहरु आयो तथापी मैले लेखन तर्फ सिक्ने क्रम जारी छ ! यस् अर्थमा मैले सिक्नु र गर्नु पर्ने धेरै नै छ !
२.अनुभूतिका रङगहरु कविता संग्रहमा खास गरेर कस्ता प्रकारका कविताहरु समेट्नु भएको छ ? कवितामा बढी कस्ता बिम्बहरु बढी प्रयोग गर्नु हुन्छ साथै कवितालार्इ कसरी परीभाषीत गर्न रुचाउँनु हुन्छ ? कविता लेखी सकेपछि कस्तो अनुभूति प्राप्त हुन्छ ?
अनुभूतिका रङहरुमा जीवन भोगाईका क्रममा देखिएका, भेटिएका अनेकानेक विविध कुरोहरु लगायत केही नोष्टाल्जिक, परदेशिनुको पिडानुभूतिहरु बहुआयामिक रुपमा समेट्ने प्रयास गरेकोछु !
प्राय : जसो म आफ्नो रचनाहरु सिर्जना गर्दा सकभर ज्यादै नै सरल अनि सहज शब्द, बिम्ब र प्रतिकहरुलाई प्राथमिकता दिने गर्दछु ! क्लिष्ट बिम्बहरुको प्रयोगले कविता दुर्बोध्य हुन जान्छ यसैले सर्जक, कविता र पाठक बिचको नाता जोडनको निम्ती सहज हुन आवश्यक छ भन्ने मेरो सोच रहेको छ ! भावना जब प्रफुस्टन हुन्छ ति कुनै न कुनै साहित्यका बिधाको रुप लिन्छ, जस्तो रुपमा प्रस्तुत भए पनि ति सार्वजनिक भएपछि सबैले बुझ्न सकोस भन्ने मेरो मान्यता रहेको छ् !
साहित्य सिर्जना कै एउटा विशिष्ट अनि सशक्त बिधा हो कविता ! यसको परिभाषा हरेक विद्वानहरुले आफ्-आफ्नै तरिकाले व्याख्या गरेका छन ! मेरो विचारमा कुनै ब्यक्ति बिशेषले कुनै पनि कुरोलाई आफ्नो कल्पना शक्तिले कलात्मक शैलीमा काब्यीक सिर्जना गर्छन् भने त्यो कविता हो ! मैले लेख्ने कविताहरु संरचनागत रुपमा प्राय अन्य कविहरुले लेख्ने जस्तै लघु या छोटो कविताहरु हुन्छन, लेखन पक्ष चाँही म स्वच्छन्द रुपमा अर्थात कुनै वादमा केन्द्रित नरहेर प्रगतिशिल धारका कविताहरु लेख्न रुचाउँछु !
३.बेलायतमा रहेर पनि बिभिन्न साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । ब्यस्तताको बाबजूद पनि साहित्य लेख्न तम्सिनु हुन्छ । खास गरेर साहित्य लेख्नुको औचित्य के हो ? किन र कस्को लागि लेख्नु हुन्छ ? संघसंस्थामा रहेर कतिको नेपाली समाजलार्इ योगदान पुर्याए जस्तो लाग्छ ?
ब्यस्तताको वावजुद पनि म लेखन र पठन मेरो दैनिकीमा पर्ने एउटा महत्वपूर्ण कार्य हो ! मान्छेमा समयसगैँ परिपक्वता आउँछ अनि उमेरको उचाईँसगैँ सिकाईका क्रम पनि बढ्दै जान्छ ! कति कामले काम सिकाउँछ भने झैं आफ्नो अनुभवले सिकिन्छ भने कति अध्ययन गरेर सिक्न सकिन्छ ! साहित्य सिर्जना गर्नु र संस्थाहरुमा आबद्ध भएर काम गर्नु नितान्तै फरक कुरो हो जस्तो लाग्छ मलाई ! साहित्य लेखिनु भनेको रहर र सस्तो मनोरन्जन मात्रै होईन आफ्नो अनुभवले जानेको ज्ञान र सिप अरुसगँ शेयर गर्नु पनि हो अर्थात लिने दिने प्रकृया पनि हो जस्तो मलाई लाग्छ !
केही संघसस्थाँमा आबद्ध रहेको छु तर आफुले दिनु पर्ने योगदान भन्नाले ब्यक्तिगत रुपमा गरिने सिर्जनाका कार्य एउटा बिषय हो भने सस्थाँगत भनेको सामुहिक रुपमा एक्यबद्ध भएर सस्थाँको विधिवत नियम र लक्ष्य पहिल्याएर गरिने कुरा हुन ! म आबद्ध रहेको साहित्यीक् सस्थाँ भनेको नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ब्रुनाइ अनि अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टर हुन ! जसले कुनै पनि विधाका नव प्रतिभा र उदियमान प्रतिभाहरुलाई उत्साहित गर्ने र उनीहरुको प्रतिभालाई बहिर ल्याउन सघाउ पुर्याउने अनि सम्पूर्ण साहित्यीक विचारका ब्यक्तित्वहरुलाई एकीकृत भएर कार्य गर्न मदत् पुर्याउंछ भने केही अन्य सस्थाहरु जस्तो ईलाम समाज बेलायतमा आबद्ध छु जसले आसक्त, असहाय अनि भवितब्य परेकाहरुलाई सकेसम्म च्यारिटबल कार्य गरेर आर्थिक सहयोग गर्ने कोशीश गर्छ !
आफ्नो क्षेत्रबाट निश्छल भावनाले सहयोग गर्ने हो यसमा यति नै योगदान पुर्याएँ भन्ने सोच मेरोमा कुनै छैन, यति हो कसैलाई मैले गरेको सहयोगले अलिकती मात्रै पनि राहत पुग्छ भने मलाई आत्म-सन्तुष्ट महसुस हुन्छ !
४.साहित्य र आफ्नै परीवार जोडीएको पाउँनु हुन्छ हुन्न ? र साहित्यले के दिए जस्तो र पाए जस्तो लाग्छ ? साथै डायस्पोरा नेपाली साहित्यलार्इ कसरी मुल्याङक गर्नु हुन्छ ?
>साहित्य समाजको दर्पण हो भने परिवार जीवन र समाजको निम्ती अति नै महत्वपूर्ण छ ! यसकारणले साहित्य र परिवार अर्थात जीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको छ ! यसैले म आफ्नो जीवन, परिवार र समाज नै भनौं साहित्यसगँ अति नै नजिक रहेको पाउँछु ! साहित्यले स्वच्छ मनोरन्जन दिन्छ, त्यसपछि अझै गहिरिए चेतना, भाव विचार र अनेक खाले सन्देश पाउन र बुझ्न् सकिन्छ ! अहिले डायस्पोराबाट जन्मिएका नेपाली साहित्य लेखन एउटा कुनै बिन्दुसम्म मात्रै सिमित छैन ! संख्यात्मक अनि गुणात्मक दुवै सशक्त रुपमा आईरहेको अवस्था छ र यसको बिकासक्रम जारी छ !
५.बिदेशमा बसेर नेपाली साहित्य लेखिएको नेपालमा कतिको मुल्याङकन भएको पाउँनु भएको छ ? बिदेशमा नेपाली साहित्यको सेवा गरेर प्राज्ञ हुन पाउँने कि नपाउँने यसमा के भन्नु हुन्छ ? समग्रमा अबको नेपाली साहित्यले कसरी अगाडी बढे राम्रो होला ?
यो एकदमै गहन प्रश्न सोध्नु भयो र जटिल बिषय पनि हो ! बिशेषत जहाँ बसेर लेखिए पनि नेपाली भाषा साहित्य प्रतिको लगाव, राष्ट्र प्रतिको प्रेम अनि समर्पण पनि हो ! भनिन्छ भाषा मर्यो भने अस्तित्व पनि लोप हुन्छ ! हामी आफ्नो थात थालो छोडेर बाध्यतावश बिदेशिएका छौं तर आफ्नो कला संस्कृतिसगैँ भाषाको जगेर्ना गर्नु पनि लागिपरेका छौं ! हामी नेपालीहरु विश्वभर जहाँ जहाँ छरिएर रहेका छौं आफ्-आफ्नै तवर तरिका र पहुँचले भ्याएसम्म प्रतक्ष्य रुपमा नै सिर्जनात्मक कामहरु गरिरहेका छौं !
जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ भनिएता पनि कल्पना शक्ति र भावनामा पुगिएला यो सत्य हो तर यथार्थमा हामी जहाँ जहाँ पुगेका छौं त्यस नौलो स्थान र परिवेशको अनुभवहरु सगाँलेका ब्यक्ति बिशेषबाट नेपाली साहित्यको निम्ती केही न केही सिर्जना हुनु भनेको ज्यादै नै राम्रो अनि गहन कुराहरु हुन तर मेरो विचारमा त्यसको सहि मुल्यांकन भने भईरहेको छ जस्तो मलाई लाग्दैन !
अहिले नेपाल बाहिरका केही साहित्यिक सघंसस्थाहरुले देशसगँ जोड्ने जोडतोड्का साथ प्रयत्न गरिरहेका छन साथै देशका केही विशिष्ट ब्यक्तिवहरुले डायस्पोरिक नेपाली साहित्यलाई पनि उत्तिकै मान्यता दिएर यसका मुल्यांकन हुनुपर्छ भन्ने कुरो उठाईरहनु भएका छन, सहयोगका हातहरु बढाईरहनु भएका छन ! जुन ज्यादै नै सकरात्मक् पक्ष हुन !
जहाँ रहे पनि, जहाँ गए पनि कर्मक्षेत्र पो फरक हुन त हाम्रो पहिचान र राष्ट्रियता त नेपाल र नेपाली नै हुन ! यसकारणले कुनै पनि स्थानबाट साहित्यको निम्ती मात्रै होइन कुनै पनि महत्वपूर्ण क्षेत्रबाट राष्ट्रको शिर उच्चोँ पार्ने सुकार्य गरिएको छ भने सबैलाई उत्तिकै सम्मान गरिनु पर्छ ! स्थान र अन्य कुनै कुराहरुको आधारमा असमान ब्यवहार गरिनु हुन्न, कर्मको आधारमा उचित मान सम्मान र हक अधिकार पाउनु पर्दछ ! अन्त्यमा लिम्बुवान ब्लगमा आफ्नो मनका कुराहरु राख्ने मौका दिनु भएकोमा टंक सम्बाहाम्फे ज्यु लगायत ब्लगका सम्पूर्ण टिममा हार्दिक धन्यवाद ! सम्पूर्ण पाठकवर्गमा सेवा, आसेवारो

Aug 5, 2012

अमूर्तबोधी साहित्यकार खगेन्द्र लिम्बु पन्धाकसंगको बार्ता

बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक - ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन - गायनमा निक्कै पहिले देखि नै लागि पर्नु भएको छ । हाल वहाँ बैङककमा बसेर अमूर्तवोधी दर्शन लेखनमा त्यतिक्कै ब्यस्त बन्नु भएको छ । लेखन,गायन र चित्रकारीता दिनचर्यासंग गाँसीएका बिषयवस्तु भएकाछन् साहित्यकार खगेन्द्र लिम्बु पन्धाकको । गेडी लेखनका प्रवर्तक समेत रहनु भएका साहित्यकार खगेन्द्र जीवन र जगतलार्इ अमूर्तरुपमा देख्नु हुन्छ । हालसालै अमूर्तबोधी साहित्यको प्रयोग गरेर एब्स्ट्रयाक्ट बैंकक उपन्यास प्रकाशन गरेर चर्चाको शिखर पुग्नु हुने बहुप्रतिभाशाली ब्यक्तित्वसंग मैले लिम्बुवान ब्लगस्पोट डटकम र फेसबुकको लागि गर्नु भएको कुरानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।

१.बिदेशीभूमिको दिनचर्या,ब्यक्ती,समाजको कथालाई उपन्यास मार्फत ल्याउँनलाई तपाईलाई के कुरा झकझकायो ? साथै अनुसन्धानात्क र खोजमूलक यथार्थ कथा भएकोले कति समय बिताउँनु भयो यो उपन्यासको लागि ?
बैंकक पूर्विय तथा पश्चिमा जीवनको फ्यूजन सहर हो । यो फ्यूजन सहरमा एसिया र संसारभरको सँस्कृति र जीवनलाई पढ्न सकिन्छ । यसर्थ:ले पनि बैंककलाई मेरो अध्ययनको केन्द्रथलो बनाएँ । यहाँको प्रभाव संसारको जुनसुकै कुना तुरुन्त पुग्न सक्ने हुनाले पनि यहाँको कथा लेख्नु त थियो नै । तर यहाँको प्रभाव त एसियामा झन चाँडो पुगि पनि हाल्दछ । यै फ्यूजन सहरमा भर्सटाइल जीवन बाँचेकी एक आदर्श पात्रको भेटले अमूर्तबोधी दर्शनको थप जीवन्त बयान गर्दछ भन्ने निश्चितताले मैले करीब ६ बर्ष उनको जीवन कथा र सम्बन्धित कथा तथा अवस्थाहरुको अध्ययन र अनुसन्धान गरेँ । जसलाई उपन्यासमा लेखेर सबैलाई बुझाउन सहज होस भनेर मैले ‘अब्स्ट्र्याक्ट बैंकक’ लेख्नु पर्यो । 
२.बिदेशी कथा त्यहि माथी नेपाली परीवेश भन्दा फरक त्यसलाई नेपाली स्टायलमा उपन्यास लेख्दा कथाले न्याय पाए जस्तो लाग्छ ? थाइलेण्डको कथा भएकोले त्यहाँका लेखकहरुसंग कुनै अन्तर्क्रिया गर्नु भयो यो एब्स्ट्रयाक्ट बैंकक उपन्यासको बारेमा ? अमूर्तबोधी साहित्य दर्शनको उद्देश्य के हो ? 
कथा अलग, प्लट फरक, जीवन, समाज र भूगोल अन्य वा विषयवस्तु विविध नै भए पनि मान्छेहरूको समवेदना मिल्दछ । भूगोलका जुनसुकै कुना, कुनै पनि दूर पटाङगिनी अर्थात इतिहाँसको जुनसुकै समयमा बाँचेको मान्छे नै होस्, सबैले जीवनमा सुख, खुशी, शान्ति र सम्पन्नता नै चाहेका हुन्छन् । नेपाली समाजको कुनै पनि ब्यक्तिले पनि यै चाहेका हुन्छन् र उपन्यासको नायिकाले पनि यै कुरा चाहेकी छिन् । त्यसैले कथा जहाँको भए पनि फरक पर्दैन । यति हो- सुख, खुशी, शान्ति र सम्पन्नताको प्राप्तिकालागि कुन दर्शन-चिन्तन आवश्यक र उपयुक्त हुन सक्दछ भन्ने अन्तर मात्र हो । मैले भनें-अमूर्तबोधी दर्शन उत्कृष्ठ हो ।भाषा नेपाली र मौलिक शब्द संस्कारले लेख्दैमा पनि यो नेपाली स्टाईल नै हो भन्दिन किन भने आजसम्म आधा दशक बिदेशी परिवेशलाई अध्ययन गरेर कुनै पनि नेपाली उपन्यास लेखिएका मलाई थाहा छैन । पुनश्च: यसमा अझै जीवित पात्र, संसारभरका बेनामे पात्रका सत्यकथालाई दर्शनमा ब्याख्या गरिएको छ । बैंककको बारेमा संसारका धेरै नामी लेखकले पनि उपन्यास लेखेका छन् । जस्तो कि-MURDER AT HORNY TOAD BAR :Dean Barret, PRIVATE DANCE: Stephen Leather, A NAIL THROUGH THE HEART & THE FOURTH WATCHER: Timothy Hallinan, BANGKOK 8: John Burdett, SPIRIT HOUSE: Chriistopher G. Moore आदि । तर यि उपन्यासहरूभन्दा पनि भिन्न तरिकाले ABSTRACT BANGKOK लेखिएको छ । मूख्य लेखन कला र दर्शनकलाले मैले उही परिवेशको उही कथा लेख्दा पनि यो फरक हुन पुग्यो । फरक छ । विश्वका बिभिन्न लेखक र स्थानिय थाई लेखकहरुसँग पनि दर्शनको बारेमा र यस पुस्तकको बारेमा चर्चा गरेकोछु । उनीहरु पोजेटिव प्रतिकृया दिएका छन् । कम्मनली ‘वन्डरफुल’ भनेका छन् ।अमूर्त बोधी दर्शनका बारेमा चाहीँ यो छोटो अन्तर्वार्तामा पूर्ण ब्याख्या गर्न सम्भव नहोला । तर यसलाई छोटकरीमा बताउनेछु । 
क) दर्शन, जीवन र जगतको उन्मुक्ति र उन्नयनप्रति सधैं सकरात्मक चिन्तन र नयाँ-भरपर्दा विकल्पहरुको विश्वासिलो सिद्धान्त हो । 
ख) परिपूरकको सिद्धान्तले जीवन र जगत आफैंमा पूर्ण छ । तर मानव जीवन आजसम्म आइपुग्दा पनि अझै अभावमा गुज्रिएकोछ । तसर्थ: परिपूरकका कारक अमूर्त कुराहरू, आविस्कार, सिर्जना आदिलाई अमूर्तबोधी दर्शनले बोध गरेर ल्याउँदछ । 
ग) १.आजसम्म मान्छेले गरेका जीवन र जगतका असल कुराहरुको सम्वर्धन, बिकास, बढावा र उजागर गर्ने ।२. जो नराम्रा काम गरिएका छन्, तिनलाई सुधार्ने, सुधार्न सम्भव नहुनेलाई पूर्णरुपमा निराकरण गर्ने ।३. जो अझै जीवन-जगतकोलागि पर्याप्त भएको छैन, त्यसलाई पूर्ति गर्ने । 
घ) १.आत्मज्ञान, २. बिज्ञान र ३. प्रकृतिको सम्मानको तादम्यता ।यसलाई कसरी practice र Utilize गर्ने भन्ने बारेमा पनि निकै लामो यसभित्र उपबूँदाहरू छन् । ति उपन्यासमा पनि बूँदागत रुपमा लेखिएका छन् र तपाईले नै लिनु भएको पहिलेको अन्तर्वार्तामा पनि केहि मूख्य बूँदाहरु टिपोट गराईसकेकोछु । यसलाई विस्तृत रुमा अनलाईमा मौखिक ब्याख्या दिनहुँ गरिरहेकोछु । यो Self Practice सँग पनि सम्बन्धित छ ।
३.तपाईले लेख्नु भएको एब्स्ट्रयाक्ट बैंकक उपन्यास डायस्पोरा नेपाली साहित्य क्षेत्रमा धेरै चर्चा छ तर नेपाली साहित्य बजारमा यसको प्रभाव कस्तो पाइरहनु भएको छ त ?
प्रथमत: म डायस्फोरा शब्द र त्यसको अर्थ्याईसँग सहमत छैन । जसले यो शब्दलाई नेपाली साहित्य र कलामा खुब उचालीरहेका छन् । एति भन्छु- ताप्लेजुङ्को रितिथिति, त्यहाँको समाज, भूगोल, रहनसहनबाट फुत्त निस्किएर अलग भूगोलमा रहेको काठमाडौको रितिथिति, समाज,सँस्कार, शासन आदिमा बसेर लेख्दा किन डायस्फोरा भएन ? यसको जवाफ कसैले नदिए पनि यसको बारेमा म कुनैदिन बोल्नेनैछु । तपाईको सङ्केतानुसार अहिले नेपाल बाहिर रहेका नेपाली पाठकले यो उपन्यासलाई अति नै मन पराइदिनु भएकोछ । यो सत्य हो । नेपालमा रहेका पाठकले पनि खोजी-खोजी पढेर मलाई सकरात्मक प्रतिकृया दिइरहनु भएकोछ । कुनै बिज्ञानपन, मेडिया, बिमोचनआदि बिना पनि पाठकले नै यो उपन्यासलाई बहुत चर्चित बनाईदिनु भएकोछ । प्रथम सँस्करण छोटो अवधी मै सकिएको अवस्था छ । 
४.नेपाली उपन्यासहरुको दोस्रो संस्करण धेरै कमले मात्र पाउँने गरेका छन् तर तपाईको एब्स्ट्रयाक्ट बैंकक उपन्यासले दोस्रो संस्करण छिटै पाउँने कुरा सुन्छु के यो सत्य हो ? र दोस्रो संस्करणमा अरु सुधारहरु आउँनेछन् होला नी ? 
कति सँस्करणसम्म नेपाली उपन्यास बिक्छन भन्ने मलाई थाहा छैन र यो मेरो चासोको विषय पनि होइन । असल चिन्तनले असल सिर्जना गर्नुपर्दछ भन्ने पूर्णत: आत्मविश्वासले काम गरेको मात्र हुँ । अन्तत: यसको प्रभाव राम्रो रह्यो । अबको सँस्करणमा जीवित पात्रको थपकथा, नयाँ आवरण, पाठक-समालोचकका बिचार, भाषा शुद्धिकरण तथा प्राविधिक स्तरलाई ध्यान दिएर निस्किनेछ । 
५.एब्स्ट्रयाक्ट बैंकक उपन्यासमा अमूर्तबोधी साहित्य दर्शनलाई प्रयोग गर्नु भएको छ ? के दर्शन नै हाल्दा मात्र उपन्यास सफल हुन्छ र ? दर्शन बारे जान्न,बुझ्नलाई साधारण पाठकलाई गाह्रो हुन्न र ? 
दर्शनबिनाको साहित्य त आत्माबिनाको मान्छे जस्तो हुन्छ । अझ भनौं प्राणबिहिन मान्छे जस्तो । मूर्दालाई मेरो कृति हो भनेर तपाईहरुसामू आउन सक्दिन,सकिन त्यसैले उपन्यासमा दर्शन त पस्ने नै भयो । साहित्यले जीवन-जगतको मङ्गलताको बारे कुनै ज्ञान वा उपयुक्त संदेश र सङ्केत दिँदैन भने त्यो साहित्य केकालागि ? र, अमूर्तबोधी दर्शन नै किन ? भन्ने प्रसङगमा चाहीं यो दर्शन नै जीवन र जगतकोलागि सबैभन्दा उपयुक्त दर्शन हो भन्ने मेरो पूर्ण मान्यता छ । मेरो बाँच्नेकलादेखि मेरो हरेक कार्य-सिर्जना यै दर्शनमा आधारित छन् ।मैले सिर्जना गरेको चित्र होस्, लेखेका कविता होस वा भाषण होस् । सबै अमूर्तबोधी दर्शनमा आधारित छन् ।दर्शनबारे स्पष्ट नहुँदा दर्शन भन्ने बितिक्कै धेरैको पसिना छुट्छ । तर उनीहरू आफैंमा पनि दर्शन छ, त्यो उनीहरुलाई नै थाहा हुन्न । त्यसैले यसरी थाहा नभएका अमूर्त कुराहरुलाई बोध गरेर ल्याउनु पनि अमूर्तबोधी दर्शन हो । माथि नै मैले दर्शनको छोटो परिभाषा भनिसकेकोछु । जीवनमा अनेकतासँग हरेकमा अनेक दर्शन छन् । सबैले जीवनलाई सुखमय, शान्तिमय, सम्पन्न र खुशीमय नै भोग्न चाहन्छन् । तर यसका प्राप्तिकोलागि अनेक जीवन झैं अनेक दर्शन आउँदछन् । ति अनेक दर्शनहरुका राम्रा र उपयुक्त कुराहरूलाई पनि समेटेर यो अमूर्तबोधी दर्शन अघी बढ्दछ ।यसको बारेमा ‘अमूर्तबोधी दर्शन’ को लेखन कुनै दिन हुनेनैछ । यस कुराकानीकालागि साहित्यकार टङ्क सम्बाहाम्फे र लिम्बूवान ब्लग डट कमलाई सबैको मङ्गलताको कामना सहित हार्दिक आभार ब्यक्त गर्दछु । अरु विवरणकोलागि www.khagendrapandhak.com 

Aug 4, 2011

साहित्यकार खगेन्द्र लिम्बुसंगको वार्ता

बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक - ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन - गायनमा निक्कै पहिले देखि नै लागि पर्नु भएको छ । हाल वहाँ बैङककमा बसेर अमूर्तवोधी दर्शन लेखनमा त्यतिक्कै ब्यस्त बन्नु भएको छ । लेखन,गायन र चित्रकारीता दिनचर्यासंग गाँसीएका बिषयवस्तु भएकाछन् साहित्यकार खगेन्द्र लिम्बुको । गेडी लेखनका प्रवर्तक समेत रहनु भएका साहित्यकार खगेन्द्र जीवन र जगतलार्इ अमूर्तरुपमा देख्नु हुन्छ । उनै बहुप्रतिभाशाली ब्यक्तित्वसंग टंक सम्वाहाम्फेले लिम्बुवान ब्लगस्पोट डटकमको लागि गर्नु भएको कुरानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।
१.बिदेशी भूमिको बसार्इमा पनि लेखन,गायन र कलालाई कसरी समयको तालमेल मिलाएर त्यसको निरन्तरता दिईरहनु भएको छ ?
मेरो विदेशको बसाई केवल सिर्जनाको निमित्त सापेक्ष र अनुकूलताको लागि नै मात्र योजनावद्ध गरिएको कारण सहज भैरहेकोछ l
२.अमूर्तबोधी कला र लेखनमा होमीनु भएको छ यत्तातिर लागेर कतिको यो लेखन र कलाको विकास भए जस्तो लाग्छ ?
मैले जे-जति सिर्जना गरेकोछु अर्थात् जीवन र जगतलाई भोगे-देखे-बुझेकोछु त्यो अमूर्तबोधताबाट मात्र सम्भव थियो । त्यसोर मेरो सिर्जनशीलता मात्र अमूर्तबोधी दर्शनाधारित छैन, मैले भोग्ने जीवन नै यसैभित्र चलखेल गर्छ । जीवन सधैं प्रगतिशील,उन्मुक्तमुखी र बिकासमार्गी हुन्छ यी सप्पैको फाइदा म उठाईरहेछु ।
३.अमूर्तबोधी कला र लेखन नै रोज्नुको कारण र उदेश्य के हो ?
यो प्रश्नको जवाफमा प्रथमत: अमूर्तबोधी दर्शनको बारेमा केहि बुझ्न जरुरी छ । यसका केहि बुँदाहरु मात्र टिपोट गर्न चाहन्छु यहाँ -
क.अमूर्तबोधी दर्शन -हरेक मूर्त-अमूर्त तत्व-वस्तुहरुको अमूर्तसत्यहरुलाई बोध गर्न-गराउन प्रेरित गराउने दर्शन(जीवन-जगतलाई हेर्ने-बुझ्ने शैली)
ख.कुरूप सौन्दर्य मीमांसा-हरेक तत्व-वस्तुहरुमा बाह्य-आन्तरिक सौन्दर्य हुन्छ कुरूप तत्व-वस्तुहरुको सौन्दर्यभित्र र दिर्घकालिन सौन्दर्य रहन्छ ( महत्व,चरित्र,प्रवृत्ति,प्रकृति आदिबाट सौन्दर्यको मापन हुन्छ )कुरूप् तत्व-वस्तुको गौण सौन्दर्यलाई प्राप्त गर्नु
ग.दुरुहमार्गी चिन्तन -हरेक असहज यात्राबाट सहज गन्तब्यमा पुग्नु, हरेक अप्ठेराबाट जीवन र जगतलाई सुगममय भेट्नु ।
ग. सदुपयोगिताको सिद्धान्त -हरेक कुरालाई उचित ठाउँमा सदुपयोग गरेर त्यसको महत्व र अस्तित्वलाई उच्चरुपमा भेट्नू ।
घ. पागलवाद-निर्बांध-निडर, असाधारण र सत्यवादी हुनू ।
ङ. स्वसत्त्वबोध-आफ्नो अस्तित्वको महत्वलाई आत्मविश्वासमा सुरक्षित भेट्नू-बुझ्नू ।
च. अभ्यासात्मक प्रगतिशीलता -निस्सीम परिकल्पनालाई सिर्जना, प्रतिपादन र प्रतिप्रयोगमा स्थापित भेट्नू ।
छ. स्वकीय मन्जुरी-दबाबहीन स्वमुक्तिले परघातबिहिन स्वकीयताको फैसल्ला गर्नू ।
ज. गन्तव्यको फैसल्ला -अन्तिमसत्य जीवन-जगतको दिर्घकालिन मंगलमय निजत्व आदि ।
४.नेपाली साहित्यको बिकासमा डायस्पोरा नेपाली साहित्यकारहरुले कतिको सकरात्मक भूमिका खेले जस्तो लाग्छ ?
ग्लोबल विलेजको जमानामा संसारका कुनै पनि एक कुनाको असर अर्को कुनै पनि कुनामा तत्काल प्रभाव पर्न सक्छ र नेपाल केवल नेपाल मात्र हो ठान्नु गलत हुन्छ । अझै नेपालमा मुट्ठीवाद संकार छँदैछ । अझ धेरै नेपाली लेखकहरु केन्द्रिकृत मानसिकताले रोगी छन राजधानीलाई संसार भनेर बसेकाछन् । विश्व/परिवर्तन, चेतना,विकास, प्रगतिहरु डायस्फोरिक लेखकहरुले भित्र्याईरहेकाछन् जो अत्य्वास्यक छ । जसले नेपाली चेतनालाई विश्वस्तरमा तादम्यता मिलाउन सकारात्मक भूमिका खेलेकोछ/खेल्नेछ ।
५.नेपाली साहित्यमा योगदान दिने नेपाली डायस्पोरा लेखकहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको स्थान पाउँन जरुरी देख्नु हुन्छ कि हुन्न ? र नेपाली डायस्पोरा लेखकहरुलाई नेपाल सरकारले कतिको सम्बोधन गरे जस्तो लाग्छ ?
नेपालमा बसेर लेख्ने केहि गुटहरुले त डायस्फोराका लेखकलाई साहित्यकारको सूची मै गन्दैनन । राष्ट्रले के सम्बोधन गरोस । जसले नेपाली साहित्यलाई सेवा-टेवा-मेवा दिन सक्छ, उसलाई प्रज्ञाप्रतिष्ठानले स्थान दिनुपर्दछ । प्रज्ञाप्रतिष्ठान हामी सबै नेपालीको हो । लेखक र सर्जकको बसाईको भौगोलिक विभिन्नताले उसलाई निर्णय गर्नु अन्याय हुन्छ । यसको अर्थ यो होइन कि अबैधानिक नेपालीले प्रज्ञाप्रतिष्ठानको जागिर खान पाउनु पर्दछ । र अर्को कुरा त्यहाँ आसिन भएर मात्र साहित्यको सेवा गर्न सकिन्छ भन्ने ग्रस्त मनस्थितिमा सर्जक बस्नु हुन्न भन्ने मेरो आग्रह । बैरागी काईंला पनि हिजो बेदेश नै बसेर लेख्ने कवि हुन् । भारतमा बसेर लेखेका उनका साहित्यले नै उनलाई प्रज्ञाप्रतिष्ठानको जिम्मेवार नाइके हुन पर्याप्त आधार दियो । अरुले किन नपाउने ?
६.तपाई आफै लिम्बु जातिको नेपाली भाषाको लेखक तर तपाईलाई आफ्नो लिम्बु मातृभाषा साहित्यमा अमूर्तबोधी साहित्य लेखनलाई प्रस्तुत गर्न मन लाग्दैन ?
आफ्नो मातृभाषा,संस्कृति,धर्म आदि सबैको नश्लको रुपमा स्थापित भैसकेको हुनाले यो प्रश्नै हुँदैन कि कुनै लिम्बूलाई आफ्नो लिम्बू भाषा-संस्कृतिलाई प्रेम छ ? यसरी अमूर्तबोधी दर्शनले नश्लीय अस्तित्व र अधिकारलाई सम्मान गर्न अभिप्रेरित गर्दछ । तसर्थ: कुनै पनि जनजाती आदिबासीहरुलाई झैं लिम्बूहरुको अस्तित्वमा पनि अमूर्तबोधी दर्शनले बराबर चासो लिन्छ । मैले लिम्बू संस्कृतिका लोकसंस्कृति/कला र साहित्यलाई यसै अर्थमा नेपाली राष्ट्रियधारमा उभ्याउने कोशिस गरेकोथिएँ/छु ।
७.नेपाली भाषाको लोकगीत संकलक र गायक पनि हुनुहुन्छ के यी भाषाका गीतहरु मात्र गाएर आफ्नो जातिको भाषालाई न्याय गरे जस्तो लाग्छ ?
लिम्बू लोकसंगीत/कला/साहित्य तथा अन्य समाज,जाति,धर्म,संस्कारका लोक साहित्य/कलालाई राष्ट्रियधारमा लगेर स्थापना गर्न मैले कोशिस गरेको हुँ Netive and Mother Language मै गाउने-लेख्नेहरु त अरु पनि छन् नि । सबैले आफ्नो ठाउँमा बसेर सदुपयोगीताको सिद्धान्तमा काम गर्ने हो ।
८.तपाईले संकलन र गायन गर्नु भएको लोकगीतको संग्रह कति प्रकाशीत भैसकेका छन् होला ? र नयाँ आउँने संग्रहहरु पनि छन् कि ?
संख्या एति नै हो भन्ने यकिन छैन । अनुमानमा ६० जति संकलित र आफुले गएका २० जति होलान, संकलन गरेर रेकर्ड गर्न बाँकी लोकगीतहरु मसंगैछन् ।
९.अमूर्तबोधी साहित्यकार र सर्वसाधारण मानिसमा के फरक हुन्छ ? र अमूर्तबोधी नभएका लेखक र अमूर्तबोधी भएका लेखकमा के अन्तर पाउँनु हुन्छ ?
मैले व्याख्या गरेको अमूर्तबोधी दर्शनमा जे फरक हुन्छ, त्यहि नै फरक हो । त्यो माथिको बुँदामा अरुले आफ्नो दर्शन उभ्याएर बिचार्नू ।
१०.तपाईको हालसम्म प्रकाशित कुन कुन बिधाका पुस्तक के कति छन् ? र प्रकाशोन्मुख के कति छन् ?
उहिल्यै टिनेजमा २ वटा संयुक्त कविता संग्रह निस्किएकाछन् तिनलाई म कृतिको रुपमा मान्दिन मसंग अहिले विभिन्न विधाका ६ वटा पाण्डुलिपी छन् (Abstract Bangkok)-प्रयोग,दर्शन र जीवनीमा आधारित उपन्यास प्रकाशनको तयारीमा जुटेकोछ ।
११.तपाई चेताशील लिम्बु भएको हैसियतले अहिले संघीय लिम्बुवानको कुरा उठि रहेको छ नेपालमा त्यस बारेमा के धारणा राख्नु हुन्छ ? संघीय लिम्बुवानको आवश्यकता छ कि छैन होला ?
नेपालको परिप्रेक्षमा 'विघटन' सुगठनको सापेक्षमा सन्तुलित देखिंदैन । एकातिर लिम्बू तथा अन्य जातजाति आदिवासीमा 'स्वसत्त्वबोध' हुन जरुरी छ । 'दुरुहमार्गी चिन्तन' अवलम्बन गरेर राष्ट्रको निमित्त 'सदुपयोगिताको सिद्धान्त'मा उभिनु पर्दछ । राष्ट्रले पनि कुरूप सौन्दर्य मीमांसा अन्तर्गत असल निर्णय लिएर सबै नेपालीहरुलाई समान सम्मान र सम्बोधन गर्न जरुरी छ । अन्यथा दुर्घटना दोहोरिरहन्छ ।
१२.तपाई एउटा लेखक भएकोले वर्तमान नेपालको राजनितिलाई कसरी मध्यनजर साथै बिश्लेषण गरी रहनुभएको छ ?
नेपालको 'राजनीति' जननीति हुन सकेकोछैन । एउटा कथित दरबार ढलेर अकथित नगन्य दरबार,सामन्त,शोषक-शासकहरुको मनोमानी हाबी बढेकोछ । 'जनशक्तिको कोल्याप्स'लाई मौकाको फाइदामा राखेर विस्तारवादका भरौटेहरु अत्तिवादी-मुट्ठीवादी-एकाधिकारवादी भएर उदाएकाछन् 'विगठन'लाई सुत्र बनाएर यिनीहरु बलिया हुँदैछन् ।'फुटमा लुट' चलिरहेको अवस्था नबुझेसम्म नेपालीहरुको उन्मुक्ति सम्भव छैन । त्यसो र सांस्कृतिक चेतनाको विकासले मात्र यिनीहरुको सूत्रलाई निराकरण गर्दछ । सामान्य भाषामा भन्ने हो भने 'छिमेकीको घर जल्दा आफ्नो घर सुरक्षित रहन्छ' भन्ने भ्रमबाट मुक्ति लिनु आधुनिक नेपालको उन्मुक्तिको पहिलो कदम हुनेछ ।'एकता' -जनता हो, जनता नै देशका निर्णायक हुनु पर्दछ । नेताहरु जनताको आदेश पालक र भरौटे हुनुपर्दछ । स्वावलम्बनको निर्णयलाई लागु गरेर जनशक्तिको कोल्याप्सलाई निमिट्यान्न गर्नुपर्दछ । अन्यथा,ईतिहाँसमै अनुकूलताको सिद्धान्तमा चुकेर नेपाल र नेपाली दुर्लभ हुनेछ ।
१३.जीवन के हो ? तपाईको अमूर्तबोधी लेखनले जीवनलाई कसरी समेट्दछ त ?
'जीवन' माथि टिपोट भएका अमूर्तबोधी दर्शनका बुँदाहरुको अनुसासित संस्कार हो यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु ।'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।
१४.अमूर्तबोधी दर्शन कस्तो प्रकारको दर्शन हो ? यो दर्शनको शुरुआत र प्रयोग कसरी भैरहेको छ होला ?
यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु । 'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।
१५.गेडी लेखनको शुरुआत कहाँ,कस्ले र कहिले देखि भएको हो ? यसको विस्तार कसरी भैरहेको छ ?
गेडी लेखन मैले सुरुवात गरेकोहुँ । नेपाली साहित्य-साहित्यकार विभिन्न आगन्तुक विधाका अंगसंगति नबुझेर मरिररहेको अवस्थामा स्वसत्त्वबोधको बुँदाले नेपाली अस्तित्वमा नेपाली नश्लमा यसको जन्म भयो । यसको प्रवर्तन भयो २०१० अप्रिल १० मा यसको सार्बजनिक भयो । विश्वभर रहेका नेपालीहरुले यो विधामा स/प्रेम/गर्ब सिर्जना गरिरहेकाछन् । यो खुशीको कुरा हो । यसको बारेमा लामो लेख म उपलब्ध गराउनेछु । गेडी साधक टेकेन्द्र अधिकारीले यो विधाको सङ्ग्रह निकाल्दै छन् । अर्का गेडी साधक बिष्णुनन्द चामलिंगको गेडी संगीतकार दिनेश सुब्बाले संगीत गरेकाछन् । अब यो लिखत,गायन र श्रब्य भएर आउन थालेकोछ । यसलाई नेपालको मौलिक विधाको रुपमा दर्ता र सम्मान गर्न सम्बन्धित क्षेत्रका आधिकारिक,बौद्धिक र प्राज्ञ सबैलाई हामी हार्दिक अनुरोध गर्दछौं ।
१६.तपाईले जीवनमा भोग्नु भएको त्यस्तो अविस्मरणीय घट्नाहरु छन् कि ?
जीवनका हरेक घटना-परिघटना अविस्मरणीय लाग्छन ।
१७.जीवनमा सबै भन्दा बढी गरु लाग्ने र नगरी छाड्दिन भन्ने केहि कामहरु छन् कि ?
.सदुपयोगिताको सिद्धान्तमा आफुलाई सिर्जनशील र गतिशील राख्ने आफ्नो जीवनसँग सम्झौता भएकोछ । नेपाली चेतना परिवर्तन गर्दै नेपाली राजनीतिलाई सफा र सुकर्ममा लान तथा अनाथ असहायहरूको निमित्त काम गर्न पाउँदा भने व्यक्तिगत रुपमा खुशी हुनेछु भन्ने लाग्छ ।
१८.अवको नेपाली साहित्य लेखनले कस्तो र कतातिर मोडिन जरुर देख्नु हुन्छ ?
अमूर्तबोधी दर्शनमा भेट भएर हिजोका रुन्चे-पिन्चे लेखन,विलाप-विवशता र लाचारी प्रस्तुति,रोष-दोषको आक्षेप प्रवृत्ति, गुनासो-बिलौनाको आत्म लघुताभाष,रुखो नारावादी अकलात्मक प्रस्तुति,केवल बयान, हरिया डाँडाका गीत लिला-रसरंगको बुर्जुवा लेखन, हजुरिया र ढोग-पत्र लेखन,आत्मचर्चामुखी 'वाद' फेशन सप्पैलाई संसोधन र निराकरण गरेर जीवन र जगतको उन्मुक्तिमा कला सौन्दर्य र दर्शन सौन्दर्यको विशिष्ट भेटमा साहित्य पुग्नु पर्दछ ।
१९.नेपाली समाजमा तपाई आफूलाई कुन रुपले स्थापित गराउँन चाहनुहुन्छ ? र किन ?
एउटा सामाजिक स्वयम्सेवक ! समाज विकासक !
२०.लिम्बुवान ब्लगस्पोट डटकम मार्फत विश्वभरी छरिएर रहनु भएका पाठकहरुलाई केहि शन्देश दिन चाहनु हुन्छ कि ?
'स्वसत्त्वबोध'ले अमूर्तबोधी दर्शनलाई भेट्नू ! त्यसरी नै जगतको निमित्त जीवनलाई र जीवनको निमित्त जगतलाई माया गर्नू !

Jun 8, 2011

गायीका सीता सिंगक लिम्बुसंगको कुराकानी

बुवा हस्त बहादुर लिम्वुतथा मुमा आश मायाँ फोम्वो लिम्बुको कोखबाट सन् १९८९ डिसेम्वर २२ तारीखका दिन कोशी अञ्चल तेह्रथुम जिल्लाको जलजले ४ मा गायीका सीता सिंगक लिम्बुले यस धरतीमा पाइला टेक्नु भएको हो। गाउँमा माध्यमिक तहको अध्यायन समाप्त गरेपछि हाल स्नातक तहको दोस्रो वर्षमा ललितपुर नक्खिपोपमा बसी गायनको साथसाथै अध्यायन क्रम जारी गरीरहेकी छिन् । गायन,नृत्य र यात्रा गर्न बढी रुची राख्छीन्। उनलाई नेपाली,अंग्रेजी,हिन्दी र लिम्बु भाषा वोल्ने राम्रो ज्ञान छ । हाल सम्म अविवाहित रहेकी गायीका सीता सिंगक लिम्बुले गायनलार्इ नै आफ्नो पहिचान बनाउँने लक्ष्य राखेकीछीन् । हाल सम्म १० भन्दा बढी नेपाली एल्वमहरुमा र लिम्बुभाषामा हाङनेर्इल्ले,लिम्बुवान,साक्मा,तुम्मुर्इ,हाक्पारे पालाम गाउँदै,यो मनको जलन आदिमा आफ्नो स्वर स्वराङकन गरीसकेकी छिन् । उनी फक्ताङलुङ सयङ काठमाडौ- २००८ को सदस्य पनि हुन् । त्यति मात्र नभएर मिस मंगोलमा समेत उनको सानदार सहभागिता रहेको कुरा उनी बताउँछिन्। उनै कोकील कण्ठका धनी गायीका सीता सिंगक लिम्बुसंग टंक सम्वाहाम्फेले लिम्बुवान ब्लगस्पोट डटकमको लागि गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१.अध्ययन, घरको काम र गायन यी सवै एकै समयमा कसरी समायोजन गरिरहनु भएको छ ?
समयको व्यवस्थापन गर्नुपर्छ । यी भन्दा धेरै काम भ्याउन सकिन्छ ।
२.गायन क्षेत्रमा लाग्नुको प्रमुख के हो तपाईको ?
रुची हो ।
३.गायन बाहेक अन्य विषयमा कतिको चासो लिनुहुन्छ ?
सामान्य ।
४.गायन क्षेत्रमा आउँनुमा कसैको प्रेरणा छ कि ?
लीला दिदी, भगत दाई र मेरो सपरिवार
५. आफुले गाउँदा गीत, संगीत र स्वर यी तिन पक्षलाई कुन हिसावले अध्यायन गर्नु हुन्छ ?
गीत या गायन भनेकै शब्द, संगीत र स्वरको समायोजन हो, यो कुनै पनि पक्षको मर्मलाई बुझ्न सकिएन भने गीत पूर्ण हुँदैन तर्सथ यी तीनै कुरालाई ध्यान दिन्छु ।
६.एउटा गीत पुरा हुनको लागि तपाई एउटा गायिकाको आँखाबाट गीतको कुन पक्ष सवल हुनु पर्छ होला जस्तो लाग्छ ?
शब्द, संगीत र स्वर तीनै पक्ष ।
७.दश भन्दा बढी नेपाली कलेक्सन् एल्वमहरुमा आफ्नो स्वरहरु दिईसक्नु भएको छ त्यसैले अव कहिले आफ्नै एल्वम मार्फत प्रस्तुत हुने बिचार गर्दै हुनुहुन्छ ?
तुरुन्तै त्यस्तो कुनै योजना छैन । अव हेरु.... -
८.नेपाली भाषाको गायन बाहेक लिम्बु र तामाङ भाषामा समेत आफ्नो स्वर दिई सक्नु भएको छ यसरी आफ्नो मातृभाषा र अरुको भाषामा गाउँदा कस्तो अनुभूति गर्नुहुन्छ ?
फरक त पर्छ नै । नेपाली गीत भन्दा अन्य गीत गाउँदा उक्त जातीको संस्कार संस्कृति रहन सहनलाई समेत ध्यान दिनु पर्छ । आफनो मातृभाषाको गीत गाउँदाको अनुभुती नै बेग्लै हुन्छ ।
९.तपाई एउटा लिम्बु गायिका भएकोले लिम्बुवानको विषयमा कतिको चासो लिनु हुन्छ ?
लिम्बु भएको हैसियतले र लिम्बुवानवासी भएको हैसियत ले लिनु त परयो नी । म किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालयको लिम्बुवान जनजागरण अभियानमा तेह्रथुम, संखुवासभा र धनकुटा जिल्लामा लिम्बुवानको गीत गाउँदै महिनौं हिँडेको छु र काठमाडौंमा हुने लिम्बुवान र आदिवासी जनजाति आन्दोलनमा निरन्तर सहभागी हुँदै आएको छु ।
१०.नेपालको वर्तमान परिस्थितीलाई तपाईले कसरी हेरी रहनु भएको छ ?
नेपाल संक्रामणकालीन अवस्थामा गुज्रिरहेको छ । राजनीतिक दलहरु कुर्सी तानातानमै व्यस्त छन् । संविधान बनाउने काम नै विर्से जस्तो छ ।
११.नेपालको गायन क्षेत्रलाई कसरी मध्यनजर गर्दै हुनुहुन्छ ?
मुलधारको संगीत अर्थात खस भाषाको गीत संगीतलाई मात्र बढावा दिइएको छ । नेपालका अन्य जातिको गीतसंगीतलाई मुख्य सन्चार माध्यमहरुले स्थान दिएका छैनन ।
१२.गायन क्षेत्रमा लाग्ने गायिकाहरुलाई प्रेम प्रस्ताव धेरै आउँने गरेको पाइन्छ र तपाईलाई कतिको प्रस्ताव आईरहेको छ ?
नराम्रो होइननी ।
१३.कुनै एक श्रोताले तपाईको स्वर अति मन पराएर नजिक हुन खोज्यो भने कस्तो प्रकारको प्रतिक्रिया दिनु हुन्छ ?
धन्यवाद दिन्छु ।
१४.जीवन साथी कुन क्षेत्रको होस् भन्न बढी चाहनु हुन्छ ?
जुनसुकै क्षेत्रको भएपनि गीतसंगीत र समाज बुझेको होस ।
१५.गायनले अध्ययन साथै अन्य क्रियाकलापलाई कतिको वाधा पुर्याउँछ ?
समय व्यवस्थापन गरयो भने बाधा पुग्दैन ।
१६.हालसालै बजारमा आएको लिम्बुभाषाको भिसीडी एल्वम हाङनेइल्लेमा स्वर दिनु भएको म्यूजिक भिडियोले राम्रै चर्चा पाईरहेको छ यसलाई कसरी लिनु भयो त तपाईले ?
शब्द मार्मिक छ । शब्द र संगीतको संयोजन राम्रो छ । यसको संगीत तथा भिजुयललाई अझ राम्रो बनाउन पनि सकिन्छ ।
१७.बिदाको समयलाई बढी कसरी विताउँन रुचाउँनु हुन्छ ?
गीत, संगीत, अध्ययन ।
१८.यस क्षेत्रमा नलागेको भए तपाईले कुन क्षेत्रलाई बढी अङगाल्नु हुन्थ्यो होला ?
अध्ययन, नृत्य आदिमै हुन्थे ।
१९.गायन समयसापेक्ष हुनु पर्छ भन्छन् तर पुराना गीतहरुको संरक्षणको विषयमा कतिको चासो लिनु हुन्छ ?
Old is Gold भन्छन् नी । पुराना विना नयाँ हुँदैन । संरक्षण गर्नुपर्दछ । सम्मान गर्नुपर्दछ ।
२०. संसार भर छरिएर रहनु भएका तपाईका श्रोताहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ कि ?
गीत संगीतलाई माया गरिरहनु होस् । धन्यवाद् ।

Oct 21, 2010

राजनिती कर्मी मान बहादुर थोप्रासंगको अन्तरवार्ता

बि.सं.२०२२ फागुन ८ गते ताप्लेजुङ जिल्लाको ढुङगे साँघु गा.वि.स. वडा नं.७ तेम्वेमा जन्मनु भएका मान बहादुर थोप्राको वाल्य जीवन मात्र नभएर माध्यमिक विद्यालय नसकुन्जेल सम्म तेम्वे मै आफ्नो समय विताउँनु भएको थियो । पञ्चायतको डर लाग्दो समयमा पनि ज्यानको बाजी राखेर विद्यार्थी काल मै अनेरास्वयु ताप्लेजुङ जि.क.सदस्य,क्षेत्रिय कमिटी सहसचिव,स्ववियु सचिव सम्मको कार्यभार सम्हाली सक्नु भएको छ । त्यति मात्र नभएर ३५,३६ सालतिर ताप्लेजुङ जिल्ला मै आमहड्तालमा प्रत्यक्ष सहभागी जनाउँनु भएको थियो। धरान बहुमुखी क्याम्पसबाट स्नातक तह अध्यायनको क्रममा सक्रियरुपले विद्यार्थी राजनितिमा नलागे पनि कम्युनिष्ट विचारधारामा नै समर्थन रहदै आएको थियो । विद्यार्थी कालमा विरेन्द्र सिल्डमा दौड तर्फ तेस्रो र वाक्तृत्वकलामा पनि तेस्रो स्थान प्राप्त गर्नु भएको थियो। लामो समय वैदेशिक राजगारको लागि जापान र त्यसपछि हाल हङकङ बसोवास गर्दै आउनु भएका मान बहादुर थोप्रा हाल लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङको सचिव जस्तो गरिमामय पदमा रहेर काम गर्दै हुनुहुन्छ । उनै कुसल राजनिती कर्मीसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गरेको कुराकानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरिएको छ ।
१.हङकङ जस्तो व्यस्त ठाउँमा रहेर पनि राजनैतिक गतिविधिमा संलग्न हुनु भएको छ यो कसरी सम्भव भएको छ होला अथवा समय कसरी मिलाई रहनु भएको छ ?
पहिलो कुरा त मानिसमा र्इच्छाशक्ती हुनुपर्यो । चाहे राजनैतिक होस् वा आर्थिक,धार्मिक वा कुनै प्रवृतिको कार्य किन नहोस् । ति सवै आफ्नो र्इच्छाशक्तीले निर्देशन गर्ने भएको हुनाले मेरो जीवनमा पनि राजनिति प्रतिको झुकाव वा समय पनि त्यहि शक्तीले बिशेष महत्व राख्दछ । तर्सथ मैले पनि यस हङकङको ब्यस्त समयका बावजूद घरपविार,समाज,इष्टमित्र,आफ्नो रोजगार लगायत सम्पूर्ण कुराको उपयुक्त समयको संयोजन गर्दै मेरो प्रमुख उदेश्य राजनैतिक जीवनलाई त्यहि अनुरुप समय मिलाई यस गतिविधिमा अगाडी बढीरहेको छ ।
२.तपाई के विद्यार्थीकालमा पनि राजनैतिक गतिविधिमा संलग्न हुनुहुन्थ्यो ?
निश्चय नै म विद्यार्थीकाल देखिनै कम्यूनिष्ट बिचारधाराको राजनैतिक गतिविधिमा संलग्न थिए । तर त्यस वेलाको मेरो राजनैतिक बुझाई काँचो थियो । मैले कुनै राजनैतिक सिद्धान्तको बिश्लेषण गर्न सकेको थिइन । तथापि हाल आएर बिद्यार्थी जीवनको मेरो संलग्नताको निति उचित लागिरहेछ । किनकी हाम्रो नेपालमा आर्थिक हिसाबले हेर्ने हो भने यति डर लाग्दा खाल्डाहरु छन् । जहाँ एकछाक खान नपाउँने नेपाली देखि जहिले तहिले मोजै मोज गरेर जीवनयापन गर्नेहरु पनि छन् । त्यस्तै सामाजिक रुपले यति धेरै असमान र बिभेदहरु छन् । जुन भगवान देखि पशुसम्मको हाम्रै नेपालीहरुमा कायम छ । अन्य धार्मिक,संस्कृतिक आदि इत्यादिमा पनि बिरक्त लाग्दो अवस्थाहरु छन् । अझ राजनैतिक अधिकारको त कुरै छाडौं । यहाँ हामीले समस्या त देख्यौं तर ती समस्याको समाधान त्यति सरल छैन । सामान्य सुधार,सामान्य सहयोग र सस्तो धनले मात्र यी असमान खाल्डोहरु पुर्न र चिर्न सम्भव छैन । तसर्थ यी खाल्डाहरुव पुर्नको लागि हामीले उचित दर्शन विज्ञान वा समय सापेक्ष अनुरुपको नितिले मात्र सम्भव हुन सक्छ । यस्ता यी सम्पूर्ण कुराहरुको निरुपण गर्ने एक मात्र मार्क्सवादी दर्शन हो । अन्य राजनैतिक दर्शनबाट यी कुराहरु पुरा हुन नसक्ने भएकोले भएको हुनाले म विद्यार्थीकाल देखि हाल सम्म यहि बिचारधारामा समर्पित हुदै आइरहेको छु ।
३.राजनैतिक गतिविधि बाहेक तपाईले के के विषयबस्तुमा बढी चाख लिनु हुन्छ ?
प्रमुख मेरो चासो राजनिति नै हो । तर राजनिति भन्दैमा त्यस्तो बुर्जुवा राजनिति होइन । सच्चा राष्ट्रप्रेमी,जनता प्रेमी,आफ्नो जन्मभूमि नेपाली पहिचान र नेपालको गौरवतालाई डोर्याउन सक्ने सच्चा राष्ट्रवादी राजनिति नै मेरो प्रमुख चासो हो । जहाँ सम्म राजनिति बाहेक अन्य कुराको सवाल छ त्यसमा गौरव नेपाल बनाउनको लागि वा गौरवशाली नेपाली बन्नको लागि मैले मेरो औकात र पहुँचले भ्याए सम्म राजनैतिक,आर्थिक,शैक्षिक,भाषीक,संस्कृतिक वा लैङगीक बिकास र उत्थानको लागि तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सहयोग गरि समाजसेवा गर्दै कहिं न कतै बिकासका २,४वटा इट्टा थपेरै जाने मेरो इच्छा हुनेछ ।
४.तपाई लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङ प्रवास समितिको सचिव जस्तो गरीमामय पदमा हुनुहुन्छ यस पदलाई कसरी निभाई रहनु भएको छ ?
हो म लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङ प्रवास समितिको सचिव जस्तो गरीमामय पदमा कार्यरत छु । मेरो यो सचिव पदको जिम्मेवारीलाई कर्तब्यका साथ निभाई रहेको छु । खासै सजिलो पनि छैन किनकी म एक नया राजनैतिक विद्यार्थी भएको हुनाले मैले धेरै जान्न सिक्न बाँकी नै छ र यो क्रम निरन्तर चलिरहेछ । जसमा म सकारात्मक नै छु । र खासै असजिलो पनि छैन किनकी हाम्रो कमिटी एउटा राम्रै पृष्ठभूमिमा जन्मेको मोर्चा भएकोले आवश्यक वौद्धिक साधन,वौद्धिक खुराक देखि वौद्धिक ब्यक्तित्वहरु यस कमिटीमा भएको हुनाले हरेक पक्षमा सहयोग समन्वय निरन्तर चलिरहने भएकोले मेरो क्षमताले भ्याए सम्म बडो उत्साहका साथ मेरो जिम्मेवारीलाई कर्तब्य ठानी निर्बाह गर्ने प्रयत्न गरीरहेको छु ।
५.प्रवासमा लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङ प्रवास समितिको अवधारणा कसरी आयो होला ?यसरी प्रवासमा राजनैतिक संगठन खोल्नुको प्रमुख उद्देश्य के होला ?
प्रवास हङकङमा लिम्बुजातिहरुको पनि राम्रै संख्या भएकोले साथै लिम्बु जातिहरु नेपालका जातिहरु मध्ये उत्पीडीत आदिवासी जाति पनि हो । हिजो सम्म र्सवसम्पन्न लिम्बुवान र लिम्बुजातिहरु हाल आएर चरम उत्पीडनमा पर्नुको पछाडी यहाँ ठुल्ठुला षड्यान्त्रका पर्खालहरु तेर्स्याइएका छन् । यी षड्यान्त्रका पर्खाललाई ढाल्नको लागि वा भत्काउनको लागि २,४ जना लिम्बु र लिम्बुवानीहरुबाट मात्र सम्भव छैन । तर्सथ नेपालका तमाम लिम्बुवानवासी लिम्बुवानीहरु देखि प्रवासमा रहेका लिम्वु तथा लिम्बुवानीहरुले आआफ्नो पक्ष र क्षेत्रबाट आफ्नो क्षमता र औकातले भ्याए सम्म सबै तवरले एक ढिक्का भएर उत्पति भएको त्यो भयानक शक्तिले मात्र त्यो षड्यान्त्रको पर्खाल ध्वस्त पार्न सकिन्छ भन्ने हाम्रो बुझाई हो । त्यसैको परिणाम स्वरुप प्रवास हङकङमा पनि शसक्तका साथ यस मोर्चाको जन्म भएको हो । यसको प्रमुख उद्देश्य पनि पहिले कै राजनैतिक अधिकार देखि सम्पूर्ण अधिकारहरु फिर्ता गरार्इ स्वायत लिम्बुवान प्राप्ति गर्नु नै हो ।
६.हाल यस संगठन वा मोर्चाले हङकङमा कस्तो गतिविधि सञ्चालन गरीरहेको छ ?
यस मोर्चाले स्थापना काल देखि नै हाल सम्म निरन्तर जातिय अस्तित्व,जातिय पहिचान र जातिय राजनैतिक अधिकारको लागि औपचारिक तथा अनौपचारिक तवरले निरन्तर आवाज बुलन्द गर्दै सम्पूर्ण लिम्वुजातिहरु उपर भए्का उत्पीडन,दमन,शोषण,अन्याय,अत्याचार,भ्रष्टचार बिरुद्ध जन जागरण अभियान सञ्चालन गर्दै सम्पूर्ण लिम्बु दानुभाइ तथा दिदीबहिनीहरुलाई जनचेतना गराउने कार्यहरु गरीरहेको छ । आफ्नो मौलिक हक सहि सदुपयो गर्न वा अवसरवादी तत्वहरुले उनीहरुको स्वार्थ अनुकुल प्रयोग गर्न नसकुन भन्ने अभिप्रायले सम्पूर्ण लिम्बुजन्य समुदायसंग यस महान कार्यको सफलताको लागि हातेमालो गर्दै हाम्रो मोर्चाको विधान तथा केन्द्रको निर्देशन पालना गर्दै सामान्य प्रशिक्षण देखि विविध मनोरञ्जन कार्यक्रहरु,बिबिक्यू कार्यक्रम,अन्तक्रिर्या कार्यक्रम देखि बिचार गोष्ठी तथा बुद्धिजीबी परिषद सम्म गठन गरि ग्रास लेभल देखि बौद्धिक लेभल सम्मका बृहत जनसमुदायलाई समेट्ने प्रयास गर्दै प्रवास मै भएर पनि नया जोस जाँगरका साथ शसक्तरुपले अगाडी बढीरहेछ ।
७.नेपालको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा र हङकङको मोर्चासंग के कस्तो सम्वन्ध रहि आएको छ ?
नेपालको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा र हङकङको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा एउटै हो । नेपालेको लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा केन्द्र हो । भने लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा हङकङ प्रवासको शाखा हो । यी दुबै एउटै भएकोले निती तथा कार्यक्रम,विधी विधान पनि एउटै हो र यो शाखा केन्द्रबाट निर्देशित तथा परिचालित हुन्छ । मात्र यो स्थानको फरक हो । तसर्थ एउटै भएको कारणले केन्द्र र शाखाको सम्बन्ध बडो सौहार्द्रपूर्ण छ । शाखाले चाहे अनुसारको आवश्यक संसाधना बौद्धिक खुराक,सरसल्लाह देखि प्रशिक्षण साथै नेपालका ताजा समसामयिक घटना शाखालाई सूचना सम्प्रेषण गर्ने कार्यहरु केन्द्रबाट भइरहेको छ । त्यस्तै प्रवास शाखाले पनि आफ्नो क्षमता र औकातले भ्याए सम्म प्रबासबाट गर्न सकिने गतिबिधीहरु सञ्चालन गर्दै केन्द्रको निर्देशन अनुसार राजनैतिक अभियानका साथ अर्थ सहयोग पनि रहेको छ । त्यसैले यी दुर्इ मोर्चा बिच आत्मियताको सम्बन्ध वा भातृत्वको न्यानो सम्बन्धका साथ नया युगको नया मोर्चाको नारामा घनिष्टता राख्दछ ।
८.एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) संग लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा सम्बद्ध भएर अगाडी बढी रहेको छ के यो मोर्चा माओवादी कै निति नियममा बाधिएर अघि बढ्ने राजनैतिक मोर्चा हो ?
लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) को निति नियममा बाधिएर अगाडी बढीरहेको जस्तो आभाष देखिएता पनि यथार्थमा यो सम्पूर्ण तवरले सत्य होइन तर पूर्णरुपले असत्य पनि होइन । लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चाले लिम्बुजातिको उत्पीडन शक्तीको लागि जुन राजनैतिक अधिकार र जुन सवालहरु सशक्त उर्ठाई रहेको छ । ति कुराहरु एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले मात्र सम्वोधन गर्न सकेको छ । वास्तब मै भन्ने हो भने नेपालमा वास्तविक क्रान्ति वा मुक्ती जनजातिहरुले नै गर्नु पर्दछ । यस देशको बहुसंख्यक जनजातिरुलाई तिरस्कार गरेर यो देशको उन्नति हुनेवाला छैन । बिश्व कम्युनिष्ट आन्दोलनको दौडानमा अहिले सम्म पनि यो बहुसंख्यक जनजातिहरुलाई गौण सम्झी बर्गीय मुक्तीलाई मात्र प्राथमिकता दिनु नै नेपालका कम्युनिष्टहरुको असफलता हो । त्यसैले यो यति लामो कम्युनिष्ट आन्दोलनको असफलता पाश्चात वास्तबिक समस्या के रहेछ भन्ने कुरा सहि बिश्लेषण गर्दै एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले वर्गको साथै जातिय सवाललाई सम्वोधन गर्न नसकिए नेपालमा क्रान्ति सफल नहुने बिश्लेषण गर्दै उसले आम आदिवासी जनजाति लगायत जातिहरुको समुष्ट र सहि सम्वोधन गर्दै नेपाली भूभागमा अवस्थित सम्पूर्ण नेपाली वसोवासीहरुलाई समान पहुँच,समान अधिकार र समान हैसियतमा रहुन् भन्ने अभ्रि्रायले पिछडीएका जातिहरु उपर एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले जोडतोडका साथ आवाज उठाएको हुनाले साथै हाम्रो चाहना पनि त्यहि भएकोले हामीले उठाउनु पर्ने बृहत एजेण्डाहरु एक प्रमुख राजनैतिक पार्टीले उठाएको हुनाले उसले उठाएको एजेण्डा र हामीले उठाएको एजेण्डामा तात्विक अन्तर नदेखिएकोले लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चा र एनेकपा माओवादी एउटै जस्तो देखिएको मात्र हो । लिरामुमो र एनेकपा माओवादीको अधिकांश एजेण्डाहरु (नागरिक सर्वोच्चता,राष्ट्रिय स्वधिनता,गणतन्त्र,संघियता) आदि कुराहरुमा सहमत छौं । यसमा अग्रगामी परिवर्तनको लागि जहा सम्म हुन्छ त्यहा सम्म मुल्य चुकाउन तयार हुनेछ । तर यसो भन्दैमा लिरामुमो पुरापुर माओबादी चाहीँ होइन । लिरामुमो एक जातिय मोर्चा भएकोले यसको आफ्नै अस्तित्व र ब्याख्याहरु छन् । जुन अस्तित्व र ब्याख्याहरुमा एनेकपा माओवादीले सम्वोधन नगरेको खण्डमा वा तिरस्कार गरेको खण्डमा हामीले आफ्नो अस्तित्व र पहिचानको लागि एनेकपा माओवादीसंग टाँसी रहनु पर्ने अवस्था चाहीँ छैन । यसर्थ लिरामुमो एउटा विशुद्ध जातिय मोर्चा हो । तर अन्य जातिवादी,उग्र जातिवादी मोर्चा चाहीँ होइन । वर्तमान २१सौँ शताब्दिको आधुनिकतालाई आत्मसाथ गर्दै,वस्तुस्थिति अनुकुल,समयसापेक्ष,वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने एक उत्कृष्ट लिम्बुवानी जातिय मोर्चा हो ।
९.तपाई लिम्बुवान राष्ट्रिय मुक्ती मोर्चाको प्रवास समिति हङकङमा आवद्ध हुनुको प्रमुख कारण के हो ? अरु लिम्बुवान पार्टीहरु पनि त छन् नी ?
लिम्बुवानमा धेरै लिम्बुजन्य संघ संगठन तथा मोर्चाहरु छन् । यो आफैमा मेरो दृष्टिकोणले नराम्रो चाहीँ होइन । किनकी हामी लिम्बुहरु वा हाम्रो लिम्बुवान नेपालकै जातिहरु मध्ये कम कज्याइएको क्षेत्र तथा जातिहरु हुन् । यसर्थ आफ्नो गुमेको अधिकार सुनिश्चित गर्नको लागि हामी सम्पूर्ण तवरले सम्पूर्ण क्षेत्रबाट सम्पूर्ण लिम्बु तथा लिम्बुवानवासीहरु तदारुकताका साथ लाग्नु पर्दछ , उठ्नु पर्दछ , गुमेको अधिकार खोज्नु पर्दछ , अनुनय गरेर नपाए खोस्नु पनि पर्दछ । तसर्थ ए देखि जेट् लेभल सम्मका लिम्बुहरु जाग्नु पर्दछ । राजनैतिक सुझबुझ हुनु पर्दछ । यहि अभ्रि्रायले राजनैतिक जागरणको अभियानमा यहाँ विभिन्न थरिका लिम्बुजन्य संगठन,मोर्चाहरु खोलिएका छन् जस्ले परोक्ष अपरोक्षरुपमा लिम्बुवान निर्माणमा २,४ इट्टा थप्ने काम गरेकै जस्तो लाग्छ । जहाँ सम्म आशा लाग्छ उत्पडिीत जातिहरुर्,वर्गहरु कहि न कतै राजनैतिक जागरणमा लागुन् । जो राजनितीको सुझबुझ तिर लाग्छ , उसले कुनै न कुनै दिन नितीको सहि तथ्य पत्ता लगाउने छ । समय लाग्ला तर सत्य सत्य नै सावित भएर छोड्छ । तसर्थ मेरो भन्नुको तार्त्पर्य नेपालमा धेरै लिम्बुजन्य मोर्चाहरु छन् म उनीहरुको विरोधी होइन समर्थक नै हो । तर समर्थक भन्दैमा अन्धजातिवादी भएर होइन, अहिलेको युग अनुकुल वर्तमान अवस्थाको माग र आवश्यकता अनुसारको परिवर्तनकामी प्रगतिवान क्रान्तिकारी र उन्नत मोर्चा वा लिम्बुवान संगठन नै मेरो रोजाइ हो । यी माथि उल्लेखित भएका मेरा बिचारहरु लि.रा.मु.मो.ले मात्र अवलम्बन गरेको हुनाले अन्य मोर्चा भन्दा यो मोर्चा उत्कृष्ट,बृहत अग्रगामी र वैज्ञानिक भएकोले अन्य मोर्चाको अलवा यस मोर्चामा आवद्ध भएको हुँ ।
१०.राजनैतिक मोर्चामा लागेर अघि बढ्दा घर परिवारको सरसहयोग कतिको पाउँनु भएको छ ?
मैले परिवारबाट राम्रै सहयोग पाइरहेको छु । यस राजनैतिक मोर्चाको लागि विशेष परिस्थिती वाहेक मैले चाहे अनुसारको समय मेरो परिवारबाट सहयोग र सहानुभूति नै रहेको छ । जस्मा मेरो परिवारलाई धन्यवाद टक्राउदछु । तर बिचारणिय कुरो के हो भने पहिलो कुरा हामी परिवारप्रति इमान्दार हुनु पर्यो ,कर्तब्यनिष्ठ हुनु पर्यो । वास्तविक समस्याको सहि पहिचान गरी समाधान गर्नु पर्यो,परिवारलाई आफुले गरेको कार्यहरु सहि छ सत्कर्म छ भनेर आफ्नो विषय,बिचारहरु प्रति सकेसम्म प्रशिक्षित गराउनु पनि पर्दछ । अर्को कुरा तपाई हामीमा सहि इच्छाशक्ति पनि हुनु पर्यो । सहि इच्छाशक्ति भएको खण्डमा हामीलाई सामान्य कुराले शायदै छेक्दैन । तसर्थ यी सम्पूर्ण तवरको समुचित संयोजन हामीले अवलम्वन गर्यौ भने परिवारबाट सकारात्मक नै सहयोग मिल्ने छ र मलाई पनि मेरो घरपरिवारबाट यसरी नै सहयोग मिलेको छ ।
११.जीवन र राजनितिलाई कसरी विश्लेषण गर्नु हुन्छ ? अथवा यसप्रतिको दृष्टिकोण तपाईको के हो ?
मेरो विश्लेषणमा जीवन भनेको जन्म देखि मृत्यु सम्मको उपलब्धि हो । यस अवधि भित्र मानवले धेरै उत्तारचढाव,आरोह अवरोह झेलेको हुन्छ । केहि केहि मानव सुखी होलान् केहि दुखि होलान् तथापी यो सवै जीवन नै हो । तर्सथ यी सुखदुखको सम्पूर्णताको जोड घटाउको समस्तरुप नै जीवन हो जस्तो लाग्दछ । जीवन पाश्चातको चिन्तन वा सोचको परिणाम नै राजनिती जस्तो लाग्दछ । मानवको आफ्ना आफ्नै सोचहरु हुन्छन् । धार्मिक ब्यक्तिहरु धर्मसंगै उनीहरुको जीवन अन्तरनिहित हुन्छ भने राजनैतिक ब्यक्तिहरु राजनितीसंगै उनीहरुको जीवन अन्तरनिहित हुन्छ । जहाँ सम्म मेरो सवालमा छ,म मेरो जीवनलाई एउटा राजनैतिक प्राणीको रुपमा लिनु नै उत्तम लाग्दछ । किनकी राजनितीमा मात्र यस्तो अस्त्र हो जुन अस्त्रले मात्र समाज,देश,विश्वमा विशाल परिवर्तन गर्न सक्दछ । वर्तमान विश्वमा जति पनि ठुल्ठुला परिवर्तन र बिकासहरु भएकाछन् ति परिवर्तन र विकास राजनितीले प्रत्यक्ष सरोकार राखेको हुन्छ । एकातिर विश्वमा विसाल परिवर्तन रर विकास यहि राजनितीले भएका छन् भने हाम्रो जस्तो नेपालमा न परिवर्तन नै हुन सकेको छ न बिकास नै हुन सकेको छ । अझ त्यसको विपरित चरम सामाजिक विभेद,चरम आर्थिक असमानताका भयानक खाल्डाहरु निर्माण भएका छन् । यी आर्थिक असमानताका खाल्डाहरु पुर्न सामाजिक विभेदका पर्खालहरु भत्काउन विद्यमान देशमा रहेका उत्पीडन,शोषण,भ्रष्टचारको अन्त गर्न २,४जनाले मात्र सम्भव छैन । तर्सथ यी विशाल समस्याका पर्खालहरु ध्वस्त पार्न तपाई हामी नेपाली दाजुभाइ दिदीवहिनी सबै एक ढिक्का भएको खण्डमा मात्र सम्भव छ । त्यसैले हाम्रो नेपाल उच्च बनाउँनु छ भने हामी सबैले राजनिती गर्नु पर्दछ वा न्युनतम सुझबुझ राख्नै पर्दछ भन्ने मेरो राजनैतिक दृष्टिकोण हो । तर यहाँ एउटा विचारणिय कुरा के छ भने हाम्रो राजनिती बुर्जुवा,सामन्ति,पुरातन सोच र यथास्थिती सोचको नभई सच्चा राजनिती हुनु पर्दछ । जस्ले अहिलेको आधुनिकतालाई आत्मसाथ गर्दै सम्वोधन गर्न सक्ने हुनु पर्दछ ।
१२.हाल नेपालमा संघीय लिम्बुवानको अवधारणा विभिन्न लिम्बुवानी पार्टी र अन्य राजनैतिक पार्टीहरुले पनि एजेण्डाको रुपमा उठाएकाछन् यसमा तपाई कतिको आशावादी हुनुहुन्छ ?
नेपालमा संघीय लिम्बुवानको अवधारणा तथा माग लिम्बु जन्य संघ,संगठन,मोर्चा देखी ठुला राजनैतिक दलहरुले समेत उठार्इरहेका छन् कतिले त आफ्नो एजेण्डा कै रुपमा उठार्इरहेका छन् । यो सवल पक्ष हो तर यहाँ विचारणीय कुरा के छ भने यो राजनैतिक पार्टीहरुको केवल देखाउने दाँत मात्र हो की साँच्चै खाने दाँत नै हो समयले देखाउने छ । किनकी लिम्बुवानी संगठन,मोर्चाहरु अहिले सम्म आलो काँचो नै छन् । यस्तो अपरीपक्क अवस्थामा सही दर्शन र सहि गतिको अभाव रहनु स्वभाविकै हुन्छ । यस्तो अवस्थामा अवसरवादीहरुले उनीहरुको स्वार्थ अनूकुल प्रयोग गर्दछन् । लिम्बु लिम्बु बिच षड्यान्त्र गरि भिषण टकराव सिर्जना गरिदिन्छन् । फलत लिम्बुवानमा लिम्बुहरुको शक्ति छिन्नभिन्न बनाई आफ्नो अनूकुल स्वार्थसिध्द गर्नु हो । एकातिर लिम्बुवानमा लिम्बु जन्य मोर्चा पार्टीको अवस्था यस्तो छ भने अर्कोतिर लिम्बु जन्य व्यक्तित्वहरुको राज्यको उच्चतह,राज्य संयन्त्रहरुमा नितिनिर्माणमा,शक्ति प्रयोग गर्ने ठाउँहरुमा,प्रशासनिक क्षेत्रमा,सैनिक उच्चतहहरुमा उपस्थिती छदै छैन । यस्तो स्थितीमा सम्पूर्ण राज्य सत्ताको चावी त्यहि लिम्बुवान (संघीय) को विरोधीको हातमा भएकोले लिम्बुवानको ग्यारेण्टि हुन्छ भन्नु निक्कै कठीन छ । तर वास्तविकता केहि भने नचाहेर पनि मन नलाग्दा नलाग्दै पनि ती तत्वहरुले लिम्बुवानको आवाज र शक्तिलाई बिश्लेषण गरेर लिम्बु र लिम्बुवानको मागलाई सम्बोधन गर्नेछ भन्ने मलाई लाग्दछ । र लिम्बुवानी संघ,संगठन,मोर्चा,पार्टीहरुले निरन्तर खवरदारी गरी रहयौं भने निश्चित रुपमा संघीय लिम्बुवानको सुनिश्चिततामा म आशावादी नै छु ।
१३.तपाईलाई जीवनमा नगरी नहुने काम के लाई ठान्नु हुन्छ ? अथवा कुन काम बढी गरौं जस्तो लाग्छ ?
मलाई जीवनमा नगरि नहुने भन्दा पनि बढी गरु जस्तो लाग्ने विषय चाहीँ राजनिति नै हो । किनकी मेरो जीवनको यहाँ सम्मको विश्लेषण गरे अनुसार संसारमा अति बिकसीत देखि अति बिकसीत देशहरु छन् । बिकसित देशहरुमा सम्पूर्ण राज्य श्रोतका संसोधनहरु निश्चित उचित प्रकृयाबाट परिचालित हुन्छ , जस्ले त्यो देशको हरेक क्षेत्रमा अग्रगति लिएको हुन्छ । यो सिस्टम राम्रो परिचलन नगरेको खण्डमा देशको उधोगति लिने छ भन्ने मेरो विश्लेषण हो । यो सम्पूर्ण सिस्टमहरुको निती निर्माण परिचालन सहि राजनितिले मात्र दिशा निदिष्ट गर्ने भएकोले देश बिकासको सबै भन्दा प्रमुख तथा महत्व पूर्ण औजार राजनिति नै हो । यो कारणले मलाई अन्य बिषय भन्दा राजनिति नै गरौ जस्तो लाग्दछ ।
१४.हालैको नेपालको राजनैतिक गतिविधीलाई कसरी हेरी रहनु भएको छ ?
बर्तमान नेपालको राजनितिलाई बिश्लेषण गर्दा दुर्इ राजनितिक खेमा वा दुर्इ राजनितिक बिचारको ध्रुबिकरण भई रहेको महसुस गर्दछु । एउटा खेमा पुरानै मनोब्यक्ति,पुरानै सोच मुल्य मान्यतामा आधारित रहेर यथास्थीति मै क नेपालको भूमण्डललीलाई राख्न चाहान्छ भने अर्को खेमा यी चिन्तन र सोचबाट अमुल परिवर्तन गरी अग्रगमी बैज्ञानिक शैलीमा नेपालको भूमण्डलीलाई लान चाहान्छ । तर यहा बास्तबिकता के हो भने यो बिपरित ध्रुबका राजनैतिक शक्तिहरुको कठोर घर्षण र उत्तर चढाब ले एक दिन न एक दिन एउटा त्यहा यस्तो मिलन बिन्दु फेला पर्नैछ ,जुन बिन्दु सन्तुलनको बिन्दु वा साझा बिन्दु हुने छ । अहिले सम्मको राजनैतिक कठिन तथा बिषम मोड त्यहि मिलन बिन्दुबाट सहमति र सहकार्य सुरु हुनेछ भन्ने कुरामा म बिश्वस्त छु ।
१५. लिम्बुवान ब्लग मार्फत बिश्वभरि छरिएर रहेका पाठक तथा शुभचिन्तकहरुलाई केहि शन्देस दिन चाहनु हुन्छ कि ?
सर्बप्रथम त मेरो बिचार तथा भावना बिश्वका सम्पूर्ण नेपाली दाजु तथा दिदी बहिनीहरुलाई सम्प्रेषण गर्ने मौका दिनु भएकोमा लिम्बुवान ब्लगस्पोट डटकम तथा तपाई ब्लगर टंक सम्बाहाम्फे ज्यूलाई हृदय देखि नै धन्यबाद दिन चाहान्छु । साथै बिश्वमा छरिएर रहेका आदरणिय नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहान्छु भने २१सौं सताब्दीको बैज्ञानिक र आधुनिक युगमा बिश्व कहाँ पुगी सक्यो तर हामी नेपालीहरु दिनानु दिन अझ तल तल झरीरहेका छौ । बिश्व सामु हाम्रो उचाई दिनानु दिन घटिहेको छ । दिनानु दिन नाक खुम्चिरहेको छ यो अबश्य हाम्रो सवल पक्ष होईन । तसर्थ हामीले हाम्रो नेपालको गौरबता राख्नु छ भने, गौरबशाली नेपाली बन्नु छ भने नेपाली पहिचान सहित बिश्व सामु शिर ठाडो पार्नसक्नु पर्दछ । त्यसैले हामी बिश्वभरी छरिएर रहेका नेपालीहरु जहाँ जतै बसे पनि आफ्नो देश,आफ्नो क्षेत्र मातृभूमीको माया गरौ । हामी सबैको संगालोले मात्र यी कुराहरु सम्भब छ । तसर्थ हामी दिशा बिहीन कतै अलमलिएर चौबाटोमा छौ भने पनि सहि बाटोको पहिचान समय मै रोज्न सिकौ र हिडौ भन्ने आपेक्षा राख्दछु । धन्यबाद । आसेवारो ।

May 26, 2010

रविन कुमार नाल्बोसंगको अन्तरवार्ता

मेची अञ्चल ताप्लेजुङ जिल्ला अन्तर्गत नाल्बु गा.बि.स.वडा नं.५ चाम्ब्रुङमा बि.सं.२०३२ फाल्गुन ४ गते जन्मनु भएका रविन कुमार नाल्बो(लिम्बु) हाल हङकङमा सपरिवार बसोवास गरी रहनुको छ । पाटन बहुमुखी क्याम्पसबाट प्रमाण पत्र तहसम्मको शिक्षा ग्रहण गरि हङकङ आउनु भएको हो वहाँले पहिले कोरीया ताई क्वान दो चुङ दो क्वान नेपाली समूहमा ८ वर्षसम्म आवद्ध भएर ३ डन सम्मको खेल उपाधि लिई सक्नु भएको छ । त्यसपछि आफैले कोरीया ताई क्वान दो चुङ दो क्वान सम्वद्ध भएर एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापना गरे पाश्चात ४ डनको उपाधि पनि हाँसील गरेर ब्यावसायीक र सामाजिक सेवामा निर्लिप्त भएर लाग्नु भएको छ । एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापनाको चारौ बर्षको क्रममा झण्डै २००भन्दा बढी नेपाली तथा गैरनेपालीहरु ताई क्वान दो खेलको प्रशिक्षण लिई रहेकाछन् । तेस्रो,चौथो अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पियनसीपमा रजत र कास्य पदक समेत प्राप्त गरी सक्नु भएको छ । नेपाली महासंघ हङकङले सन् २००८ र २००९ मा कदर पत्र र मेडल साथै नेपाली पदक तेस्रोले विभूषीत हुनु भएको छ । र किरात यक्थुङ चुम्लुङ हङकङले पनि सम्मान पत्र दिएको छ । हङकङमा भएका ताइ क्वान दो च्याम्पियनसीपहरुमा अफिसियल जज र रेफ्रीको भूमिका पनि असल तरिकाले पूरा गरी सक्नु भएको छ । यिनै दिग्गज खेलाडी गुरुसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।
१.ब्यवहारीक काम,सामाजिक कामसंगै खेलकुदको समयलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
हङकङ जस्तो ब्यस्त ठाउँमा सम्पूर्ण काम गर्नु पर्ने भएकोले ब्यवहारीक काम,सामाजिक कामसंगै खेलकुदको समयलाई आफ्नो कर्तब्य सम्झेर निरन्तर रुपले अगाडी बढ्ने काम गरी रहेको छु । विशेष खेलकुदमा ताई क्वान दोलाई ,सामाजिक तथा पेशागत रुपले हङकङमा अङगाली रहेको छु । त्यसै भएकोले यी सारा कामहरुको तालमेल मेरो आन्तरीक इच्छाशक्तीले भएको हो ।
२.तपाईले ताई क्वान दो खेलको चार डन लिई सक्नु भएको ब्यक्ति हुनु भएकोले यो खेलमा प्राप्त गर्नु भएको अनुभव छोटकरीमा बताई दिनु होस् ?
खासगरी म ताई क्वान दो खेलमा लागेको लगातार १२ बर्षपुग्यो । र यहाँ लाग्नुको प्रमुख कारण यस प्रकार छ । सबै भन्दा पहिले खेलले शारीरीक,मानसिक,बौद्धिक र नैतिक,आत्मरक्षा र ब्यतित्व बिकास गर्दछ तसर्थ यीनै कारणले आकषिर्त गरेर यता लागेको हुँ । त्यहि अनुरुप मैले यस क्षेत्रबाट यी सबै कुरा सिक्ने ,जान्ने अवसर पाए । जस्ले गर्दा आज म आफ्नै खुट्टा उभ्न सक्ने सक्षम ब्यक्ति भए । र यस शिक्षालाई हङकङमा बसोबास गर्नुहुने नेपाली तथा गैरनेपालीहरुमा बाड्ने काम एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापना गरेर हङकङको बिभिन्न स्थानहरुमा प्रशिक्षण कक्षाहरु सञ्चालन गरीरहेको छु । युवा युवती देखि लिएर प्रौढ सम्मका ब्यक्तिहरुलाई कुलतबाट बचाउँन साथै आत्मरक्षा, शारीरीक,मानसिक,बौद्धिक र नैतिक र ब्यक्तित्व बिकासको लागि यो कार्यमा निरन्तर लाग्दै आएको छु । र आज सम्म मैले प्राप्त गरेका अनुभवहरु यिनै नै हुन् ।
३.ताई क्वान दो खेलमा लागेर आज सम्ममा तपाईले कुनै पदक तथा सम्मानहरु प्राप्त गर्नु भएको छ ?
यस ताई क्वान दो खेलमा लागेर सन् २००३ मा अमेरीकामा भएको तेस्रो अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पीयनसीप इस्पायरीङ खेलमा सबै भन्दा पहिले रजत पदक प्राप्त गरे साथै सन् २००५ सालमा चौथौं अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पीयनसीप इस्पायरीङ खेलमा पनि मैले काश्य पदक प्राप्त गरेको थिए । च्याम्पीयनसीप होस्टिङ कमिटीको सदस्य र आर्थिक सहयोग विभागको अध्यक्ष समेत भएको थिए । यस क्षेत्रमा क्रियाशील रुपले लागेको हुँदा किरात याक्थुङ चुम्लुङ हङकङले सन् २००५ मा सम्मान पत्र र नेपाली महासंघ हङकङव्दारा सन् २००८ मा कदर पत्र साथै मेडल र सन् २००९ मा नेपाली तेस्रो पदकव्दारा सम्मानित भएको छु ।
४.ताई क्वान दो खेलकुद क्षेत्रमा लाग्नुको प्रमुख कारण के हो ?
खासगरी म ताई क्वान दो खेलमा लाग्नुको प्रमुख कारण शारीरीक,मानसिक,बौद्धिक र नैतिक,ब्यक्तित्व बिकासको लागि नै हो । साथै यसक्षेत्रबाट सामाजिक प्रतिष्ठा र सम्मान पनि प्राप्त गर्न सकिने भएकोले खेल क्षेत्रबाट अगाडी बढेको हुँ । हङकङ ताई क्वान दो एसोसीएसनबाट एड्भान्स कोच (प्रशिक्षक)गरेको छु साथै क्वैलिफाइड रेफ्रीको रुपमा पनि काम गरी रहेको छु । वल्ड ताई क्वान दो फेडेरेसन कुकीवनबाट अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स सन् २००७ मा पुरा गरी सकेको छु ।
५.ताई क्वान दो खेलले मानिसको जीवनमा कस्तो प्रकारको प्रभाव पार्दछ ?
ताई क्वान दो खेलले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्दछ । जस्तो की नेपालको ताई क्वान दो खेल क्षेत्रलाई फर्केर हेर्दा सबै भन्दा पहिले सन् १९८८ को साउथ कारीया सिउल ओलम्पीकबाट बिधान लामाले कास्य पदक प्राप्त गरेका थिए । जस्ले गर्दा सिङगो नेपाललाई बिश्वभरी चिनाएका छन् । त्यसरी नै बिश्वलाई नेपाल चिनाउनेहरुमा राज कुमार राइ,सीता राइ,सङगीना वैद्य,रेनुका मगर,दीपक बिष्ट आदि हुन् । तसर्थ ताई क्वान दो खेलले मानसम्मान साथै बौद्धिक,नैतिक,शारीरीक र मानसिक,ब्यक्तित्व बिकास गर्ने भएकोले मानिसको लागि ज्यादै महत्वपूर्ण कुरा हो । राष्ट्रलाई बिश्वमा चिनाउदा देशले पनि उच्च सम्मानका साथ आर्थिक पुरस्कार दिने भएकोले खेलाडीको जीवनस्तरलाई धेरै सहयोग पुर्याएको छ । ताई क्वान दो खेलले गर्दा बैदेशीक रोजगार,बैदेशीक आत्मसम्मान साथै अन्य बिभिन्न अवसर समेत पाएका छन् ।
६.तपाई ताई क्वान दो खेलको गुरु हुनु भएकोले अन्य कार्यक्षेत्रमा पनि गुरुको चरित्र प्रदर्शन गर्नु हुन्छ की हुन्न ?अथवा खेल र कार्य क्षेत्रमा गुरुले निभाउनु पर्ने भूमिका वेग्लै हुन्छ ?
म एउटा ताई क्वान दो खेलको गुरु भएको नाताले के भन्न चाहन्छु भने खेल र कार्य क्षेत्रमा चरीत्र प्रदर्शन गर्नु पर्नेमा केहि फरक पर्दछ । किनकी ताई क्वान दो खेल अनुसारको निति नियम र निर्देशन पालना गर्नुपर्ने भएकोले त्यहि अनुरुप गुरुले आफ्नो चरीत्र प्रदर्शन गर्नु पर्दछ । साथै कार्यक्षेत्रमा कम्पनीको निति नियम र निर्देशन अनुसार बिभिन्न ओहदामा रहेर काम गर्नु पर्ने हुँदा त्यहि अनुरुप नै काममा प्रस्तुत हुनु पर्दछ । खेल र कामको प्रकृति नै फरक भएकोले परिस्थिती अनुसार म प्रस्तुत हुने गर्दछु ।
७.तपाई लिम्बुवानको लिम्बु खेलाडी भएको नाताले हाल नेपालमा लिम्बुवान स्वायत राज्यको कुरा आईरहेको छ यस बारेमा तपाईको बिचार के छ ?
म एउटा लिम्बुवानको लिम्बु खेलाडी भएको नाताले हाल नेपालमा लिम्बुवान स्वायत राज्यको कुरा आईरहेकोलाई सकारात्म रुपले हेरी रहेको छु । र त्यसको लागि सहयोग गर्नुपर्ने मानसिक तथा आर्थिक सहयोग पूर्णरुपले गरी नै रहेको छु । नेपालको इतिहासलाई पल्टाएर हेर्दा लिम्बुवान राज्य छुट्टै भएको देखिन्छ । तर शासकहरुले यस राज्यलाई तहसनहस गरी नामेट गराएका थिए । र पनि लिम्बुहरुको भाषा,धर्म,संस्कार,संस्कृति,लिपि कहिल्यै लोप भएर गएन । शायद यसकै कारणले होला लोकतन्त्रको आगमन पाश्चात लिम्बुवान शब्दले पुनर्जन्म पायो । त्यसैले अव म के भन्न चाहन्छु भने लिम्बुवान स्वायत राज्य नेपाल सरकारबाट नै घोषणा होस् । साथै अव बन्ने लिम्बुवान स्वायत राज्य लिम्बुहरुको मात्र नभएर गैरलिम्बुहरुको पनि हो । यसैले लिम्बुवानलाई सारा लिम्बुवानबासीहरुले माया गरौं ।
८.तपाईले हङकङमा एभरेष्ट ताई क्वान दो एकेडेमी समेत खोलेर खेलको बिकास र शिक्षा दिईरहनु भएको छ त्यसैले यस संस्थाको कार्य र उदेश्य के होला ?
एभरेष्ट ताई क्वान दो एकेडेमीको प्रमुख कार्य भन्नु नै ताई क्वान दो खेलको बिकास गर्नु हो । साथै यस संस्थाले खेलाडीहरुको मानसीक,बौद्धिक,शारीरीक,नैतिक र ब्यक्तित्व बिकास गर्ने कार्यमा लागि रहेको छ । खेलबाट नै सामाजिक र ब्यावसायीक सेवा गर्न सकिने भएकोले नेपाली तथा गैरनेपाली खेलाडीहरुमा यिनै उदेश्यहरु राखेर खेल प्रशिक्षण कार्य गर्दै आएको छ । यसै क्रममा हङकङ नेपाली महासंघले सन् २००८ म प्रशिक्षकलाई कदर पत्र प्रदान गरेको थियो भने २००९ मा संस्थालाई नेपाली तेस्रो पदकले समेत सम्मान गरेको थियो ।
९.तपाईले खेल क्षेत्र नै रोज्नुको कारण के होला ?यदि खेल क्षेत्रमा नलाग्नु भएको भए कुन क्षेत्रलाई रोज्नु हुन्थ्यो होला ?
म एक प्रकारले सानै देखि खेल खेल्नमा मरीहत्ते गर्थे । त्यसवेला मलाई खेलबाट समाजसेवा वा ख्याती कमाईन्छ भन्ने कुरा थाहा थिएन तर पनि खेलप्रति ज्यादै आकर्षित थिए । खासगरी म सानो छदा बिना हतियार बलियो हुन मन लाग्थ्यो । साथै माध्यमिक विद्यालय जादा ताप्लेजुङमा मैले औपचारी कराते खेल प्र दर्शन गर्ने मौका पाए । त्यसपछि क्याम्पस अध्यायन गर्दा काठमाडौंमा मैले औपचारीक रुपले ताई क्वान दो खेल खेल्ने र सिक्ने अवसर पाएको थिए । नेपालमा रहदा समय अभावले गर्दा ताई क्वान दो खेललाई निरन्तरता दिन सकिन । तर हङकङ अगमन पाश्चात भने कोरीया ताई क्वान दो चुङ दो क्वान हङकङको नेपाली समूहको प्रशिक्षार्थी र प्रशिक्षक भएर झण्डै ८ वर्ष त्यहा आवद्ध भए ।त्यसपछि भने मैले एभरेष्ट ताई क्वान दो एकेडेमी खोलेर यो खेलको प्रशिक्षण दिने कार्य पनि गर्दै आएको छु । हाल यो एकेडेमी चौथौं बर्षा प्रवेश गरीसकेको छ । म सानो छदाको खेल खेल्ने सपना अहिले आएर वास्तबिकतामा परिणत भएको छ । खेल नै मेरो सपना भएकोले खेल क्षेत्र रोजेको हुँ । यदि खेल क्षेत्रमा नलागेको भए नेपाल भने राजनितिक नेता नै हुन्थे होला । किनभने सानो छदा पनि राजनितिक गतिविधीलाई रुचाउथे । हङकङमा पनि खेललाई नरोजेको भए सामाजिक सेवा तिर खुलेर लाग्थे होला । खासगरी यहाँ मैले खेलबाट नै समाजिक सेवाको कार्य गरी नै रहेको छु ।
१०.ताई क्वान दो खेल क्षेत्रमा आउनु हुने नयाँ पुस्ताका खेलाडीहरुलाई कस्तो प्रकारको सल्लाह र सुझाव दिन चाहनु हुन्छ ?
ताई क्वान दो खेलको शुरुआत हुँदा मार्सल आर्टको रुपमा खेलिदै आएको थियो । तर पछि गएर पूर्णरुपले स्पोर्टको रुपमा परीणत भयो । त्यसपछि भने बिश्व कै लोकप्रिय खेलको रुपमा खेल्न थालियो । यो खेलको स्तर र महत्व दिनप्रति दिन स्तरीय बन्दै गयो जस्ले गर्दा बिश्वभरीमा १३४ देशबाट झण्डै १ करोड ८० खेलाडीहरु र ५० लाख भन्दा बढी प्रशिक्षकहरु मात्र रहेकाछन् । यसरी खेलाडीहरु दिनानु दिन वृद्धि हुनुको प्रमुख कारण मानसीक,नैतिक,वौद्धिक,शैक्षिक,ब्यक्तित्व र आर्थिकको समेत बिकास गर्ने भएकोले यो खेलमा लाग्नको लागि नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरीत गर्न चाहन्छु । यो खेलको भविष्य अहिले भन्दा पनि अझ गुणात्मक रुपले वृद्धि हुदै जाने भएकोले यो खेलको मुल्य र मान्यता बिश्वभरीमा नै उच्च रहेको छ । त्यसैले ताई क्वान दो खेल क्षेत्रमा लाग्न नयाँ पुस्ताका खेलाडीहरुलाई सल्लाह र सुझाव दिन चाहन्छु ।
११.तपाई हङकङमा रहनु भएकोले नेपालको वर्तमान राजनैतिक परिस्थितिलाई एउटा खेलाडी हैसियतले कसरी मुल्याङकन गर्दै हुनुहुन्छ ?
म अहिले हङकङमा रहे पनि नेपालप्रतिको मायाँ र स्नेह नेपाल रहनु हुने नेपालीहरुको जति नै छ । सायद बिदेशी भूमिमा बसीएकोले होला नेपाल प्रतिको माया झन प्रगाढ भएर आएको छ । खासगरी नेपाल दुइ ढुङगा बिचको तरुल भने पनि हुन्छ । दुइ बिश्व कै शक्तिसाली देशहरुको बिचमा रहेर राजनैतिक खिचलो मचाउनु निक्कै अशुभ कार्य हो किनकी भोलि गएर राजनैतिक तानातानले गर्दा राष्ट्रको नाम नै नामेट भएर जान सक्छ । त्यस कारण नेपालका ठुला साना सबै राजनैतिक पार्टीहरु एकजुट भएर राष्ट्रको हितमा अगाडी बढ्न जरुरी छ । र नेपालमा शान्तिको अमनचयन कायम गरी सारा नेपालीहरुको बाच्ने अधिकार सुरक्षित गर्नु पर्दछ । तब मात्र नेपालले बिकासतिर फड्को मार्ने सुअवसर प्राप्त गर्दछ । नेपाली नागरिकहरुको सम्पूर्ण हकअधिकार सुरक्षित गरी शैक्षिक,आर्थिक,नैतिक बिकास भएको म हेर्न चाहन्छु । जस्को लागि नेपालको राजनैतिक पार्टीहरुले प्रमुख भूमिका खेल्नु पर्दछ । चीन र भारत बिच राजनैतिक समन्वय कायम गरी अघि बढ्नु पर्दछ । तब मात्र नेपालको सार्वाङगीण बिकासको ढोका खुल्दछ । अहिलेको राजनैतिक परिस्थिति सकरात्मक र नकरात्मक दुबै पक्ष बिच गुज्रिरहेको छ । त्यसैले दुवै पक्ष मिलेर राष्ट्रको लागि अगाडी बढ्नु नै उचित ठान्दछु ।
१२.एउटा ताई क्वान दो खेलाडी गुरुको आँखाले खेल र जीवनलाई कसरी हेर्नु हुन्छ ?
एउटा ताई क्वान दो खेलाडी गुरुको हैसियतले म खेललाई मानिसको जीवनको अत्यान्तै जरुरी अथवा नभई नहुने कुराको रुपमा हेर्दछु । किनभने खेलले मानिसको ब्यक्तिगत जीवनलाई बिकास गर्न सहयोग गर्दछ । खेलले खासगरी शारीरीक,मानसिक,बौद्धिक,नैतिक,आत्मरक्षा,ब्यक्तित्व र आर्थिक हिसावले पनि अगाडी बढ्न मद्दत गरेको छ । ताई क्वान दो खेल ओलम्पीकको लोकप्रिय खेल मध्ये एकमा पर्दछ । र यो खेल बिश्व कै धेरै भन्दा धेरै मानिसहरुले खेल्ने गरेका छन् । मानिसको शारीरीक बिकासको लागि खेल ज्यादै आवश्यक पर्दछ । त्यसैले खेललाई मानिसको लागि नभई नहुने कुराको रुपमा हेर्दछु । किनभने बिश्वका मानिसहरु कुनै न कुनै खेलमा आवद्ध भएका हुन्छन् । मानिसले जन्मे देखि अन्त्य सम्ममा महान कार्य गरेका हुन्छन् । जस्तै बैज्ञानिक,पाइलट,डाक्टर,इन्जिनियर,राजनेता,अभिनेता,भविष्यवेत्ता,मनोवैज्ञानिक,भूगर्भशास्त्री र अर्थशास्त्री आदि बन्छन् । त्यसरी नै खेलले गर्दा पनि मानिस लोकप्रिय खेलाडी रुपमा प्रस्तुत हुन सक्दछ । जस्तै राष्ट्रलाई चिनाउने खेलाडीहरु हुन्छन् । यसकारणले गर्दा मानिसको जीवनलाई खेलाडी गुरुको आखाले हेर्दा ज्यादै भिन्न रुपले देख्दछु ।
१३.यस खेलमा लाग्नको लागि कसैको प्रेरणा छ की ? साथै खेलमा प्राप्त गर्नुभएको श्रेय कस्लाई दिन चाहनु हुन्छ ?
खासगरी यस खेलमा लाग्नको लागि कसैको प्रेरणा छैन भन्दा पनि हुन्छ । म आफै त्यागी भएर लागेको हुँ । सुरुमा यस खेललाई अङगाल्दा कसैले पनि खेल क्षेत्रमा लाग्नको लागि प्रोत्साहन दिएनन् । बरु हतोत्साह गर्न खोजे तर मैले आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर पाइला चाली रहे । जस्ले गर्दा म आज यस स्थानलाई ग्रहण गर्न पुगे । खेल क्षेत्रमा लागेर प्राप्त गरेको श्रेय खासगरी मेरो परिवारलाई दिन चाहन्छु । किनभने मेरो घर परिवारको सम्पूर्ण काम मेरी श्रीमति एक्लैले पुरा गरी दिएर सारा समय निकाली दिन्थिन् । त्यहि समयको सदुपयोग गर्दै खेल क्षेत्रबाट यस्तो उपलब्धि प्राप्त गरेको हुँ । यदि घरको सरसहयोग नहुने हो भने मेरो खेलको सपना अवश्य पुरा हुने थिएन ।
१४.लिम्बुवान ब्लगको माध्यमबाट बिश्वभर छरिएर रहनु भएका पाठकहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ ?
सर्वप्रथम यस ब्लगमा मलाई आफ्नो दुइ शब्द राख्ने मौका दिनु भएकोमा तपाई टंक सम्वाहाम्फेलाई धन्यवाद दिन चाहन्छु । र बिश्वभर छरिएर रहनु भएका मेरा साथीभाइ सम्पूर्ण सुभचिन्तकहरुलाई र्सबप्रथम कुनै पनि खेलमा लागेर खेलको बिकासमा जुनसुकै देशमा वा स्थानमा रहेर पनि योगदान दिन सक्नु हुनेछ । खासगरी खेलले ब्यक्तित्व,नैतिक,वौद्धिक,शारीरीक,मानसिक,आत्मरक्षा र आर्थिक बिकासमा सहयोग पुर्याउने भएकोले यस क्षेत्रमा लागेर तपाईहरु सधै अगाडी बढी रहनुहोस् । जहाँ रहे पनि हाम्रो देश नेपाल र नेपालीलाई माया गर्नुहोस् । खेल अहिले समयसापेक्ष सवैले खेल्नु नै उचित ठान्दछु ।