May 19, 2009

भानेन्द्रकुमार सम्वाहाम्फेसँगको कुराकानी

वि.सं. २०१९-०४-०४ मा जन्मनु भएका राजनितिकर्मी,उद्यमी तथा साहित्यकार भानेन्द्रकुमार सम्वाहाम्फे धरान नगरपालिका, वडा नम्बर १५,सुनसरी जिल्ला, कोशी अञ्चलका स्थायी वासीन्दा हुन् । तर अस्थार्इरुपले काठमाण्डौ महानगरपालिका, वडा नम्बर ३, जलढुङ्गा मार्गमा बस्दै आउँनु भएको छ । वहाँले हङ्गकङ्ग थाइलैण्ड, भारत र दक्षिण कोरिया आदि देशहरु भ्रमण गरिसक्नु भएको छ । हाल स्पार्क हाइड्रोइलेक्टि्रक कम्पनी लिमिटेड, नेपाल - अध्यक्ष तथा प्रबन्ध सञ्चालक,हिल्सडेल ग्रुप इन्कर्पोरेसन, अमेरिका - एशिया क्षेत्रिय निर्देशक,कञ्चनजङ्गा इनर्जी डेभलपर्स कं. प्रा. लि., नेपाल - अध्यक्ष फेडेरेसन इनर्जी डेभलपर्स, नेपाल - संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । यसको अलवा शिक्षक पेशामा आठ वर्ष झण्डै एक दशक होटल, रेष्टुरेण्ट,ट्रेकिङ्ग र ब्यापार ब्यावसाय सञ्चालन गर्नु भएको थियो ।लामो समयसम्म वाम राजनीतिक कार्यकर्ताको रुपमा काम गरी विक्रम सम्वत २०४८ को आम चुनावमा सुनसरी जिल्लाको चुनाव क्षेत्र नम्बर १ मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाबाट प्रतिनिधिसभाको सदस्यको चुनावमा भाग लिर्इ तेस्रो स्थान समेत प्राप्त गर्नु भएको थियो । उनै गर्व गर्न लायक नायक भानेन्द्रकुमार सम्वाहाम्फेसँग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको समक्ष प्रस्तुत गरिएको छ ।

१.हाल तपाई केमा व्यस्त रहनुभएको छ ? र दिनचर्यालाई बढी कुन काममा लगानी गर्दै हुनुहुन्छ ?
टंकजी, निजीक्षेत्रको जलविद्युत व्यवसायी भएको हुँदा म आफ्नो व्यवसायमा नै व्यस्त छु । आफ्नो व्यवसायलाई कसरी राम्रोसंग चलाउन सकिन्छ भनेर बढी समय मैंले आफूले प्राप्त गरेको आयोजनामा लगाउने गरेको छु ।

२.नेपालको परिवर्तित वर्तमान राजनैतिक परिस्थितिलाई कसरी मुल्याङ्कन गर्दै हुनुहुन्छ ? के यहि राजनैतिक परिस्थितिले नयाँ संविधान लेखनलाई प्रभावित पार्दैन ?
नेपालमा जे भइरहेको छ त्यो नेपाल र नेपाली जनताको लागि दुर्भाग्यको कुरा हो । वर्तमानमा घटित घटनाले नेपालको सार्वभौमसत्ता जनतामा नभई अझैं पनि सामन्त र तिनका दलाल्कै हातमा रहेको स्पष्ट्याएको छ । यो ज्यादै आपत्तिजनक कुरा हो । वैदेशिक चलखेलले त नेपालको स्वतन्त्र र स्वाधिन छविमाथि धावा बोलेको छ । यसको मतलब नेपालको राष्ट्रियता खतरामा छ भनेर बुझन गाह्रो छैन । टंकजी, नेपालमा लेण्डुप दोर्जेका अवतारहरुले जन्म लिन प्रयास गरिरहेका छन् । हुन त पहिले देखि नै कोशिश नगरेका पनि होइनन् तर यस पटक भने तिनीहरु तुलनात्मकरुपमा बढी नै शसक्त छन् । देश गम्भीर संकटमा छ । राष्ट्रलाई माया गर्ने नेपाल आमाका सपूतहरुको दह्रो उपस्थिति र सक्रियता अपरिहार्य भएको छ । वर्तमानको राजनीतिक अन्यौलले संविधान लेखनलाई जरुर प्रभावित पार्दछ । यस्तो अवस्थामा जनताप्रति समर्पित संविधान लेखिइनसक्ने सम्भावना छैन ।

३.नेपालको ऐतिहासीक परिवर्तनले नेपाली जनताहरु जति खुशी थिए अहिले आएर त्यो खुशी धेरै हद सम्म हराएर गएको छ त्यसैले अव हामी जस्तो निम्नस्तरीय जनताले यो देशको लागि कस्तो प्रकारको भूमिका खेल्न सकिन्छ होला ?
हो टंकजी, तपाईंको भनाइसंग म सहमत छु । परिस्थितिले त्यस्तै देखाएको छ । राजनीतिक पार्टी र तिनका नेतृत्वमा राष्ट्र र मातृभूम्रि्रतिको जिम्मेवारी बोध भएको पाइएको छैन । यसोभन्दा सबै पार्टी र तिनका नेतृत्व त्यस्ता छन् भन्न खोजिएका होइन तर राष्ट्र र मातृभूमि प्र ति इमान्दार पार्टी र नेताको संख्या ज्यादै थोरै छ । यहाँ त देशलाई बन्धकी राखेर भए पनि आलिशान घर अनि मन्त्री पद खान लालयित हुनेहरुकै संख्या अधिक छ । यस्तो विषम परिस्थितिमा तपाईं हामी जस्ता जनताले लेण्डुप दोर्जे बन्न हतार गरिरहेका अधमहरुलाई ठीक लगाउनुपर्छ र प्राणभन्दा प्यारो मातृभूमिलाई सिक्किम बन्नबाट जोगाउनुपर्छ चाहे वलिदान दिनु किन नपरोस् नत्र हामी आफ्नै देशमा बन्धक बनाइनेछौं र पराधिनतामा बाँच्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुनेछ ।

४.तपाई लिम्बुवान क्षेत्रमा पर्ने तमोर मेवा हाईड्रो इलेक्ट्रिक पावर योजनासँग सम्वद्ध ब्यक्ति हुनुहुन्छ त्यसैले यसको उदेश्य र फाईदा वारे छोटकरी वताईदिनु हुन्छ कि ?

हो टंकजी, म तमोर-मेवा जलविद्युत आयोजना अर्थात् तमोर-मेवा हाइड्रोइलेक्ट्रिक पावर प्रोजेक्टसंग सम्बन्धित छु । तमोर-मेवा मेवा जलविद्युत आयोजना विकास गर्नाको लागि इजाजतप्राप्त कम्पनीको नाम स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड हो । यो कम्पनी सार्वजनिक कम्पनी अर्थात् यो पब्लिक कम्पनी हो । यसमा इच्छा हुने जोकोहीले पनि शेयर किन्न सक्नेछन् । शेयर स्वदेशी र विदेशी एवम् विदेशमा बस्ने जोकोही नेपालीले आफूले आर्जन गरेको कमाइबाट चाहेको शेयर किन्न सक्नेछन् । म स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको संस्थापक अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुँ । वर्तमानमा पनि म यस कम्पनीको अध्यक्ष तथा प्रबन्ध सञ्चालक नै छु । यो आयोजना लिम्बुवान क्षेत्रमा पर्दछ । लिम्बुवानक्षेत्रको प्रमुख नदी तमोर र तमोरको सहायक नदी मेवा खोलामा यो आयोजना बनाइनेछ । तमोर नदीबाट ८३ मेगावाट र मेवा खोलाबाट १८ मेगावाट जलविद्युत शक्ति अर्थात् बिजुली निकालिनेछ । यसको लागत करिब १८ अरब अनुमान गरिएको छ । यस आयोजना विकास गर्न खोज्नुको उद्देश्य चाहीँ समग्र लिम्बुवानबासीलाई यस्ता खालका ठूला आयोजनाहरुमा सहभागिताको लागि अनुरोध गर्नु र समावेस गरी तिनको आर्थिक जीवनमा परिवर्तन ल्याई बिस्तारै पैसाको लागि विदेश पलायन हुनबाट रोक्ने भूमिका खेल्ने नै हो । यस आयोजनाबाट प्रत्यक्षरुपमा १५०० देखि २००० जनासम्मलाई रोजगारी दिन सकिनेछ भने अप्रत्यक्षरुपमा त ५००० बढीलाई स्वरोजगार उपलब्ध हुनसक्छ । यो आयोजनाको निर्माणबाट तमोर नदीमाथि पक्की पुल बन्नेछ जसको कारण तमोरपारिका गाउ विकास समितिहरुमा मोटर बाटो पुग्नेछ । मोटर बाटोको सहायताले त्यस क्षेत्रका सबै खाले फसल र उत्पादनले बजार पाउनेछन् । त्यस क्षेत्रमा विद्यालय, अस्पताल, खानेपानी, सञ्चार र बिजुलीको सुविधा उपलब्ध हुनेछ । गाउँमा नै सञ्चारको अत्याधुनिक इन्टरनेट सुविधा पग्नेछ । पर्यटकीय हिसाबले सम्पन्न लिम्बुवान क्षेत्रले पर्यटन व्यवसाय सञ्चालन गरी आफूलाई सम्पन्न र आत्मनिर्भर क्षेत्रको रुपमा प्रस्तुत् गर्न सक्नेछ । यस आयोजनाको सफल कार्यान्वयनका लागि अमेरिकी, रसियन, इन्डियन लगानीकर्ताहरुसंग साझेदारीको लागि सहमतिमा हस्ताक्षर भइसकेको छ । यस विषयमा बढी जानकारी लिन चाहनुहुन्छ भने tmpspark@wlink.com.np र sparkhydro@gmail.com मा email गर्नुभएमा email मार्फत विस्तृत् जानकारी दिइनेछ ।

५. संघीय लिम्बुवान स्वायत राज्यको लागि अहिले लिम्बुवानका क्षेत्रिय लिम्बुवान पार्टीहरुले चर्को वहसको रुपमा राजनैतिक रुपले अगाडी बढार्इ रहेका छन् यस प्रति तपाई धारणा कस्तो छ ?
लिम्बुवान राज्य अर्थात् प्रदेश प्राप्तिका लागि त्यस क्षेत्रमा जेजस्ता क्रियाकलापहरु, बहसहरु र आन्दोलन भइरहेका छन् ती सकारात्मक नै छन् तर लिम्बुवान राज्य अर्थात् प्रदेश प्राप्तिका लागि लिम्बुवानसम्बद्ध पार्टी तथा नेताहरुमा जुन एकता र सहकार्य हुनुपर्ने हो त्यो भएको पाइदैन । यो दुखलाग्दो पक्ष हो । यहाँ पनि ब्राहृमणवादी नीति लिनेहरु सफल बन्दै गइरहेको आभास पाइन थालिइएको छ भन्दा फरक नपर्ला । मलाई लाग्छ ब्राहृमणवादी नीतिको सार नै "फुटाउ, जुदाउ र तिनमाथि शासन गर" भन्ने नै हो । वर्तमानमा लिम्बुवान चाहनेहरु यही रोगबाट अर्थात् भाइरसबाट नराम्ररी ग्रस्त छन् । "लिम्बुवान राज्य अर्थात् प्रदेश" हामी लिम्बूहरुको नैर्सर्गिक अधिकार हो । हामीले कुनै हालतमा पनि "लिम्बुवान राज्य अर्थात् प्रदेश" पाउनैपर्छ । यसको प्राप्तिको लागि हामीले सम्झौताहीन संघर्ष लड्नैपर्छ । "लिम्बुवान राज्य अर्थात् प्रदेश" भएनभने हामी लिम्बूहरुको अस्तित्व रहनेछैन । त्यसैले "लिम्बुवान राज्य अर्थात् प्रदेश" चाहने सबै लिम्बुवानबासी, पार्टी र संघसंस्थाहरु एकढिको भएर लागिपर्नुपर्छ ।

६.तपाई राम्रो साहित्य सर्जक पनि हुनुहुन्छ त्यसैले साहित्यका पाठकहरुका लागि कुनै कोसेली पस्कने योजना छ कि ? र साहित्यलाई हेर्ने तपाईको दृष्टिकोण के हो ?

टंकजी, राम्रो प्रसंग कोट्याउनु भयो । म त्यति राम्रो साहित्य सर्जक त होइन जस्तो लाग्छ तर आत्म सन्तुष्टिको लागि कहिलेकाहीँ लेख्नेगर्छु । चाँडै पाठकहरुसमक्ष मेरो साहित्य लेखनको कोसेली स्वरुप प्रथम कविता संग्रह '---' ल्याउने योजना गर्दैछु । 'साहित्य' जीवनको सकारात्मक विकासको लागि लेखिइनुपर्छ नकि कुनै आत्मरति र व्यक्तीगत अहंको प्रदशनार्थ । साहित्यले भत्केका जीवनका खण्डहरहरुलाई जीवन्त बनाउन सक्नुपर्छ । 'साहित्य' सुबोध्य र सरल अनि सरस पनि हुनुपर्छ । 'साहित्य' वृहत्तर जीवन र विकासको लागि सिर्जिनुपर्छ । समग्रमा 'साहित्य' जीवनको दिग्दर्शन बन्नसक्नुछ ।

७.तपाई त कोरीयन मुलको नागरिकसँग विवाह बन्धनमा वाँधिनु भएको छ त्यसैले वैदेशिक जीवन साथीसँगको जीवनयापनलाई कसरी अनुभव गर्दै हुनुहुन्छ ?र नयाँपुस्ताका युवायुवतिहरुलाई यस्तो सम्वन्ध वारे तपाईको कस्तो सुझाव के छ ?
हो मैले कोरियन नागरिकसंग विवाह गरेको छु । विदेशी जीवनसाथीसंग जीवनयापन गर्नु सहज नहुने त स्वभाविक कुरा नै हो । प्रथम समस्या त भाषाकै पर्छ । धेरै कुरा दुवैपक्षले इशारामा नै बुझनुपर्ने हुन्छ । यसो गर्दा कहिले उल्टोपाल्टो पर्न जान्छ जसले असमझदारी बढ्ने सम्भावना हुन्छ । जतिसुकै भने पनि स्वदेशी महिलासंग विवाह गरे जस्तो सहज त हुँदैन । अर्को समस्या भनेको सोच्ने स्तरमा फरक पर्नाले धेरै अप्ठ्यारो पर्छ । हामी नेपालीहरुको सोच्ने तौरतरिका अन्य देशका नागरिकको भन्दा धेरै फरक छ । फेरि समाजमा घुलमिल हुनलाई झनै समस्या पर्नजान्छ । परिणामतः बाध्य भएर अलग बस्नुपर्ने जस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ । केही समझदार विदेशी महिलासंग विवाह गरेको भए केही समयपछि सहज वातावरण बन्नसक्छ अन्यथा त्यस्तो वैवाहिक जीवनले चाँडै पारपाचुकेको अवस्थामा पुर्‍याउछ । यस्ता घटना प्रायः घटिरहन्छन् । म आफूले चाँही कतिपय अप्ठ्याराका बावजुद् पनि त्यस्तो स्थितिको सामना गर्नुपरेको छैन । त्यसैले यस्तो विवाह गर्नुअघि राम्ररी सोचविचार गरेर मात्र विदेशी महिलासंग वैवाहिक बन्धनमा बाँधिए पछि पछुताउनु पर्दैन भनेर नयाँ पुस्ता (जो जीवनयापनको सिलसिलामा विदेशमा जीवन गुजारा गरिरहनुभएको छ)लाई सुझाव दिन चाहन्छु ।

८. नेपाली समाजको लागि तपाई आफूलाई कसरी प्रस्तुत गर्न रुचाउँनु हुन्छ ? अथवा लेखक,उद्यमी वा राजनितिक आदिको दृष्टिकोणले हेरोस् जस्तो लाग्छ ?
पहिलो त म आफू नेपाली भएको नाताले नेपाल आमाको सपूतको रुपमा आफूलाई प्रस्तुत् गर्न चाहन्छु । मेरो शरिरभरी नेपाल आमाको माया र ममताबाट प्राप्त अन्नपानी भएकोले मेरी जननी जन्मभूमिको सेवक बन्न सकुँ र त्यस्को लागि आफूलाई खरोरुपमा उतार्न सकुँ भन्ने चाहँन्छु । मलाई समाजले कसरी हेरोस भन्दा पनि म समाजलाई कसरी हेर्छु त्यो महत्वपूर्ण जस्तो लाग्छ । म त समाजको एक सेवक मात्र हुँ । म सधैं समाजको विकास चाहन्छु । समाजको विकास भयोभने मात्र म विकसित र सभ्य सदस्य हुनेछु । समाजको सेवा गर्ने विभिन्न तरिका छन् । कसैले कलम चलाएर, कसैले उद्योगधन्दा चलाएर त कसैले अन्य कुनै न कुनै काम गरेर । म चाहीँ लेखक र उद्यमी बनेर देश र समाजको सेवा गर्न चाहन्छु ।

९.जीवनमा सवै भन्दा वढी के काम गरेर अघि बढूँ जस्तो लागेको छ ?

जीवनमा सबैभन्दा बढी देश र समाजको सेवा हुने खालका काम, उद्यम गरेर अघि बढुँ झैं लागेको छ । मेरो इच्छा नै बढीभन्दा नेपालीलाई कसरी उद्यमी बनाउन सकिन्छ भनेर कोशिश गर्नु हो । म यसका लागि निरन्तर लागिरहनेछु ।

१०.नेपालको सवैभन्दा शक्तिशाली ठाउँमा पुग्नु भएको भए नेपाललाई कस्तो बनाउँने योजना ल्याउँनु हुन्थ्यो होला ?
यदि म त्यस्तो ठाउँमा पुगेको भए नेपालीलाई रोजगार र जीवनयापनको लागि विदेश जानुपर्ने प्रथाको अन्त गर्ने उपाय खोजी नेपाललाई हरेक कुरामा आत्मनिर्भर राष्ट्र बनाउने योजना ल्याउने थिएँ । हामीसंग प्रसस्त स्रोत र साधन छन् तर तिनको सदुपयोग भइरहेको छैन । हाम्रा राजनीतिक नेता र विद्वानहरुमा राष्ट्रप्रतिको जिम्मेवारी बोध भएको देखिदैन । आफूले प्राप्त गरेको ज्ञान र अवसरलाई केवल व्यक्तिगत अहं बढाउने काममा मात्र प्रयोग भएको पाइन्छ जो नेपालको लागि दुर्भाग्यको कुरा हो भन्दा अतिशयोक्ति नहोला ।

११.तपाई नेपाली भाषाको लिम्बु सर्जक हुनुहुन्छ त्यसैले लिम्बु भाषा साहित्यको विकासको वारेमा के सोच्दै हुनुहुन्छ ?
लिम्बू भाषा र साहित्यको विकास कसरी गर्न सकिन्छ भनेर म हरपल सोचिरहेको छु । म आफू लिम्बू भएर पनि म शुद्ध लिम्बू भाषा बोल्न र लेख्न सक्दिन । यो मेरो ठूलो कम्जोरी हो । म २०४० सालसम्म शुद्ध लिम्बू भाषा बोल्दथेँ तर त्यसपछि भने मैंले जीवनयापनको क्रममा नेपाली र अंग्रेजी भाषालाई नै ज्यादा प्रयोग गर्नुपर्‍यो एकातिर भने आफ्नो गाउँठाउँ छोडेर तरार्इ झर्नुपर्‍यो जस्ले गर्दा लिम्बूभाषा प्रयोगमा आएन । परिणामतः भाषा बिर्सिदैगइयो र आज पछुताउनु परिरहेछ तर म फेरि लिम्बूभाषाको अध्ययन गर्ने योजना बनाउदै छु । त्यसो त शतप्रतिशत् भाषा बिर्सिएको चाहीँ होइन । औपचारिकरुपमा नै विज्ञहरुबाट लिम्बूभाषा सिकेर लिम्बूभाषा र साहित्यको विकासमा आफूलाई समाहित गर्ने सोँचमा छु ।

१२.अहिले सम्मको जीवन भोगाईमा कुनै अविस्मरणिय क्षणहरुले छोएका छन् कि कृपया बताई दिनु हुन्छ कि ?
जरुर टंकजी, अनगिन्ती छन् । त्यसमध्ये मैंले पढ्न थालेको र स्कूलमा प्रवेश परीक्षा दिएको क्षण चाहीँ सधैं सम्झन लायकको छ । म पहाडबाट २०२९ सालतिर झापाको कमलझोडा भन्ने ठाउँमा बाउआमासंगै बसाइँ झरें । त्यत्तिखेर मेरो उमेर त्यस्तै १० वर्षको हुनुपर्छ । कमलझोडामा २ वर्षति बसेर हामी सपरिवार मामाघर भएको झापाको गौरादह बसाइँ सर्‍यौं । मेरो काम भनेको गाईबस्तु चराउने र खेतमा जोत्ने थियो । त्यत्तिबेलासम्म मैंले औपचारिक शिक्षा शुरु गरेको थिएन । मतलब मलाई पढ्न लेख्न आउदैनथ्यो । छिमेकीका छोरीहरु नाताले मित मामाका छोरी बहिनीहरु थिए, उनीहरु स्कूल पढ्दथे । स्कूल छुट्टी भएको दिन उनीहरु पनि गाईबस्तु चराउथे । तिनताका गोठालामा गुच्चा र खोप्पी खेल्ने चलन थियो । म गुच्चा र खोप्पी खेल्ने काममा चैम्पियन थिएँ । हामी सबै मिलेर गुच्चा र खोप्पी खेल्थ्यौं । एकदिन पैसा र गुच्चा सबै मैंले जितें र सानले बहादुरी देखाएँ जो बहिनीहरुलाई पचेन । आखिरमा हामी बीच भनाभन भयो, कुटाकुटसमेत भयो । मैंले तिनीहरुलाई पिटें किनकि तिनीहरुले मलाई "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भने जो मलाई सहृय भएन । परिणामतः मैंले बेलुकी घरमा नराम्ररी सजाय भोग्नुपर्‍यो । झगडाको कारण बताउदा मैंले "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भनेकाले रिस उठ्यो अनि पिटें भनें । उनीहरुका मामा चाहीँ मास्टर हुनुहुन्थ्यो । सजाय पनि उहाँले नै दिनुभएको थियो । मेरो कुरा सुनेपछि उहाँले तँ पढ्छस् त ? भनेर सोध्नुभयो र मैंले पनि पढ्ने चाहना बताएँ । उहाँले नै मलाई उमेर १२ वर्षभइसक्यो, सानो कक्षामा पढेर काम छैन भनेर एकैचोटी ४ कक्षामा भर्ना लिनुपर्छ भन्नुभयो तर मलाई क, ख, ग जस्ता सावाँ अक्षर पनि आउदैनथियो झन् अंक आउने त कुरै भएन । भोलिपल्ट हामी स्कूल गयौं र मेरो प्रवेश परीक्षा लिइयो । मलाई प्रश्नको रुपमा क देखि ङ सम्म र ११११ मा ११११ जोड्न दिइयो जो मेरो बसको कुरै थिएन । घण्टौं बित्दा पनि मबाट सम्भव नभएपछि उनै सरले पियनलाई पानी पठाएर लेखिदिन भन्नुभएछ र पियनले मलाई त्यसै भनेर आफैले लेखिदियो अनि मैंले बुझाएँ । पास पनि भएँ । त्यसपछिका दिन मेरा लागि फलाम चपाएभन्दा पनि साह्रा भए । मैंले साह्रै मिहेनत गर्नुपर्‍यो तर मैंले मनमा र्इख लिएर रातभर सस्वर पढ्न थालें । त्यसै वर्षको वार्षिक परीक्षामा कक्षामा दोस्रो भएँ । त्यसपछिका वर्षहरुमा म सधैं कक्षामा मात्र नभई होलस्कूल फस्ट हुनथालें र हाइस्कूलसम्मको पढाइको मैंले फिस् तिर्नु परेन, जेहेन्दार छात्रवृति पाउदथेँ । त्यसैले "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भन्ने होच्याइपूर्ण भनाई र स्कूलको भर्नासंग सम्बन्धित घटना मेरा लागि सम्झन लायक अर्थात् अविस्मरणीय क्षणहरु हुन् ।

१३. लिम्बुवान ब्लगमार्फत संसार भर छरिएर रहनुभएका पाठकहरुलाई केहि शन्देश दिन चाहनु हुन्छ कि ?
सर्वप्रथम त लिम्बुवान ब्लगलाई विशेष धन्यबाद आफ्ना कुराहरु विश्वभर छरिएर रहनुभएका लिम्बू एवम् नेपालीहरुमा सम्प्रेशण गर्ने अवसर दिनुभएकोमा । बाध्यता र रहरले अथवा आवश्यकताले संसारका विभिन्न भागमा रहेर कार्यरत सम्पूर्ण नेपालीहरुमा मेरो न्यानो हार्दिक अभिवादन । "लिम्बुवान ब्लग" जो अहोरात्र नेपाली भाषा साहित्यको सेवामा लागिरहेको छ, यो ऐतिहासिक कदम पनि हो । यसले लिम्बुवान, नेपाल, नेपाली साहित्य र नेपालको ताजा खबर प्रसारण गरेर ज्यादै पूण्य कार्य गरेको छ जसको प्रसंसा नगरिरहन सकिदैन । तपाईहरु जहाँ भए पनि मातृभूमिलाई नबिर्सिनुहोस् । आ-आफ्ना अभीष्ट पूरा गरी आफ्नो मातृभूमि चाँडै फर्कनुहोस् । तपाईहरुको जन्मभूमिका डाडाकाँडा, पँधेरा-पाटी, द्यौराली-चौतारी तपाईहरुको शीघ्र र अर्थले पूर्ण आगमनको पर्खाइमा छन् । संसारमा आफू जन्मेको देशभन्दा ठूलो केही नहुँदोरहेछ । मलाई थाह भइसकेको छ । कुनै समय म पनि तपाईहरु जस्तै विदेशमा बाँचेको थिएँ । तपाई नेपालीहरु जहाँ भए पनि सुखी रहनुहोस्, यही मेरो शुभकामना !

Apr 6, 2009

नगेन्द्र ईङनाम "आठराईली" सँगको अन्तरवार्ता

कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" पौष २५, २०२५ साल भारापा ७, यक्वाडांडा, पांचथरमा पहिलो पटक यस धरती पार्इला टेक्नु भएको हो । वहाँको बाबु स्व.श्रीप्रसाद ईङनाम, आमा स्व. पबित्र लिङदेन ईङनाम, दुई भाई, एक बहिनी, श्रीमति लक्ष्मी मायां र दुई छोरा- नाम्साङ र मिराप ईङनाम हुनुहुन्छ। अध्यायनको क्रम प्राथमिक तहदेखि एस.एल.सी. त्रिमोहन मा.बि. आठराई संक्रान्ती तेह्रथुममा भयो । त्यसरी नै अध्यायनको क्रमलार्इ आईए तेह्रथुम क्याम्पस आठराई तेह्रथुमबाट र बि.ए. मेचि क्याम्पस भद्रपुर झापा तथा जि.ई.डि. लेभलको अध्यायन लाग्वार्डिया कलेज न्यूयोर्कमा पुरा गर्नु भएको छ । कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" लेखन तथा अध्यायनमा मात्र लिप्त नरहि बिभिन्न संघसंस्थामा साधारण सदस्य र अन्य पदभार सम्हाल्दै हाल अलाइन्स फर डेमोक्र्यसि एण्ड ह्युमन राइट्स इन् नेपाल युएसए संस्थाको महासचिव तथा किरात याक्थुङ चुम्लुङ अमेरिका (केन्द्रीय कार्य समिति) को महासचिव साथै युएस नेपाल अनलाइन डट कमको सह-सम्पादक र युएसनेपाल मिडिया सेन्टरको बिज्ञापन तथा बजार ब्याबस्थापन निर्देशकमा कार्यरत हुनुहुन्छ ।यसरी वहाँ बिभिन्न संघसंस्था र साहित्यमा लागेर हालसम्म अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनमा न्यूयोर्कमा भएका कविता प्रतियोगिताहरुमा अन्य सामान्य पुरस्कारहरु लगाएत तीनपटकको प्रथम पुरस्कार प्राप्त तथा न्यूयोर्कस्थित अप्रवासी नेपालीहरुको हितमा लडने संस्था अधिकारबाट सन २००७ को समाजसेवा सम्मानबाट सम्मानित पनि भैसक्नु भएको छ। उनै प्रतिभावान कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" सँग लिम्बुवानका ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत परिएको छ ।
(१) तपाईंले अमेरिका जस्तो ब्यस्त ठाउंमा रहेर साहित्य लेखन, अनलाइन पत्रकारिता,समाजसेवा साथै ब्यावहारीक समस्यालाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
- समयको अभावले हुने असहज परिस्थितिमा कामहरु प्राथमिकताको आधारमा गरेमात्र तालमेल मिल्न सक्छ । परिवारकोतर्फबाट घरायसी समस्याहरुमा हातेमालो त हुन्छन तर जीविकोपार्जनको आधार कामले गर्दा अन्य क्रियाकलापहरुको लागि समय निकाल्न अति गाह्रो हुन्छ । समय मिलेमा सामाजिक क्रियाकलापहरुहरुमा उपस्थित भईन्छ नत्र जनसम्पर्कको माध्यमबाट नै सम्भव हुनसक्ने कामहरु गरिन्छ । साहित्यकोलागि चाहिं धेरैजसो काममा आतेजाते बाटोको समयलाई सदुपयोग गरेर शब्द शब्द जोड्दै रचनाहरु पुरा गर्नुपर्ने हुन्छ ।
(२) अमेरिकामा अहिले आएर नेपालीहरुको बसाई क्रमश: बढि रहेकोछ तपाईंले अनुभव गरेअनुसार त्यहां बसोवास गर्ने नेपालीहरुको अवस्थाबारे जानकारी दिनु हुन्छ कि ? साथै याक्थुङबा दाजुभाई तथा दिदीबहिनीहरुको स्थिति कस्तो छ ?
- हामी नेपालीहरु अमेरिकामा सबै पहिलो पुस्ताका आगन्तुकहरु हौं । अफ्रिकन, युरोपियन, फिलिपिनी,भारती, चिनियां र कोरियनजस्ता पुस्तौं अघिदेखि यहां बसोबास गर्नेहरुको तुलनामा हामी हरेक पक्षमा पछाडि छौं । देशको अन्यौल भबिष्य, दण्डहीनता अनि सुरक्षित लगानिकोलागि ठाउं नपाएका केहि हुनेखनेहरु लगाएत अधिकतम नेपालीहरु यहांको ब्याबस्थित संरचनाको कारण आफ्ना भाबि सन्ततिहरुलाई सहजरुपमा यतै स्थापित गराउन सकियोस भनेर परिश्रम गरिरहेका बुझिन्छ । सबैभन्दा गह्रोचाहिं ग्रयाजुएसन मुनिका विधार्थीहरुलाई छ । चर्को पढाई शुल्कको कारण उनिहरुले अति दुख गर्नुपर्छ । हामी याक्थुङ्बा दाजुभाई दिदीबहिनीहरुकोपनि अवस्था उस्तै नै हो । हालसम्म दुईसय पचासको हाराहारिमामात्र लिम्बुहरु अमेरिकामा छौं होला । देश ठुलो भएपनि सजिलो संचार ब्याबस्था र देशका सबै राज्यहरुमा सहजरुपमा घुमफिर गर्न पाईने ब्याबस्था भएको कारण र किरात याक्थुङ चुम्लुङ अमेरिकाको माध्यमबाट सबै लिम्बुहरु सम्पर्कभित्र रहेर आपसी सहयोग र सदभावकासाथमा रहेका छौं ।
(३) हालैमात्र संयुक्त लिम्बुवान मोर्चा नेपालले ताप्लेजुङदेखि संखुवासभाको चैनपुरसम्मको लिम्बुवान जनजागरण अभियान समाप्त गरेकोछ । यसलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
- यो जुनसुकैपनि आन्दोलित समुहले गर्नुपर्ने शान्तिपुर्ण आन्दोलनको उत्कृष्ट माध्यम र नमुनापनि बनेको छ । लिम्बुवानवासी सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुको साथ सहयोग र संलग्नताले नै प्रमाणित गरिसकेको छ कि लिम्बुवान नामको राज्यभित्र सबै बर्ग,जाती,भाषी र राजनैतिक समुहका नेपाली नागरीकहरु आटाएर बस्न राजी छन । लिम्बुवान नामाकरणकोलागि ऐतिहासिक, भौगोलिक भनौ या प्रादेशिक र सामाजिक आधारहरु आफैंमा बलिया त छंदैछन त्यासमापनि यसरी सबै लिम्बुवानवासीले जनाएको संलग्नताले लिम्बुवान अपरिहार्यताको बोध गराउंदछ । लिम्बुवान सुनिश्चित हुनबाट त्याहांका जनतालाई वान्चित गराउनु चाहानु भनेको जुनसुकैपनि सरकार,पार्टि र ब्याक्तिहरुको मनसाय केवल वैरभाव बढाउने र साङ्लो राजनीतिको पानीलाई धमिल्याउने कुचेष्टामात्र हो ।
(४) नेपालको राजनैतिक घटनाक्रमलाई मुल्याङ्कन गर्दा संबिधानसभामार्फत जनताले चाहे अनुरुप संघीय राज्य ब्यावस्थाको सुनिश्चितता होला भन्ने कुरामा कतिको विस्वास गर्नुहुन्छ ?
- म बिल्कुलै आशावादि छु । नेपालका सबै राजनैतीक घटनाक्रमहरुलाई मुल्याङ्कन गर्दा सबै नतिजाहरु प्रगति र जनचाहनातर्फ नै उन्मुख छन । संघीय ब्यावस्थाको त जनआन्दोलनपछिको संबिधानले नै रक्षा गरि सकेको छ । अब कस्तो आधारको हुने भन्ने कुरामा खालि पीडक बर्ग र पीडित बर्गको मानसिकता बेमेलको कारण तनाव भई रहेकोमात्र हो । हिजोको नेपालमा जसले जानिजानि वा मजबुरीले सोषण गर्‍यो त्यो पीडक बर्गलाई पालो फेर्लान कि भन्ने डर छभने जो मुलधारमा आईरहेका समुह छन पहिलेका पीडितहरु जसलाई चाहिं उनै पीडकहरुको फेरिपनि डर छ । त्यसैले कडा रुपमा प्रस्तुत भएका छन फरक यतिमात्र हो । समयसंगै यो बेमेल मानसिकताको अन्त्य हुने छ र संबिधानसभामार्फत जनचाहना अनुरुपको संघीय ब्याबस्था निश्चित भएर देश् सम्रिद्धितर्फ उन्मुख भएर जाने नै छ ।
(५) नेपाललाई विकास गर्नलाई तपाईले लिनुभएको गुरुयोजनहरु कस्ता प्रकारका छन ? नेपाली भएको हैसियतले हरेकले देश बिकासकोलागि सोच्नु आवश्यक छ कि छैन होला ?
- देशमा सबभन्दा पहिला दण्डहीनताको अन्त्य हुनुपर्छ । डण्डहीनताले नै अराजकता,भ्रष्टचारको जन्म गराउंदछभने कानूनि ब्यावधान खडा गर्दै शान्ति सुरक्षा कायम हुनपनि असम्भव गराउंदछ । कानूनको परिधिमा सबैलाइ ल्याउनुपर्छ । त्यसपछि सरकारबाट लगानिको सुरक्षा ग्यारेण्टि दिनुपर्छ जसलेगर्दा स्वदेशीबिदेशी सबै लगानिकर्ताहरुलाई भयमुक्त वातावरणमा नेपालको बिकासमा लगानि गर्नेछन । सडक र विधुत तर्फको बिकासमा नाटकीय प्रिवर्तन नल्याई नेपालको बिकासको पूर्बाधार नै तयार हुने छैन । उत्पादक क्षेत्रहरु जोगाएर रुखो जमिन भएको ठाउंमामात्र शहरिकरण गर्नुपर्छ । पर्यटन क्षेत्रको बिकास र नगदेबालिको ब्याबस्थित उत्पादन नै नेपालको बिकासका आधारहरु हुन । सबै नेपालीहरुले नेपालको द्रूत बिकासकोलागि सोच्न अत्यन्तै जरुरी छ । लाभदायक नीति र कार्यक्रमहरु लागु गराउनकोलागि सम्बन्धित निकायहरुमा दवाब दिन सक्नु पर्दछ ।
(६) तपाईं साहित्यकारपनि हुनुहुन्छ तपाईंका प्रकाशित कृतिहरु र प्रकासोन्मुख कृतिहरुको बारेमा जानकारी दिनु हुन्छ कि ?
- शुरुशुरुमा अन्य पुराना,प्रचलित र स्थापित लेखकहरुको सामुन्ने आफ्ना रचना अति फिका र निम्नस्तरका लाग्थे त्यसैले संकलन गरिएन । अनि परदेशमा बढि जीवनको समय बितेकोले साहित्यलाई साथमा लिएर जानपनि सकिएन । दुईवर्ष अघि एउटा कविता सङग्रह तयार पारेको थिएं नेपाल निस्केर प्रकाशित गर्ने बिचार थियो तर जान नपाएकोले हालसम्म एउटै कृतिपनि प्रकाशित भएका छैनन । चांडै नै मेरा संकलित साहित्यिक कृतिहरु प्रकाशन हुंदैछन ।
(७) बिदेशमा बस्ने स्रष्टाले लिम्बुवानकोलागि कस्तो प्रकारको योग्दान दिन सकिन्छ होला ?
- लिम्बुवानी जनताहरु अहिले लिम्बुवान नामाकरण गराई छाड्नको लागि खबरदारि गरिरहेकाछन । चरणबद्धरुपमा जनजागरणका कार्यक्रमहरु समापन भएका छन । लिम्बुवानवासीहरुको यो ऐक्यबद्धताले अब जस्तोसुकैपनि परिस्थितिको सामना गर्नसक्ने क्षमता तयार भयो भनेर प्रमाणित गरेको छ । बिदेशमा बसेका स्रष्टाहरुले संचारको माध्यमबाट त्याहांका सम्पुर्ण क्रियाकलापहरु प्रचार-प्रसार गर्ने, नैतिक समर्थन जुटाईदिने र अवश्यक सल्लाह सुझावहरु संकलन गरेर पठाईदिने तथा बिभिन्न लेख रचनाहरुमार्फत त्याहांका जनमानसमा जनचेतना जगाउनेजस्ता सहकार्यहरु गरेमा समयसापेक्ष योगदान पुग्नेछ ।
(८) तपाईं आफुलाई नेपाली समाजमा बढी भन्दा बढी कसरी प्रस्तुत गर्न चाहानुहुन्छ ?
- म आफु नेपाली समाजमा साहित्य सिर्जक र समाजसेवकको रुपमा प्रस्तुत हुने चाहना छ हेरौं समय र परिस्थितिले कता डोर्‍याउंछ ।
(९) साहित्यलाई अंगाल्नु तपाईको मुख्य अभिष्ट के हो ? नेपाली साहित्य लेखनको स्थितिलाई कसरी मध्यनजर गर्दै हुनुहुन्छ ? नेपाली साहित्यलाई उत्थान गर्न बिदेश बस्ने स्रष्टाहरुको भुमिका कस्तो हुनुपर्छ होला ?
- साहित्य एउटा सार्वजनिक थलो हो । यो राजनीति र ब्यापार जस्तो काहिं कोहिसंगमात्र सिमित रहंदैन । निश्वार्थ भावनाले सबैसामु प्रस्तुत हुनसकिने हुनाले थोरै भएपनि यस क्षेत्रलाई टेवा पुर्‍याउने भावना जागेर साहित्यामा कदम चालेको हो । सायद देशको द्धन्दको परिस्थितिले गर्दा होला बिगतको एक दशक हेर्ने होभने कमैमात्र कृतिहरु प्राकशनमा आए । जबकि भारतमा नेपालको आधाभन्दा कम नेपालीभाषीहरु रहेपनि त्याहांको साहित्य लेखन उच्च रहयो । बिदेशमा रहने नेपाली स्रष्टाहरुले टेकेको धरातलको साहित्यजस्तो नेपालि साहित्यलाई ढाल्ने होइन नेपालीपना मै जोगाउन सक्नु पर्छ । समय अभाव र असहज परिस्थितिमापनि साहित्यकोलागि आ-आफ्ना प्रतिभाहरुलाई निरन्तरता दिने प्रयास गर्नुपर्छ । संयुक्तरुपमै भएपनि क्रितिहरुको प्रकाशन गर्दै जानुपर्छ । नयां रचनाहरुलाई चाहे प्रिन्ट होस, चाहे अनलाईनमा होस स्थान बनाईदिनुपर्छ । जसलेगर्दा नयां सर्जकहरुलाई अघि बढ्ने मार्गहरु मिल्न सकोस ।
(१०) जीवन के हो ? तपाईंलाई जीवनमा सबैभन्दा बढी के काम गरौं जस्तो लाग्छ ?
- मानव जीवन वास्तवमा स्रिष्टिलाई शुन्दर बनाउने गहना हो । यसलाई सबैले राम्रोसंग उपभोग गर्नु जान्नुपर्दछ मलाई जीवन जीउन्जेल समाज उपयोगी सिर्जना गर्न र न्युन नै भएपनि देश तथा समाजसेवी काम गर्न मन पर्छ ।
(११) तपाईंले भोग्नु भएका कुनै त्यास्ता अविस्मरणीय क्षणहरु छन कि ?
- ब्याक्तिगत जिन्दगीका क्षणहरु त आफैंसंग छंदैछन तर साहित्यीक जीवनमा नबिर्सने दुईवटा क्षणहरु छन । सन १९९१ ताका एउटा "जीवनको गोरेटो" नामक उपन्यास लगभग तयार गरेको थिएं काठमाण्डौ जांदै गर्दा धरानको एउटा पुस्तक पसलमा सोहि नामको पुस्तक बेच्नलाई झुण्ड्याई राखेको देखें । त्यो देखनसाथ आफ्नो लेखनको लगानी खेर गएको सम्झेर बीचबजारमै रोएको थिएं । दोश्रोचाहिं गतसाल देखिनै आफ्नो पुस्तक "परदेशबाट" कविता संग्रहको तयारि गरेर कभर डिजाईनसमेत तयार भएको थियो तर सोहि नामको पुस्तक दुईवर्ष अघि नै छापिई सकेको थाहा पाएं । यो थाहा पाएको दिन साहित्य यात्राको उकालिमा चड्दै गर्दा चिप्लिएर बङलङै लडी झरेको जस्तो प्रतीत भएको क्षणपनि अविष्मरणीय रहन पुगेको छ ।
(१२) लिम्बुवान ब्लगस्पटमार्फत संसारभर छरिएर रहेका पाठकहरुलाई केहि सन्देश दिन चाहनुहुन्छ कि ?
- सर्वप्रथम त बिश्वभर रहनुभएका यस ब्लगस्पटका पाठकहरुलाई हार्दिक अभिवादन । एउटा युगान्तकारी निर्णयको मोडमा रहेको हाम्रो मुलुकको वर्तमान अवस्थामा सबै कुरोलाई थांति राखेर सबै नेपालीलाई समेट्ने संबिधान लेखन र देशलाई उत्कृष्ट संघीयताको ढांचामा स्थापना गर्न हामी सबै नागरीकले आ-आफ्नो कर्तब्य निर्बाह गरौं । सबै स्वार्थहरुलाई त्यागेर देशको अस्तित्वको लागि कम्मर कसेर लागौं । यस समयमा हामी एक भएर जुट्न सकेनौंभने न त अस्तित्वको देश रहनेछ, न त सबै मिलेर बस्ने परिबेश रहनेछ ।

Feb 4, 2009

नविन सुब्बासँगको अन्तरवार्ता

बि.सं. २०२४ सालमा मेची अञ्चल ताप्लेजुंग जिल्ला अन्तर्गत ढुंगेसाँघु गा.वि.स. ८ मा जन्मनु भएका नविन सुब्बाले स्नातक सम्म अध्यायन गर्नु भएको छ । लेखन क्षेत्रमा गीत कविता,चलचित्र समीक्षा,पत्रकारीता अंगाल्दा अंगाल्दै लिम्बुभाषाको चलचित्र नूमाफूङको निर्देशन गरेर चर्चाको शिखरमा पुग्नु भयो। त्यसपछि उनले बिभिन्न क्षेत्रबाट सम्मानित भए । बिभिन्न संघसंस्थाबाट पुरस्कृत पनि भए । बिशेष गरेर हाल आएर उनी फिल्म निर्देशन क्षेत्र मै ब्यस्त रहनु भएको छ । उनै चर्चित निर्देशक नविन सुब्बा हंगकंग भ्रमणमा रहनु भएको वेला लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले लिनु भएको अन्तरवार्ता पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१.अहिले तपाई के काममा ब्यस्त रहनु भएको छ ?

केहि समय अघि देखि दलितहरु माथि केन्द्रित रहेर टेलिसिरीयल झण्डै चालिस र्इपिसोड जति लामो निर्माण तथा निर्देशनमा ब्यस्त थिए । त्यो समाप्त भएर नेपाली टेलिभिजनबाट प्रशारण पनि भैसक्यो । खासगरि म त्यहि ब्यस्त थिए तर अहिले भने नयाँ फिल्म निर्माण गर्नको लागि तयारीमा जुटेको छु ।

२.नूमाफूङ चलचित्रको डिभिडि निकाल्दै हुनुहुन्छ भन्ने कुरा सुनियो के त्यो साचो हो ?

अहिले हामी केहि नयाँ कामहरु गर्न गैरहेकाछौ र नूमाफूङ चलचित्र बनाएको पनि निक्कै लामो समय भयो त्यसैले नूमाफूङ चलचित्रको डिभिडि निकाल्ने मानसिकतामा चाहिँ छौं । तर यहि समयमा अन्य काम पनि गर्नुपर्ने भएकोले त्यो काम पछाडि जान पनि सक्छ । निकट भविष्यमा नूमाफूङ चलचित्रको डिभिडि सार्वजानिक गर्ने नै छौं ।

३.चलचित्र बिकास वोर्डको अध्यक्ष पदमा तपाईको नाम पनि प्रस्तावित भएको छापामा आएको थियो तर उक्त पद किन ग्रहण गर्न चाहनु भएन ?

चलभित्र बिकास वोर्डमा मेरो नाम प्रस्तावित भएको हो । तर मैले सार्वजानिक पद धारण नगर्ने भनेर पहिले देखि नै बोल्दै आएको हुनाले पद ग्रहण गरिन । खासगरि चलचित्र बिकास वोर्डको संरचना र सैद्धान्तिक असहमतिका कारणले पनि म त्यता जान नचाहेको हुँ । अहिले पनि चलचित्र बिकास वोर्डसरकार अन्तर्गत छ तर हुनुपर्थ्यो के भने संसारभरि कै अनुभवमा त्यो चाहिँ राज्य अन्तर्गत हुनुपर्छ । किनकी संस्कृति भनेको राज्य अर्न्तर्गत नै हुन्छ । संस्कृति भनेको कुनै पार्टीको संस्कृति होइन । देशको संस्कृति हो । देशको संस्कृति हुने हो भने राज्यको संस्कृति हुनु पर्यो । किनकी चलचित्र बिकास वोर्ड भनेको संस्कृतिलाई बोक्ने मुख्य माध्यम हो । त्यो माध्यममा जति निति नियमहरु बनिनु पर्छ भने राज्यले नै निर्माण गर्नुपर्छ । त्यसैले चलचित्र बिकास वोर्ड राज्य अन्तर्गत जानुपर्छ । र वोर्डलाई स्वायत्तता पनि दिनु पर्छ । साथै चलचित्र कर्मीहरु माथि राजनैतिक हस्तक्षेप पनि हुनुहुदैन ।

४.हाल आएर नेपाली चलचित्रको भविष्य कस्तो देखि रहनु भएको छ ?

जहाँ सम्म नेपाली चलचित्रको भविष्य अत्यान्तै उज्यालो देख्छु । केहि समय अगाडिको समाचार हेर्नु भयो भने देख्नु हुनेछ एउटै कम्पनीले सात सात वटा चलचित्र निर्माण गर्ने घोषणा गरेको कुरा । पार्टीले पनि राजनैतिक सिद्धान्त प्रचार प्रसार गर्नको निम्ति चलचित्र बनाउँने घोषणा गरिरहेकाछन् । त्यो लगायत क्षेत्रियरुपमा र समुदायको आफ्नैचलचित्रहरु पनि निर्माण गर्ने भनि राखेकाछन् । र नेपाली चलचित्रले बिस्तारै अन्तर्राट्रिय मान्यताहरु पनि प्राप्त गरि राखेकाछन् । अन्तर्राट्रिय रुपमा नेपाली चलचित्र स्विकार्य भैरहेकाछन् । त्यो कारणले गर्दा खेरि म चाहिँ नेपाली चलचित्रको भविष्य कलात्मक,रचनात्मक मात्र होइन ब्यावसायीक रुपमा पनि राम्रो देख्छु ।

५.तपाई लिम्वु चलचित्र निर्देशक भएकोले लिम्बुवान स्वायत्त आन्दोलनलाई कसरी हेर्दै हुनुहुन्छ ? साथै लिम्बुवान प्रति तपाईको धारणा ?

लिम्बुवान स्वायत्तताको लागि मात्र होइन समग्ररुपमा जनआन्दोलन भाग २ अथवा २०६२,६३ मा म आफै पनि संलग्न थिए । क्यामरा बोकेर लाठी चार्ज हुँदा खेरि गोली बर्सिदा खेरि छाती थापेर अगाडि उभिरहेका थियौं । लाठी चार्ज हुँदा हाम्रो क्यामरा माथि परेको थियो त्यति मात्र नभएर हाम्रो जीउमा पनि परेको थियो । २०६२,६३ को आन्दोलनको म्याण्डेड के भने राज्यको यथास्थिति संरचना अव स्विकार्य छैन र यसको पुनर्संरचना हुनुपर्छ । पुनर्संरचना भनेको चाहिँ पावर एकात्मक र केन्द्रिकृत होइन । पावर भाहिँ डिसेन्ट्रलाईज हुनुपर्छ । पावर तल्लो तह सम्म हुनुपर्छ । संसारमा भएको देखिएको संरचनाका अभ्यासहरु मध्ये संघात्मकता चाहिँ सवै भन्दा उपयुक्त माध्यम हो । राज्य पुनर्संरचना हुँदा त्यसरी हुनुपर्छ भन्ने मलाई लाग्छ । यो बिचमा मलाई धेरै राष्ट्र घुम्ने मौका मिल्यो । ती राष्ट्रहरुको बिकास समृद्धिलाई हेर्दा र उनीहरुले उदार गरेको राज्यब्यवस्थाको संरचना हेर्दा खेरि जस्तै भारत,स्विजरलेण्ड,आदिमा एकात्मक नभएर संघात्मक शासन प्रणाली छ । त्यो कारणले गर्दा खेरि देश संघात्मकमा जानै पर्छ । जहाँ सम्म लिम्बसवानको प्रसंग छ आफु लिम्बु भएकोले मलाई के लाग्छ भने लिम्बुहरुको संस्कृति भाषा र लिम्बुहरुको समग्र विकासको निम्ति यदि लिम्बुवान भयो भने त्यसले ठुलो टेवा पुर्याउँने छ । त्यसैको लागि लिम्बुवान आवश्यक छ । लिम्बुवानका विभिन्न आधारभूमिहरु पनि छन् । लिम्बुवान भनेको यस्तो क्षेत्र हो जुन एकिकरणको क्रममा पनि सम्झौता द्वारा स्वायत्तता प्राप्त गरेको हो । त्यसपछि पनि बि.सं.२०२१ साल सम्म स्वायत्तता थियो । किपट प्रथाको रुपमा सुभाङ्गीको रुपमा शक्ति चाहिँ लिम्बुहरु आफैले नै अभ्यास गरिरहेका थिए । त्यसले गर्दा लिम्बुवान सवभन्दा सवल दावेदार हो स्वायत्तताको लागि र संघात्मकताको लागि । तर पछिल्लो चरणमा चाहिँ केहि राजनैतिक पार्टीहरुले पनि जनमानसमा लिम्बुवानका विषयबस्तुहरु अगाडी बर्ढाई राखेकाछन् । तर अब भने कलाकर्मी संस्कृतिकर्मीले पनि यो बिषयमा बोल्नु पर्ने आवश्यकता आयो । त्यसैले लिम्बुवान स्वायत्तता हुनुपर्छ भनेर म बोलि रहेको छु ।

६.केहि नयाँ योजनाहरु छन् कि ?

अब म हङकङबाट फर्किने वित्तिक्कै एउटा फ्रान्स नेपालको संयुक्त लगानीमा एउटा चलचित्र निर्माण भैरहेको छ । त्यस काममा ब्यस्त हुन्छु । त्यसपछि अर्को चलचित्र राजाले शक्ति हातमा लिएको समयको युवाहरुको मनस्थिति विश्लेषण भएको गुडबाई काठमाडौ छ । अहिलेलाई म यिनै २ वटा काममा आफुलाई केन्द्रित गरिरहेको छु ।

७.लिम्बुवान ब्लगस्पोट डटकम्बाट केहि शन्देस दिन चाहनु हुन्छ कि ?

सवभन्दा पहिले लिम्बुवान ब्लगका सञ्चालक टंक सम्वाहाम्फे जीलाई धन्यवाद दिन चाहन्छु किनकी ब्लग जस्तो डायरी लेख्ने ठाउँलाई राजनैतिक विषय उठाएर राम्रो काम गर्नु भएको छ । गर्ने जाँघर भए यस्तो सानो परिवेसबाट ठुल्ठुला कुराहरु उठान गर्न सकिने रहेछ । किनभने त्यो ठुलो काम यो ब्लगले गरिरहेको छ । अर्को तिर हङकङ जस्तो फुर्सदै नहुने ठाउँमा रहेर यो काममा दिनहुँ खट्नु झन गाह्रो काम हो । काम साधारण जस्तो देखिए पनि यो काम साधारण र सजिलो पक्कै छैन । कुनै दिन यसको कदर पक्कै हुनेछ । र म यो ब्लगबाट बिश्वभर छरिएर रहनु भएको लिम्बु तथा गैरलिम्बुहरुलाई लिम्बुवानको लागि जुट्न आग्रह गर्दछु । म पनि लिम्बुवानको लागि संस्कृतिकरुपले निरन्तर जुटि रहने छु ।

Jan 22, 2009

प्रकाश यक्सो लिम्बूसँगको अन्तरवार्ता

बि. सं. २०२७ साल माघ २७ गते हाङपाङ - ३ (ताप्लेजुङ्ग) आठारार्इ थुम, लिम्बुवानमा जन्मनु भएका प्रकाश यक्सो लिम्बू बिगत दश बर्षदेखि हङकङलाई आफ्नो कर्मभूमि बनाएर जीवन ब्यतीत गरिरहनु भएको छ । लिम्बुवान सम्बन्धि विभिन्न खोजमूलक बिचारहरु समय समय जनसमक्ष प्रस्तुत गर्दैआउँनु भएको छ । वहाँ लिम्बुवान विधार्थी मोर्चा, महेन्द्र बहुमु्खी क्याम्पस, धरान (बि.सं.२०५०-०५१)संयोजक,'लिम्बुवान मुक्ति मोर्चा सुनसरी जिल्ला कमिटि (बि.सं.२०५१) सचिव,एभ्रेष्ट दैनिक पत्रिका, हङकङ (सन् २०००)संस्थापक सदस्य सचिव तथा पत्रकार,हङकङ गोर्खाज फरम क्षेत्रीय समिति (सन् २०००)अध्यक्षमा रहेर समाजमा आफ्नो दायित्व पूर्णरुपले वहन गर्नु भएको प्रत्यक्ष उदाहरणहरु हुन् । त्यसरी लिम्बुवान विकास परिषद, हङकङ (२००१)संस्थापक अध्यक्ष र लिम्बुवान मुक्ति मोर्चा, नेपाल (२००८) केन्द्रीय सदस्यको कार्यभार निरन्तर वहन गर्दै आउँनु भएको छ । उनै लिम्वुवानको लागि जुट्नु भएका कर्मठ ब्यक्तित्वसँग लिम्वुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१. हङकङ जस्तो फुर्सदै नहुने ठाउँमा लिम्बुवानको राजनीति विचार प्रवाह र घर व्यावहारको कामलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
हाल म पेशाले १२ घण्टे सिक्युरिटी गार्ड । त्यसमा मेरो दैनिक ओहर दोहरको समय पनि मिलाउँदा जम्मा १५ घण्टै हुँदोरहेछ । बाँकी बचेको समयबाटै घर व्यावहार लगायत सम्पूर्ण कार्यहरु पुरा गर्नुपरेकोले निश्चित रुपमा कठिनाइहरु हुने नै भयो । तैपनि अहिले हाम्रो मातृभूमि लिम्बुवानको लागि केही सोच्नै पर्ने र गर्नै पर्ने अवस्था आएको छ । तर त्यसको लागि हामीलाई राजनैतिक मुक्ति चाहिन्छ । त्यसकारण म लगायत हाम्रो सिङ्गो टीम त्यतातिर लागिरहेकाछौं । हङकङको व्यस्तता त छदैछ, तैपनि मौका मिल्नसाथ ध्यान लिम्बुवानकै लागि केन्द्रीत गरेको छु । मैले यसलाई आवश्यकता र कर्तव्य सम्झेको छु ।
२. लिम्बुवान विकास परिषद, हङकङ कहिले स्थापना भएको हो ? हङकङमा परिषद खोल्नुको उदेश्य के हो ?
नेपालको इतिहासमा लिम्बुवान मात्र एउटा त्यस्तो राज्य हो जुन् सन् १७७४ मा भएको लिम्बुवान र नेपालबीचको सन्धि सम्झौताले लिम्बुवानलाई एक विशिष्ट सह राज्यको रुपमा नेपाल अन्तर्गत सम्मिलित गर्न सकेको हो । तर आज त्यो सह राज्यधिकारलाई सन् १९६० को दशकमा आइपुगेपछि पञ्चायति शासकहरुले बलपूर्वक विस्थापित गरिदिएका छन् । यसरी सदियौंदेखि लिम्बू र लिम्बुवानवासी जनताहरु नेपालको केन्द्रीकृत एकात्मक राज्यशासनको घोर शोषण र उत्पीडनमा परेको र आज लाखौंलाख लिम्बुवानवासी युवा युवतीहरु बेरोजगारीको चपेटाले गर्दा बिदेश पलायन हुने क्रम बढिरहेको छ । आज त्यहाँ बनसाङ्लेको चक्चकीको कारण घरसाङलेहरु विस्थापित हुँदैछन् । यी सारा कुराहरुबाट लिम्बुवानवासीलाई मुक्ति दिलाउनको निम्ति तथा सन् १७७४ सन्धिले दिएको लालमोहरको आधारमा लिम्बुवान स्वायत्त राज्य पुनःप्राप्तिको निम्ति पञ्चायतकालदेखि 'लिम्बुवान मुक्ति मोर्चा' नेपालले सङघर्ष गरिरहेको कुरा पनि सबैलाई विदित्तै छ । विगतको दिनहरुमा लिम्बुवान स्वायत्तताको निम्ति खाँटी आवाज दिने हङकङमा कुनै पनि संगठनहरु थिएनन् । तसर्थ लिम्बुवान स्वायत्तताको निम्ति लिम्बुवानवासी हङकङेलीमाझ जनचेतनाको विकास गर्दै 'लिम्बुवान मुक्ति मोर्चा' नेपालले उठान गरेको लक्ष्य र उदेश्यप्रति सधैं कटिबद्घ रही होस्टेमा हैँसे थप्दै अघि बढ्ने उदेश्यकोसाथ सन् २००१ साल डिसेम्बर २३ को दिन 'लिम्बुवान विकास परिषद' हङकङको स्थापना भएको हो ।
३. लिम्बुवान विकास परिषद, हङकङ नेपालको कुनै लिम्बुवान पार्टीसंग सम्बन्धन छ ? र लिम्बुवान विकास परिषद, हङकङले हङकङ तथा नेपाल बसोबास गर्ने लिम्बू समुदायको माझमा कस्तो काम गरिरहेको छ ?
लिम्बुवान विकास परिषद, हङकङ लिम्बुवान मुक्ति मोर्चा, नेपालको एक अन्तराष्ट्रिय भातृसंगठन भएकोले यसको सिधा सम्पर्क तथा सम्बन्ध मोर्चासित छ । र, हाल लिम्बुवान मुक्ति मोर्चा सहितको संयुक्त लिम्बुवान मोर्चा, नेपाल गठन भएको छ, त्यसमार्फत पनि परिषदको सम्बन्ध लिम्बुवानवासीहरुसम्म पुगेको छ । लिम्बुवान विकास परिषदले हङकङ तथा नेपालमा बसोवास रहेका लिम्बू र लिम्बुवानवासीहरुमाझ लिम्बुवान स्वायत्त राज्य पुनः प्राप्तिको निम्ति जनचेतनाको विकास गर्दै सकेसम्म सहयोग र समर्थन पनि गर्दै अघि बढिरहेको छ । यसको साथै 'संयुक्त लिम्बुवान मोर्चा' नेपाल हाल लिम्बुवान स्वायत्त राज्य प्राप्तिको निम्ति सशक्त आन्दोलनकोसाथ अर्थात विभिन्न कार्यक्रमहरु तय गरेर अगाडि बढिरहेको अवस्था छ । मोर्चाको यो महान ओन्दोलनको अभियानलाई तथा लक्ष्यलाई सफल तुल्याउन सम्पूर्ण लिम्बुवानवासी जनता तथा संगठनहरुलाई एकैठाउँमा गोलबद्घ भई तथा मोर्चाबन्दी भई अघि बढ्न लिम्बुवान विकास परिषद, हङकङले आव्हान गरिरहेको छ ।
४. हाल नेपालमा लिम्बुवान स्वायत्त आन्दोलनमा लिम्बुवानका कति पार्टीहरु एक पनि भएका छन् कति भने वेक्लै रहेर सशस्त्र आन्दोलनका कुराहरु पनि गरिरहेका छन् यसलाई तपाइले कसरी लिनु भएको छ ?
अहिले मुख्य सात दलहरु मिलेर संयुक्त लिम्बुवान मोर्चा, नेपाल बनेको छ । यो मोर्चाबन्दी बनिनुमा लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ, नेपालको सहयोगी/समन्यकारी भूमिकाको कारणले गर्दा सफल भएको हो । मोर्चाले लिम्बुवान स्वायत्त राज्य पुनः प्राप्तिको निम्ति शान्तिपूर्ण तर सशक्त आन्दोलन अघि बढाइरहेको छ । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा लिम्बुवान स्वायत्त राज्यको सुनिश्चित् गर्न र नया संविधानमा लिपिबद्व गराउनको निमित्त सदन र सडकसम्म सशक्त आन्दोलनको कार्यक्रमहरु लिएर मोर्चा अघि बढिरहेको छ । मोर्चाले लिम्बुवानको नौ वटै जिल्ला, नगर, गाउँ, टोलहरु र काठमाण्डौं उपत्यकामा समेत जनप्रदर्शन तथा कार्यक्रमहरु गर्ने तयारी गरेको छ । यसको साथै लिम्बुवानवासीहरुको १० लाख हस्ताक्षर संकलन अभियान अघि बढाउदै लिम्बुवानवासी जनताद्वारा केन्द्रीकृत एकात्मक राज्यसत्ता र संविधानसभा घेराउ गर्ने कार्यक्रम समेत तय गरिसकेको छ । यसरी लिम्बुवान स्वायत्त राज्य प्राप्तिको निम्ति मोर्चाले सञ्चालन गरिरहेको यो महान अभियान तथा कार्यक्रमलाई सफल पार्न सम्पूर्ण लिम्बुवानवादी संघसंगठन तथा लिम्बुवानवासी जनताहरु एकजुट हुन मोर्चाले आव्हान गरिरहेको छ । तर पनि केही लिम्बुवान समुहहरु यस मोर्चाको आन्दोलनमा समाहित हुन सकिरहेका छैनन् । त्यसोहुनुको प्रमख कारण चाहिँ तिनीहरुमा दलगत तथा व्यक्ति स्वार्थ र अपुङ्गीपन व्याप्त हुनु हो । उनीहरु बरु अर्काको दासत्व स्वीकार्न तयार हुन्छन् तर आफ्नै अस्तित्व स्वीकार्न तयार हुदैनन् । दोस्रो कारण चाहिँ विगतमा नेकपा माओवादीले गर्ने गरेको कार्यको सिको गर्दै समानान्तर सरकारको नाममा जबर्जस्त चन्दा संकलन तथा अवैध कर असुल गर्ने कार्यलाई अघि बढाइरहेका छन् । यदि उनीहरु संयुक्त मोर्चामा आबद्घ भएको खण्डमा यी सब कार्यहरु गर्न पाउँने छैनन् । त्यसकारण उनीहरु मोर्चामा आवद्घ हुन हिच्किचाई रहेका छन् । जहाँसम्म सशस्त्र आन्दोलनको कुरा छ, अहिले सिङ्गो राष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको हुनाले संघीय गणतान्त्रिक नेपालमा लिम्बुवानले निर्बाध रुपमा स्वायत्तता पाउँनुपर्छ । हामी त्यसलाई शान्तिपूर्ण आन्दोलनबाट प्राप्तहोस भन्न चाहन्छौं । तर फेरी पनि राज्यले लिम्बुवान स्वायत्तताको शान्तिपूर्ण आन्दोलनलाई षड्यन्त्र र दमनगरी दवाउन खोज्यो भने चाहिँ लिम्बुवानवासीले विकल्पको बाटो रोज्न बाध्य हुनेछन् । अहिले लिम्बुवानवासीले अखण्ड नेपालभित्र 'अखण्ड लिम्बुवान स्वायत्त राज्य' खोजेको हो । यदि शान्तिपूर्ण तवरले लिम्बुवान स्वायत्त राज्य प्राप्त नभए क्रान्ति गरेरै भएपनि लिन सक्नुपर्छ ।
५. लिम्बुवान विकास परिषद, हङकङ पनि नेपालको लिम्बुवान स्वायत्त आन्दोलनमा समाहित छ कि छैन ? यदि समाहित छ भने परिषदको आफ्नो दृष्टिकोण के हो ? आन्दोलनमा हङकङबाट कसरी सक्रिय भैरहेको छ ?
लिम्बुवान विकास परिषद, हङकङ 'लिम्बुवान मुक्ति मोर्चा' नेपालको एक अन्तराष्ट्रिय भातृसंगठन भएकोले यो स्थापनाकालदेखि नै लिम्बुवान स्वायत्त आन्दोलनमा समाहित छ । र, ऐतिहासिक पृष्ठभूमिमा आधारित अखण्ड लिम्बुवान राज्यलाई नेपालको नयाँ संघात्मक संविधानमा सम्बोधन गराएर बैधानिक संघराज्य बनाउने परिषदको मूल दृष्टिकोण रहेको छ । यसको साथै भोलि विभिन्न पार्टीहरुसंगको समझदारीमा जातीय तथा आत्मनिर्णयको अधिकार राखिएता पनि अर्थात कार्यन्वयन गरिएको भएता पनि लिम्बुवान विकास परिषद, हङकङको संस्थागत दृष्टिकोण चाहिँ क्षेत्रीय स्वायत्तता नै रहने छ । र, हाल लिम्बुवान मुक्ति मोर्चा सम्मिलित संयुक्त लिम्बुवान मोर्चा, नेपाल मार्फत लिम्बुवान स्वायत्त आन्दोलनमा परिषदले सक्रिय भूमिका खेलिरहेकै छ ।
६. तपाई कलमकर्मी साथै राजनैतिक व्यक्ति पनि त्यसैले नेपाली समाजमा आफु कुनरुपले बढी उपस्थित हुन चाहनु हुन्छ ? अथवा समाजले बढी कुनरुपले चिनोस जस्तो लाग्छ ?
मुख्य कुरा त मैले यही बन्छु वा हुन्छु भन्ने महत्वाकाँक्षा राखेको छैन । तर बाध्यता भनौं या अपरिहार्यता, अहिले लिम्बुवान र लिम्बुवानवासी जनताको निम्ति केही गर्नैपर्ने अवस्था चाहिँ आएको छ । र, नै म त्यतातिर लागेको छु । किनकि सदियौंदेखि नेपालको केन्द्रीकृत एकात्मक राज्यसत्ताको घोर शोषण र उत्पीडनमा परेका लिम्बुवान र लिम्बुवानवासी जनताहरुको मुक्ति हुनु अब अनिवार्य छ । संविधानसभाबाट नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको परिपेक्षमा लिम्बुवानले निश्चित रुपमा स्वायत्तता पाउनुपर्छ भन्ने मेरो मुख्य मान्यता हो । त्यसकारण जबसम्म लिम्बुवान र लिम्बुवानवासी जनताको मुक्ति हुँदैन तबसम्म मेरो सङघर्ष जारीरहने छ । त्यसैले हाललाई मलाई समाजले लिम्बुवानवासी तथा समस्त नेपाली जनताको मुक्ति चाहने एक सेवक एवं सिपाहीको रुपमा लिंदा फरक नपर्ला ।
७. हालै चलिरहेको नेपाली राजनैतिक वृत्तलाई कसरी मुल्याङ्कन गरिरहनु भएको छ ? नयाँ संविधान निर्माण निश्पक्ष रुपले बन्ने वातावण कतिको देखि रहनु भएको छ ?
संविधानसभाको चुनावमा दलहरुले नेपाली जनतासामु जुन प्रतिबद्घता व्यक्त गरेका थिए त्यो अहिले आएर निराशामा परिणत हुने सम्भावना बढ्दै गएको छ । सरकार तथा दलहरु देश र जनताको चाहना र आवश्यकतालाई सम्मान र सम्बोधन गर्नुको सट्टा सत्ता, दल र व्यक्ति स्वार्थमा चुर्लुम्म डुबेका छन् । हिजो मात्र आम र्सवहारा वर्ग एवं शोसित र उत्पीडित जनताको हकअधिकार तथा मुक्तिको पक्षमा सधैं धावा बोल्नेहरु आज आफै चरम विलाशितामा डुबिरहेका छन् । प्रमुख राजनैतिक दलहरुले सहमति र समझदारीयको राजनीतिक निकास खोज्ने भन्दा पनि कसरी सत्ता टिकाउ र भत्काउ भन्ने चिन्ताले ग्रसित छन् । स्पष्ट रुपमा भन्नुपर्दा बलिया दलहरुबीचको राजनैतिक असझदारी र असक्षमताले गर्दा साना दलहरु लगायत सम्पूर्ण नेपालीहरुले दुःख र कष्ट पाइराखेकाछन् । त्यसैले नेपाल र नेपाली जनताको आवश्यकता र विशिष्टतालाई राम्ररी चिन्न र बुझनसक्ने कुशल नेतृत्व नेपाली जनताले अझैपनि पाउन सकेका छैनन् भन्ने लाग्छ । जहाँसम्म संविधान निर्माणको प्रश्न छ त्यसको प्रमुख महत्वको विषय भनेको संघीयता नै हो । संघीयतामा गैसकेपछि त्यसको रुपरेखा तथा अधिकारको बाडफाँट कस्तो हुने र कसरी गर्ने भन्ने प्रमुख कुरा हो । अहिले संघीयताको विषयमा अनेकथरीका विचार र बहसहरु आइरहेकाछन् । विचारहरु अनेकथरीका भएता पनि शक्ति र सत्ता सञ्चालनको मुख्य रिमोटकन्ट्रोल भने बलिया दलहरुको हातमा छ । त्यहाँ पनि कथित उच्च जात भनिएकाहरुको वचर्स्व रहेको र उनीहरु आफ्नो परम्परा र संस्कृतिभन्दा माथि उठ्न नसकिरहेका अवस्था छ । 'फुटाउ र शासन गर' मानसिकताले ग्रसित भैराखेको बेला जातीय आत्मनिर्णयको अधिकारको कुरा त कता हो कता संघीयता नै उनीहरुको लागि रुचेको गाँस होइन । त्यसकारण निर्णय गर्ने ठाउँमा त्यस्ता मानसिकताका मानिसहरु पुगेको खण्डमा हामीले चाहेजस्तो संघीयता र संविधान निश्पक्ष बन्छ भन्ने कुरामा शङ्कै छ ।
८. नेपालमा लिम्बुवान स्वायत्त प्रदेशको रुपमा घोषणा हुन्छ भन्ने कुरामा कतिको आशावादी हुनुहुन्छ ? यदि हामीले चाहे जस्तो लिम्बुवान घोषणा भैदिएन भने त्यसको लागि कस्तो पाईला चाल्न आवश्यक देख्नु हुन्छ ?
यसमा मुख्य दुइ कारणले आशावादी हुन सकिन्छ । पहिलो, संविधानसभाबाट सिङ्गो राष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्था छ । यहाँ सबैले बुझनुपर्ने कुरा के हो भने लिम्बुवानको आन्दोलन भनेको नेपालका अन्य नयाँ संघराज्य बन्न खोज्नेहरुको जस्तो नयाँ आन्दोलन पटक्कै होइन । लिम्बुवानले नेपाल एकिकरणताका (वि. सं. १८३१ देखि) नै नेपाल अर्न्तर्गत एक विशिष्ट स्वायत्त राज्य उपभोग गर्न पाएको थियो । लिम्बुवानको त्यो हकअधिकारलाई राज्यपक्षले बलपूर्वक एवं एकपक्षीय ढङ्गले खोसेर लगेको हो । लिम्बुवान स्वायत्तताको आन्दोलन नेपालको इतिहासमा पटक पटक हुँदै आइरहेको छ । हिजो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुनु पूर्वसम्म लिम्बुवान आन्दोलन सक्रिय भैसकेको थियो । त्यसकारणले गर्दा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा लिम्बुवानले पहिलो प्रथमिकतासाथ स्वायत्तता पाउँनुपर्छ । दोस्रो, हाल लिम्बुवान स्वायत्तताको निम्ति शान्पिूर्ण सशक्त आन्दोलन गरिरहेको 'संयुक्त लिम्बुवान मोर्चा नेपाल निर्माण भएको छ । मोर्चाले आफ्नो प्रतिनिधिमण्डल मार्फ सरकार प्रमख अङ्गहरु -प्रधानमन्त्री, राष्ट्रपति र सभाध्यक्ष) लाई लिम्बुवान स्वायत्तता पुनर्स्थापना माग सम्बन्धि स्मरणपत्र (Memorandum) बुझाउने काम पनि भैसकेको छ । त्यसैगरी राजनैतीकि दल तथा तिनका प्रमुखहरुलाई पनि लिम्बुवान स्वायत्तता पुनर्स्थापना मागबारे जानकारी दिने काम भएको र सबैबाट सकरात्म रिस्पोन्स पनि भएको छ । त्यसैले मोर्चाको मागप्रति अग्रिम सम्बोधन हुने र निकट भविश्यमै लिम्बुवान स्वायत्तता पुनर्स्थापना हुने कुरामा म आशावादी छु । तर लिम्बुवान स्वायत्तता सजिलै भैहाल्छ भनेर ढुक्कै बस्ने अवस्था पनि छैन । अधिकार भीख मागेर मात्र पाइन्दैन, गर्जनैपर्छ बाघ जस्तो तबमात्र पाइन्छ । त्यसकारण यदि हामीले चाहेजस्तो लिम्बुवान घोषणा भैदिएन भने हामीले थप सशक्त आन्दोन गर्नुको विकल्प छैन । त्यो भोलिको समयले बताउने कुरा हो । तर त्यसबाट निस्कने परिणामको जिम्मा हामीले होइन खुद सरकारले नै लिनुपर्नेछ ।
९. नेपालमा लिम्बुवान स्वायत्त प्रदेश किन हुनुपर्छ जस्तो लाग्छ ? स्वायत्त प्रदेश दिंदा देश विखण्डनमा धकेलिन्छ भनेर कतिपय राजनैतिक व्यक्तिहरुले भन्ने गरेका छन् के यो साँचो हो ?
बि. सं १८३१ (सन् १७७४) पूर्वसम्म लिम्बुवान एक सार्वभौम र स्वतनत्र राष्ट्र थियो । राजा पृथ्वीनारायण शाहले नेपालको एकिकरण गर्ने क्रममा प्राय सबै राज्य रजौटाहरुमाथि खुनी हमला गरेर गोर्खा-नेपाल राज्यमा सम्मिलित गरेका हुन् । तर लिम्बुवानमा राजा पृथ्विनारायण शाहले खुनी हमला गर्न चाहेर पनि गर्न सकेनन् । त्यसकारण लिम्बुवान नेपालबीच बि. सं. १८३१ मा एक महत्वपूर्ण सन्धिसम्झौता भयो । त्यै सन्धिले गर्दा नै राजा पृथ्वीनाराण शाहको सपना साकार मात्र भएन आज हामीले सिङ्गो नेपाल राष्ट्रको स्वरुप देख्न पाएकाछौं । अब बि. सं. १८३१ सम्झौतामा के लेखिएको थियो भन्ने कुरा जान्नको लागि कुनैपनि एक सचेत नागरिक हैसियतले खोतल्नै पर्नेहुन्छ । त्यो सन्धिबाट लिम्बुवानललाई नेपाल अधिराज्यभित्र एक विशिष्ट सहराज्यधिकार प्राप्त थियो । हिजो मात्र राजा महेन्द्रले कथित पञ्चायति व्यवस्था र भूमिसुधारको नाममा लिम्बुवानको त्यो जिउँदो र वैधानिक सन्धिपत्रलाई एकपक्षीय रुपमा उलङ्घन गरिदिएका हुन । यसरी हेर्दा अहिले लिम्बुवानमाथि नेपालसरकारको औपनिवेशिकता लादिएको देखिन्छ । एउटा सार्वभौम र स्वतन्त्र राष्ट्रको बन्नसक्ने हैसियत बोकेको लिम्बुवानले नेपाल राष्ट्र अर्न्तर्गत 'स्वायत्तता' मात्र खोजेको हो । त्यसकारण नेपालको लोकतान्त्रिक गणतन्त्रमा निर्विकल्प लिम्बुवान स्वायत्त राज्यको घोषणा हुनुपर्छ । यहाँ स्वायत्त प्रदेश दिंदा देश विखण्डन हुन्छ भन्ने कुरा साँचो होइन । किनकि संघीय पद्घति भएका मुलुकहरु सबै विखण्डन भएका छैनन् । जुन् ठाउँहरुमा विखण्डन भयो त्यो आफ्नै कारणले भएको छ । जस्तो, तत्कालीन सोभियतसंघ विघटन हुनुमा लेनिनले प्रतिपादन गरेको आत्मनिर्णयको अधिकार र जातीय स्वशासन तथा उनीहरुले चाहेमा छुट्टनि पाउँने अधिकार नै मुख्य कारण थियो । चिनियाँ कम्युनिष्ट पार्टीले शुरुमा (सन् १९२२) लेनिनको नीतिलाई समर्थन गरेको भएता पनि पछि सन् १९३५ मा चिनियाँ कम्युनिष्ट पार्टीले लेनिनको संघात्मक व्यवस्थाको पृथक हुने अधिकार चीनको परिस्थिति अनुकूल नभएको निष्कर्षमा पुग्यो र त्यसको ठाउँमा क्षेत्रीय शासनको प्रस्तावलाई अगाडि सार्यो । र, चीनमा "एक राज्य सबै जातिको नीति" अथवा साँस्कृतिक विविधता सहित राजनीतिक एकिकरणको नीति भनिएकोले विशाल जनवनदी गणतन्त्र चीनले आफ्नो राष्ट्रिय अखण्डतालाई जोगाई राख्न सफल भएको छ । संयुक्त राष्ट्रसंघसित सम्बद्घ मानव अधिकार सम्बन्धि दस्तावेजहरु हेर्दा पनि आत्मनिर्णयको अधिकारलाई छुट्टीन पाउने अधिकार भन्दा पनि नागरिक तथा राजनैतिक अधिकारको रुपमा सम्बोधन गरेको पाइन्छ । जसअनुसार जातिहरुको भाषा, धर्म, साँस्कृति पहिचान, परम्परा एवं प्रचलनको मान्यता, सुरक्षा तथा सम्मान गर्ने र उनीहरुको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनशैलीसंग सम्बन्ध भएका प्राकृतिक स्रोत, साधनमाथि पहुच रहने तथा ती विषयहरुमा राज्यपक्षले सिधै हस्तक्षेप गर्न नपाउँने आदि कुराहरु रहेका छन् । हालको हाम्रो नेपालको भूराजनीति गतिविधिलाई हेर्दा कोही आत्मनिर्णयको अधिकार सहितको जातीय राज्य बनाउँने भन्ने कोही त्यसो गरेमा मुलुक विखण्डन हुन्छ भन्ने विचारहरु प्रवाह भएको देखिन्छ । तर मलाई के लाग्छ भने यहाँ एकाध बाहेक नेपाल राष्ट्र आफै संघीय स्वरुप बनिसकेकै छ । आत्मनिर्णयको अधिकारको आधारमा संघराज्यहरु निर्माण गर्दा लिम्बुवान, खम्बुवान, मगरात आदि ऐतिहासिक राज्यहरुको स्वरुप बिग्रनु हुदैन । त्यसैले जातीय एवं आत्मनिर्णको अधिकार भनेको संयुक्त राष्ट्रसंघको मानव अधिकारको दस्तावेजमा उल्लेख भए झैं एउँटा बनिसकेको राष्ट्र वा संघराज्यभित्र प्रयोग हुने वा गरिने अधिकार मात्र हो । जातैपिच्छेको अलग नयाँ नयाँ राज्य निर्माण गर्ने र पृथक हुने भन्ने पटक्कै होइन । हामीले अरु राष्ट्रको नक्कल मात्र गर्ने होइन । नेपालको आफ्नै भूपरिस्थिति अनुसार संघराज्यहरुको निर्माण गर्ने हो । संयुक्त राष्ट्रसंघ सम्बद्घ मानव अधिकार तथा अन्तराष्ट्रिय श्रम संगठन (ILO) १६९ ले दिएको हक अधिकारलाई पनि हामीले आपसी सहमति र समझदारीमा प्रयोग गर्न सकिने कुरा हो । त्यसैले यो प्रक्रियाबाट हामी अघि बढ्यौं भने नत देश विखण्डन हुने डर, नत स्वायत्तता नै नपाउँने डर हुन्छ ।
१०. भावी नेपालको स्वरुप कस्तो बन्ला जस्तो लाग्छ ? सेना समायोन लगायत सशस्त्रमा उत्रेकाहरुसंगको वार्तालाई कसरी हुनुपर्छ जस्तो लाग्छ ?
नेपालको भावी स्वरुप जातीय एवं क्षेत्रीय आधारमा संघात्मक राष्ट्र राज्य बन्नसक्ने सम्भावना छ । तर सेना समायोजन विषयमा थुप्रै बहस तथा छलफलहरु भइरहेकाछन् । यसको निम्ति प्रबुद्घ वर्गहरुले नै निर्णय गर्ने विषय हो । तर मेरो विचारमा नेपाली सेनालाई राजनीति सिद्घान्तबाट अलग राखिनुपर्छ र सेना समायोजन पनि निरपेक्ष तथा समानुपातिक आधारमा बनिनुपर्छ । यो कुनै एक जाति, पार्टीको सिद्घान्तबाट निर्देशित हुनु हुदैन । जहाँसम्म सशस्त्रमा उत्रेकाहरुसंगको कुरा छ उनीहरुले माग गरेका विषयहरुमाथि छलफल तथा समझदारी निर्माण गरी हल गर्न सम्भव भएकालाई हल गरिदिएर उनीहरलाई निशस्त्र तुल्याउँनुपर्छ ।
११. तपाई युवा अवस्था मै राजनीतितिर होमिनु भो के कसैको प्रेरणा छ यता लाग्नुमा ? घरपरिवारबाट यो कामको लागि कतिको सल्लाह सुझाव र सहयोग पाइरहनु भएको छ ?
प्रेरण छ नै भन्नुपर्छ । तर यसो भनिरहंदा मैले अलिकति मेरो विगतलाई सम्झिनै पर्छ । बि. सं. २०४४-०४५ को कुरा हो, मैले पहिलो चोटी वीर नेम्बाङको नाम मेरै माइलो दाई टेकमान यक्सोबाट सुने । वहाँ भन्नुहुन्थ्या, "वीर नेम्बाङले 'लिम्बुवान मुक्ति मोर्चा' नामक एक क्षेत्रीय राजनैतिक संगठन खोलेर लिम्बुवान स्वयत्तता निम्ति सङघर्ष गर्दै हुनुहुन्छ । र, वहा एक निडर, साहसी र युवा नेता पनि हुनुहुन्छ । वहालाई सहयोग गरेर अघि बढ्नु राम्रो हुन्छ ।" यस्तै नै थियो मैले दाइबाट पाएको जानकारी र सुझापहरु । पछिबाट चाहिँ पञ्चायति शासकले वीर नेम्बाङलाई देश द्रोही, साम्प्रदायिक विखण्डनवादी जस्ता आरोप लागेर कहिले भूमिगत, निर्वासन त कहिले जेलयातना समेत भोगेको कुरा पनि सुने । त्यसपछि करीव १/२ बर्षसम्म यी यावत् कुराहरु बिर्सेर म आफ्नै संसारमा रमाउन थाले । लिम्बुवान आठारार्इ थुमको बसार्इ कहिले लेकबेसीहरुमा कहिले मेलाजात्राहरुमा याक्थुङमा सोल्टेनीहरुसंगको धाननाँच रमाइलो गरेको क्षणलाई सम्झिदा अझै पनि मन लोभिन्छ । वि. सं. २०४८ सालदेखि भने वीर नेम्बाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चालाई सहयोग गर्ने हेतुले लिम्बुवान स्वायत्तताको निम्ति सक्रिय हुनथालियो । त्यस पछि चाहिँ मलाई कसैले प्रेरणा दिने भन्दा पनि लिम्बुवानको निम्ति केही गर्नुपर्छ भन्ने भावना पलाएको मात्र होइन, जोस जाँगरै बढेर आयो । वि.सं. २०५०-०५१ सालको कुरा हो महेन्द्र बहुमुखी क्यामपस धरानमा मेरो संयोजकत्वमा 'लिम्बुवान विधार्थी मोर्चा' गठन गरियो । त्यसै दौरानमा लिम्बुवान मुक्ति मोर्चा सुनसरी जिल्ला कमिटि पनि गठन भयो । आफु चाहिँ कमिटि सचिवको रुपमा सक्रिय भई काम गर्न थाले । त्यपछि भने वीर नेम्बाङदाईसंग मेरो भेटघाट हुने क्रम पनि बढ्दै गयो । वहाँले लिम्बुवान स्वायत्तताको निम्ति काम गर्नुपर्छ भन्ने हामी सबै युवाहरुलाई सल्लाह सुझाव दिइरहनु हुन्थ्यो । लिम्बुवान स्वायत्तताको निम्ति लिम्बुवान क्षेत्रबाट लिम्बुवान विधार्थी मोर्चाको संयोजक भएर काम गर्न सुझाव पनि दिनुभयो । तर यी सब कुराहरुलाई मैले केहीबर्षथाती राख्ने विचार गरे । वि. सं. २०५२ सालतिर हङकङ आउने योजना भयो । केही पैसाको चाँजो मिलाएर २/३ बर्षछि फेरी लिम्बुवान स्वायत्तताको आनदोलनमा लागेर काम गर्ने वचन मैले अध्यक्ष वीर नेम्बाङ दाइलाई दिए र विदा भए । त्यसकारण यो माथिको मेरो छोटो संस्मरण के देखाउछ भने म यता लाग्नुमा प्रथम प्रेरणाको स्रोत मेरो माइलो दाई अनि अलिकति मेरो आफ्नै स्वअध्यन र वीर नेम्बाङको सैदान्तिक दृष्टीकोण प्रमुख रहेका छन् । उसबेला लिम्बुवानको राजनीति गर्नु जोखिमपूर्ण र गैर कानूनी हुन्थ्यो । त्यसैले होसियार भई बचेर काम गर्नु भन्ने सुझाव अन्य अविभावकहरुबाट पनि हुने गथ्र्यो । अहिले पनि परिवारबाट सहयो मिलेको छ ।
१२.लिम्बुवान ब्लगपोस्ट डटकमबाट संसारभर छरिएर रहेका पाठकहरुलाई केही सन्देश दिन चाहनुहुन्छ कि ?
सर्बप्रथम त लिम्बुवान व्लगपोष्ट डटकम मार्फत मेरो विचार राख्ने मौका दिनुभएकोमा यहाँ टंक सम्वाहाम्फे जीलाई धन्यवाद दिन चाहन्छु । वहाँले व्लगपोस्ट डटकम मार्फत लिम्बू र लिम्बुवान सम्बन्धि जानकारी मुलक सन्देश मात्र पस्किनु भएको छैन, विश्वभर छरिएर रहेको बिचार एवं समचार बुझन पनि सजिलो बनाइदिनु भएको छ । त्यसैले लिम्बू र लिम्बुवान आन्दोलनमा वहाँको योगदान सम्झिन योग्य छ र हुनेछ । हिजो बाहिरियाबाट लिम्बुवान आमाको अस्थित्वलाई पटक पटक गरी धेरै चोटि लुटियो । लिम्बुवान आमालाई बचाउन खोज्दाखोज्दै हाम्रा हातहरु बाँधिए, मुखहरु थुनिए । फलाम काट्नलाई फलाम नै प्रयोग गरे झैं लिम्बूलाई सिध्याउँन लिम्बू नै प्रयोग गरियो । ती बाहिरियाहरुको षड्यन्त्र यति खतरनाक थियो कि हाम्रा मान्छेहरुले त्यसलाई बुझनै सकेनन् । एउटै आमाको दुइ सन्तानहरु, एउटाले लिम्बुवान बचाउँनको निम्ति गुहार माग्यो तर अर्कोले अर्कैको अस्थित्वलाई स्वीकार गरी आफ्नै अस्थित्वलाई स्वाहा पार्यो । अहिले लिम्बुवान स्वायत्तताको आवाजलाई गर्भमै तुहाउँनको लागि लिम्बुवान नचाहने तत्वहरु लागि परेकाछन् । ती र त्यस्ता षड्यन्त्रसंग अब लिम्बुवानवासीहरु होसियार रहनु आवश्यक छ । यहाँ लिम्बू र लिम्बुवानवासी भनेर ढुक्कै बस्ने अवस्था छैन । सबैको एजेण्डा लिम्बुवान भएपनि त्यहीभित्रबाट लिम्बुवानघाती आत्मावेचुवाहरु लिम्बुवानमा फेरी जन्मिसकेका हुनसक्छन्, जस्ले लिम्बुवानको लागि खुनी सम्झौता पनि गर्न सक्छ । तर अब २१ औं शताव्दीका सचेत लिम्बुवानवासीहरु त्यस्ताका षड्यन्त्रमा फस्ने छैनन् र तिनकापछि लाग्ने पनि छैनन भन्ने लाग्छ । हाल लिम्बुवान स्वायत्त राज्य प्राप्तिको निम्ति संयुक्त लिम्बुवान मोर्चा, नेपालले नेतृत्व गरीरहेको महान जनआन्दोलनमा सबै संघ संगठन तथा लिम्बूवानवासीहरु गोलबद्घ भई सकेसम्म तन, मन र धनले पनि सहयोग गरी आन्दोलनलाई सफल पारौ । वीर पुर्खाहरुको रगत र पसिनाले सिंचित लिम्बुवान मातृभूमिको रक्षा गरी आफ्नै लिम्बुवान स्वायत्त राज्य स्थापना गरौं । अब कसैको शासित भएर होइन, शासक भएर बाँच्न सिकौं । अन्त्यमा सम्पूर्ण लिम्बुवानवासीको सपना पुराहोस, मेरो कामना छ ।

Sep 16, 2008

डि.वि.पालुङवासँगको अन्तरवार्ता

मेरो आलाप गीति संग्रहमा मैले शब्दको सुन खारेको छु - डि.वि.पालुङवा

मेची अञ्चल ताप्लेजुङ जिल्ला अन्तर्गत फुङलिङ गा.वि.स.- २ मेदिवुङ जन्मनु भएका कवि तथा गीतकार श्री डि.वि. पालुङवा २०३७ साल देखि धरान नगर पालिका वडा नं.-१२ चतरालाईनमा स्थाई वासीन्दा वन्नु भएको हो ।वाल्यकाल देखि नै साहित्य लेखनमा आकर्षित हुनुहुन्थ्यो तर समयको संजोक नपरेर हो कि ? यौवन अवस्थामा कलमलाई त्यति दौडाउँनमा ध्यान दिनु भएन । हङकङ आई.डी.ले गर्दा हाल वहाँहङकङे नेपाली चाईनिज वन्नु भएको छ । त्यसो त हङकङ आउनु भन्दा अगाडी नै दक्षिण कोरीयाको अर्को वैदेशीक अनुभव पनि वहा संग सिङ्गै छ । यौवन अवस्था नाघेर ब्यवहारिक जिवन विताउँने वेलामा पालुङवा शसक्त कवि तथा गीतकार भएर नेपाली साहित्य लेखनमा हाम्फाल्नु भएको छ । हङकङको बाक्लो साहित्यिक कार्यक्रम र यहाको साहित्यिक वातावरणले गर्दा वहाको लेखनकलाले निक्कै छलाङ मारीसकेको छ । विशुद्घ साहित्यिक संस्था नेपाली साहित्य प्रतिष्ठान हङकङको क्रियाशील सदस्य हुनुहुन्छ । साथै जातिय संस्था किरात यक्थुङ चुम्लुङ हङकङ तथा लिम्वूवान राष्ट्रिय मोर्चामा समेत संलग्न हुनुहुन्छ । हालसालै आलाप नेपाली आधुनिक गीतसंग्रह हङकङबाट प्रकाशन गरे पछि वहा चर्चाको शिखरमा पुग्नु भएको छ उनै कवि तथा गीतकार डि.वि. पालुङवासंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१)हङकङको ब्यस्त दिनाचार्यसंग यो साहित्य लेखनको परिस्थिती कसरी समायोजन गरिरहनुभएको छ ?
हङकङको ब्यस्तदिनचार्य एकातिर छदैछ , तर पनि एउटा सचेत नागरिकले नगरि नहुने कर्महरु धेरै हुन्छन ।यी नगरिनहुने कर्महरु मध्ये मेरो बिशेष रुचीको बिषय नै साहित्य भएकोले म सिधै यतातिर तानिएको छु । र मलाई साहित्यले जागरुक र इमान्दार बनाएको छ । अत म यतैतिर प्रेरित भएर अति साँगुरो समयलाई अलिकति पनि खेर नफाली लेखन कार्यलाइ समायोजन गर्दै आएको छु ।
-
२)हालसालै तपाइले आफनो एकल गीत लेखनमा बिभिन्न गायक गायिका र संगीतकारहरुको संयोजन गरी आलाप नेपाली गीतीसंग्रह हङकङमा बिमोचन गर्नुभयो यसको बिक्री बितरण र प्रतिक्रिया कस्तो पाउदैहुनुहुन्छ ?
हेर्नोस टंक जी यो बिक्री बितरणको जुन सवाल छ,यो एकदमै जटिल कार्य हो । यसमा मलाइ भन्दा बढी तपाईलाई अनुभव छ,जो कोही पनि यस्ता सृजनाहरु झट्टै लिन हिचकाउछन् । तै पनि एउटा Relationship र Friendship भन्ने कुरा मुख्य बिषय हो जस्तो मलाई लाग्छ , अहिले सम्म जे जति बिक्री बितरण भईरहेछ येही Relationship र Friendship को सन्जाललाइ अघि बर्ढाईरहेछु । जे होस राम्रै गईरहेकोछ , र जे जति जांदैछन् सबैतिरबाट एकदमै राम्रो प्रतिक्रियाहरु आईरहेके छन् । धेरै जसो श्रोताहरुले मलाइ फोन गरेर कसैले इमेल गरेर पनि मेरो एलबम्को प्रसंसा गरीदिनु भएको छ । यो मेरो लागी खुसीको कुरा हो , जसले मलाइ थप उत्साहित बनाएको छ ।

३)गीत र कविता सक्रियरुपले हङकङमा वसेर लेख्दैहुनुहुन्छ यसरी लेख्नुमा कसैको प्रभाव त छैन ? र यसरी गीत र कविता लेख्दा तपाई कस्तो अनुभूति गर्नुहुन्छ ?
गीत र कबिता लेख्नु कसैको प्रभाव नभएर बिशेष गरेर मलाई जीवन् र जगतले नै बढी प्रभावित बनाईरहेको हुन्छ , र हृदयको अन्तसकरणबाट स्वतस्फुर्त निस्कने अभिब्यक्तिहरुले नै मलाइ बढी चलयमान बनाइरहेको हुन्छ । र प्राय म चलिरहको हुन्छु । र जतिखेर म गीत कबिता लेख्न बस्छु त्यतिखेर म बिषय बस्तु बाहेक धेरै कुराहरु बिषिर्रहेको हुन्छु । जतिखेर गीत अथवा कबिताको बीट मार्न लाग्छु त्यतिखेर निकैपटक आत्मनविकरण गरेर बाहिर आउंछु , र एक किसिमको आनन्द, आत्मसन्तुष्टि, र मुक्तिको सुखानुभुति मलाई त्यतिखेर प्राप्त हुन्छ ।

४)गीत संगीतको वजार हङकङमा भन्दा नेपालमै ठुलो छ त्यसको लागि के सोच्दै हुनुहुन्छ ? फेरी अहिले गीति एलवम् भन्ने बित्तिकै म्यूजिक भिडियोको कुरा आउछ,त्यस वारे तपाईको योजना के छ ?
निश्चितरुपमा यो हङकङमा हामी अप्रवाशीहरुको संख्या कति नै पो छ र ? अझ त्यसमा पनि यू.के. मा Migrant भएर जानेहरुको संख्या दिनानुदिन बढिरहेको छ । फेरी अर्को कुरा यो एलवम्मा डायोस्पोरिक गीत पनि भएको कारणले पनि यस्को शन्देश आम नेपाली जनताको कान सम्म पुग्नु पर्छ भन्ने मेरो मान्यता हो । तर भने जस्तो त कहां हुन्छ र टंक जी, तै पनि म कोशिस गरिरहेछु । र यस्को लागी केही महिना पछि म नेपाल जांदैछु र नेपालमा एउटा कार्यक्रम गरेर बजार बिस्तार गर्ने योजना तर्जुमा गर्दैछु । र अर्को कुरा म्यूजिक भिडीयोको जुन सवाल छ , यो हुनै पर्छ भन्ने मान्यताबाट म अलि पर छु । जुन यी मेरा आधुनिक गीती संग्रहमा जम्मै त म भन्न सक्दिन यंहा यस्ता गीतहरु पनि छन् जो कालजयी टाइपकालाई पनि श्रब्य दृष्य नै चाहिन्छ भन्ने मलाई लाग्दैन । जस्का श्रोताहरु भिन्न प्रकारका हुन्छन् , वंहाहरु सम्म पुगोस भन्ने मेरो तीव्र इच्छा छ । तर श्रब्य दृष्यको लागी मेरो चाहना नै नभएको त कहां हो र ? त्यति गर्नलाई म आर्थिक रुपले सवल भईसकेको नै कहां छु र ?

५) तपाई लिम्बु मात्रृभाषा भएको नेपाली साहित्यकार त्यसैले आफनै मातृभाषामा गीत कबिता लेख्न कतिको जागरुक हुनु भएको छ ? के तपाई नेपालको परिबर्तित परिस्थितीले आफनै भाषाको सेवा गर्न उत्प्रेरीत गरेको छैन ?
मैले आफनै मात्रृभाषा र लिपीमा कुनै साहित्यहरु लेख्न नसके पनि नेपाली साहित्यबाटै लिम्बुवान् राज्यको सार्वभौम र अखण्डता त्येहीको आदीवासी जनजाती र जातीहरुको हातमा नै हुनुपर्छ भन्ने भावना अनुरुप सधैं यस्तै प्रकारका साहित्यहरु पहिल्यै देखि लेख्दैआएकोछु । बिभिन्न पत्रपत्रिका मार्फत प्रकाशित हुदै पनि आएको छ । यसै कुराले पनि मेरो आफनो भाषा प्रतिको मोह झल्किन्छ । र आजको परिबर्तित समयलाई हामीले चिनेर भाषाको मात्रै होइन, लिम्बुवान राज्यको विकाश कसरी गर्न सकिन्छ भन्ने कुराको चिन्ता लिम्बुवानबासी सबैमा हुनुपर्छ भन्ने मलाई लाग्दछ ।

६) हङकङमा बसेर नेपाली साहित्य लेख्नुको उदेश्य के हो ? किन लेख्नु हन्छ ? साहित्य प्रति तपाईको दृष्टिकोण के हो ?
मेरो बर्साई हङकङमै भईसके पछि हङकङमै बसेर लेख्नु मेरो बाध्यता हो । नेपाल फर्किहाल्ने स्थिती पनि आई सकेको छैन । बिदेशिनुको पीडा त छदैछ , यहां लेख्नुको उदेश्यको कुरा उठाउनु भयो , बिशेष त साहित्य लेखन मेरो रुचिको बिषय पनि हो , त्यसैले पनि म लेख्ने गर्छु । तर लेख्न बस्दा मैले देखेको सत्य र मैले भोगका अनुभूतिहरुलाई गीत र कबिता बिद्याबाट नै देश र समाजको लागी ससक्त ढंगले केही गर्न सकिन्छकी भन्ने अभ्रि्रायले कबिता र गीती बिद्यामा केन्द्रित भएको छु । साहित्य प्रतिको मेरो दृष्टिकोणको कुरा उठाउनुभयो , मलाई लाग्छ साहित्य भनेको यस्तो एउटा विशाल फूलबारी हो , यहा जो कोही पनि हांस्न सक्छ , रुन सक्छ , गाउन सक्छ, र यस्को आकाश पनि त्यतिकै फराकिलो छ । यहां जो कोही अटाउन सक्छ । यहां कुनै धर्म सम्प्रदाय अथवा कुनै वर्गको वोलवाला निशन्देह छैन ।साहित्यको यहां मैले ब्याख्या गर्दा साहित्यकै परिभाषा दिन खोजे जस्तो होला । तर म साहित्यको परिभाषा दिन त नसकुला । यध्यपी मलाई के लाग्छ भने साहित्यले जहिले पनि राम्रा कुराहरुलाई मात्र अङ्गीकार गर्ने हुदा यहां नराम्रा कुराहरु Automatically पाखा लाग्दछन् । त्यसैले पनि मेरो मुल धर्म किरांत पछिको अर्को धर्म नै साहित्य हो भन्न म मन पराउछु । र यथार्थ पनि येही हो । हालमा आएर हाम्रो दाजु भाई तथा दिदी बहिनीहरु अन्य धर्म सम्प्रदायमा समाहित भएर जांदैछन् र आफ्नो अस्तित्व पनि मेटाउदै जांदैछन् , मलाई लाग्छ यो एकदमै भ्रम र विकृत संस्कारको विकाश हो । यस्ता कुराहरुलाई रोक्नका निमित्त साहित्यले अहम् भूमिका निभाउनु पर्छ भन्ने मलाई लाग्छ , र त्यस्ता हाम्रा दाजुभाई तथा दिदी बहिनीहरुलाई पनि म येही सल्लाह र सुझाव दिएर ती त्यस्ता कुराहरुबाट टाढा रहनको लागी यसै पत्रिका मार्फ हार्दिक अपिल गर्दै अनुरोध समेत गर्न चाहान्छु । र हाम्रो जाती धर्म संस्कार संस्कृतीको विकाश गर्दै एउटा शिक्षित,सुसंस्कृत र सभ्य समाजको निर्माणको लागी साहित्य पढौं लेखौं भन्ने मेरो साहित्य प्रतिको दृष्टिकोण हो ।

७) तपाई नेपाली साहित्य प्रतिष्ठान् हङकङ तथा लिम्बुवान मुक्ति मोर्चा हङकङमा पनि आवद्ध हुनुहुन्छ , यी दुबै संस्थामा आफुलाई कसरि प्रस्तुत गर्नुहुन्छ ? वा गरिरहनु भएको छ ?
आफ्नो अस्तित्व र आत्मसम्मानलाई कसरी सुरक्षित गर्न सकिन्छ , र मान्छे भएर बांच्नुको औचित्य के हो ? भनेर बुझ्ने जो कोही एउटा सचेत नागरिकले समाजमा आफुलाई सामाजिक , आर्थिक, राजनैतिक , धार्मिक, भाषिकरुपले स्थापित गर्नको निमित्त उ सधैं त्यसकै वरिपरी घुम्न मजबुर हुन्छ । जस्लाई यस्ता कुराहरुले छुदैन, उ झन्डै मान्छे मात्रै भएर बांचेको हुन्छ , त्यसको के अर्थ रहन्छ र ? तर मलाई के लाग्छ भने मान्छे भएर अलि कति मात्रै भए पनि मान्छे जस्तो भएर बांच्नुको अर्थले मलाई जहिले पनि प्रेरित गरीरहन्छ , र नै म यी संस्थाहरु लगायत अन्य संघ संस्थाहरुमा पनि आबद्ध भई बिभिन्न क्रियाकलापहरुमा सक्रियरुपले समयलाई समायोजन गर्दै आफ्नो क्षेत्रबाट समाजमा केही योगदान पूर्याउन सकिन्छ की भनेर नै म लागीपरिकै छु । तर यहां ब्यक्तिगत अथवा पारिवारिक कुरा गर्नुपर्दा मैले मेरो सानो छोरा र श्रीमतीको समय भने जरुर चोरेको छु । यस कुराले भने मलाई कहिले कांही दोषी बाबु र पतिको रुपमा खडा गरिदिन्छ , त्यतिबेला मलाई कता कता दुःख लाग्छ । तर यी सबै कुराहरु मेरो आफ्नै लागी मात्रै गरिरहेको भने पक्कै होईन ।

८) स्वदेशमा वसेर लेख्नु र परदेशमा वसेर लेख्नुमा कस्तो भिन्नता पाउनु भएको छ ? साथै लखन्लाई कहिले सम्म निरन्तरता दिने विचार गर्नुभएको छ ?
हेर्नोस टंकजी श्वदेशमा वसेर लेख्नुको स्वाद र पीडा अर्कै हुन्छ , भने बिदेशमा वसेर लेख्दा त्यो बढि डायोस्पोरिक बन्न जान्छ , अथवा विदेशमा वसेर लेख्दा श्वदेशको माया र माटोको तिर्खा भने मन् भित्र दन्दनी सल्किरहेको हुन्छ , त्यसैले आफ्नो देश र माटो भनेको हर हर तिर्खा मेट्ने सङलो पानी हो , हामी विदेशमा वसेर लेख्नेहरु राहतको रुपमा मात्रै भए पनि लेखेर त्यो प्यास मेट्ने कोशिस गरिरहेका हुन्छौ । त्यसैले विदेशमा वसेर लेख्नुको स्वाद र पींडा नै फरक ढंगको हुन्छ भन्ने मेरो बुझाई छ । जहां सम्म निरन्तरताको कुरा छ , यो मेरो सवालमा मृत्युपर्यन्त रहिरहन्छ , किनकी साहित्य मेरो उठवसको परममित्र हो ।

९) आलाप नेपाली आधुनिक गीतीसंग्रहका गीतहरु लेख्दा आफुले कति न्याय गरे जस्तो लाग्छ ? साथै संगीत र स्वरमा कति न्याय भए जस्तो लाग्छ ? यो संग्रह निकाल्न कसैको श्रेय छ कि ?
यो मेरो आलाप गीति संग्रहमा मैले शब्दको सुन खारेको छु , र मैले शब्दको अर्थमा वहुलता खोजेको छु , किनभने आधुनिक गीत र कवितामा शब्दको सतहबाट अर्थमा सिधै हाम्फाल्दा त्यो गीत र कविताको हत्या हुन्छ भन्ने भयले म सधैं सजक रहेर आलाङकारिक प्रतिक र बिम्बमा अर्थको वहुलता लिएर एउटा इमान्दार लेखकको रुपमा उपस्थित भएको छु जस्तो मलाई लाग्छ । र यहां स्वरमा कुनै तुक छैन । यद्यपी शब्द अनुसारको संगीत भने एक दुइ वटा गीतले नपाएको मैले मुल्याङकन् गरेको छु , र मलाई के लाग्छ भने कि म एउटा नयां गीतकारको शब्दमा संगीतकार त्यति गहिर्राईमा नगएको जस्तो मैले महसुस गरेको छु । यहां श्रेयको पनि कुरा गर्नु भयो , यो एलवम निकाल्नमा कसैको श्रेय छैन । बरु म तपाईबाटै बढी पे्ररित भएर यो एलवम यसरी बाहिर आउन सफल भएको हो । जब तपाईको मनोभाव एलबम बाहिर आयो , त्यसपछि मलाई पनि यस्तो कार्य गर्न प्रेणा मिल्यो , र मैले यस्लाई पूर्ण रुप दिन सफल भएं । तर यस्को पछि दिनेश सुब्बा र दिल पालङ्वाको पनि ठूलो भुमिका छ , म वहांहरुलाई पनि कहिल्यै विर्सन सक्दिन ।

१०)नेपालमा लिम्बुवानको आन्दोलन अझै पनि टुङ्गीएको छैन तपाई आफै पनि लिम्बुवानबादी कार्यकर्ता त्यसैले अबको दिनहरुमा लिम्बुवान प्राप्तीको लागी के कस्तो पाईला हाम्रा लिम्बुवानवादी नेताहरुले चाले राम्रो होला ? तपाईको भनाई र सुझाव के छ ?
नेपालमा संबिधान सभाको चुनाव पश्चात देशले लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी सकेको छ । संबिधान निर्माण हुन बांकी नै छ , र त्यो निर्माण हुने संबिधानले लिम्बुवान राज्य पुनस्थापना हुनु पर्छ भन्ने सम्पूर्ण लिम्बुवानबासीको भावनालाई कसरी सम्वोधन गर्छ , त्यो हेर्न बांकी नै छ , र लिम्बुवान राज्य पुनःस्थापना हुनै पर्छ भन्ने हाम्रो मान्यता अनुरुप हामी दृड संकल्प लिएर हामीले हाम्रो आन्दोलनलाई अहिंसात्मक तथा शान्तीपूर्ण ढंगले अघाडी बढाईरहेका छौ । र हाम्रो चाहना पनि यो आन्दोलन शान्तीपूर्ण ढंगले समाधान हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । तर यो समस्याको समाधान त्यती सजिलै संभव देखिन्न । त्यस्को लागी हाम्रा सम्पूर्ण लिम्वुवानबादी नेता कार्यकर्ताहरुका साथै लिम्बुवानबासी लिम्बुवानबादी सभासदहरुले यो विषयलाई नेपाल अधिराज्यको मुल मुद्धाको रुपमा शसक्त ढंगले प्रस्तुत गर्न सक्नुपर्छ । साथै लिम्बुवानबादी नेता कार्यकर्ताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर , फुटेर होईन जुटेर हाम्रो लक्ष्यप्राप्तिको लागी एक ढिक्का भई लाग्नुपर्छ भन्ने मलाई लाग्दछ । र तमाम नेपालीहरुले यो कुरामा प्रष्ट भई दिनुपर्छ भन्ने पनि मलाई लाग्दछकी ,आदीम्कालको जस्तो लिम्बुवान राज्य आजको एक्काईसौ शताब्दीमा पाच्य नहुने कुरामा हामी अस्पष्ट छैनौं र आजको युग सुहाउदो आत्मनिर्णयको अधिकार, समावेशी, बहुदलीय, संघीयबादलाई अवलम्बन गरेर लिम्बुवान राज्यलाई कसरी बैज्ञानिकीकरण गर्न सकिन्छ भन्ने परिकल्पनाबाट अभिप्रेरित भएर हामी लागी परेका कुरा तमाम नेपालीहरुमा स्पष्ट हुन म आग्रह गर्दछु । किन पनि भने लिम्बुवान राज्यको पृष्टभ्मि हेर्ने हो भने जस्तोकी त्यहांको भौगोलिक बनावट र अखण्डता, सामाजिक, आर्थिक, धार्मिक र भाषिकरुपले आफैमा समृद्ध र सार्वभौम् सम्पन्न देखिन आउछ , त्यती हुंदा हुदै पनि आदीमकाल देखि तात्कालिन् समयमा अथवा वि.स.१८३१ मा पृथ्वीनारायणशाह संग गरेका सन्धि संझौता र त्यसपछिका तत्कालिन राजा त्रिभुवन देखि वीरन्द्रको शाशनकाल सम्मका किपट प्रथा र त्यहांका राजा रजौटाहरुले शाशन गरेका अनेकौ प्रमाण र अवशेषहरु अझै पनि देख्न र पाउन सकिन्छ । यस्ता धेरै ज्वलन्त उदारणहरु हामी संग घाम जस्तै छर्लङ्ग हुंदा हंदै पनि आजको शाशन सत्ताको वागडोर सम्हालेका ती संबिधान निर्माण गर्ने मन्त्री सभासदहरुले यदी हाम्रो भावनालाई दवाउन खोजेमा त्यसको प्रतिकार गर्न हामी कुनै कसर बांकी राख्ने छैनौं ।

११)लिम्बुवान व्लगस्पो डटकम मार्फत लिम्बुवानबासीहरु र संसारभर छरिएर रहेका श्रोता तथा शुभचिन्तकहरुलाई केही शन्देश दिन चाहानु हन्छ कि ?
र्सवप्रथम त यस limbuwan.blogspot.com मार्फत विश्वभरि छरिएर रहेका तमाम नेपालीहरु माझ तपाईले मलाई आफनो धेरै कुराहरु राख्ने जुन अवसर दिनुभयो । यसको लागी तपाईलाई धन्यवाद नदिई म रहन कहां सक्छु र । र यहां मुख्य कुरा भर्खरै मैले एउटा मानबिय संबेदना बोकेको नेपाली सुमधुर आधुनिक गीती संग्रह "आलाप"नाम गरेको एलवम लिएर बजारमा आएको छु । आसा गर्न सक्छुकी यो एलवम बढी भन्दा बढी श्रोताहरुले सुनिदिएर मेरो भावनाको कदर गरी दिनुहुनेछ भन्ने कुरामा विश्वास राख्दै जजसले सुनिदिनु भएको छैन वहांहरुले पनि यो एक एक प्रति CD लिईदिएर यो एउटा छुट्टै नश्लको चित्कारलाई नजिकैबाट श्रवण गरी दिनुभएमा यस्को मुल्याङकन जरुर हुने थियो । र यस एलबममा जे जस्ता क्रिया प्रतिक्रियाहरु आए पनि म सहर्ष स्वीकार गर्ने नै छु । यहां राजनितिक प्रसंग पनि उठयो , तर साहित्यको अगाडी राजनितिक बिषय गौण हुन्छ , भन्ने मलाई लाग्दछ । किनभने राजनितिक बिषय भनेको बिशेष बर्ग, समुह, र सिद्घान्तको निती निर्देशनमा चलेको हुन्छ भने साहित्यको कुनै बर्ग समुह र सिद्धान्त नहुने भएकोले यसको संसार नै अलग्गै हुन्छ, र यो संसारमा रमाउनेहरु अलि बढी नै भावुक मात्रै हुदैनन् यहां मानवताको Relation पनि बढी हुन्छ । त्यसैले पनि साहित्यमा रुची राख्ने जो कोही पनि सभ्य, शुसिल र इमान्दार हुन्छन् भन्ने मेरो ठम्याई हो ,यो सत्य नहुन पनि सक्छ । फेरी यो क्षेत्रमा नलाग्नेहरु सभ्य र इमान्दार हुदैनन् भन्ने मेरो मतलव चाही कदापी होईन । तर साहित्यले साधा जीवन् र उच्च विचारलाई बढि प्राथमिकता दिने हुंदा यो क्षेत्रको जीवन केही हद सम्म सुखि होला भन्ने मलाई लाग्दछ । त्यसैले अन्त्यमा विश्व भरि छरिएर रहेका तमाम नेपालीहरु माझ साहित्य पढौं लेखौं र एउटा शिक्षित, इमान्दार, र सभ्य समाजको निर्माणमा जुटौं भन्ने आग्रहकासाथ मेरो भनाईको वीट मार्न चाहान्छु । धन्यवाद ।

Sep 8, 2008

भूपेन्द्र चेम्जोङसंगको अन्तरवार्ता

वि.सं. २०२२ असोज ९ गते मेची अञ्चल पान्थर जिल्ला अन्तर्गत फाकतेपमा जन्मनु भएका भूपेन्द्र चेम्जोङ्ग ले विज्ञानमा स्नातक,बि.एड साथै अंग्रेजीमा स्नातकोत्तर सम्मको अध्यायन पुरा गर्नु भएकोछ । नेपालमा रहदा लामो समय सम्म शिक्षक भएर काम गर्नुभएका चेम्जोङ्ग ले शिक्षक पेशामा मात्र आवद्घ नभइ लेखन क्षेत्रमा पनि खासगरी कविता,समसामयिक लेख र समालोचनामा सक्रिय हुनुहुन्छ । पहिले नेपाली आदिवासी जनजाती महासंघका महासचिव हुनुहुन्थ्यो भने हाल अध्यक्षको गरीमामय पदमा रहेर काम गरीरहनु भएको छ । हङकङमा पत्रकारीता र दोभाषेको काममा पनि उतिक्कै लगनशील भएर समाज सेवाको काममा लागि रहनु भएको छ । वहा हङकङवाट प्रकाशित सनराइज साप्ताहिकका सम्पादक पनि हुनुहुन्छ उनै कर्मयोगी सम्पादक भूपेन्द्र चेम्जोङ्गसंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१.नेपाली आदिवासी जनजाती महासंघ हङकङ कहिले स्थापना भएको हो ? यो संस्था हङकङमा स्थापना गर्नुको मुख्य उदेश्य के हो ?
नेपाली आदिवासी जनजाति महासंघ विधिवत रुपमा १९९८ सालमा स्थापना भएपनि यसले जातीय संस्थाहरुलाई मात्र सदस्य दिएर महासंघको रुपमा विकसित भएको चाहि २००४ सालदेखि हो । यसको उद्देश्य हङकङमा रहेको विविध जातजातिहरुवीच समन्वय गर्ने, परम्परा तथा साँस्कृतिक आदान प्रदान गर्ने उनीहरुको भाषा,संस्कृति तथा संस्कारहरुको संरक्षण र विकास गर्ने तथा नेपालमा रहेका आदिवासी नेपालीहरुको हरेक जायज कदमहरुमा समर्थन र सहयोग गनु रहेको छ ।
२.हङकङमा नेपाली आदिवासी जनजाती महासंघको आवश्यकता किन पर्‍यो ? विदेशमा बसेर नेपालको आदिवासी जनजाती अन्दोलनलाई कसरी सहयोग पुर्‍याउँन सकिन्छ होला ?
विदेशमा रहेको नेपालीहरुमा मध्ये हङकङ मात्र एक यस्तो शहर हो जहाँ नेपाली आदिवासी जनजातिहरुको संख्या ९५ प्रतिशत भन्दा पनि वढी छ । चीनीया तथा पश्चिमेली संस्कृतिको अधिक प्रभाव भएको यो हङकङमा यहाँ वसोवास गर्न आएका नेपालीहरु चाडै ती विदेशी साँस्कृतिसंग प्रभाभित हुन स्वभाविक हो । यस प्रभावको वावजुद्ध कम्तिमा पनि यहाँका नेपाली आदिवासी जनजातिहरुलाई आफ्नो मातृभूमि भाषा,संस्कृति तथा भेषभूषा सहित आफ्नै पहिचान रहेको वोध गराउन पनि यो संस्थाको आवश्यकता परेको हो । यो आदिवासी वाहुल्य नेपाली समाजको सम्वन्ध मातृ भूमी नेपालको माटोसंग यही संस्कार तथा संस्कृति मार्फ सधै समीप्य होस र उनीहरुको पहिचान विदेशमा रहेर पनि कायम राख्न हरप्रयत्न गर्ने उद्देश्यले आदिवासी जनजाति महासंघ स्थापना गरिएको हो । नेपालको आदिवासी जनजाति आन्दोलनलाई हामीले हरेक कोणवाट सहयोग गर्न सकिन्छ । आर्थिक संकलन गरेर,राजनैतिक दवाव समूहको रुपमा हङकङमै रहेर वा व्यक्तिगत रुपमा नेपाल गएरै पनि सहयोग गर्न सकिन्छ ।
३.हालसालै हङकङमा पनि १४ औ विश्व आदिवासी जनजाती दिवश भब्यताका साथ सम्पन्न भयो यसलाई तपाईले हङकङको प्रमुखको नाताले कसरी हेर्नु भएको छ ? नेपाली आदिवासी जनजाती र हङकङका आदिवासी जनजाती विच कुनै सम्वन्ध छ ?
विश्व आदिवासी दिवस विश्वमा रहेका २५ करोड भन्दा वढी आदिवासीहरुको आदिवासी भएको नाताले आफ्नो माटो,भाषा,परम्परा,धर्म सम्वन्धि विविध अधिकारको कुरा प्रथम चोटि संयुक्त राष्टसंघमा उठेको दिन हो । हामी जहाँ गएपनि नेपालको लागि हामी आदिवासी नै हौं । हामी हङकङलाई मातृभूमिकै रुपमा स्वीकार्न अझ समय लाग्छ । तर्सथ पनि हामीले नेपाली आदिवासीको नाताले आदिवासी दिवस मनाउन सान्दर्भिक भएको छ ।आज सम्म हामी आफ्नै परम्परा संस्कार,संस्कृति मानिरहेकाछौं । आफ्नै भाषा वोलिरहेकाछौं । यसवर्षो विश्व आदिवासी दिवस भव्य हुनुमा यही मातृभूमी र आफ्नोपन प्रतिको हाम्रो अगाध आस्था र माया नै सफलताको कारण हो । हामी नेपालको आदिवासी जनजाति महासंघसंग अत्यन्तै राम्रो सम्वन्ध छ हाम्रा हरेका महत्वपूर्ण कार्यक्रमहरुको आदान प्रदान भइरहेको छ । नेपाल आदिवासी जनजाति महासंघले हाम्रा हरेक कदमहरुमा र्समर्थन जनाएको छ ।
४.यसपाली सिर्जनशील साहित्य समाज हङकङको संयोजनमा १४ औ विश्व आदिवासी जनजाती दिवसको अवसर पारी हङकङ वसोवास गरी वस्ने नेपाली आदिवासी जनजाती स्रष्टाहरुको कृतिहरु पनि प्रदर्शन गरीएको थियो यसरी प्रदर्शन गर्नुको उदेश्य के हो ? र यसपाली बढी स्रष्टाहरुलाई नै सम्मान तथा पुरस्कार दिईयो नि ?
आन्दोलन भन्ने कुरा एकै कोणवाट मात्र हाँक्दा सफल नहुन पनि सकिन्छ । सफल भएपनि सफलता ढिलो हात लाग्न सक्छ । असिंसात्मक आन्दोलनको सवभन्दा ठूलो हिस्सा लेखक वा पुस्तकहरुले वोकेका हुन्छन्। यी लेखक वा पुस्तकहरु मार्फ आम जनतालाई मानसिक रुपमा आन्दोलनको तयारीमा जुट्न ठूलो मद्दत पुग्नेहुन्छ । तर्सथ आन्दोलनको संवाहक पुस्तकहरुको विषयमा र्सवसाधारणहरुले जानकारी पाउन सकुन भन्ने उद्देश्यले यो पुस्तक प्रदर्शनी गरिएको हो । श्रष्टाहरु नै सामाजिक तथा राजनैतिक आन्दोलनका अगुवाहरुहुन । उनीहरुको भिजनले समाजलाई सही वाटोमा लग्न मद्दत पुग्छ । यही भिजनका सम्वाहक श्रष्टाहरुलाई सम्मानित गरिएको हो यसपाली ।
५.तपाई नेपालको लिम्वुवान क्षेत्रको लिम्वु भएकोले लिम्वूवानवादी नेता भएर पो आउँनु पर्ने हो किन नेपाली आदिवासी जनजाती महासंघ हङकङमा आवद्घ हुनुभयो ? त्यो क्षेत्रमा पद नपाएर पद कै लागि यो महासंघ रोज्नु भएको त होईन ? महासंघमा लागेर कति न्याय गरे जस्तो लाग्छ तपाईलाई ?
टीवीको रोग लागेको व्यक्तिलाई ज्वारो आउँछ । तर त्यो ज्वरो सीटामोल ख्वाएर निक्को हुनेवाला छैन । टीवीको औषधि नै दिनुपर्दछ । लिम्वूवान राज्य नहुनु एक अर्थमा ज्वरो हो । हामीलाई लिम्वूवान मात्र होइन,यहाँ रहेको सम्पूर्ण आदिवासी जनजातिहरुको ऐतिहासिक थलो,भाषिक वा जातीय आधारमा स्वायत्त राज्यहरु दिइनुपर्दछ भन्ने आदिवासी जनजातिमहासंघको माग हो । यही माग भित्र लिम्वूवान स्वायत्त राज्य स्वत परेन र ? आदिवासी जनजाति महासंघको माग पूराहुने वित्तिकै अन्य जातीय समस्याहरु स्वतः समाधान हुन्छन तसर्थ जनजाति महासंघमा लागेर लिम्वूवानलाई मैले अन्याय होइन पूर्ण रुपमा सहयोग गरिरहेछु । साथै तमुवान,मगरात,ताम्वासालिङ ,नेवा लगायत अन्य प्रदेशको आन्दोलनलाई पनि एकै चोटि उठाइरहेका छौ । जहाँसम्म पदको कुरा छ काम गर्नेलाई पदको आवश्यकता पर्दैन लिम्वू जातिभएको नाताले लिम्वूवानवादीहरुको हरेक जायज मागहरुमा मेरो समर्थन र सहयोग छ ।
६.तपाई साहित्यको सर्जक सामाजिक संस्थाको अध्यक्ष साथै कुशल शिक्षक र हाल आएर दोभाषे सम्मको कार्य अनुभव छ तर तपाईलाई नेपाली समाजले कुन हिसावले हेरुन जस्तो लाग्छ ? अथवा आफुलाई नेपाली समाजमा कसरी चिनाउँन चाहानु हुन्छ ?
हो पेशागत रुपमा म धेरै वटा पेशाहरुसंग संवन्धित छु तर चिनारी भने जसरी मलाई साथीभाई शुभ चिन्तकले चिन्छन् त्यसरी नै । उत्तर आधुनिकतामा कुनै कुराको केन्द्रियता हुन्न भन्छन् । शायद त्यसैले यही नै हो भन्न मलाई पनि गाह्रो लाग्यो ।
६.शाही साशनको अन्त संगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको छ यसको साथसाथै लोकतान्त्रिक सरकारको समेत गठन भैसकेको छ के यो सरकारले नेपाली जनताले चाहे अनुरुपको सम्विधान निर्माण गर्न सक्छ होला ? अझै सम्विधानसभामा सम्पूर्ण नेपाली आदिवासी जनजातीहरुको प्रतिनिधित्व हुन सकेको छैन यस वारे तपाई धारणा के छ ?
सर्वप्रथम त हामी विदेशमा वसेका नेपालीहरुले स्वदेशी नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुलाई मुरी मरी वधाई तथा धन्यवाद दिन चाहन्छु । उनीहरुको वलिदान,संघर्ष र संकल्पको लागि । शहीदहरुको वलिदान वेगर यो २४० वर्षे निरंकुश शासन ढल्ने कुरै थिएन । गणतान्त्रिक नेपाललाई हृदयदेखि नै स्वागत गरौ सवैले । जहाँ सम्म संविधान निर्माणको कुरा छ, त्यसमा तपाई हामी सवैको हात छ । संविधान कस्तो वनाउने भन्ने कुरामा हामीले विदेशमा रहेर पनि सल्लाह र सुझाव दिन सकिन्छ । यस सरकारको विषेश गरी संविधान वनाउन नै मूख्य भूमिका भएकोले यस्ले सफलता पाउनै पर्दछ संविधान वनाउन सकिएन भने देश फेरि अर्को नराम्रो द्धन्दमा फस्न सक्छ । जसरी पनि संविधान त वनाउनै पर्दछ । तर जहाँ सम्म आदिवासी जनजातिहरुको हितकोलागि संविधान वन्ने कुरा छ त्यो चाहि वास्तवमै ठूलो प्रश्न र शंकाको घेरामा छ । किनभने नेपालका आदिवासी जनजातिहरुले जातीय,भाषिक वा क्षेत्रीयताको आधारमा स्वयत्त राज्यहरु स्थापना भएको हेर्न चाहान्छन् । तर नेपालका ठूला पार्टी भनिने कतिपय पार्टी यसको विरोधमाछन् । यस्ता विरोधी जमात अहिले संविधान सभामा उनीहरुको उपस्थिति उल्लेखनीय रुपमा रहेको छ । तसर्थ आदिवासी जनजातिहरुको हितमा संविधान वनाउन निक्कै ठूलै कसरत गर्नु पर्छ । यसको लागि हामी देश तथा विदेशमा रहेका हरेक जनजातिहरुले तन मन तथा धनले सहयोग गर्नु पर्दछ । हाम्रो पक्षको आवाजलाई गगन भेदी वनाउनु पर्दछ ।
७.संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाले गर्दा संघीय लिम्वुवान राज्य नियमत स्थापना हुनु पर्ने हैन र ? अहिले लिम्वुवानवादी नेताहरु मोर्चा कसेर लिम्वुवान कै लागि अन्दोलन गरी रहेकाछन् किन होला ? यसमा तपाईको बुझाई के छ ? अथवा लिम्वुवानको लागि हुनुपर्ने के हो ?
संघीय राज्य भन्दैमा लिम्वूवान नै स्पेसिफिक रुपमा हुनुपर्दछ भन्ने वुझाई गलत हो । संघीयता धेरै किसिमले हुन सक्छ-भौगोकि हिसावले ,जातीय हिसावले, भाषिक हिसावले वा अन्य कुनै हिसावले ।लिम्वूवान चाहि मेरो विचारमा जातीय हिसावले मागिएको स्वयत्त राज्य हो र यही नै हुनुपर्दछ । लिम्वूवान वादीहरु पनि कुनै कुनै त क्षेत्रियताको माग गरिरहेकाछन् । तर जे भएपनि लिम्वूवान भन्ने वित्तिकै लिम्वू जातिसंग गाँसिएर आएको हुनाले झट्ट सुन्दा जातीय आधारमा नै माग गरिएको हो कि भन्ने लाग्छ । माग गरिनुपर्ने पनि जातीय आधारमा नै हो लिम्वूवान परिवेशमा भने । लिम्वूवानवादी नेताहरु नेपाललाई संघीयतामा परिणत गर्दा जातीयताको आधारमा नहोला कि भन्ने डरले नै नेपाल संघीयतामा जाने निधो हुदा हुदै पनि उनीहरु मोर्चा कसेर वसेको हो कि भन्ने मलाई लाग्छ ।
८. नेपाली आदिवासी जनजातीहरुको अवस्था हङकङमा कस्तो छ ? नेपालमा आदिवासी जनजातीहरुको आन्दोलन कुन रुपले बढी रहेको छ होला ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले अवका दिनहरुमा आदिवासी जनजातीहरुलाई कतिको उन्मुक्ति दिन सक्ला ?
नेपाली आदिवासीहरु हङकङमा सचेत हुँदा हुँदै पनि उनीहरुलाई मुख्य गरेर रोजी रोटीको समस्याले गर्दा नेपालका आदिवासी जनजातिहरुको विषयमा त्यति घोरिएर लाग्न पाएकाछैनन् । थोरै नेपाली आदिवासीहरु यसप्रति निराशा सोच पनि राख्दछन्। हङकङमा वसेर चुप चाप पैसा मात्र कमाउने अन्य केही नगर्ने भन्ने सोचाइका मानिसहरु पनि केही मात्रामा छौ । तर अधिकांश नेपालीहरु हङकङमा भन्दा आफ्नो मातृभूमि नेपालमै लगानी गर्न चाहान्छन् । आफूले कमाएको पैसा मासिक केही न केही रुपमा नेपाल पठाइ रहेकाछन् । धेरै जनाको नानीहरु नेपालमै वसेर पढेकाछन् । यस्को मतलव नेपाली आदिवासी जनजातिहरु अन्ततोगत्व नेपाल फर्किने मनस्थितिमा छन भन्ने वुझिन्छ । नेपालमा पनि आदिवासी जनजाति महासंघले संविधानसभामा वढीसे वढी आफ्नो प्रतिनिधि पठाउनको लागि संघर्ष गरेको थियो । अंशिक रुपमा त्यो सफलता पनि हात लागेको छ । आज हाम्रा आदिवासी जनजाति सभासदहरु प्रशस्त मात्रामा संविधानसभामा पुगेकाछन् । आदिवासी जनजाति महासंघको आन्दोलन वेगर यो संभव हुने थिएन । संघीय लोकतन्त्र आफैमा साध्य चाही होइन साधन मात्र हो । आदिवासी जनजातिलाई सधै एकछत्र रैती वनाएर शासन गर्ने राजतन्त्र उन्मुलन भइसकेपछि पक्कै पनि आदिवासी जनजातिहरुले वढी आशा राखेका छन् । आदिवासीको सफलता र असफलता हामी आदिवासहरुहो लविङ,मिहिनेत तथा संघर्षमा भर पर्दछ ।
९.तपाई सनर्राईज साप्ताहिक हङकङको सम्पादक भएकोले पत्रकारीताको अनुभव कस्तो लागि रहेछ ? हाल यो पत्रिकाको अवस्था कस्तो छ ? हङकङको नेपाली समाजले कतिको पत्रपत्रिका किनेर पढेको पाउँनु भएको छ ?
विदेशको ठाउँमा केवल २० हजार नेपाली भाषीहरुको माझमा नेपाली साप्ताहिक पत्रिका चलाउनु अवश्य पनि चुनौतीपूर्ण काम हो । यहाँ धेरै जसोले दिनको उज्यालो राम्ररी नदेख्ने अवस्थामाछन् । उनीहरुले वाहिर निस्केर पत्रिका पढलान भन्ने सोच नराखे पनि भयो । जो टीन एजरहरु हङकङमै शिक्षा हासिल गरे तीनीहरुको लागि त नेपाली अक्षर भैसी गाई जे सम्झे पनि भो उनीहरुले पढने कुरा आएन ।नेपालवाट पनि दैनिक पत्र पत्रिका आउने हुनाले पत्रिकाको वजार निक्कै प्रतिस्पर्धात्मक छ । हाल सनर्राईजको अवस्थाको वारेमा हाम्रा व्यापारी महानुभावहरुले विज्ञापन दिएर सहयोग गरेकाछन्,संघसंस्था, तथा व्यक्तिहरुले विज्ञापन दिएर सहयोग गरेकाछन र पाठकहरुले पत्रिका पढेर सहयोग गरेकाछन् । जसो तसो वाँचेको छ । मैले र मेरो सहयोगी स्वतन्त्र पत्रकार चन्द्र दुमी र्राईले विना पारिश्रमि पत्रिकामा सेवा गरेकाछौं।
१०.तपाई विभिन्न संघसंस्थामा आवद्घ भएकोले हङकङको नेपाली समाज प्रति कतिको उत्तरदायी भएको महसुस गर्नु हुन्छ ? हङकङको नेपाली समाजमा पछिल्ला युवा पीडीहरुको अवस्था कस्तो देख्नु भएको छ ? हङकङको नेपाली समाज प्रति तपाई सल्लाह सुझाव के दिन चाहनु हुन्छ ?
यहाँ खोलिएका सम्पूर्ण संघ संस्थाहरु अवश्यमूलक नै छन् । तर कुनै संस्था वढी सक्रिय कुनै कम त्यतिमात्र फरक हो । जे भएपनि सवै संस्थाहरु आफ्नो द्देश्य अनुरुप उतरदायी हुनै पर्ने समूह वा जमात संग उतरदायी हुनै पर्दछ नत्र टिकी रहन सक्दैन र औचित्य नै समाप्त हुन्छ । हालका युवा पीडीहरु विशेष गरी हङकङमा हुर्के पढेकाहरुलाई आफ्नो सँस्कृति तथा परम्पराहरु सम्वन्धि ज्ञानको अभाव छ उनीहरुलाई नेपाली भाषा वोल्न आएपनि लेख्न आउँदैन । उनीहरुले आफ्नो सामाजिक परम्परा विषयमा थाहा छैन ।
एकातिर यो अवस्था छ भने अर्कोतिर स्कूल जाने विद्यार्थीहरु अभिभावकको निगरानीको अभावमा नराम्रा साथीहरुको संगतमा लागेर खराव वाटोमा समेत लाग्ने सम्भावनाहरु वढी भएको छ । यो समस्यासंग जुध्नकोलागि अभिभावक,स्कूल र सरकार तथा सामाजिक संस्थाहरु सवैको प्रयास हुनु जरुरी छ ।
११. लिम्वूवान व्लगस्पोट डटकम मार्फत लिम्वूवानवासीहरु र संसारभर छरीएर रहेका आफन्त तथा शुभचिन्तकहरुलाई केहि सन्देश दिन चाहानु हुन्छ कि ?
देशमा आफ्नो अधिकार खोज्नेवेला हो यो । असारमा धान रोपे मात्र मंसीरमा वाली उठाउन सकिन्छ । नत्र वाली नपाक्न सक्छ । यतिखेर लिम्वूवान स्वायत्त राज्य माग गर्ने र स्थापनातिर अघिवढने अति उपयुक्त समय हो । लिम्वूवान स्वायत्तता चाहने सम्पूर्ण लिम्वूरुले यतिखेर एकचोटि लिम्वूवानलाई सम्झनु पर्दछ । सक्नेले घर र्फकने वेला हो नभएपनि हरेक क्षेत्रवाट सहायोग गर्नु पर्दछ यतिवेला।,जो जो आफ्नो श्री सम्पति वेचेर विदेशतिर विमुख हुन लाग्नुभएको छ उहाँहरुले आ-आफ्नो निर्णय परिवर्तन गर्नु पर्दछ । नेपालमै वस्ने चाजो मिलाउनु पर्दछ । लिम्वू नै नभएको लिम्वूवानको के अर्थ हुन्छ । विदेश गएकाहरु पनि घर फर्को । आत्मआन्दोलन गरौं । आफ्नो भाग्य आफै निर्माण गरौं ।

Sep 3, 2008

हाङयुग अज्ञातसंगको अन्तरवार्ता

मेची अञ्चल इलाम जिल्ला अन्तर्गत इलाम नगरपालिका वडा नं. १मा २०३३ साल पौष १ गते जन्म लिनुभएका सिर्जनशील अराजक कवि हाङयुग अज्ञातले कलामा स्नातक सम्म अध्यायन पुरा गर्नुभएको छ । वहाँ सिर्जनशील अराजक साहित्यका प्रवर्तक मध्ये एक हुन् । रङ्गीन आविष्कार - २०५७,ढुङ्गामुढाको मन - २०५८,करङको हिरासत - २०६०,ककपिक - २०६१ आदि उनका कविताकृतिहरु प्रकाशन भैसकेकाछन् । साहित्य समन्वयको सम्पादन साथै हङकङको आगमन पछि सिर्जनशील साहित्य समाज हङकङको अध्यक्षको पदमा रहि साहित्य सेवामा अनवरत लागि पर्नु भएको छ । नेपाली आदिवासी जनजातीहरुको भाषा साहित्यलाई नेपाली साहित्यको मुलधारको रुपमा हुनुपर्छ र हो भन्ने वहाँको मान्यता रहदै आएको छ । नश्लवोधिय लेखनलाई सिर्जनशील अराजक समूहले मुख्य नाराको रुपमा लिदै लेखन क्षेत्रमा नौलो साहित्यको पाटालाई जनमानसमा प्रस्तुत गर्न सक्षम भैरहेको छ । उनै साहित्यका सर्जक कवि हाङयुग अज्ञातसंग लिम्वुवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१. हङकङको व्यस्त समयसँग साहित्य लेखनको तालमेल कसरी मिलाइरहनु भएको छ ? र, हाल हङकङमा समय कसरी बिताइरहनु भएको छ ?
हङकङ आउनु दुइदिन अगाडि नेपालका वरिष्ठ कवि तथा गीतकार इश्वरवल्लभज्यूले म हङकङ जाँदैछु भन्ने थाहा पाएर मलाई केही अर्तिउपदेश दिनुभएको थियो । चीनको औपचारिक भ्रमणमा गएको बेला उहाँ हङकङ पनि निस्किनु भएको रहेछ । पहिलो कुरा उहाँले हङकङको समय घोडाजस्तो दौडिन्छ तेसैले यो समयसित तालमा ताल मिलाउन सकिएन भने पछाडि परिन्छ भन्नु भएको थियो । र, दोश्रो कुरा समुन्द्र सधैँ मुख आँ गरेर बसेको हुन्छ तेसले निल्नसक्छ, कहिलेकाहीँ तमोर र अरूणलाई पनि सम्झीनू भन्नु भएको थियो ।इश्वरवल्लभका यी दुइ वचनले मलाई हङकङको व्यस्त समयसँग लाप्पा खेल्ने आँट दिएको हो । भर्खर इश्वरवल्लभ पनि बितेछन् नेपालमा । व्यस्त समयसँग साहित्य लेखनको तालमेल मिलाउन गारो हुन्छ । तथापि, मैले उता नेपालका प्रख्यात कविलेखकहरूले व्यस्त समयसित साहित्य लेखनको तालमेल मिलाएको देखेर आएकोले यहाँ मलाई तेत्ति गारो परेन । नेपालमा व्यस्त समयसित तालमेल मिलाउनेमा विष्णुविभु घिमिरे, दिनेश अधिकारी, कृष्ण धराबासी, खगेन्द्र सङ्ग्रौला, गोविन्दराज भट्टराई प्रख्यात छन् । मलाई यतिबेला के लागिरहेको छ भने साहित्य लेखनका लागि थोरै समय पनि पर्याप्त हुन्छ । सप्पैभन्दा महत्वपूर्ण कुरा के हो भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि साहित्यप्रति बलियो विश्वास हुनुपर्छ । म २४ घण्टामा पाँच घण्टा सुत्छु । सुतेको बेला सपना देखेँ भने पनि म तेसलाई साहित्यको आँखाले विचारविमर्श गर्छु जागेको १९ घण्टा त म साहित्यकै विषयमा साहित्यकै वरिपरि चिन्तन गरेर बिताउँछु । यो चौबिसै घण्टा साहित्यको संसारमा खेल्ने मेरो व्यक्तित्व यौटा भो भने अर्को व्यक्तित्व छ जो सधैँ व्यवहारिक छ । त्यो व्यक्तित्व अन्य र्सवसामान्य मान्छेजस्तो काममा जाने, कोठा फर्किने, भात पकाउने खाने र सुत्ने गर्दछ । यो दुइ बेगलबेगल व्यक्तित्वहरूको तालमेल मिलाउनुका लागि लामो समयको स्थिर साधना चाहिन्छ । यी दुइ व्यक्तित्वहरूको तालमेल मिलेन भने कि त आफ्नो संसारिक जीवन चौपट हुन्छ कि त लेखन जगतमा विपद आइलाग्छ । छोटकरीमा भन्नुपर्दा हङकङको व्यस्त समय र साहित्य लेखनलाई सृजनात्मक सोच र शैलीले भरसक तालमेलको दायराभित्र ल्याउने प्रयत्न गरिरहेको छु । र, हङकङको समय पनि यीनै यस्तै कुराहरूमा बितिरहेको छ ।

२. सृजनशील अराजक समूहको कहिले स्थापना भएको हो ? यसका प्रमुख उद्देश्यहरू के के हुन् ? हाल यो समूहको गतिविधि कसरी सञ्चालन भइरहेको छ ?
सृजनशील अराजक समूह नामको कुनै सङ्गठन छैन । हामीले वि.सं. २०५२ सालदेखि नेपाली साहित्यमा यौटा सँस्कृति, यौटा धर्म, यौटा सौर्न्दर्यचेत, यौटा पक्ष, यौटा स्वभाव मात्रै हाबी भयो तेसकारण नेपाली साहित्यको विकास सोलोडोलो रूपमा भइरहेको छैन भन्न थालेका हौं । पछि २०५७ सालमा चाहिँ म र राजन मुकारूङ मिलेर नेपाली साहित्यमा 'सृजनशील अराजकताको आग्रहसम्मत्मा पाँचवटा कुराहरू प्रक्षेपण गर्‍यौं, १) वैचारिक अनेकानेक २) साँस्कृतिक वैविध्य ३) नश्लीयबोध ४) कवित्व निस्सीमता ५) र, सृजनात्मक निर्णय। यसको उद्देश्य भनेको तथाकथित् नेपाली साहित्यलाई साँच्चिकै नेपाली साहित्य बनाउनु रहेको थियो र यो आठ-नौ वर्षो अवधिमा तथाकथित् नेपाली साहित्यको परम्परागत धारणाहरू भत्किदैं नयाँ मान्यताहरू स्थापना हुँदैछन् । आदिबासीजनजातिले साहित्य लेख्न सक्दैनन् या उनीहरूले लेखेको साहित्य साहित्य होइन भन्ने ब्राम्हणवादी पुरेत वर्गका लेखकहरूको अहङ्कारलाई धेरै हदसम्म सृजनशील अराजकताको आग्रहले ध्वस्त पार्ने काम गरेको छ । नेपाली समाजजस्तै नेपाली साहित्य पनि विविधताको योग हो भन्ने मान्यता एकप्रकारले नेपाली साहित्यकार र प्राज्ञहरूमा स्थापित भइसकेको छ । अब यसलाई राज्यसत्ताले स्वीकार्न बाँकी छ । राज्यसत्ताले स्वीकार गरेपछि नेपाली साहित्य धेरैधेरै सँस्कृति, धेरैधेरै जाति, धेरैधेरै वर्ग र लिङ्गको साझा थलो हुनेछ । संविधानसभाको निर्वाचनको नतिजाले देखाएको प्रष्ट कुरा भनेको नेपालीहरूको विविध अस्तित्वलाई जसले सम्मान गर्छ उसैलाई आमजनताले स्वीकार गर्छ भन्ने हो । सृजनशील अराजकताले आग्रह गरेको नेपाली साहित्यको मोडेल र प्रचण्डपथले अग्रसर गराएको नयाँ नेपालको संघात्मक राज्यप्रणालीको बनोट झन्डै मिल्दोरहेछ । हाम्रा गतिविधिहरूको सवालमा चाहिँ कवि राजन मुकारूङ हाम्रा विचारहरूलाई मूर्त रूप दिन प्रत्यक्ष आमजनतामा पुगेर चेतना फैलाइरहनु भएको छ भने कवि उपेन्द्र सुब्बा केन्द्रमा बसेर केन्द्रलाई धक्का पुर्‍याउने काम गरिरहनु भएको छ । म भने हङकङबाट अन्तरराष्ट्रिय विचारपद्घतिको अध्ययन तथा अवलोकन गर्दै यहाँका कविहरूलाई प्रोत्साहित गर्ने काममा संलग्न छु । उता पान्थरमा सृजनशील उत्तरवर्तीहरू पनि खटिरहनु भएको छ । काठमान्डौमा रङ्गवादीहरूले अत्यन्तै त्रि्र रूपमा सृजनशील अराजकताको गतिविधिलाई बढाइरहेका छन् । यहाँ हङकङमै पनि भयवादका नाममा देश सुब्बाले आदिबासीहरूको सँस्कृति र परम्परा खोजिरहनु भएको छ । मुक्त अभियान पनि दमकबाट सञ्चालित छ । यी सप्पैलाई मैले सृजनशील अराजकताका गतिविधिहरूको रूपमा बुझेको छु ।

३.तपाइँहरूले लेख्ने साहित्यले कुन वर्गसमाज र कस्तो खाले लेखनको प्रवृत्तिलाई बढी मुखरित गर्दछ ? हालसम्म सृजनशील अराजक लेखनले समाजमा कति प्रभाव पारे जस्तो लाग्छ ?
हामीले प्रस्ताव गरेको साहित्यले छुने वर्ग भनेको उत्पीडित, उपेक्षित, आदिबासीजनजाति, मधेसी र दलितदमित वर्गसमाज हो । तेसो त हिजोका प्रगतिशील भनाउँदाहरूले पनि यही भन्थे तर उनीहरूले नारा मात्रै दिएका रहेछन् । मोदनाथ प्रश्रतिको कुरा हेरौं, ऊ आफूलाई नम्बर वन प्रगतिशील मान्छ, उत्पीडितउपेक्षित, आदिबासी तथा मधेसीको पक्षको लेखक हूँ भन्दै पञ्चायतकालभरि घुमिहिँड्यो तर हिजोआज उत्पीडिउपेक्षित वर्गलाई नै तथानाम् गाली गर्दै, दबाउँदै लेखिरहेको छ । त्यो प्रदीप नेपाल र खगेन्द्र सङ्ग्रौलाको पनि पारा उस्तै हो । डेमोक्र्याटिक लेखकहरूको सर्न्दर्भमा चाहिँ के छ भने उनीहरूले भरसक उत्पीडितउपेक्षितहरूको मुद्दालाई लेख्नै चाहदैनन्, लेखेको खण्डमा पनि भाग्यवादमा लगेर हुल्छन् । हिजोआज केही छन् यस्ता सुध्रिएका डेमोक्र्याट्सहरू, जस्तो गोविन्दराज भट्र्राई, कृष्ण धराबासी, सञ्जीव उप्रेती आदि । अब हाम्रो लेखन प्रवृत्ति भनेको चाहिँ तथाकथित् प्रगतिशील र डेमोक्र्याट्सहरूको भन्दा बेगल छ । यो प्रवृत्तिलाई चाहिँ मैले सृजनशील प्रवृत्ति भन्ने गरेको छु । यो प्रवृत्तिमा माथि नै मैले भनेँ जस्तो पाँचवटा सहमति बनाउनु अनिवार्य छ । पछि यो पाँचवटामा कसैले सृजनात्मक निर्णय गरेर केही थप्दै आउँछ भने पनि तेसलाई सृजनशील प्रवृत्ति मान्न सकिन्छ । जस्तो धर्मेन्द्रविक्रमहरूले रङ्गवाद भनेर थप्दै आए, देश सुब्बाले भयवाद भनेर थप्दै आए, भवानी तावाहरूले सृजनशील उत्तरवर्ती भनेर थप्दै आए । भोलि अरूहरू आउलान् नयाँ कुराहरू थप्दै जालान् । सृजनशील प्रवृत्तिको यो परिवर्तनशीलतालाई फोकस गर्दै कतिपय समिक्षकहरूले यो मार्क्सवादजस्तो रहेछ पनि भनेका छन् । कतिले त नन्कन्फर्मिस्ट पनि भनेका छन् । पछि समय आइपुगेपछि यो प्रवृत्तिको पुरै रूप देखिएला, अहिले विकासक्रममै छ । सृजनशील अराजकताको आग्रहले हाम्रो नेपाली समाजमा धेरै प्रभाव पारेको विश्लेषण गरिरहेको छु म । किनभने नेपाली साहित्यमा र्राई, लिम्बू, गुरूङ, मगर, तामाङ, सुनुवार, लगायत अन्य जनजाति समाजबाट विचार र सौन्दर्य भित्रिरहेको छ । नेपाली समाजमा वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता र नश्लीयबोधले सुन्दर प्रभाव पारेको कारणले नै आमजनताले माओवादीलाई धेरै मतदान गरे । काङ्ग्रेस र एमालेको वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता र नश्लीयबोधमा अस्पष्ट विचार भएकै कारणले आमजनताले सृजनात्मक निर्णय गर्दै उनीहरूलाई आफ्नो भारी मत दिएनन् । नेपाली समाजमा अब क्षेत्रीबाहुनले आदिबासीजनजातिहरूको अस्तित्व मान्ने, मधेसीहरूको अस्तित्व पहाडबासीहरूले मान्ने, पुरूषहरूले नारीहरूको अस्तित्व मान्ने संस्कारको विकास भइरहेको छ । सहअस्तित्वमा विश्वास गर्ने सृजनशीलहरूको यो सकारात्मक प्रभावलाई इतिहासले बिर्सिने छैन ।

४. तपाइँले नेपाली साहित्य प्रतिष्ठानको आठौं वाषिर्कोत्सवमा नयाँ लेखकको जन्मको घोषणा गर्नु भयो, त्यो कस्तो प्रकारको नयाँ लेखक होला ? को हो त्यो नयाँ लेखक र किन तपाइँले नै घोषणा गर्नु भयो ?
नयाँ लेखकको जन्म बारे कार्यपत्र प्रस्तुत गर्ने मञ्च र समय दिएकोमा नेपाली साहित्य प्रतिष्ठानको आठौं वाषिर्कोत्सवलाई र विषेशगरी कवि टङ्क सम्बाहाम्फेलाई धन्यवाद दिन चाहन्छु । उत्पीडित तथा उपेक्षित वर्ग, जाति र लिङ्गका मुद्दाहरूलाई जुन लेखकले आफ्नो लेखनमार्फत उठाएर न्यायका निम्ति पहल गर्दै नयाँ नेपाल निर्माणका लागि जनचेतनासित सहकार्य गर्दछ त्यस्तो लेखक नयाँ लेखक हो । नेपाली साहित्यमा यसरी योगदान पुर्‍याइरहेकाहरूलाई नयाँ लेखकका रूपमा पहिचान गरिकन नयाँ नेपालको राज्यसत्ताले उनीहरूबाट अरू धेरै सृजनशील साहित्यको अपेक्षा गर्दा हुन्छ । विषेशगरिकन यसप्रकारका लेखकहरू उत्पीडित तथा उपेक्षित वर्ग, जाति र लिङ्गबाट नै आइरहेका छन् । विश्वसाहित्य पढेका तथाकथित आभिजात्यवर्गका केही लेखकहरूमा पनि यो नयाँ लेखकको चरित्र पाइन्छ, यो निश्चय नै स्वागतयोग्य छ । आदिम विचारबाट मुक्ति प्राप्त गर्नु नै नयाँ लेखकको नयाँ र समयसापेक्ष यात्रामा अग्रसर हुनु हो, अग्रगामी लेखक हुनु हो । मैले नै किन नयाँ लेखकको घोषणा गरेँ भन्ने प्रश्न चाहिँ 'माओवादीले नै जनयुद्घ किन गर्‍यो -' भने जस्तै हो । तर, यसलाई अर्को ढङ्गबाट बुझ्दा भने म राज्यसत्ताबाट उपेक्षित तथा उत्पीडित जातिबाट साहित्यमा आएकोले सायद मबाट नयाँ लेखकको घोषणा भएको होला । यो मनोविश्लेषणको कुरा भयो । यसैलाई दर्शनतिरबाट व्याख्या गर्दा यसरी पनि गर्न सकिन्छ- हरेक लेखक साधन हो र हरेक लेखकहरू फेरि बेगलबेगल थोकका लागि साधन हुन् । हरेक लेखकहरूको प्रयोजन भिन्दाभिन्दै हुन्छ । मेरो सवालमा भने म सधैँ नयाँ थोकहरू बोक्ने साधनका रूपमा उपस्थित भएँ । तेही भएर पनि नयाँ लेखकको अवधारणापत्र मैले लेखेँ । तर, यसलाई अझ आमजनमानससम्म पुर्‍याउनका लागि तपाइँहरूजस्तो सृजनशील लेखकहरूको खाँचो अनिवार्य छ । नयाँ लेखक साझा अवधारणा हो, हरेक नयाँ नेपाली लेखकहरूको सिङ्गो ठहर हो । तेसो र पनि यो नयाँ लेखकको अवधारणालाई हामीले गाउँगाउँसम्मका हाम्रा पाठक र स्रष्टाहरूसम्म पुर्‍याउनु जरूरी छ । किनभने नेपाली साहित्यमा हाम्फाल्नुभन्दा अगाडि सबैले यो नयाँ लेखकको अवधारणा थाहा पाउनै पर्छ । नयाँ लेखकको अध्ययन अवलोकनबिना हाम्रो मस्तिष्कमा छ्याप्प बसेको यथास्थिति र पुरातनवादको जालो हट्ने छैन । यो नयाँ लेखक तपाइँ हामी सबै हौं जसले पुरानो ब्राम्हणवादी अहंकारी साहित्यलाई ध्वस्त गर्दै समावेशी नेपाली साहित्यको पक्षमा लेख्छ । सबैसबै नेपाली समाजहरू, सँस्कृतिहरू, धर्महरू र जीवनहरू समेटिएको साहित्य मात्रै यथार्थमा नेपाली साहित्य हो भन्ने धारणा अनुसार अब हामीले लेख्नुपर्छ । अर्जुनदृष्टिका कविताहरू मात्रै होइन काङसोरे साहसका कविताहरू पनि लेखौं, नयाँ लेखकले यसो भन्छ । नयाँ लेखक नै वास्तवमा नयाँ नेपाली साहित्यको सुत्रधार हो, नयाँ नेपालको नयाँ लेखक हो ।

५.अधिकांश नेपाली साहित्यकारहरू साहित्यको खेती मात्र गर्छन् तर पैसाको खेती गर्न भने विदेशतिरै लाग्नु पर्ने बाध्यता छ । तपाइँ के भन्नु हुन्छ यस बारे किनकी तपाइँ आफै नै डायोस्पोराको साहित्यकार बनिसक्नु भएको छ ?
पहिलो कुरा, म साहित्यलाई खेती मान्दिनँ । साहित्यको सम्बन्ध मनसित, मस्तिष्कसित हुन्छ । साहित्य ज्ञानसित हुन्छ । साहित्य लेखेर विकसित मुलुकहरूमा लेखकहरू बाँच्न सक्छन्, त्यो अलग कुरा हो । पैसाको खेती गर्न विदेशतिर लाग्नुपर्ने बाध्यताको जो कुरा छ, तेसमा पनि म असहमत छु किनभने विदेशमा पनि पैसाको खेती हुँदैन, बाँच्ने मेलोसम्म गर्न सकिन्छ । हिजोआज म पनि तपाइँहरू जस्तै हङकङमा बसेको छु । श्रम बेच्छु खान्छु । दोश्रो कुरा के छ भन्देखिन् तपाइँको प्रश्नको मर्मतिर म जान चाहन्छु । मैले धेरै अगाडिदेखि नै सुन्दै आइरहेको छु कि नेपाली साहित्यकारहरू कलम चलाएर बाँच्न सकिरहेका छैनन् । अथवा, साहित्य बेचेर नेपाली साहित्यकारहरूले पैसा कमाइरहेका छैनन् । पाश्चात्य दर्शनशास्त्र भनेको भौतिकवादतिरको छ भने पूर्वीय दर्शनशास्त्र अध्यात्मवादतिरको छ । तेसो हुँदा उता शेक्सपियरले कवितामा 'पैसालाई जीवित इश्वर' भनेर लेखेका छन् अब हाम्रो देवकोटाको पारा हेरौं, ऊ मुनामदनमा लेख्छ- सुनका थैला, हातका मैला के गर्नु धनले - यो दर्शनगत आधारहरूमा पाइने ठीक विपरित मान्यताका कारणले पनि उताका साहित्यकारहरू साहित्यलाई बेच्न सक्षम भएको हुनुपर्छ । यता हामी चाहिँ के गर्नु धनले भन्दै आर्दशले नाङ्गैभुतुङ्गै भइरहेका छौं । पैसा, धनसम्पत्ति पनि आफूलाई पुग्नेगरी जोड्नुपर्छ तर सारै नै नीच प्रकारले होइन । नेपाली साहित्यमा जम्मा तीन प्रकारका साहित्यकारहरू छन् । पहिलो प्रकारका साहित्यकारहरूसित पैसा प्रशस्तै छ, उनीहरू व्यापारव्यवसाय गर्दछन् । नेपाल टेलिभिजनको समय किनेर आफ्नो गीति एल्बमको प्रत्यक्ष प्रशारण समेत गर्नसक्छन् उनीहरू । दोश्रो प्रकारका साहित्यकारहरू सरकारी जागिर खान्छन्, या कुनै एनजिओ या कलेजमा काम गर्दछन्, या मिडियामा काम गर्दछन् । तेस्रो प्रकारका साहित्यकारहरूसित कुनै पनि नियमित रूपमा पैसा आउने काम हुँदैन । र, यो तेस्रो प्रकारका साहित्यकारहरूमा बढीजसो आदिबासीजनजातिहरू देखा परिरहेका छन् । उनीहरू जसो तसो बाँचिरहेका छन् र लेखिरहेका पनि छन् । अब यौटा प्रश्न उठ्छ पैसा कमाउनतिर नलागेर किन साहित्यतिर लागेका त यी आदिबासीजनजाति - ठीक यहीँनेर जोडिन्छ राजनैतिक मुद्दा । ब्राम्हणवादी राज्यसत्ताले सयौंवर्षेखि दबाइरहेको मानवीय चेतनालाई उकास्नका लागि पनि आदिबासीजनजातिहरू भोकै साहित्य लेखिरहेका छन् । तपाइँ हामी विदेशमा बस्ने आदिबासीजनजातिहरूले उनीहरूलाई सहयोग गर्नसक्छौं र उनीहरूलाई प्रोत्साहन गर्न सक्छौं । यौटा कोश खडा गरेर प्रतेक महिना सय डलर जम्मा गर्ने हो भने नेपालमा आदिबासीजनजाति साहित्यकारहरूको एकेडेमी बनाउन सक्छौं । हाम्रा प्रतिभाशाली आदिबासीजनजाति स्रष्टाहरूको संरक्षण गर्न सक्छौं । उनीहरूका कृतिहरूको बिक्रीवितरण गर्नसक्छौं र आर्थिक टेवा दिनसक्छौं । आफै लेख्नु मात्रै स्रष्टा होइन, स्रष्टाले आफूजस्तै अन्य स्रष्टालाई बचाउँदै र आफू पनि बाँच्दै जानु पर्छ । हामी विदेशमा बसेर साहित्य लेखिरहेका र पैसा पनि कमाइरहेका साहित्यकारहरूबाट नेपालका हाम्रा आदिबासीजनजाति लेखकस्रष्टाहरूले धेरै आशा गरिरहेका छन् । उनीहरूलाई हामीले बिर्सिनु हुँदैन । भविष्यमा आदिबासी लेखकहरूले रोजगारीका लागि विदेश जान नपरोस् । देशभित्रै रोजगारीको प्रबन्ध होस् । राज्य संघीय लोकतान्त्रीक गणतन्त्रमा गइरहेको अवस्थामा अब हामी पनि लोकसेवा आयोगको अन्तर्वार्तामा पास हुन्छौं होला । किनभने हिजो लिखितमा फस्ट नम्बर ल्याउने आदिबासी जनजातिहरूलाई अन्तर्वार्तामा अनुहार र नाक हेरेरै फेल गर्नेहरूमा पनि विभेद गर्नु भनेको आफ्नै जाति या वंशका लागि खतरनाक हुँदोरहेछ भन्ने ज्ञान पलाइसकेको छ । यसरी हामीले पनि सरकारी जागिर खाँदै नेपालमै कविता लेख्ने दिन अब चाँडै आउनेछ । अब म केही वर्षछि नै लिम्बुवान फर्कदै छु । म यो तपाइँको ब्लगबाट सबै प्रवासी स्रष्टाहरूलाई आफ्नै थातथलो फर्किनुपर्छ भन्न पनि चाहन्छु ।