बि.सं. २०२४ सालमा मेची अञ्चल ताप्लेजुंग जिल्ला अन्तर्गत ढुंगेसाँघु गा.वि.स. ८ मा जन्मनु भएका नविन सुब्बाले स्नातक सम्म अध्यायन गर्नु भएको छ । लेखन क्षेत्रमा गीत कविता,चलचित्र समीक्षा,पत्रकारीता अंगाल्दा अंगाल्दै लिम्बुभाषाको चलचित्र नूमाफूङको निर्देशन गरेर चर्चाको शिखरमा पुग्नु भयो। त्यसपछि उनले बिभिन्न क्षेत्रबाट सम्मानित भए । बिभिन्न संघसंस्थाबाट पुरस्कृत पनि भए । बिशेष गरेर हाल आएर उनी फिल्म निर्देशन क्षेत्र मै ब्यस्त रहनु भएको छ । उनै चर्चित निर्देशक नविन सुब्बा हंगकंग भ्रमणमा रहनु भएको वेला लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले लिनु भएको अन्तरवार्ता पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१.अहिले तपाई के काममा ब्यस्त रहनु भएको छ ?
केहि समय अघि देखि दलितहरु माथि केन्द्रित रहेर टेलिसिरीयल झण्डै चालिस र्इपिसोड जति लामो निर्माण तथा निर्देशनमा ब्यस्त थिए । त्यो समाप्त भएर नेपाली टेलिभिजनबाट प्रशारण पनि भैसक्यो । खासगरि म त्यहि ब्यस्त थिए तर अहिले भने नयाँ फिल्म निर्माण गर्नको लागि तयारीमा जुटेको छु ।
२.नूमाफूङ चलचित्रको डिभिडि निकाल्दै हुनुहुन्छ भन्ने कुरा सुनियो के त्यो साचो हो ?
अहिले हामी केहि नयाँ कामहरु गर्न गैरहेकाछौ र नूमाफूङ चलचित्र बनाएको पनि निक्कै लामो समय भयो त्यसैले नूमाफूङ चलचित्रको डिभिडि निकाल्ने मानसिकतामा चाहिँ छौं । तर यहि समयमा अन्य काम पनि गर्नुपर्ने भएकोले त्यो काम पछाडि जान पनि सक्छ । निकट भविष्यमा नूमाफूङ चलचित्रको डिभिडि सार्वजानिक गर्ने नै छौं ।
३.चलचित्र बिकास वोर्डको अध्यक्ष पदमा तपाईको नाम पनि प्रस्तावित भएको छापामा आएको थियो तर उक्त पद किन ग्रहण गर्न चाहनु भएन ?
चलभित्र बिकास वोर्डमा मेरो नाम प्रस्तावित भएको हो । तर मैले सार्वजानिक पद धारण नगर्ने भनेर पहिले देखि नै बोल्दै आएको हुनाले पद ग्रहण गरिन । खासगरि चलचित्र बिकास वोर्डको संरचना र सैद्धान्तिक असहमतिका कारणले पनि म त्यता जान नचाहेको हुँ । अहिले पनि चलचित्र बिकास वोर्डसरकार अन्तर्गत छ तर हुनुपर्थ्यो के भने संसारभरि कै अनुभवमा त्यो चाहिँ राज्य अन्तर्गत हुनुपर्छ । किनकी संस्कृति भनेको राज्य अर्न्तर्गत नै हुन्छ । संस्कृति भनेको कुनै पार्टीको संस्कृति होइन । देशको संस्कृति हो । देशको संस्कृति हुने हो भने राज्यको संस्कृति हुनु पर्यो । किनकी चलचित्र बिकास वोर्ड भनेको संस्कृतिलाई बोक्ने मुख्य माध्यम हो । त्यो माध्यममा जति निति नियमहरु बनिनु पर्छ भने राज्यले नै निर्माण गर्नुपर्छ । त्यसैले चलचित्र बिकास वोर्ड राज्य अन्तर्गत जानुपर्छ । र वोर्डलाई स्वायत्तता पनि दिनु पर्छ । साथै चलचित्र कर्मीहरु माथि राजनैतिक हस्तक्षेप पनि हुनुहुदैन ।
४.हाल आएर नेपाली चलचित्रको भविष्य कस्तो देखि रहनु भएको छ ?
जहाँ सम्म नेपाली चलचित्रको भविष्य अत्यान्तै उज्यालो देख्छु । केहि समय अगाडिको समाचार हेर्नु भयो भने देख्नु हुनेछ एउटै कम्पनीले सात सात वटा चलचित्र निर्माण गर्ने घोषणा गरेको कुरा । पार्टीले पनि राजनैतिक सिद्धान्त प्रचार प्रसार गर्नको निम्ति चलचित्र बनाउँने घोषणा गरिरहेकाछन् । त्यो लगायत क्षेत्रियरुपमा र समुदायको आफ्नैचलचित्रहरु पनि निर्माण गर्ने भनि राखेकाछन् । र नेपाली चलचित्रले बिस्तारै अन्तर्राट्रिय मान्यताहरु पनि प्राप्त गरि राखेकाछन् । अन्तर्राट्रिय रुपमा नेपाली चलचित्र स्विकार्य भैरहेकाछन् । त्यो कारणले गर्दा खेरि म चाहिँ नेपाली चलचित्रको भविष्य कलात्मक,रचनात्मक मात्र होइन ब्यावसायीक रुपमा पनि राम्रो देख्छु ।
५.तपाई लिम्वु चलचित्र निर्देशक भएकोले लिम्बुवान स्वायत्त आन्दोलनलाई कसरी हेर्दै हुनुहुन्छ ? साथै लिम्बुवान प्रति तपाईको धारणा ?
लिम्बुवान स्वायत्तताको लागि मात्र होइन समग्ररुपमा जनआन्दोलन भाग २ अथवा २०६२,६३ मा म आफै पनि संलग्न थिए । क्यामरा बोकेर लाठी चार्ज हुँदा खेरि गोली बर्सिदा खेरि छाती थापेर अगाडि उभिरहेका थियौं । लाठी चार्ज हुँदा हाम्रो क्यामरा माथि परेको थियो त्यति मात्र नभएर हाम्रो जीउमा पनि परेको थियो । २०६२,६३ को आन्दोलनको म्याण्डेड के भने राज्यको यथास्थिति संरचना अव स्विकार्य छैन र यसको पुनर्संरचना हुनुपर्छ । पुनर्संरचना भनेको चाहिँ पावर एकात्मक र केन्द्रिकृत होइन । पावर भाहिँ डिसेन्ट्रलाईज हुनुपर्छ । पावर तल्लो तह सम्म हुनुपर्छ । संसारमा भएको देखिएको संरचनाका अभ्यासहरु मध्ये संघात्मकता चाहिँ सवै भन्दा उपयुक्त माध्यम हो । राज्य पुनर्संरचना हुँदा त्यसरी हुनुपर्छ भन्ने मलाई लाग्छ । यो बिचमा मलाई धेरै राष्ट्र घुम्ने मौका मिल्यो । ती राष्ट्रहरुको बिकास समृद्धिलाई हेर्दा र उनीहरुले उदार गरेको राज्यब्यवस्थाको संरचना हेर्दा खेरि जस्तै भारत,स्विजरलेण्ड,आदिमा एकात्मक नभएर संघात्मक शासन प्रणाली छ । त्यो कारणले गर्दा खेरि देश संघात्मकमा जानै पर्छ । जहाँ सम्म लिम्बसवानको प्रसंग छ आफु लिम्बु भएकोले मलाई के लाग्छ भने लिम्बुहरुको संस्कृति भाषा र लिम्बुहरुको समग्र विकासको निम्ति यदि लिम्बुवान भयो भने त्यसले ठुलो टेवा पुर्याउँने छ । त्यसैको लागि लिम्बुवान आवश्यक छ । लिम्बुवानका विभिन्न आधारभूमिहरु पनि छन् । लिम्बुवान भनेको यस्तो क्षेत्र हो जुन एकिकरणको क्रममा पनि सम्झौता द्वारा स्वायत्तता प्राप्त गरेको हो । त्यसपछि पनि बि.सं.२०२१ साल सम्म स्वायत्तता थियो । किपट प्रथाको रुपमा सुभाङ्गीको रुपमा शक्ति चाहिँ लिम्बुहरु आफैले नै अभ्यास गरिरहेका थिए । त्यसले गर्दा लिम्बुवान सवभन्दा सवल दावेदार हो स्वायत्तताको लागि र संघात्मकताको लागि । तर पछिल्लो चरणमा चाहिँ केहि राजनैतिक पार्टीहरुले पनि जनमानसमा लिम्बुवानका विषयबस्तुहरु अगाडी बर्ढाई राखेकाछन् । तर अब भने कलाकर्मी संस्कृतिकर्मीले पनि यो बिषयमा बोल्नु पर्ने आवश्यकता आयो । त्यसैले लिम्बुवान स्वायत्तता हुनुपर्छ भनेर म बोलि रहेको छु ।
६.केहि नयाँ योजनाहरु छन् कि ?
अब म हङकङबाट फर्किने वित्तिक्कै एउटा फ्रान्स नेपालको संयुक्त लगानीमा एउटा चलचित्र निर्माण भैरहेको छ । त्यस काममा ब्यस्त हुन्छु । त्यसपछि अर्को चलचित्र राजाले शक्ति हातमा लिएको समयको युवाहरुको मनस्थिति विश्लेषण भएको गुडबाई काठमाडौ छ । अहिलेलाई म यिनै २ वटा काममा आफुलाई केन्द्रित गरिरहेको छु ।
७.लिम्बुवान ब्लगस्पोट डटकम्बाट केहि शन्देस दिन चाहनु हुन्छ कि ?
सवभन्दा पहिले लिम्बुवान ब्लगका सञ्चालक टंक सम्वाहाम्फे जीलाई धन्यवाद दिन चाहन्छु किनकी ब्लग जस्तो डायरी लेख्ने ठाउँलाई राजनैतिक विषय उठाएर राम्रो काम गर्नु भएको छ । गर्ने जाँघर भए यस्तो सानो परिवेसबाट ठुल्ठुला कुराहरु उठान गर्न सकिने रहेछ । किनभने त्यो ठुलो काम यो ब्लगले गरिरहेको छ । अर्को तिर हङकङ जस्तो फुर्सदै नहुने ठाउँमा रहेर यो काममा दिनहुँ खट्नु झन गाह्रो काम हो । काम साधारण जस्तो देखिए पनि यो काम साधारण र सजिलो पक्कै छैन । कुनै दिन यसको कदर पक्कै हुनेछ । र म यो ब्लगबाट बिश्वभर छरिएर रहनु भएको लिम्बु तथा गैरलिम्बुहरुलाई लिम्बुवानको लागि जुट्न आग्रह गर्दछु । म पनि लिम्बुवानको लागि संस्कृतिकरुपले निरन्तर जुटि रहने छु ।