Sep 23, 2012

कवि,गीतकार तथा गायक नवराज सुब्बासंगको अन्तरवार्ता

कवि,गीतकार तथा गायक नवराज सुब्बा हाङपाङ आठर्राई जिल्ला ताप्लेजुङमा जन्मनु भएको हो । उहाँले एम.ए. (नेपाली), एम.पी.एच (जनस्वास्थ्य) शिक्षा ग्रहण गरिसक्नु भएको छ भने विद्यावारिधि गर्ने क्रममाहुनुहुन्छ ।जीवन मेरो शब्दकोशमा -कवितासंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,जनस्वास्थ्य पाटा, बाटा र अनुभूति -लेखसंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,राजबंशी समुदायको स्वास्थ्यस्थितिको अध्ययन, स्वास्थ्य सुधार कार्यक्रम लगायत जनस्वास्थ्य क्षेत्रका अध्ययन अनुसंधान सम्बन्धी ६ वोटा पुस्तकहरू प्रकाशित भैसकेका छन् ।वाणी प्रकाशन विराटनगर, नवरङ्ग साहित्य प्रतिष्ठान झापा, नेपाली भाषा एवम् ब्याकरण संरक्षण प्रतिष्ठान विराटनगर, नाट्येश्वर नृत्यकला प्रशिक्षण केन्द्र विराटनगर, किराँत याक्थुङ चुम्लुङ विराटनगर, नेपाल रेडक्रस, स्वाजन साहित्यिक समाज काठमाडौ, नेपाल जनस्वास्थ्य संघ, नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा समेत संलग्न हुनुहुन्छ ।गोरखादक्षिणबाहु, विज्ञान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित खुला रेडियो क्वीज प्रतियोगिता तथा पूर्वान्चल क्षेत्रिय स्तरको निवन्ध प्रतियोगिता साथै अन्तर्राष्ट्रिग वेवक्याम कविता गोष्ठिमा प्रथम पुरस्कार समेत ग्रहण गरिसक्नु भएको छ । यो बार्ता www.limbuwan.blogspot.com मा पनि पढ्न सकिने छ । उनै बहुप्रतिभाशाली ब्यक्तिसंग फेसबुक र लिम्बुवान ब्लग लागि लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ । 
प्रश्न १. फेसबुक मार्फत हालसालै आफ्नो ब्यक्तित्व र कृति माथि लेखिएको पुस्तक सार्बजानिक गर्नु भो यसलार्इ कसरी हेरी रहनु भएको छ ? अहिले नेपालमा यस्तो कार्यले निक्कै प्रभाव राखेको पनि पार्इन्छ तर बिकृति पनि पार्इएको छ यस बारे के भन्नु हुन्छ र? 
उत्तर : साहित्यिक जगतमा फेसबुक प्रयोग नौलो व्यवहार भएकाले यसबारे सकारात्मक र नकारात्मक दुवै धारणा सुनिनु स्वभाविक हो । हामी केटाकेटी छँदा हातमा घडी लगायो भने लौ यो सुकिलो–मुकिलो भो यसले काम गर्दैन भन्थे, जब विश्वबजारमा इन्टरनेट प्रविधि आयो तब यसले संसारको गोपनीयता बिगार्ने भो भनेर धेरैले विरोध गरे, एक दशक पनि भएको छैन नेपालमा मोवाइल सञ्चार प्रविधि भित्रिदा एकदुई वर्ष त मैले पनि यसले मान्छेको व्यक्तिगत समय र स्वतन्त्रता खोस्छ भनेर मोवाइल नै किनिन अन्ततः केही वर्षमा मैले पनि बाध्य भएर एउटा मोवाइल किन्नैप¥यो । यही मोवाइल अहिले सबैलाई अत्यावश्यक साधन भएको छ । अब यो फेसबुकको कुरा पनि झण्डै–झण्डै त्यस्तै हो । ‘लाटाले भेटेको पापा’ झैं कामधाम छोडेर यसैमा लागियो भने कुरा बेग्लै हो, नत्र यसको सदुपयोग गरियो भने यसका धेरै फाइदा छन् ।अब पुस्तक विमोचनको सन्दर्भमा भनौं, हामीले परम्परागत रुपमा गर्दै आएको व्यवहारलाई कोट्याउँ । मानौं, यसको लागि एउटा समारोहको आयोजना गर्नु परेको भए त्यहाँ कमसेकम ५० जना मानिस भेला भइन्थ्यो होला । करिव दुईघण्टा बित्थ्यो होला । कार्यक्रमको समय र आतेजाते समय गरेर मानिसको सरदर चारघण्टा बित्दथ्यो । पचासजनाको ४ घण्टाले हिसाब गर्दा कूल २०० घण्टा उत्पादनमूलक समय गयो । आर्थिक हिसाबले पनि हेरौं सरदर एकजनाको रु २०० को दरले हिसाब गर्दा पनि १० हजार रुपैया खर्च भयो । यत्रो साधन स्रोतको खर्च गरेर आखिर पाउने के ? त्यही एउटा सूचना हैन ! एउटा जानकारी हैन ! हो, त्यही जानकारी मैले समय र साधनको खर्च बिना, कुनै कष्ट बिना कम्प्यूटरको स्क्रिनमा सयौं हैन हजारौं, एक ठाउँमा हैन विश्वव्यापी रुपमा सञ्चार गर्ने काम मैले फेसबुकबाट विमोचन गरेर गरें । मानिसको समय अमूल्य छ जो किन्न सकिन्न । दुनियाँलाई शारीरिक दुःखकष्ट दिएर ताली पिट्न लगाएर, हाइ काढ्दै दुईघण्टा कुर्न लगाएर मानिस र समयको बढी दुरुपयोग नगरौं भनेर इन्टरनेट प्रविधिको प्रयोगतिर म ढल्केको हुँ । यो एउटा राम्रो विकल्प हो भन्ने सन्देश दिन खोजेको पनि हुँ । परम्परागत शैलीमा समायानुकूल परिवर्तन गर्न स्वयम् साहित्य जगतले सोचेन गरेन भने कसले सोच्ला वा गर्ला !अर्को कुरा तपाईले व्यक्तित्व र कृतित्व पुस्तकबारे कुरा गर्नु भएको हो भने त्यो पुस्तक मेरो केही साहित्यिक कृति र व्यक्तित्वबारे त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर विद्यार्थी चूडामणि बराइलीले गरेको शोधमा आधारित पुस्तक हो । शोधको दौरान शोधार्थी भाई मेरो सम्पर्कमा आउनु भयो । मैले उनलाई मैले अन्तर्वार्ता दिएँ र आफ्नोबारे जानकारी दिएँ । अरु केही सहयोग गर्न त सकिन तर तपाइले शोध पुरा गरेपछि सोही शोधमा आधारित पुस्तक म केही सयप्रति छापेर सहयोग गरौंला है भनेर छुट्टिने बेलामा मैले यति बचन दिएको थिएँ । यही वचनवद्धता अहिले पूरा गरिएको हो । आफ्ना बारेमा शोधार्थीद्वारा गरिएको परिश्रमको कदर गरिएको हो । म आफू पनि शोध र अनुसंधानमा विश्वास गर्ने भएकाले प्राप्त तथ्यहरुलाई अभिलेखीकरण गर्न मबाट सकेको सहयोग गरिएको रुपमा मैले यसलाई लिएको छु । प्रश्न २.पचासौ बर्षमा प्रबेश गर्दा यात्रा आधा शताब्दीको कविता कृति पुस्तक प्रकाशन गरेर निक्कै चर्चा कमाउँनु भो नी ? यस्तो कार्य गर्न कसरी प्रेरीत हुनु भयो रु नढाँटी भन्नु होला यो उमेरसम्ममा साहित्यमा के कति काम गरे जस्तो लाग्छ रु आजसम्म प्रकाशनमा आएका कृतिहरु कति छन् र कुन कुन हुन ? 
उत्तर : कृतिगत हिसाबले मेरा तीन कवितासङ्ग्रह, एक गीतसङ्ग्रह र एक निबन्ध संग्रह गरि पाँच साहित्यिक कृति प्रकाशित छन् । यसका साथै तीन गीति एल्बम र दुई भिडियो एल्बम पनि प्रकाशित छन् । जुन कृतिहरु मेरो वेभसाइट www.nrsubba.com.np बाट हेर्न, सुन्न वा निःशुल्क डाउनलोड गर्न सकिन्छ ।अब मुक्तकसंग्रह, निबन्धसंग्रह र गीतिएल्बम प्रकाशोन्मुख छन् । ‘यात्रा आधा शताब्दीको’ कवितासंग्रहको सन्दर्भमा हाम्रो उमेर र अंकको हिसावले पचासवर्ष महत्वपूर्ण मानिन्छ । त्यसमा हाम्रो देश पनि गन्तव्यको आधाबाटोमा अल्मलिएको छ । यही परिस्थितिसित तुलना गर्दै आफ्नो जन्मोत्सवको अवसर पारेर पाँचौ कृतिकोसाथ साहित्यिक फाँटमा उभिएँ । यो कृतिलाई मैले मेरो जीवनको, हाम्रो जीवनको र यो कालखण्डको अभिलेख मानेको छु । मलाई साहित्य र कलामा अभिप्रेरित गर्ने अरु केही होइन मभित्रको दृढता नै हो । म अनुकूलता र प्रतिकूलताको उकाली र ओरालीमा बाल्यकालदेखि नै आफ्नै गतिमा निरन्तर हिंडिरहेछु । मैले गर्ने काम अरु कसैले गर्न सक्तैन त्यसैले गर्न अझै धेरै बाँकी छन् । 
प्रश्न ३.स्वास्थ्य क्षेत्रको निजामति कर्मचारीको हाकीम हुनु भो त्यसैले स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने साहित्यको निर्माण कति गर्नु भो त ? गीत,कविता,लेख लेखेर स्वास्थ्य क्षेत्रलार्इ सहयोग पुर्याउँनु हाकीम अथवा कार्यलय प्रमुखको दायित्वमा पर्छ जस्तो लाग्दैन ? 
उत्तर : हेर्नोस् २०६२ साल जुनबेला मेरो २५ वर्षको जागिरे सेवावधिमा मैले साहित्यिक सिर्जना गरेता पनि कुनै कृति प्रकाशित गर्न सकिन । तर यही अवधिमा मैले साहित्यको अध्ययन चाहिँ गरें । यो अढाई दशकसम्म म पहाडी जिल्लाहरुमा खटिएको अवस्था थियो । न पत्रपत्रिकाको पहुँच, न सञ्चारको पहुँच त्यसैले लेखेर फाटफुट प्रकाशित गरें र बाँकी रचना डायरीमा जतन गरेर राख्ने काम मात्र गरियो । जब विराटनगर सरुवा भएर आएँ तब मात्र २०६३ सालमा मेरो पहिलो पुस्तकाकार कृति प्रकाशित हुने साइत जु¥यो । तर मैले यतिञ्जेलसम्म ‘देश खाई शेष भएँ’ भने जस्तै अनुभव र ज्ञान बटुलें । देशमा आउको परिवर्तनको लहर, शहरमा इन्टरनेट विकास, जस्ता वातावरण पनि विकसित भए पछि मात्र मैले आफूलाई प्रस्तुत गर्न अनुकूल अवस्थामा पाएँ । मलाई देश र जनताको माया गर्न सिकाउने यही जागिर हो, यसले जीविकोपार्जन गर्न गासबास जुटायो । मेरो पहिलो कृति निकाल्न भएको ढिलाईमा वा आफू पूर्णकालीन लेखक हुन नपाएकोमा जागिरप्रति मेरो कुनै वितृष्णा वा गुनासो छैन बरु जागिरलाई धन्यवाद नै दिन्छु । जागिरलाई केवल जागिर मात्र हैन देशसेवा, राष्ट्रसेवा मानेको छु, यो मेरो कर्म हो पूजा गरेको छु र त सिर्जनामा पनि देशको मायाको कुरा नै गर्ने गरेको छु ।अर्को कुरा स्वास्थ्य भनेको व्यक्तिको शारीरिक, मानसिक र सामाजित अझ आत्मिक तन्दुरुस्ति हो । यो हासिल गर्नलाई साहित्यले पनि सहयोग गरेको हुन्छ । यसैले म मेरा सिर्जनाहरु सकारात्मक र आत्मिक अर्थात् जीवन र जगतका लागि उपयोगी हुन् भन्ने चाहन्छु । व्यक्ति, समाज र देशको स्वास्थ्यस्थिति समेत उकास्न आफूलाई जीवनभर लागेको ठानेको छु । यसै सन्दर्भमा साहित्यिक, सांगीतिक कृतिहरुका अतिरिक्त स्वास्थ्यसम्बन्धी तीन कृतिहरु र दर्जनौं अनुसन्धानात्मक कृतिहरु पनि अन्तराष्ट्रिय जर्नलहरुमा प्रकाशित गरिसकेको छु । 
प्रश्न ४. तपार्इ आफै फेसबुकको प्रयोगकर्ता हुनुहुन्छ फेसबुक प्रति कतिको बिश्वास जाग्छ रु फेसबुकले नेपाली साहित्य लेखन तथा प्रकाशनलार्इ कति सहयोग पुर्याउँन सक्छ जस्तो लाग्छ ? यो सञ्जाललार्इ कतिको उपयोगी र लाभदायक ठान्नु हुन्छ र किन ? 
उत्तर : गफ दियो नभन्नु होला, इन्टरनेट हेर्नेले मात्र नवराज सुब्बालाई देख्छ वा चिन्छ । डेढ दशक अघि जब मैले इमेल गर्न जानें, इन्टरनेट चलाउन जानें त्यसपछि क्रमसः मैले वेभसाइट बनाउन जाने, युनिकोट चलाउन थालें, च्याटिङ, भिडियो कन्फेरेन्सिङ आदि गर्न जानें तब ममित्र एउटा संसार विकसित भयो अर्थात् म आफू पनि नयाँ संसारमा पुनर्जन्म लिएकोझैं भएँ । यो फेसबुम चलाएको त करिब तीनवर्ष जति भयो होला । तर यति छोटो अवधिमा यो फेसबुक मेरो साहित्यिक गोष्ठीको थलो भएको छ, साँस्कृतिक कार्यक्रमको मञ्च भएको छ, बैठक कोठा बनेको छ, यति मात्र हैन सञ्चारको निम्ति यो पत्रिका हो, डायरी हो, अभिलेख हो, गन्थन मन्थन गर्ने एउटा पवित्र र खुला चौतारी हो, विछोडिएका भेट हुने कुनै कुम्भमेला पनि हो अर्थात् यो सबैथोक नभए पनि धेरैथोक हो । यसको फाइदा र बेफाइदाका बारेमा कुरा गर्दा अझ लामो होला । तर म यत्ति भन्छु, जे कुराको पनि गुण, अवगुण हुन्छ, सर्वगुणसम्पन्न केही वा कोही हुँदैन । राम्रै कुरो वा वस्तुको पनि यदी सही ढंगले उपयोग गरिएन भने त्यसको दोष त्यो वस्तु वा व्यक्ति कसलाई दिने ? अवश्य व्यक्तिलाई नै दोष जान्छ होला । यसैले मैले भन्न खोजेको के हो भने मानिसका आ–आफ्ना क्षमता, अपेक्षा, परिस्थिति र बानीमा निर्भर हुन्छ फेसबुकको उपयोगिता । मैले अहिलेसम्म चिताएका वा नचिताएका धेरै कुराहरु फेसबुकबाट पूरा भएका छन् । त्यसैले म यसलाई अत्यन्त जीवनोपयोगी साधनको रुपमा लिन्छु । 
प्रश्न ५. तपार्इ किन लेख्नु हुन्छ रु कस्तोबिषय बढी लेख्न रुची राख्नु हुन्छ ? लेखी सकेको रचनाको पहिलो पाठक को हुन्छ ? 
उत्तर : स्वभाविक रुपमा मभित्र उत्पन्न हुने भावनाका तरङगहरु जो समाज निर्माण, समय पहिचान र गन्तव्यवोधका लागि सहायक हुन्छन् भन्ने लागेमा म ती भावना शब्दमार्फत् पोख्छु । मभित्र केवल ‘म’ मात्र हैन ‘हामी’ देख्छु । अनि केन्द्रमा बसेको म र हामी बीचको तादात्म्यता देखिए पछि मात्र म त्यो भावनालाई लेखनयोग्य विषयवस्तु ठान्छु र कोर्न थाल्छु । आफूले लेखेका कुरा अरुलाई उपयोगी भएनन् भने लेख्नुको कुनै अर्थ रहँदैन । म बढी देशको मायामा, मान्छेका मायामा, समाजको मायामा, समयको मायामा र भविष्य निर्माणको कल्पनामा डुबेर समाजिक र मानवीय संवेदनशीलताको धागोले तुन्दै सिर्जनाका माला गाँस्छु । मेरो रचनाको पहिलो पाठक पहिले श्रीमति थिइन् अहिले म कम्प्यूटरतिर धेर लागेपछि उनी अलि टाढा भइन् र फेसबुकका साथीहरु नजिक भए त्यसैले आजकल मेरा रचनाका पहिलो पाठक भनेका फेसबुकका मित्रहरु नै हुन् । 
प्रश्न ६. नेपाली साहित्य लेखनको अवस्था हाल कस्तो देख्नु हुन्छ ? 
उत्तर : यसमा राम्रा नराम्रा दुवै पक्ष भन्नु पर्ला । आज नेपाली साहित्यको आयाम फराकिलो भएको छ अर्थात् नेपाली साहित्य पनि विश्वव्यापी भएको छ । नेपाली साहित्यमा समावेशीको सवाल उठेको छ । यो नेपाल र नेपाली साहित्यको लागि स्वागतयोग्य कुरा हो । तर यसको साथसाथै नेपाली समाज मात्र होइन साहित्यकार पनि अस्तित्वको लागि जोततोडले लागेका छन् । कहिले काहिँ आवश्यकता भन्दा बढी प्रयोगवादले पाठकलाई अल्मल्याइ दिएको हुन्छ । रचनामा वौद्धिक र हार्दिक दुवैकुरा सन्तुलित भएर आउनु पर्नेमा कतै सिर्जनामा बौद्धिक पक्ष बढी भएर क्लिष्ट लाग्छ त कतै हार्दिक बढी बनाएर फोस्रो पनि देखिन्छ । आज साहित्यकार नेता, अभिनेता, पत्रकार, वा कलाकार के हुन् भनेर हामीजस्ता सर्वसाधरण पाठकहरुलाई छुट्याउन गार्हो भएको छ । गहिरिएर हेर्दा आज पाठक भन्दा बढी सर्जक स्वयम् सिर्जनाका सन्देशपक्षमा अल्मलिएका लाग्छन् । आफै भ्रममा रुमल्लिएका स्रष्टाबाट पाठकले के अपेक्षा गर्ने ? त्यसैले स्रष्टा पहिले प्रष्ट हुनु पर्यो सौन्दर्य हुनलाई वस्तुमा झैं साहित्यमा पनि गुन चाहिन्छ । जीवनोपयोगी समयसापेक्ष र सन्देशयुक्त बनाउन कला, साहित्य, वृहद ज्ञान, विज्ञानको अध्ययन गरेको अनुभवी स्रष्टाको जरुरत पर्दछ जुन खाँचो आज नेपाली साहित्यमा देखिन्छ । आजकलका प्रायः साहित्यिक कार्यक्रमहरू म एउटा भ्रम जस्तो देख्छु, समय कटाउने थकाई मार्ने चौतारी जस्तो, नाटक जस्तो देख्छु अनि कुनै प्रायोजित विज्ञापनको श्रृङ्खला जस्तो बढी मलाई लाग्न थालेकाले प्रायः औपचारिक साहित्यिक समारोहहरूमा गएर समय बर्बाद पार्न म चाहन्न । 
प्रश्न ७. लेखनमा लागेर आज सम्म प्राप्त भएका उपलब्धिहरु के के हुन ? 
उत्तर : मैले आफूले साहित्य तथा कला क्षेत्रलाई योगदान गरे भन्दा सोचे भन्दा धेरै उपलब्धि वा रिटर्न पाएको छु । त्यो हो पाठक वा श्रोताहरुको माया । मैले कुनै पुरस्कार वा सम्मान पाउनको लागि लेखेको पनि थिएन तर मैले ती दुवै पाएँ । यसैले आगामी वर्षहरुमा साहित्यिक तथा कला क्षेत्रमा अझ जीवनोपयोगी तथा जगतसापेक्ष सिर्जनाको निर्माणमा अघि बढ्न हालसम्मको उपलब्धीले मलाई आत्मबल प्रदान गरेको छ । प्रश्न ८. अवका युवा लेखकहरुको लेखन दायित्व कस्तो हुनु पर्छ जस्तो लाग्छ ? 
उत्तर : म मेरो आजसम्म्को अनुभवको आधारमा के भन्न चाहन्छु भने, सर्जक जीवन र जगतप्रति इमान्दार र जिम्मेवार हुनुपर्छ । थप के भन्छु भने देश र भावी पुस्ताको लागि लेख्दा सोचेर लेखौं । लेख्नको लागि मात्र नलेखौं । कतै मेरो नाम आएन भनेर चिन्ता नमानौं । तपाईको मूलाङ्कर्ता तपाई स्वयम् हो र अरु क्षेत्रबाट पनि एकदिन तपाईको अवश्य मूल्याङ्कन हुनेछ केवल अभिलेख नमेटाउनु होला, सोचेर कृति निकाल्नु होला । आज संसारमा कैंयौं कुवा, पाटीपौवा छन् । भानुभक्तले त एउटा घाँसी मात्र देखे र नाम लेखे । बाँकी खोज भविश्यले गर्नेछ । हामी निराशावादी हैन आशावादी आँखाले मात्र सिर्जना गरौं । बस् । धन्यवाद टङ्कजी ।