Aug 4, 2011

साहित्यकार खगेन्द्र लिम्बुसंगको वार्ता

बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक - ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन - गायनमा निक्कै पहिले देखि नै लागि पर्नु भएको छ । हाल वहाँ बैङककमा बसेर अमूर्तवोधी दर्शन लेखनमा त्यतिक्कै ब्यस्त बन्नु भएको छ । लेखन,गायन र चित्रकारीता दिनचर्यासंग गाँसीएका बिषयवस्तु भएकाछन् साहित्यकार खगेन्द्र लिम्बुको । गेडी लेखनका प्रवर्तक समेत रहनु भएका साहित्यकार खगेन्द्र जीवन र जगतलार्इ अमूर्तरुपमा देख्नु हुन्छ । उनै बहुप्रतिभाशाली ब्यक्तित्वसंग टंक सम्वाहाम्फेले लिम्बुवान ब्लगस्पोट डटकमको लागि गर्नु भएको कुरानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।
१.बिदेशी भूमिको बसार्इमा पनि लेखन,गायन र कलालाई कसरी समयको तालमेल मिलाएर त्यसको निरन्तरता दिईरहनु भएको छ ?
मेरो विदेशको बसाई केवल सिर्जनाको निमित्त सापेक्ष र अनुकूलताको लागि नै मात्र योजनावद्ध गरिएको कारण सहज भैरहेकोछ l
२.अमूर्तबोधी कला र लेखनमा होमीनु भएको छ यत्तातिर लागेर कतिको यो लेखन र कलाको विकास भए जस्तो लाग्छ ?
मैले जे-जति सिर्जना गरेकोछु अर्थात् जीवन र जगतलाई भोगे-देखे-बुझेकोछु त्यो अमूर्तबोधताबाट मात्र सम्भव थियो । त्यसोर मेरो सिर्जनशीलता मात्र अमूर्तबोधी दर्शनाधारित छैन, मैले भोग्ने जीवन नै यसैभित्र चलखेल गर्छ । जीवन सधैं प्रगतिशील,उन्मुक्तमुखी र बिकासमार्गी हुन्छ यी सप्पैको फाइदा म उठाईरहेछु ।
३.अमूर्तबोधी कला र लेखन नै रोज्नुको कारण र उदेश्य के हो ?
यो प्रश्नको जवाफमा प्रथमत: अमूर्तबोधी दर्शनको बारेमा केहि बुझ्न जरुरी छ । यसका केहि बुँदाहरु मात्र टिपोट गर्न चाहन्छु यहाँ -
क.अमूर्तबोधी दर्शन -हरेक मूर्त-अमूर्त तत्व-वस्तुहरुको अमूर्तसत्यहरुलाई बोध गर्न-गराउन प्रेरित गराउने दर्शन(जीवन-जगतलाई हेर्ने-बुझ्ने शैली)
ख.कुरूप सौन्दर्य मीमांसा-हरेक तत्व-वस्तुहरुमा बाह्य-आन्तरिक सौन्दर्य हुन्छ कुरूप तत्व-वस्तुहरुको सौन्दर्यभित्र र दिर्घकालिन सौन्दर्य रहन्छ ( महत्व,चरित्र,प्रवृत्ति,प्रकृति आदिबाट सौन्दर्यको मापन हुन्छ )कुरूप् तत्व-वस्तुको गौण सौन्दर्यलाई प्राप्त गर्नु
ग.दुरुहमार्गी चिन्तन -हरेक असहज यात्राबाट सहज गन्तब्यमा पुग्नु, हरेक अप्ठेराबाट जीवन र जगतलाई सुगममय भेट्नु ।
ग. सदुपयोगिताको सिद्धान्त -हरेक कुरालाई उचित ठाउँमा सदुपयोग गरेर त्यसको महत्व र अस्तित्वलाई उच्चरुपमा भेट्नू ।
घ. पागलवाद-निर्बांध-निडर, असाधारण र सत्यवादी हुनू ।
ङ. स्वसत्त्वबोध-आफ्नो अस्तित्वको महत्वलाई आत्मविश्वासमा सुरक्षित भेट्नू-बुझ्नू ।
च. अभ्यासात्मक प्रगतिशीलता -निस्सीम परिकल्पनालाई सिर्जना, प्रतिपादन र प्रतिप्रयोगमा स्थापित भेट्नू ।
छ. स्वकीय मन्जुरी-दबाबहीन स्वमुक्तिले परघातबिहिन स्वकीयताको फैसल्ला गर्नू ।
ज. गन्तव्यको फैसल्ला -अन्तिमसत्य जीवन-जगतको दिर्घकालिन मंगलमय निजत्व आदि ।
४.नेपाली साहित्यको बिकासमा डायस्पोरा नेपाली साहित्यकारहरुले कतिको सकरात्मक भूमिका खेले जस्तो लाग्छ ?
ग्लोबल विलेजको जमानामा संसारका कुनै पनि एक कुनाको असर अर्को कुनै पनि कुनामा तत्काल प्रभाव पर्न सक्छ र नेपाल केवल नेपाल मात्र हो ठान्नु गलत हुन्छ । अझै नेपालमा मुट्ठीवाद संकार छँदैछ । अझ धेरै नेपाली लेखकहरु केन्द्रिकृत मानसिकताले रोगी छन राजधानीलाई संसार भनेर बसेकाछन् । विश्व/परिवर्तन, चेतना,विकास, प्रगतिहरु डायस्फोरिक लेखकहरुले भित्र्याईरहेकाछन् जो अत्य्वास्यक छ । जसले नेपाली चेतनालाई विश्वस्तरमा तादम्यता मिलाउन सकारात्मक भूमिका खेलेकोछ/खेल्नेछ ।
५.नेपाली साहित्यमा योगदान दिने नेपाली डायस्पोरा लेखकहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको स्थान पाउँन जरुरी देख्नु हुन्छ कि हुन्न ? र नेपाली डायस्पोरा लेखकहरुलाई नेपाल सरकारले कतिको सम्बोधन गरे जस्तो लाग्छ ?
नेपालमा बसेर लेख्ने केहि गुटहरुले त डायस्फोराका लेखकलाई साहित्यकारको सूची मै गन्दैनन । राष्ट्रले के सम्बोधन गरोस । जसले नेपाली साहित्यलाई सेवा-टेवा-मेवा दिन सक्छ, उसलाई प्रज्ञाप्रतिष्ठानले स्थान दिनुपर्दछ । प्रज्ञाप्रतिष्ठान हामी सबै नेपालीको हो । लेखक र सर्जकको बसाईको भौगोलिक विभिन्नताले उसलाई निर्णय गर्नु अन्याय हुन्छ । यसको अर्थ यो होइन कि अबैधानिक नेपालीले प्रज्ञाप्रतिष्ठानको जागिर खान पाउनु पर्दछ । र अर्को कुरा त्यहाँ आसिन भएर मात्र साहित्यको सेवा गर्न सकिन्छ भन्ने ग्रस्त मनस्थितिमा सर्जक बस्नु हुन्न भन्ने मेरो आग्रह । बैरागी काईंला पनि हिजो बेदेश नै बसेर लेख्ने कवि हुन् । भारतमा बसेर लेखेका उनका साहित्यले नै उनलाई प्रज्ञाप्रतिष्ठानको जिम्मेवार नाइके हुन पर्याप्त आधार दियो । अरुले किन नपाउने ?
६.तपाई आफै लिम्बु जातिको नेपाली भाषाको लेखक तर तपाईलाई आफ्नो लिम्बु मातृभाषा साहित्यमा अमूर्तबोधी साहित्य लेखनलाई प्रस्तुत गर्न मन लाग्दैन ?
आफ्नो मातृभाषा,संस्कृति,धर्म आदि सबैको नश्लको रुपमा स्थापित भैसकेको हुनाले यो प्रश्नै हुँदैन कि कुनै लिम्बूलाई आफ्नो लिम्बू भाषा-संस्कृतिलाई प्रेम छ ? यसरी अमूर्तबोधी दर्शनले नश्लीय अस्तित्व र अधिकारलाई सम्मान गर्न अभिप्रेरित गर्दछ । तसर्थ: कुनै पनि जनजाती आदिबासीहरुलाई झैं लिम्बूहरुको अस्तित्वमा पनि अमूर्तबोधी दर्शनले बराबर चासो लिन्छ । मैले लिम्बू संस्कृतिका लोकसंस्कृति/कला र साहित्यलाई यसै अर्थमा नेपाली राष्ट्रियधारमा उभ्याउने कोशिस गरेकोथिएँ/छु ।
७.नेपाली भाषाको लोकगीत संकलक र गायक पनि हुनुहुन्छ के यी भाषाका गीतहरु मात्र गाएर आफ्नो जातिको भाषालाई न्याय गरे जस्तो लाग्छ ?
लिम्बू लोकसंगीत/कला/साहित्य तथा अन्य समाज,जाति,धर्म,संस्कारका लोक साहित्य/कलालाई राष्ट्रियधारमा लगेर स्थापना गर्न मैले कोशिस गरेको हुँ Netive and Mother Language मै गाउने-लेख्नेहरु त अरु पनि छन् नि । सबैले आफ्नो ठाउँमा बसेर सदुपयोगीताको सिद्धान्तमा काम गर्ने हो ।
८.तपाईले संकलन र गायन गर्नु भएको लोकगीतको संग्रह कति प्रकाशीत भैसकेका छन् होला ? र नयाँ आउँने संग्रहहरु पनि छन् कि ?
संख्या एति नै हो भन्ने यकिन छैन । अनुमानमा ६० जति संकलित र आफुले गएका २० जति होलान, संकलन गरेर रेकर्ड गर्न बाँकी लोकगीतहरु मसंगैछन् ।
९.अमूर्तबोधी साहित्यकार र सर्वसाधारण मानिसमा के फरक हुन्छ ? र अमूर्तबोधी नभएका लेखक र अमूर्तबोधी भएका लेखकमा के अन्तर पाउँनु हुन्छ ?
मैले व्याख्या गरेको अमूर्तबोधी दर्शनमा जे फरक हुन्छ, त्यहि नै फरक हो । त्यो माथिको बुँदामा अरुले आफ्नो दर्शन उभ्याएर बिचार्नू ।
१०.तपाईको हालसम्म प्रकाशित कुन कुन बिधाका पुस्तक के कति छन् ? र प्रकाशोन्मुख के कति छन् ?
उहिल्यै टिनेजमा २ वटा संयुक्त कविता संग्रह निस्किएकाछन् तिनलाई म कृतिको रुपमा मान्दिन मसंग अहिले विभिन्न विधाका ६ वटा पाण्डुलिपी छन् (Abstract Bangkok)-प्रयोग,दर्शन र जीवनीमा आधारित उपन्यास प्रकाशनको तयारीमा जुटेकोछ ।
११.तपाई चेताशील लिम्बु भएको हैसियतले अहिले संघीय लिम्बुवानको कुरा उठि रहेको छ नेपालमा त्यस बारेमा के धारणा राख्नु हुन्छ ? संघीय लिम्बुवानको आवश्यकता छ कि छैन होला ?
नेपालको परिप्रेक्षमा 'विघटन' सुगठनको सापेक्षमा सन्तुलित देखिंदैन । एकातिर लिम्बू तथा अन्य जातजाति आदिवासीमा 'स्वसत्त्वबोध' हुन जरुरी छ । 'दुरुहमार्गी चिन्तन' अवलम्बन गरेर राष्ट्रको निमित्त 'सदुपयोगिताको सिद्धान्त'मा उभिनु पर्दछ । राष्ट्रले पनि कुरूप सौन्दर्य मीमांसा अन्तर्गत असल निर्णय लिएर सबै नेपालीहरुलाई समान सम्मान र सम्बोधन गर्न जरुरी छ । अन्यथा दुर्घटना दोहोरिरहन्छ ।
१२.तपाई एउटा लेखक भएकोले वर्तमान नेपालको राजनितिलाई कसरी मध्यनजर साथै बिश्लेषण गरी रहनुभएको छ ?
नेपालको 'राजनीति' जननीति हुन सकेकोछैन । एउटा कथित दरबार ढलेर अकथित नगन्य दरबार,सामन्त,शोषक-शासकहरुको मनोमानी हाबी बढेकोछ । 'जनशक्तिको कोल्याप्स'लाई मौकाको फाइदामा राखेर विस्तारवादका भरौटेहरु अत्तिवादी-मुट्ठीवादी-एकाधिकारवादी भएर उदाएकाछन् 'विगठन'लाई सुत्र बनाएर यिनीहरु बलिया हुँदैछन् ।'फुटमा लुट' चलिरहेको अवस्था नबुझेसम्म नेपालीहरुको उन्मुक्ति सम्भव छैन । त्यसो र सांस्कृतिक चेतनाको विकासले मात्र यिनीहरुको सूत्रलाई निराकरण गर्दछ । सामान्य भाषामा भन्ने हो भने 'छिमेकीको घर जल्दा आफ्नो घर सुरक्षित रहन्छ' भन्ने भ्रमबाट मुक्ति लिनु आधुनिक नेपालको उन्मुक्तिको पहिलो कदम हुनेछ ।'एकता' -जनता हो, जनता नै देशका निर्णायक हुनु पर्दछ । नेताहरु जनताको आदेश पालक र भरौटे हुनुपर्दछ । स्वावलम्बनको निर्णयलाई लागु गरेर जनशक्तिको कोल्याप्सलाई निमिट्यान्न गर्नुपर्दछ । अन्यथा,ईतिहाँसमै अनुकूलताको सिद्धान्तमा चुकेर नेपाल र नेपाली दुर्लभ हुनेछ ।
१३.जीवन के हो ? तपाईको अमूर्तबोधी लेखनले जीवनलाई कसरी समेट्दछ त ?
'जीवन' माथि टिपोट भएका अमूर्तबोधी दर्शनका बुँदाहरुको अनुसासित संस्कार हो यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु ।'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।
१४.अमूर्तबोधी दर्शन कस्तो प्रकारको दर्शन हो ? यो दर्शनको शुरुआत र प्रयोग कसरी भैरहेको छ होला ?
यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु । 'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।
१५.गेडी लेखनको शुरुआत कहाँ,कस्ले र कहिले देखि भएको हो ? यसको विस्तार कसरी भैरहेको छ ?
गेडी लेखन मैले सुरुवात गरेकोहुँ । नेपाली साहित्य-साहित्यकार विभिन्न आगन्तुक विधाका अंगसंगति नबुझेर मरिररहेको अवस्थामा स्वसत्त्वबोधको बुँदाले नेपाली अस्तित्वमा नेपाली नश्लमा यसको जन्म भयो । यसको प्रवर्तन भयो २०१० अप्रिल १० मा यसको सार्बजनिक भयो । विश्वभर रहेका नेपालीहरुले यो विधामा स/प्रेम/गर्ब सिर्जना गरिरहेकाछन् । यो खुशीको कुरा हो । यसको बारेमा लामो लेख म उपलब्ध गराउनेछु । गेडी साधक टेकेन्द्र अधिकारीले यो विधाको सङ्ग्रह निकाल्दै छन् । अर्का गेडी साधक बिष्णुनन्द चामलिंगको गेडी संगीतकार दिनेश सुब्बाले संगीत गरेकाछन् । अब यो लिखत,गायन र श्रब्य भएर आउन थालेकोछ । यसलाई नेपालको मौलिक विधाको रुपमा दर्ता र सम्मान गर्न सम्बन्धित क्षेत्रका आधिकारिक,बौद्धिक र प्राज्ञ सबैलाई हामी हार्दिक अनुरोध गर्दछौं ।
१६.तपाईले जीवनमा भोग्नु भएको त्यस्तो अविस्मरणीय घट्नाहरु छन् कि ?
जीवनका हरेक घटना-परिघटना अविस्मरणीय लाग्छन ।
१७.जीवनमा सबै भन्दा बढी गरु लाग्ने र नगरी छाड्दिन भन्ने केहि कामहरु छन् कि ?
.सदुपयोगिताको सिद्धान्तमा आफुलाई सिर्जनशील र गतिशील राख्ने आफ्नो जीवनसँग सम्झौता भएकोछ । नेपाली चेतना परिवर्तन गर्दै नेपाली राजनीतिलाई सफा र सुकर्ममा लान तथा अनाथ असहायहरूको निमित्त काम गर्न पाउँदा भने व्यक्तिगत रुपमा खुशी हुनेछु भन्ने लाग्छ ।
१८.अवको नेपाली साहित्य लेखनले कस्तो र कतातिर मोडिन जरुर देख्नु हुन्छ ?
अमूर्तबोधी दर्शनमा भेट भएर हिजोका रुन्चे-पिन्चे लेखन,विलाप-विवशता र लाचारी प्रस्तुति,रोष-दोषको आक्षेप प्रवृत्ति, गुनासो-बिलौनाको आत्म लघुताभाष,रुखो नारावादी अकलात्मक प्रस्तुति,केवल बयान, हरिया डाँडाका गीत लिला-रसरंगको बुर्जुवा लेखन, हजुरिया र ढोग-पत्र लेखन,आत्मचर्चामुखी 'वाद' फेशन सप्पैलाई संसोधन र निराकरण गरेर जीवन र जगतको उन्मुक्तिमा कला सौन्दर्य र दर्शन सौन्दर्यको विशिष्ट भेटमा साहित्य पुग्नु पर्दछ ।
१९.नेपाली समाजमा तपाई आफूलाई कुन रुपले स्थापित गराउँन चाहनुहुन्छ ? र किन ?
एउटा सामाजिक स्वयम्सेवक ! समाज विकासक !
२०.लिम्बुवान ब्लगस्पोट डटकम मार्फत विश्वभरी छरिएर रहनु भएका पाठकहरुलाई केहि शन्देश दिन चाहनु हुन्छ कि ?
'स्वसत्त्वबोध'ले अमूर्तबोधी दर्शनलाई भेट्नू ! त्यसरी नै जगतको निमित्त जीवनलाई र जीवनको निमित्त जगतलाई माया गर्नू !

Jun 8, 2011

गायीका सीता सिंगक लिम्बुसंगको कुराकानी

बुवा हस्त बहादुर लिम्वुतथा मुमा आश मायाँ फोम्वो लिम्बुको कोखबाट सन् १९८९ डिसेम्वर २२ तारीखका दिन कोशी अञ्चल तेह्रथुम जिल्लाको जलजले ४ मा गायीका सीता सिंगक लिम्बुले यस धरतीमा पाइला टेक्नु भएको हो। गाउँमा माध्यमिक तहको अध्यायन समाप्त गरेपछि हाल स्नातक तहको दोस्रो वर्षमा ललितपुर नक्खिपोपमा बसी गायनको साथसाथै अध्यायन क्रम जारी गरीरहेकी छिन् । गायन,नृत्य र यात्रा गर्न बढी रुची राख्छीन्। उनलाई नेपाली,अंग्रेजी,हिन्दी र लिम्बु भाषा वोल्ने राम्रो ज्ञान छ । हाल सम्म अविवाहित रहेकी गायीका सीता सिंगक लिम्बुले गायनलार्इ नै आफ्नो पहिचान बनाउँने लक्ष्य राखेकीछीन् । हाल सम्म १० भन्दा बढी नेपाली एल्वमहरुमा र लिम्बुभाषामा हाङनेर्इल्ले,लिम्बुवान,साक्मा,तुम्मुर्इ,हाक्पारे पालाम गाउँदै,यो मनको जलन आदिमा आफ्नो स्वर स्वराङकन गरीसकेकी छिन् । उनी फक्ताङलुङ सयङ काठमाडौ- २००८ को सदस्य पनि हुन् । त्यति मात्र नभएर मिस मंगोलमा समेत उनको सानदार सहभागिता रहेको कुरा उनी बताउँछिन्। उनै कोकील कण्ठका धनी गायीका सीता सिंगक लिम्बुसंग टंक सम्वाहाम्फेले लिम्बुवान ब्लगस्पोट डटकमको लागि गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१.अध्ययन, घरको काम र गायन यी सवै एकै समयमा कसरी समायोजन गरिरहनु भएको छ ?
समयको व्यवस्थापन गर्नुपर्छ । यी भन्दा धेरै काम भ्याउन सकिन्छ ।
२.गायन क्षेत्रमा लाग्नुको प्रमुख के हो तपाईको ?
रुची हो ।
३.गायन बाहेक अन्य विषयमा कतिको चासो लिनुहुन्छ ?
सामान्य ।
४.गायन क्षेत्रमा आउँनुमा कसैको प्रेरणा छ कि ?
लीला दिदी, भगत दाई र मेरो सपरिवार
५. आफुले गाउँदा गीत, संगीत र स्वर यी तिन पक्षलाई कुन हिसावले अध्यायन गर्नु हुन्छ ?
गीत या गायन भनेकै शब्द, संगीत र स्वरको समायोजन हो, यो कुनै पनि पक्षको मर्मलाई बुझ्न सकिएन भने गीत पूर्ण हुँदैन तर्सथ यी तीनै कुरालाई ध्यान दिन्छु ।
६.एउटा गीत पुरा हुनको लागि तपाई एउटा गायिकाको आँखाबाट गीतको कुन पक्ष सवल हुनु पर्छ होला जस्तो लाग्छ ?
शब्द, संगीत र स्वर तीनै पक्ष ।
७.दश भन्दा बढी नेपाली कलेक्सन् एल्वमहरुमा आफ्नो स्वरहरु दिईसक्नु भएको छ त्यसैले अव कहिले आफ्नै एल्वम मार्फत प्रस्तुत हुने बिचार गर्दै हुनुहुन्छ ?
तुरुन्तै त्यस्तो कुनै योजना छैन । अव हेरु.... -
८.नेपाली भाषाको गायन बाहेक लिम्बु र तामाङ भाषामा समेत आफ्नो स्वर दिई सक्नु भएको छ यसरी आफ्नो मातृभाषा र अरुको भाषामा गाउँदा कस्तो अनुभूति गर्नुहुन्छ ?
फरक त पर्छ नै । नेपाली गीत भन्दा अन्य गीत गाउँदा उक्त जातीको संस्कार संस्कृति रहन सहनलाई समेत ध्यान दिनु पर्छ । आफनो मातृभाषाको गीत गाउँदाको अनुभुती नै बेग्लै हुन्छ ।
९.तपाई एउटा लिम्बु गायिका भएकोले लिम्बुवानको विषयमा कतिको चासो लिनु हुन्छ ?
लिम्बु भएको हैसियतले र लिम्बुवानवासी भएको हैसियत ले लिनु त परयो नी । म किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालयको लिम्बुवान जनजागरण अभियानमा तेह्रथुम, संखुवासभा र धनकुटा जिल्लामा लिम्बुवानको गीत गाउँदै महिनौं हिँडेको छु र काठमाडौंमा हुने लिम्बुवान र आदिवासी जनजाति आन्दोलनमा निरन्तर सहभागी हुँदै आएको छु ।
१०.नेपालको वर्तमान परिस्थितीलाई तपाईले कसरी हेरी रहनु भएको छ ?
नेपाल संक्रामणकालीन अवस्थामा गुज्रिरहेको छ । राजनीतिक दलहरु कुर्सी तानातानमै व्यस्त छन् । संविधान बनाउने काम नै विर्से जस्तो छ ।
११.नेपालको गायन क्षेत्रलाई कसरी मध्यनजर गर्दै हुनुहुन्छ ?
मुलधारको संगीत अर्थात खस भाषाको गीत संगीतलाई मात्र बढावा दिइएको छ । नेपालका अन्य जातिको गीतसंगीतलाई मुख्य सन्चार माध्यमहरुले स्थान दिएका छैनन ।
१२.गायन क्षेत्रमा लाग्ने गायिकाहरुलाई प्रेम प्रस्ताव धेरै आउँने गरेको पाइन्छ र तपाईलाई कतिको प्रस्ताव आईरहेको छ ?
नराम्रो होइननी ।
१३.कुनै एक श्रोताले तपाईको स्वर अति मन पराएर नजिक हुन खोज्यो भने कस्तो प्रकारको प्रतिक्रिया दिनु हुन्छ ?
धन्यवाद दिन्छु ।
१४.जीवन साथी कुन क्षेत्रको होस् भन्न बढी चाहनु हुन्छ ?
जुनसुकै क्षेत्रको भएपनि गीतसंगीत र समाज बुझेको होस ।
१५.गायनले अध्ययन साथै अन्य क्रियाकलापलाई कतिको वाधा पुर्याउँछ ?
समय व्यवस्थापन गरयो भने बाधा पुग्दैन ।
१६.हालसालै बजारमा आएको लिम्बुभाषाको भिसीडी एल्वम हाङनेइल्लेमा स्वर दिनु भएको म्यूजिक भिडियोले राम्रै चर्चा पाईरहेको छ यसलाई कसरी लिनु भयो त तपाईले ?
शब्द मार्मिक छ । शब्द र संगीतको संयोजन राम्रो छ । यसको संगीत तथा भिजुयललाई अझ राम्रो बनाउन पनि सकिन्छ ।
१७.बिदाको समयलाई बढी कसरी विताउँन रुचाउँनु हुन्छ ?
गीत, संगीत, अध्ययन ।
१८.यस क्षेत्रमा नलागेको भए तपाईले कुन क्षेत्रलाई बढी अङगाल्नु हुन्थ्यो होला ?
अध्ययन, नृत्य आदिमै हुन्थे ।
१९.गायन समयसापेक्ष हुनु पर्छ भन्छन् तर पुराना गीतहरुको संरक्षणको विषयमा कतिको चासो लिनु हुन्छ ?
Old is Gold भन्छन् नी । पुराना विना नयाँ हुँदैन । संरक्षण गर्नुपर्दछ । सम्मान गर्नुपर्दछ ।
२०. संसार भर छरिएर रहनु भएका तपाईका श्रोताहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ कि ?
गीत संगीतलाई माया गरिरहनु होस् । धन्यवाद् ।