कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" पौष २५, २०२५ साल भारापा ७, यक्वाडांडा, पांचथरमा पहिलो पटक यस धरती पार्इला टेक्नु भएको हो । वहाँको बाबु स्व.श्रीप्रसाद ईङनाम, आमा स्व. पबित्र लिङदेन ईङनाम, दुई भाई, एक बहिनी, श्रीमति लक्ष्मी मायां र दुई छोरा- नाम्साङ र मिराप ईङनाम हुनुहुन्छ। अध्यायनको क्रम प्राथमिक तहदेखि एस.एल.सी. त्रिमोहन मा.बि. आठराई संक्रान्ती तेह्रथुममा भयो । त्यसरी नै अध्यायनको क्रमलार्इ आईए तेह्रथुम क्याम्पस आठराई तेह्रथुमबाट र बि.ए. मेचि क्याम्पस भद्रपुर झापा तथा जि.ई.डि. लेभलको अध्यायन लाग्वार्डिया कलेज न्यूयोर्कमा पुरा गर्नु भएको छ । कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" लेखन तथा अध्यायनमा मात्र लिप्त नरहि बिभिन्न संघसंस्थामा साधारण सदस्य र अन्य पदभार सम्हाल्दै हाल अलाइन्स फर डेमोक्र्यसि एण्ड ह्युमन राइट्स इन् नेपाल युएसए संस्थाको महासचिव तथा किरात याक्थुङ चुम्लुङ अमेरिका (केन्द्रीय कार्य समिति) को महासचिव साथै युएस नेपाल अनलाइन डट कमको सह-सम्पादक र युएसनेपाल मिडिया सेन्टरको बिज्ञापन तथा बजार ब्याबस्थापन निर्देशकमा कार्यरत हुनुहुन्छ ।यसरी वहाँ बिभिन्न संघसंस्था र साहित्यमा लागेर हालसम्म अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनमा न्यूयोर्कमा भएका कविता प्रतियोगिताहरुमा अन्य सामान्य पुरस्कारहरु लगाएत तीनपटकको प्रथम पुरस्कार प्राप्त तथा न्यूयोर्कस्थित अप्रवासी नेपालीहरुको हितमा लडने संस्था अधिकारबाट सन २००७ को समाजसेवा सम्मानबाट सम्मानित पनि भैसक्नु भएको छ। उनै प्रतिभावान कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" सँग लिम्बुवानका ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत परिएको छ ।
(१) तपाईंले अमेरिका जस्तो ब्यस्त ठाउंमा रहेर साहित्य लेखन, अनलाइन पत्रकारिता,समाजसेवा साथै ब्यावहारीक समस्यालाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
- समयको अभावले हुने असहज परिस्थितिमा कामहरु प्राथमिकताको आधारमा गरेमात्र तालमेल मिल्न सक्छ । परिवारकोतर्फबाट घरायसी समस्याहरुमा हातेमालो त हुन्छन तर जीविकोपार्जनको आधार कामले गर्दा अन्य क्रियाकलापहरुको लागि समय निकाल्न अति गाह्रो हुन्छ । समय मिलेमा सामाजिक क्रियाकलापहरुहरुमा उपस्थित भईन्छ नत्र जनसम्पर्कको माध्यमबाट नै सम्भव हुनसक्ने कामहरु गरिन्छ । साहित्यकोलागि चाहिं धेरैजसो काममा आतेजाते बाटोको समयलाई सदुपयोग गरेर शब्द शब्द जोड्दै रचनाहरु पुरा गर्नुपर्ने हुन्छ ।
(२) अमेरिकामा अहिले आएर नेपालीहरुको बसाई क्रमश: बढि रहेकोछ तपाईंले अनुभव गरेअनुसार त्यहां बसोवास गर्ने नेपालीहरुको अवस्थाबारे जानकारी दिनु हुन्छ कि ? साथै याक्थुङबा दाजुभाई तथा दिदीबहिनीहरुको स्थिति कस्तो छ ?
- हामी नेपालीहरु अमेरिकामा सबै पहिलो पुस्ताका आगन्तुकहरु हौं । अफ्रिकन, युरोपियन, फिलिपिनी,भारती, चिनियां र कोरियनजस्ता पुस्तौं अघिदेखि यहां बसोबास गर्नेहरुको तुलनामा हामी हरेक पक्षमा पछाडि छौं । देशको अन्यौल भबिष्य, दण्डहीनता अनि सुरक्षित लगानिकोलागि ठाउं नपाएका केहि हुनेखनेहरु लगाएत अधिकतम नेपालीहरु यहांको ब्याबस्थित संरचनाको कारण आफ्ना भाबि सन्ततिहरुलाई सहजरुपमा यतै स्थापित गराउन सकियोस भनेर परिश्रम गरिरहेका बुझिन्छ । सबैभन्दा गह्रोचाहिं ग्रयाजुएसन मुनिका विधार्थीहरुलाई छ । चर्को पढाई शुल्कको कारण उनिहरुले अति दुख गर्नुपर्छ । हामी याक्थुङ्बा दाजुभाई दिदीबहिनीहरुकोपनि अवस्था उस्तै नै हो । हालसम्म दुईसय पचासको हाराहारिमामात्र लिम्बुहरु अमेरिकामा छौं होला । देश ठुलो भएपनि सजिलो संचार ब्याबस्था र देशका सबै राज्यहरुमा सहजरुपमा घुमफिर गर्न पाईने ब्याबस्था भएको कारण र किरात याक्थुङ चुम्लुङ अमेरिकाको माध्यमबाट सबै लिम्बुहरु सम्पर्कभित्र रहेर आपसी सहयोग र सदभावकासाथमा रहेका छौं ।
(३) हालैमात्र संयुक्त लिम्बुवान मोर्चा नेपालले ताप्लेजुङदेखि संखुवासभाको चैनपुरसम्मको लिम्बुवान जनजागरण अभियान समाप्त गरेकोछ । यसलाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
- यो जुनसुकैपनि आन्दोलित समुहले गर्नुपर्ने शान्तिपुर्ण आन्दोलनको उत्कृष्ट माध्यम र नमुनापनि बनेको छ । लिम्बुवानवासी सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुको साथ सहयोग र संलग्नताले नै प्रमाणित गरिसकेको छ कि लिम्बुवान नामको राज्यभित्र सबै बर्ग,जाती,भाषी र राजनैतिक समुहका नेपाली नागरीकहरु आटाएर बस्न राजी छन । लिम्बुवान नामाकरणकोलागि ऐतिहासिक, भौगोलिक भनौ या प्रादेशिक र सामाजिक आधारहरु आफैंमा बलिया त छंदैछन त्यासमापनि यसरी सबै लिम्बुवानवासीले जनाएको संलग्नताले लिम्बुवान अपरिहार्यताको बोध गराउंदछ । लिम्बुवान सुनिश्चित हुनबाट त्याहांका जनतालाई वान्चित गराउनु चाहानु भनेको जुनसुकैपनि सरकार,पार्टि र ब्याक्तिहरुको मनसाय केवल वैरभाव बढाउने र साङ्लो राजनीतिको पानीलाई धमिल्याउने कुचेष्टामात्र हो ।
(४) नेपालको राजनैतिक घटनाक्रमलाई मुल्याङ्कन गर्दा संबिधानसभामार्फत जनताले चाहे अनुरुप संघीय राज्य ब्यावस्थाको सुनिश्चितता होला भन्ने कुरामा कतिको विस्वास गर्नुहुन्छ ?
- म बिल्कुलै आशावादि छु । नेपालका सबै राजनैतीक घटनाक्रमहरुलाई मुल्याङ्कन गर्दा सबै नतिजाहरु प्रगति र जनचाहनातर्फ नै उन्मुख छन । संघीय ब्यावस्थाको त जनआन्दोलनपछिको संबिधानले नै रक्षा गरि सकेको छ । अब कस्तो आधारको हुने भन्ने कुरामा खालि पीडक बर्ग र पीडित बर्गको मानसिकता बेमेलको कारण तनाव भई रहेकोमात्र हो । हिजोको नेपालमा जसले जानिजानि वा मजबुरीले सोषण गर्यो त्यो पीडक बर्गलाई पालो फेर्लान कि भन्ने डर छभने जो मुलधारमा आईरहेका समुह छन पहिलेका पीडितहरु जसलाई चाहिं उनै पीडकहरुको फेरिपनि डर छ । त्यसैले कडा रुपमा प्रस्तुत भएका छन फरक यतिमात्र हो । समयसंगै यो बेमेल मानसिकताको अन्त्य हुने छ र संबिधानसभामार्फत जनचाहना अनुरुपको संघीय ब्याबस्था निश्चित भएर देश् सम्रिद्धितर्फ उन्मुख भएर जाने नै छ ।
(५) नेपाललाई विकास गर्नलाई तपाईले लिनुभएको गुरुयोजनहरु कस्ता प्रकारका छन ? नेपाली भएको हैसियतले हरेकले देश बिकासकोलागि सोच्नु आवश्यक छ कि छैन होला ?
- देशमा सबभन्दा पहिला दण्डहीनताको अन्त्य हुनुपर्छ । डण्डहीनताले नै अराजकता,भ्रष्टचारको जन्म गराउंदछभने कानूनि ब्यावधान खडा गर्दै शान्ति सुरक्षा कायम हुनपनि असम्भव गराउंदछ । कानूनको परिधिमा सबैलाइ ल्याउनुपर्छ । त्यसपछि सरकारबाट लगानिको सुरक्षा ग्यारेण्टि दिनुपर्छ जसलेगर्दा स्वदेशीबिदेशी सबै लगानिकर्ताहरुलाई भयमुक्त वातावरणमा नेपालको बिकासमा लगानि गर्नेछन । सडक र विधुत तर्फको बिकासमा नाटकीय प्रिवर्तन नल्याई नेपालको बिकासको पूर्बाधार नै तयार हुने छैन । उत्पादक क्षेत्रहरु जोगाएर रुखो जमिन भएको ठाउंमामात्र शहरिकरण गर्नुपर्छ । पर्यटन क्षेत्रको बिकास र नगदेबालिको ब्याबस्थित उत्पादन नै नेपालको बिकासका आधारहरु हुन । सबै नेपालीहरुले नेपालको द्रूत बिकासकोलागि सोच्न अत्यन्तै जरुरी छ । लाभदायक नीति र कार्यक्रमहरु लागु गराउनकोलागि सम्बन्धित निकायहरुमा दवाब दिन सक्नु पर्दछ ।
(६) तपाईं साहित्यकारपनि हुनुहुन्छ तपाईंका प्रकाशित कृतिहरु र प्रकासोन्मुख कृतिहरुको बारेमा जानकारी दिनु हुन्छ कि ?
- शुरुशुरुमा अन्य पुराना,प्रचलित र स्थापित लेखकहरुको सामुन्ने आफ्ना रचना अति फिका र निम्नस्तरका लाग्थे त्यसैले संकलन गरिएन । अनि परदेशमा बढि जीवनको समय बितेकोले साहित्यलाई साथमा लिएर जानपनि सकिएन । दुईवर्ष अघि एउटा कविता सङग्रह तयार पारेको थिएं नेपाल निस्केर प्रकाशित गर्ने बिचार थियो तर जान नपाएकोले हालसम्म एउटै कृतिपनि प्रकाशित भएका छैनन । चांडै नै मेरा संकलित साहित्यिक कृतिहरु प्रकाशन हुंदैछन ।
(७) बिदेशमा बस्ने स्रष्टाले लिम्बुवानकोलागि कस्तो प्रकारको योग्दान दिन सकिन्छ होला ?
- लिम्बुवानी जनताहरु अहिले लिम्बुवान नामाकरण गराई छाड्नको लागि खबरदारि गरिरहेकाछन । चरणबद्धरुपमा जनजागरणका कार्यक्रमहरु समापन भएका छन । लिम्बुवानवासीहरुको यो ऐक्यबद्धताले अब जस्तोसुकैपनि परिस्थितिको सामना गर्नसक्ने क्षमता तयार भयो भनेर प्रमाणित गरेको छ । बिदेशमा बसेका स्रष्टाहरुले संचारको माध्यमबाट त्याहांका सम्पुर्ण क्रियाकलापहरु प्रचार-प्रसार गर्ने, नैतिक समर्थन जुटाईदिने र अवश्यक सल्लाह सुझावहरु संकलन गरेर पठाईदिने तथा बिभिन्न लेख रचनाहरुमार्फत त्याहांका जनमानसमा जनचेतना जगाउनेजस्ता सहकार्यहरु गरेमा समयसापेक्ष योगदान पुग्नेछ ।
(८) तपाईं आफुलाई नेपाली समाजमा बढी भन्दा बढी कसरी प्रस्तुत गर्न चाहानुहुन्छ ?
- म आफु नेपाली समाजमा साहित्य सिर्जक र समाजसेवकको रुपमा प्रस्तुत हुने चाहना छ हेरौं समय र परिस्थितिले कता डोर्याउंछ ।
(९) साहित्यलाई अंगाल्नु तपाईको मुख्य अभिष्ट के हो ? नेपाली साहित्य लेखनको स्थितिलाई कसरी मध्यनजर गर्दै हुनुहुन्छ ? नेपाली साहित्यलाई उत्थान गर्न बिदेश बस्ने स्रष्टाहरुको भुमिका कस्तो हुनुपर्छ होला ?
- साहित्य एउटा सार्वजनिक थलो हो । यो राजनीति र ब्यापार जस्तो काहिं कोहिसंगमात्र सिमित रहंदैन । निश्वार्थ भावनाले सबैसामु प्रस्तुत हुनसकिने हुनाले थोरै भएपनि यस क्षेत्रलाई टेवा पुर्याउने भावना जागेर साहित्यामा कदम चालेको हो । सायद देशको द्धन्दको परिस्थितिले गर्दा होला बिगतको एक दशक हेर्ने होभने कमैमात्र कृतिहरु प्राकशनमा आए । जबकि भारतमा नेपालको आधाभन्दा कम नेपालीभाषीहरु रहेपनि त्याहांको साहित्य लेखन उच्च रहयो । बिदेशमा रहने नेपाली स्रष्टाहरुले टेकेको धरातलको साहित्यजस्तो नेपालि साहित्यलाई ढाल्ने होइन नेपालीपना मै जोगाउन सक्नु पर्छ । समय अभाव र असहज परिस्थितिमापनि साहित्यकोलागि आ-आफ्ना प्रतिभाहरुलाई निरन्तरता दिने प्रयास गर्नुपर्छ । संयुक्तरुपमै भएपनि क्रितिहरुको प्रकाशन गर्दै जानुपर्छ । नयां रचनाहरुलाई चाहे प्रिन्ट होस, चाहे अनलाईनमा होस स्थान बनाईदिनुपर्छ । जसलेगर्दा नयां सर्जकहरुलाई अघि बढ्ने मार्गहरु मिल्न सकोस ।
(१०) जीवन के हो ? तपाईंलाई जीवनमा सबैभन्दा बढी के काम गरौं जस्तो लाग्छ ?
- मानव जीवन वास्तवमा स्रिष्टिलाई शुन्दर बनाउने गहना हो । यसलाई सबैले राम्रोसंग उपभोग गर्नु जान्नुपर्दछ मलाई जीवन जीउन्जेल समाज उपयोगी सिर्जना गर्न र न्युन नै भएपनि देश तथा समाजसेवी काम गर्न मन पर्छ ।
(११) तपाईंले भोग्नु भएका कुनै त्यास्ता अविस्मरणीय क्षणहरु छन कि ?
- ब्याक्तिगत जिन्दगीका क्षणहरु त आफैंसंग छंदैछन तर साहित्यीक जीवनमा नबिर्सने दुईवटा क्षणहरु छन । सन १९९१ ताका एउटा "जीवनको गोरेटो" नामक उपन्यास लगभग तयार गरेको थिएं काठमाण्डौ जांदै गर्दा धरानको एउटा पुस्तक पसलमा सोहि नामको पुस्तक बेच्नलाई झुण्ड्याई राखेको देखें । त्यो देखनसाथ आफ्नो लेखनको लगानी खेर गएको सम्झेर बीचबजारमै रोएको थिएं । दोश्रोचाहिं गतसाल देखिनै आफ्नो पुस्तक "परदेशबाट" कविता संग्रहको तयारि गरेर कभर डिजाईनसमेत तयार भएको थियो तर सोहि नामको पुस्तक दुईवर्ष अघि नै छापिई सकेको थाहा पाएं । यो थाहा पाएको दिन साहित्य यात्राको उकालिमा चड्दै गर्दा चिप्लिएर बङलङै लडी झरेको जस्तो प्रतीत भएको क्षणपनि अविष्मरणीय रहन पुगेको छ ।
(१२) लिम्बुवान ब्लगस्पटमार्फत संसारभर छरिएर रहेका पाठकहरुलाई केहि सन्देश दिन चाहनुहुन्छ कि ?
- सर्वप्रथम त बिश्वभर रहनुभएका यस ब्लगस्पटका पाठकहरुलाई हार्दिक अभिवादन । एउटा युगान्तकारी निर्णयको मोडमा रहेको हाम्रो मुलुकको वर्तमान अवस्थामा सबै कुरोलाई थांति राखेर सबै नेपालीलाई समेट्ने संबिधान लेखन र देशलाई उत्कृष्ट संघीयताको ढांचामा स्थापना गर्न हामी सबै नागरीकले आ-आफ्नो कर्तब्य निर्बाह गरौं । सबै स्वार्थहरुलाई त्यागेर देशको अस्तित्वको लागि कम्मर कसेर लागौं । यस समयमा हामी एक भएर जुट्न सकेनौंभने न त अस्तित्वको देश रहनेछ, न त सबै मिलेर बस्ने परिबेश रहनेछ ।