May 19, 2009

भानेन्द्रकुमार सम्वाहाम्फेसँगको कुराकानी

वि.सं. २०१९-०४-०४ मा जन्मनु भएका राजनितिकर्मी,उद्यमी तथा साहित्यकार भानेन्द्रकुमार सम्वाहाम्फे धरान नगरपालिका, वडा नम्बर १५,सुनसरी जिल्ला, कोशी अञ्चलका स्थायी वासीन्दा हुन् । तर अस्थार्इरुपले काठमाण्डौ महानगरपालिका, वडा नम्बर ३, जलढुङ्गा मार्गमा बस्दै आउँनु भएको छ । वहाँले हङ्गकङ्ग थाइलैण्ड, भारत र दक्षिण कोरिया आदि देशहरु भ्रमण गरिसक्नु भएको छ । हाल स्पार्क हाइड्रोइलेक्टि्रक कम्पनी लिमिटेड, नेपाल - अध्यक्ष तथा प्रबन्ध सञ्चालक,हिल्सडेल ग्रुप इन्कर्पोरेसन, अमेरिका - एशिया क्षेत्रिय निर्देशक,कञ्चनजङ्गा इनर्जी डेभलपर्स कं. प्रा. लि., नेपाल - अध्यक्ष फेडेरेसन इनर्जी डेभलपर्स, नेपाल - संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । यसको अलवा शिक्षक पेशामा आठ वर्ष झण्डै एक दशक होटल, रेष्टुरेण्ट,ट्रेकिङ्ग र ब्यापार ब्यावसाय सञ्चालन गर्नु भएको थियो ।लामो समयसम्म वाम राजनीतिक कार्यकर्ताको रुपमा काम गरी विक्रम सम्वत २०४८ को आम चुनावमा सुनसरी जिल्लाको चुनाव क्षेत्र नम्बर १ मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाबाट प्रतिनिधिसभाको सदस्यको चुनावमा भाग लिर्इ तेस्रो स्थान समेत प्राप्त गर्नु भएको थियो । उनै गर्व गर्न लायक नायक भानेन्द्रकुमार सम्वाहाम्फेसँग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको समक्ष प्रस्तुत गरिएको छ ।

१.हाल तपाई केमा व्यस्त रहनुभएको छ ? र दिनचर्यालाई बढी कुन काममा लगानी गर्दै हुनुहुन्छ ?
टंकजी, निजीक्षेत्रको जलविद्युत व्यवसायी भएको हुँदा म आफ्नो व्यवसायमा नै व्यस्त छु । आफ्नो व्यवसायलाई कसरी राम्रोसंग चलाउन सकिन्छ भनेर बढी समय मैंले आफूले प्राप्त गरेको आयोजनामा लगाउने गरेको छु ।

२.नेपालको परिवर्तित वर्तमान राजनैतिक परिस्थितिलाई कसरी मुल्याङ्कन गर्दै हुनुहुन्छ ? के यहि राजनैतिक परिस्थितिले नयाँ संविधान लेखनलाई प्रभावित पार्दैन ?
नेपालमा जे भइरहेको छ त्यो नेपाल र नेपाली जनताको लागि दुर्भाग्यको कुरा हो । वर्तमानमा घटित घटनाले नेपालको सार्वभौमसत्ता जनतामा नभई अझैं पनि सामन्त र तिनका दलाल्कै हातमा रहेको स्पष्ट्याएको छ । यो ज्यादै आपत्तिजनक कुरा हो । वैदेशिक चलखेलले त नेपालको स्वतन्त्र र स्वाधिन छविमाथि धावा बोलेको छ । यसको मतलब नेपालको राष्ट्रियता खतरामा छ भनेर बुझन गाह्रो छैन । टंकजी, नेपालमा लेण्डुप दोर्जेका अवतारहरुले जन्म लिन प्रयास गरिरहेका छन् । हुन त पहिले देखि नै कोशिश नगरेका पनि होइनन् तर यस पटक भने तिनीहरु तुलनात्मकरुपमा बढी नै शसक्त छन् । देश गम्भीर संकटमा छ । राष्ट्रलाई माया गर्ने नेपाल आमाका सपूतहरुको दह्रो उपस्थिति र सक्रियता अपरिहार्य भएको छ । वर्तमानको राजनीतिक अन्यौलले संविधान लेखनलाई जरुर प्रभावित पार्दछ । यस्तो अवस्थामा जनताप्रति समर्पित संविधान लेखिइनसक्ने सम्भावना छैन ।

३.नेपालको ऐतिहासीक परिवर्तनले नेपाली जनताहरु जति खुशी थिए अहिले आएर त्यो खुशी धेरै हद सम्म हराएर गएको छ त्यसैले अव हामी जस्तो निम्नस्तरीय जनताले यो देशको लागि कस्तो प्रकारको भूमिका खेल्न सकिन्छ होला ?
हो टंकजी, तपाईंको भनाइसंग म सहमत छु । परिस्थितिले त्यस्तै देखाएको छ । राजनीतिक पार्टी र तिनका नेतृत्वमा राष्ट्र र मातृभूम्रि्रतिको जिम्मेवारी बोध भएको पाइएको छैन । यसोभन्दा सबै पार्टी र तिनका नेतृत्व त्यस्ता छन् भन्न खोजिएका होइन तर राष्ट्र र मातृभूमि प्र ति इमान्दार पार्टी र नेताको संख्या ज्यादै थोरै छ । यहाँ त देशलाई बन्धकी राखेर भए पनि आलिशान घर अनि मन्त्री पद खान लालयित हुनेहरुकै संख्या अधिक छ । यस्तो विषम परिस्थितिमा तपाईं हामी जस्ता जनताले लेण्डुप दोर्जे बन्न हतार गरिरहेका अधमहरुलाई ठीक लगाउनुपर्छ र प्राणभन्दा प्यारो मातृभूमिलाई सिक्किम बन्नबाट जोगाउनुपर्छ चाहे वलिदान दिनु किन नपरोस् नत्र हामी आफ्नै देशमा बन्धक बनाइनेछौं र पराधिनतामा बाँच्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुनेछ ।

४.तपाई लिम्बुवान क्षेत्रमा पर्ने तमोर मेवा हाईड्रो इलेक्ट्रिक पावर योजनासँग सम्वद्ध ब्यक्ति हुनुहुन्छ त्यसैले यसको उदेश्य र फाईदा वारे छोटकरी वताईदिनु हुन्छ कि ?

हो टंकजी, म तमोर-मेवा जलविद्युत आयोजना अर्थात् तमोर-मेवा हाइड्रोइलेक्ट्रिक पावर प्रोजेक्टसंग सम्बन्धित छु । तमोर-मेवा मेवा जलविद्युत आयोजना विकास गर्नाको लागि इजाजतप्राप्त कम्पनीको नाम स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड हो । यो कम्पनी सार्वजनिक कम्पनी अर्थात् यो पब्लिक कम्पनी हो । यसमा इच्छा हुने जोकोहीले पनि शेयर किन्न सक्नेछन् । शेयर स्वदेशी र विदेशी एवम् विदेशमा बस्ने जोकोही नेपालीले आफूले आर्जन गरेको कमाइबाट चाहेको शेयर किन्न सक्नेछन् । म स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको संस्थापक अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुँ । वर्तमानमा पनि म यस कम्पनीको अध्यक्ष तथा प्रबन्ध सञ्चालक नै छु । यो आयोजना लिम्बुवान क्षेत्रमा पर्दछ । लिम्बुवानक्षेत्रको प्रमुख नदी तमोर र तमोरको सहायक नदी मेवा खोलामा यो आयोजना बनाइनेछ । तमोर नदीबाट ८३ मेगावाट र मेवा खोलाबाट १८ मेगावाट जलविद्युत शक्ति अर्थात् बिजुली निकालिनेछ । यसको लागत करिब १८ अरब अनुमान गरिएको छ । यस आयोजना विकास गर्न खोज्नुको उद्देश्य चाहीँ समग्र लिम्बुवानबासीलाई यस्ता खालका ठूला आयोजनाहरुमा सहभागिताको लागि अनुरोध गर्नु र समावेस गरी तिनको आर्थिक जीवनमा परिवर्तन ल्याई बिस्तारै पैसाको लागि विदेश पलायन हुनबाट रोक्ने भूमिका खेल्ने नै हो । यस आयोजनाबाट प्रत्यक्षरुपमा १५०० देखि २००० जनासम्मलाई रोजगारी दिन सकिनेछ भने अप्रत्यक्षरुपमा त ५००० बढीलाई स्वरोजगार उपलब्ध हुनसक्छ । यो आयोजनाको निर्माणबाट तमोर नदीमाथि पक्की पुल बन्नेछ जसको कारण तमोरपारिका गाउ विकास समितिहरुमा मोटर बाटो पुग्नेछ । मोटर बाटोको सहायताले त्यस क्षेत्रका सबै खाले फसल र उत्पादनले बजार पाउनेछन् । त्यस क्षेत्रमा विद्यालय, अस्पताल, खानेपानी, सञ्चार र बिजुलीको सुविधा उपलब्ध हुनेछ । गाउँमा नै सञ्चारको अत्याधुनिक इन्टरनेट सुविधा पग्नेछ । पर्यटकीय हिसाबले सम्पन्न लिम्बुवान क्षेत्रले पर्यटन व्यवसाय सञ्चालन गरी आफूलाई सम्पन्न र आत्मनिर्भर क्षेत्रको रुपमा प्रस्तुत् गर्न सक्नेछ । यस आयोजनाको सफल कार्यान्वयनका लागि अमेरिकी, रसियन, इन्डियन लगानीकर्ताहरुसंग साझेदारीको लागि सहमतिमा हस्ताक्षर भइसकेको छ । यस विषयमा बढी जानकारी लिन चाहनुहुन्छ भने tmpspark@wlink.com.npsparkhydro@gmail.com मा email गर्नुभएमा email मार्फत विस्तृत् जानकारी दिइनेछ ।

५. संघीय लिम्बुवान स्वायत राज्यको लागि अहिले लिम्बुवानका क्षेत्रिय लिम्बुवान पार्टीहरुले चर्को वहसको रुपमा राजनैतिक रुपले अगाडी बढार्इ रहेका छन् यस प्रति तपाई धारणा कस्तो छ ?
लिम्बुवान राज्य अर्थात् प्रदेश प्राप्तिका लागि त्यस क्षेत्रमा जेजस्ता क्रियाकलापहरु, बहसहरु र आन्दोलन भइरहेका छन् ती सकारात्मक नै छन् तर लिम्बुवान राज्य अर्थात् प्रदेश प्राप्तिका लागि लिम्बुवानसम्बद्ध पार्टी तथा नेताहरुमा जुन एकता र सहकार्य हुनुपर्ने हो त्यो भएको पाइदैन । यो दुखलाग्दो पक्ष हो । यहाँ पनि ब्राहृमणवादी नीति लिनेहरु सफल बन्दै गइरहेको आभास पाइन थालिइएको छ भन्दा फरक नपर्ला । मलाई लाग्छ ब्राहृमणवादी नीतिको सार नै "फुटाउ, जुदाउ र तिनमाथि शासन गर" भन्ने नै हो । वर्तमानमा लिम्बुवान चाहनेहरु यही रोगबाट अर्थात् भाइरसबाट नराम्ररी ग्रस्त छन् । "लिम्बुवान राज्य अर्थात् प्रदेश" हामी लिम्बूहरुको नैर्सर्गिक अधिकार हो । हामीले कुनै हालतमा पनि "लिम्बुवान राज्य अर्थात् प्रदेश" पाउनैपर्छ । यसको प्राप्तिको लागि हामीले सम्झौताहीन संघर्ष लड्नैपर्छ । "लिम्बुवान राज्य अर्थात् प्रदेश" भएनभने हामी लिम्बूहरुको अस्तित्व रहनेछैन । त्यसैले "लिम्बुवान राज्य अर्थात् प्रदेश" चाहने सबै लिम्बुवानबासी, पार्टी र संघसंस्थाहरु एकढिको भएर लागिपर्नुपर्छ ।

६.तपाई राम्रो साहित्य सर्जक पनि हुनुहुन्छ त्यसैले साहित्यका पाठकहरुका लागि कुनै कोसेली पस्कने योजना छ कि ? र साहित्यलाई हेर्ने तपाईको दृष्टिकोण के हो ?

टंकजी, राम्रो प्रसंग कोट्याउनु भयो । म त्यति राम्रो साहित्य सर्जक त होइन जस्तो लाग्छ तर आत्म सन्तुष्टिको लागि कहिलेकाहीँ लेख्नेगर्छु । चाँडै पाठकहरुसमक्ष मेरो साहित्य लेखनको कोसेली स्वरुप प्रथम कविता संग्रह '---' ल्याउने योजना गर्दैछु । 'साहित्य' जीवनको सकारात्मक विकासको लागि लेखिइनुपर्छ नकि कुनै आत्मरति र व्यक्तीगत अहंको प्रदशनार्थ । साहित्यले भत्केका जीवनका खण्डहरहरुलाई जीवन्त बनाउन सक्नुपर्छ । 'साहित्य' सुबोध्य र सरल अनि सरस पनि हुनुपर्छ । 'साहित्य' वृहत्तर जीवन र विकासको लागि सिर्जिनुपर्छ । समग्रमा 'साहित्य' जीवनको दिग्दर्शन बन्नसक्नुछ ।

७.तपाई त कोरीयन मुलको नागरिकसँग विवाह बन्धनमा वाँधिनु भएको छ त्यसैले वैदेशिक जीवन साथीसँगको जीवनयापनलाई कसरी अनुभव गर्दै हुनुहुन्छ ?र नयाँपुस्ताका युवायुवतिहरुलाई यस्तो सम्वन्ध वारे तपाईको कस्तो सुझाव के छ ?
हो मैले कोरियन नागरिकसंग विवाह गरेको छु । विदेशी जीवनसाथीसंग जीवनयापन गर्नु सहज नहुने त स्वभाविक कुरा नै हो । प्रथम समस्या त भाषाकै पर्छ । धेरै कुरा दुवैपक्षले इशारामा नै बुझनुपर्ने हुन्छ । यसो गर्दा कहिले उल्टोपाल्टो पर्न जान्छ जसले असमझदारी बढ्ने सम्भावना हुन्छ । जतिसुकै भने पनि स्वदेशी महिलासंग विवाह गरे जस्तो सहज त हुँदैन । अर्को समस्या भनेको सोच्ने स्तरमा फरक पर्नाले धेरै अप्ठ्यारो पर्छ । हामी नेपालीहरुको सोच्ने तौरतरिका अन्य देशका नागरिकको भन्दा धेरै फरक छ । फेरि समाजमा घुलमिल हुनलाई झनै समस्या पर्नजान्छ । परिणामतः बाध्य भएर अलग बस्नुपर्ने जस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ । केही समझदार विदेशी महिलासंग विवाह गरेको भए केही समयपछि सहज वातावरण बन्नसक्छ अन्यथा त्यस्तो वैवाहिक जीवनले चाँडै पारपाचुकेको अवस्थामा पुर्‍याउछ । यस्ता घटना प्रायः घटिरहन्छन् । म आफूले चाँही कतिपय अप्ठ्याराका बावजुद् पनि त्यस्तो स्थितिको सामना गर्नुपरेको छैन । त्यसैले यस्तो विवाह गर्नुअघि राम्ररी सोचविचार गरेर मात्र विदेशी महिलासंग वैवाहिक बन्धनमा बाँधिए पछि पछुताउनु पर्दैन भनेर नयाँ पुस्ता (जो जीवनयापनको सिलसिलामा विदेशमा जीवन गुजारा गरिरहनुभएको छ)लाई सुझाव दिन चाहन्छु ।

८. नेपाली समाजको लागि तपाई आफूलाई कसरी प्रस्तुत गर्न रुचाउँनु हुन्छ ? अथवा लेखक,उद्यमी वा राजनितिक आदिको दृष्टिकोणले हेरोस् जस्तो लाग्छ ?
पहिलो त म आफू नेपाली भएको नाताले नेपाल आमाको सपूतको रुपमा आफूलाई प्रस्तुत् गर्न चाहन्छु । मेरो शरिरभरी नेपाल आमाको माया र ममताबाट प्राप्त अन्नपानी भएकोले मेरी जननी जन्मभूमिको सेवक बन्न सकुँ र त्यस्को लागि आफूलाई खरोरुपमा उतार्न सकुँ भन्ने चाहँन्छु । मलाई समाजले कसरी हेरोस भन्दा पनि म समाजलाई कसरी हेर्छु त्यो महत्वपूर्ण जस्तो लाग्छ । म त समाजको एक सेवक मात्र हुँ । म सधैं समाजको विकास चाहन्छु । समाजको विकास भयोभने मात्र म विकसित र सभ्य सदस्य हुनेछु । समाजको सेवा गर्ने विभिन्न तरिका छन् । कसैले कलम चलाएर, कसैले उद्योगधन्दा चलाएर त कसैले अन्य कुनै न कुनै काम गरेर । म चाहीँ लेखक र उद्यमी बनेर देश र समाजको सेवा गर्न चाहन्छु ।

९.जीवनमा सवै भन्दा वढी के काम गरेर अघि बढूँ जस्तो लागेको छ ?

जीवनमा सबैभन्दा बढी देश र समाजको सेवा हुने खालका काम, उद्यम गरेर अघि बढुँ झैं लागेको छ । मेरो इच्छा नै बढीभन्दा नेपालीलाई कसरी उद्यमी बनाउन सकिन्छ भनेर कोशिश गर्नु हो । म यसका लागि निरन्तर लागिरहनेछु ।

१०.नेपालको सवैभन्दा शक्तिशाली ठाउँमा पुग्नु भएको भए नेपाललाई कस्तो बनाउँने योजना ल्याउँनु हुन्थ्यो होला ?
यदि म त्यस्तो ठाउँमा पुगेको भए नेपालीलाई रोजगार र जीवनयापनको लागि विदेश जानुपर्ने प्रथाको अन्त गर्ने उपाय खोजी नेपाललाई हरेक कुरामा आत्मनिर्भर राष्ट्र बनाउने योजना ल्याउने थिएँ । हामीसंग प्रसस्त स्रोत र साधन छन् तर तिनको सदुपयोग भइरहेको छैन । हाम्रा राजनीतिक नेता र विद्वानहरुमा राष्ट्रप्रतिको जिम्मेवारी बोध भएको देखिदैन । आफूले प्राप्त गरेको ज्ञान र अवसरलाई केवल व्यक्तिगत अहं बढाउने काममा मात्र प्रयोग भएको पाइन्छ जो नेपालको लागि दुर्भाग्यको कुरा हो भन्दा अतिशयोक्ति नहोला ।

११.तपाई नेपाली भाषाको लिम्बु सर्जक हुनुहुन्छ त्यसैले लिम्बु भाषा साहित्यको विकासको वारेमा के सोच्दै हुनुहुन्छ ?
लिम्बू भाषा र साहित्यको विकास कसरी गर्न सकिन्छ भनेर म हरपल सोचिरहेको छु । म आफू लिम्बू भएर पनि म शुद्ध लिम्बू भाषा बोल्न र लेख्न सक्दिन । यो मेरो ठूलो कम्जोरी हो । म २०४० सालसम्म शुद्ध लिम्बू भाषा बोल्दथेँ तर त्यसपछि भने मैंले जीवनयापनको क्रममा नेपाली र अंग्रेजी भाषालाई नै ज्यादा प्रयोग गर्नुपर्‍यो एकातिर भने आफ्नो गाउँठाउँ छोडेर तरार्इ झर्नुपर्‍यो जस्ले गर्दा लिम्बूभाषा प्रयोगमा आएन । परिणामतः भाषा बिर्सिदैगइयो र आज पछुताउनु परिरहेछ तर म फेरि लिम्बूभाषाको अध्ययन गर्ने योजना बनाउदै छु । त्यसो त शतप्रतिशत् भाषा बिर्सिएको चाहीँ होइन । औपचारिकरुपमा नै विज्ञहरुबाट लिम्बूभाषा सिकेर लिम्बूभाषा र साहित्यको विकासमा आफूलाई समाहित गर्ने सोँचमा छु ।

१२.अहिले सम्मको जीवन भोगाईमा कुनै अविस्मरणिय क्षणहरुले छोएका छन् कि कृपया बताई दिनु हुन्छ कि ?
जरुर टंकजी, अनगिन्ती छन् । त्यसमध्ये मैंले पढ्न थालेको र स्कूलमा प्रवेश परीक्षा दिएको क्षण चाहीँ सधैं सम्झन लायकको छ । म पहाडबाट २०२९ सालतिर झापाको कमलझोडा भन्ने ठाउँमा बाउआमासंगै बसाइँ झरें । त्यत्तिखेर मेरो उमेर त्यस्तै १० वर्षको हुनुपर्छ । कमलझोडामा २ वर्षति बसेर हामी सपरिवार मामाघर भएको झापाको गौरादह बसाइँ सर्‍यौं । मेरो काम भनेको गाईबस्तु चराउने र खेतमा जोत्ने थियो । त्यत्तिबेलासम्म मैंले औपचारिक शिक्षा शुरु गरेको थिएन । मतलब मलाई पढ्न लेख्न आउदैनथ्यो । छिमेकीका छोरीहरु नाताले मित मामाका छोरी बहिनीहरु थिए, उनीहरु स्कूल पढ्दथे । स्कूल छुट्टी भएको दिन उनीहरु पनि गाईबस्तु चराउथे । तिनताका गोठालामा गुच्चा र खोप्पी खेल्ने चलन थियो । म गुच्चा र खोप्पी खेल्ने काममा चैम्पियन थिएँ । हामी सबै मिलेर गुच्चा र खोप्पी खेल्थ्यौं । एकदिन पैसा र गुच्चा सबै मैंले जितें र सानले बहादुरी देखाएँ जो बहिनीहरुलाई पचेन । आखिरमा हामी बीच भनाभन भयो, कुटाकुटसमेत भयो । मैंले तिनीहरुलाई पिटें किनकि तिनीहरुले मलाई "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भने जो मलाई सहृय भएन । परिणामतः मैंले बेलुकी घरमा नराम्ररी सजाय भोग्नुपर्‍यो । झगडाको कारण बताउदा मैंले "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भनेकाले रिस उठ्यो अनि पिटें भनें । उनीहरुका मामा चाहीँ मास्टर हुनुहुन्थ्यो । सजाय पनि उहाँले नै दिनुभएको थियो । मेरो कुरा सुनेपछि उहाँले तँ पढ्छस् त ? भनेर सोध्नुभयो र मैंले पनि पढ्ने चाहना बताएँ । उहाँले नै मलाई उमेर १२ वर्षभइसक्यो, सानो कक्षामा पढेर काम छैन भनेर एकैचोटी ४ कक्षामा भर्ना लिनुपर्छ भन्नुभयो तर मलाई क, ख, ग जस्ता सावाँ अक्षर पनि आउदैनथियो झन् अंक आउने त कुरै भएन । भोलिपल्ट हामी स्कूल गयौं र मेरो प्रवेश परीक्षा लिइयो । मलाई प्रश्नको रुपमा क देखि ङ सम्म र ११११ मा ११११ जोड्न दिइयो जो मेरो बसको कुरै थिएन । घण्टौं बित्दा पनि मबाट सम्भव नभएपछि उनै सरले पियनलाई पानी पठाएर लेखिदिन भन्नुभएछ र पियनले मलाई त्यसै भनेर आफैले लेखिदियो अनि मैंले बुझाएँ । पास पनि भएँ । त्यसपछिका दिन मेरा लागि फलाम चपाएभन्दा पनि साह्रा भए । मैंले साह्रै मिहेनत गर्नुपर्‍यो तर मैंले मनमा र्इख लिएर रातभर सस्वर पढ्न थालें । त्यसै वर्षको वार्षिक परीक्षामा कक्षामा दोस्रो भएँ । त्यसपछिका वर्षहरुमा म सधैं कक्षामा मात्र नभई होलस्कूल फस्ट हुनथालें र हाइस्कूलसम्मको पढाइको मैंले फिस् तिर्नु परेन, जेहेन्दार छात्रवृति पाउदथेँ । त्यसैले "कालो अक्षर भैंसी बराबर के फुटानी लडाउछस्" भन्ने होच्याइपूर्ण भनाई र स्कूलको भर्नासंग सम्बन्धित घटना मेरा लागि सम्झन लायक अर्थात् अविस्मरणीय क्षणहरु हुन् ।

१३. लिम्बुवान ब्लगमार्फत संसार भर छरिएर रहनुभएका पाठकहरुलाई केहि शन्देश दिन चाहनु हुन्छ कि ?
सर्वप्रथम त लिम्बुवान ब्लगलाई विशेष धन्यबाद आफ्ना कुराहरु विश्वभर छरिएर रहनुभएका लिम्बू एवम् नेपालीहरुमा सम्प्रेशण गर्ने अवसर दिनुभएकोमा । बाध्यता र रहरले अथवा आवश्यकताले संसारका विभिन्न भागमा रहेर कार्यरत सम्पूर्ण नेपालीहरुमा मेरो न्यानो हार्दिक अभिवादन । "लिम्बुवान ब्लग" जो अहोरात्र नेपाली भाषा साहित्यको सेवामा लागिरहेको छ, यो ऐतिहासिक कदम पनि हो । यसले लिम्बुवान, नेपाल, नेपाली साहित्य र नेपालको ताजा खबर प्रसारण गरेर ज्यादै पूण्य कार्य गरेको छ जसको प्रसंसा नगरिरहन सकिदैन । तपाईहरु जहाँ भए पनि मातृभूमिलाई नबिर्सिनुहोस् । आ-आफ्ना अभीष्ट पूरा गरी आफ्नो मातृभूमि चाँडै फर्कनुहोस् । तपाईहरुको जन्मभूमिका डाडाकाँडा, पँधेरा-पाटी, द्यौराली-चौतारी तपाईहरुको शीघ्र र अर्थले पूर्ण आगमनको पर्खाइमा छन् । संसारमा आफू जन्मेको देशभन्दा ठूलो केही नहुँदोरहेछ । मलाई थाह भइसकेको छ । कुनै समय म पनि तपाईहरु जस्तै विदेशमा बाँचेको थिएँ । तपाई नेपालीहरु जहाँ भए पनि सुखी रहनुहोस्, यही मेरो शुभकामना !