Aug 4, 2011

साहित्यकार खगेन्द्र लिम्बुसंगको वार्ता

बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक - ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन - गायनमा निक्कै पहिले देखि नै लागि पर्नु भएको छ । हाल वहाँ बैङककमा बसेर अमूर्तवोधी दर्शन लेखनमा त्यतिक्कै ब्यस्त बन्नु भएको छ । लेखन,गायन र चित्रकारीता दिनचर्यासंग गाँसीएका बिषयवस्तु भएकाछन् साहित्यकार खगेन्द्र लिम्बुको । गेडी लेखनका प्रवर्तक समेत रहनु भएका साहित्यकार खगेन्द्र जीवन र जगतलार्इ अमूर्तरुपमा देख्नु हुन्छ । उनै बहुप्रतिभाशाली ब्यक्तित्वसंग टंक सम्वाहाम्फेले लिम्बुवान ब्लगस्पोट डटकमको लागि गर्नु भएको कुरानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।
१.बिदेशी भूमिको बसार्इमा पनि लेखन,गायन र कलालाई कसरी समयको तालमेल मिलाएर त्यसको निरन्तरता दिईरहनु भएको छ ?
मेरो विदेशको बसाई केवल सिर्जनाको निमित्त सापेक्ष र अनुकूलताको लागि नै मात्र योजनावद्ध गरिएको कारण सहज भैरहेकोछ l
२.अमूर्तबोधी कला र लेखनमा होमीनु भएको छ यत्तातिर लागेर कतिको यो लेखन र कलाको विकास भए जस्तो लाग्छ ?
मैले जे-जति सिर्जना गरेकोछु अर्थात् जीवन र जगतलाई भोगे-देखे-बुझेकोछु त्यो अमूर्तबोधताबाट मात्र सम्भव थियो । त्यसोर मेरो सिर्जनशीलता मात्र अमूर्तबोधी दर्शनाधारित छैन, मैले भोग्ने जीवन नै यसैभित्र चलखेल गर्छ । जीवन सधैं प्रगतिशील,उन्मुक्तमुखी र बिकासमार्गी हुन्छ यी सप्पैको फाइदा म उठाईरहेछु ।
३.अमूर्तबोधी कला र लेखन नै रोज्नुको कारण र उदेश्य के हो ?
यो प्रश्नको जवाफमा प्रथमत: अमूर्तबोधी दर्शनको बारेमा केहि बुझ्न जरुरी छ । यसका केहि बुँदाहरु मात्र टिपोट गर्न चाहन्छु यहाँ -
क.अमूर्तबोधी दर्शन -हरेक मूर्त-अमूर्त तत्व-वस्तुहरुको अमूर्तसत्यहरुलाई बोध गर्न-गराउन प्रेरित गराउने दर्शन(जीवन-जगतलाई हेर्ने-बुझ्ने शैली)
ख.कुरूप सौन्दर्य मीमांसा-हरेक तत्व-वस्तुहरुमा बाह्य-आन्तरिक सौन्दर्य हुन्छ कुरूप तत्व-वस्तुहरुको सौन्दर्यभित्र र दिर्घकालिन सौन्दर्य रहन्छ ( महत्व,चरित्र,प्रवृत्ति,प्रकृति आदिबाट सौन्दर्यको मापन हुन्छ )कुरूप् तत्व-वस्तुको गौण सौन्दर्यलाई प्राप्त गर्नु
ग.दुरुहमार्गी चिन्तन -हरेक असहज यात्राबाट सहज गन्तब्यमा पुग्नु, हरेक अप्ठेराबाट जीवन र जगतलाई सुगममय भेट्नु ।
ग. सदुपयोगिताको सिद्धान्त -हरेक कुरालाई उचित ठाउँमा सदुपयोग गरेर त्यसको महत्व र अस्तित्वलाई उच्चरुपमा भेट्नू ।
घ. पागलवाद-निर्बांध-निडर, असाधारण र सत्यवादी हुनू ।
ङ. स्वसत्त्वबोध-आफ्नो अस्तित्वको महत्वलाई आत्मविश्वासमा सुरक्षित भेट्नू-बुझ्नू ।
च. अभ्यासात्मक प्रगतिशीलता -निस्सीम परिकल्पनालाई सिर्जना, प्रतिपादन र प्रतिप्रयोगमा स्थापित भेट्नू ।
छ. स्वकीय मन्जुरी-दबाबहीन स्वमुक्तिले परघातबिहिन स्वकीयताको फैसल्ला गर्नू ।
ज. गन्तव्यको फैसल्ला -अन्तिमसत्य जीवन-जगतको दिर्घकालिन मंगलमय निजत्व आदि ।
४.नेपाली साहित्यको बिकासमा डायस्पोरा नेपाली साहित्यकारहरुले कतिको सकरात्मक भूमिका खेले जस्तो लाग्छ ?
ग्लोबल विलेजको जमानामा संसारका कुनै पनि एक कुनाको असर अर्को कुनै पनि कुनामा तत्काल प्रभाव पर्न सक्छ र नेपाल केवल नेपाल मात्र हो ठान्नु गलत हुन्छ । अझै नेपालमा मुट्ठीवाद संकार छँदैछ । अझ धेरै नेपाली लेखकहरु केन्द्रिकृत मानसिकताले रोगी छन राजधानीलाई संसार भनेर बसेकाछन् । विश्व/परिवर्तन, चेतना,विकास, प्रगतिहरु डायस्फोरिक लेखकहरुले भित्र्याईरहेकाछन् जो अत्य्वास्यक छ । जसले नेपाली चेतनालाई विश्वस्तरमा तादम्यता मिलाउन सकारात्मक भूमिका खेलेकोछ/खेल्नेछ ।
५.नेपाली साहित्यमा योगदान दिने नेपाली डायस्पोरा लेखकहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको स्थान पाउँन जरुरी देख्नु हुन्छ कि हुन्न ? र नेपाली डायस्पोरा लेखकहरुलाई नेपाल सरकारले कतिको सम्बोधन गरे जस्तो लाग्छ ?
नेपालमा बसेर लेख्ने केहि गुटहरुले त डायस्फोराका लेखकलाई साहित्यकारको सूची मै गन्दैनन । राष्ट्रले के सम्बोधन गरोस । जसले नेपाली साहित्यलाई सेवा-टेवा-मेवा दिन सक्छ, उसलाई प्रज्ञाप्रतिष्ठानले स्थान दिनुपर्दछ । प्रज्ञाप्रतिष्ठान हामी सबै नेपालीको हो । लेखक र सर्जकको बसाईको भौगोलिक विभिन्नताले उसलाई निर्णय गर्नु अन्याय हुन्छ । यसको अर्थ यो होइन कि अबैधानिक नेपालीले प्रज्ञाप्रतिष्ठानको जागिर खान पाउनु पर्दछ । र अर्को कुरा त्यहाँ आसिन भएर मात्र साहित्यको सेवा गर्न सकिन्छ भन्ने ग्रस्त मनस्थितिमा सर्जक बस्नु हुन्न भन्ने मेरो आग्रह । बैरागी काईंला पनि हिजो बेदेश नै बसेर लेख्ने कवि हुन् । भारतमा बसेर लेखेका उनका साहित्यले नै उनलाई प्रज्ञाप्रतिष्ठानको जिम्मेवार नाइके हुन पर्याप्त आधार दियो । अरुले किन नपाउने ?
६.तपाई आफै लिम्बु जातिको नेपाली भाषाको लेखक तर तपाईलाई आफ्नो लिम्बु मातृभाषा साहित्यमा अमूर्तबोधी साहित्य लेखनलाई प्रस्तुत गर्न मन लाग्दैन ?
आफ्नो मातृभाषा,संस्कृति,धर्म आदि सबैको नश्लको रुपमा स्थापित भैसकेको हुनाले यो प्रश्नै हुँदैन कि कुनै लिम्बूलाई आफ्नो लिम्बू भाषा-संस्कृतिलाई प्रेम छ ? यसरी अमूर्तबोधी दर्शनले नश्लीय अस्तित्व र अधिकारलाई सम्मान गर्न अभिप्रेरित गर्दछ । तसर्थ: कुनै पनि जनजाती आदिबासीहरुलाई झैं लिम्बूहरुको अस्तित्वमा पनि अमूर्तबोधी दर्शनले बराबर चासो लिन्छ । मैले लिम्बू संस्कृतिका लोकसंस्कृति/कला र साहित्यलाई यसै अर्थमा नेपाली राष्ट्रियधारमा उभ्याउने कोशिस गरेकोथिएँ/छु ।
७.नेपाली भाषाको लोकगीत संकलक र गायक पनि हुनुहुन्छ के यी भाषाका गीतहरु मात्र गाएर आफ्नो जातिको भाषालाई न्याय गरे जस्तो लाग्छ ?
लिम्बू लोकसंगीत/कला/साहित्य तथा अन्य समाज,जाति,धर्म,संस्कारका लोक साहित्य/कलालाई राष्ट्रियधारमा लगेर स्थापना गर्न मैले कोशिस गरेको हुँ Netive and Mother Language मै गाउने-लेख्नेहरु त अरु पनि छन् नि । सबैले आफ्नो ठाउँमा बसेर सदुपयोगीताको सिद्धान्तमा काम गर्ने हो ।
८.तपाईले संकलन र गायन गर्नु भएको लोकगीतको संग्रह कति प्रकाशीत भैसकेका छन् होला ? र नयाँ आउँने संग्रहहरु पनि छन् कि ?
संख्या एति नै हो भन्ने यकिन छैन । अनुमानमा ६० जति संकलित र आफुले गएका २० जति होलान, संकलन गरेर रेकर्ड गर्न बाँकी लोकगीतहरु मसंगैछन् ।
९.अमूर्तबोधी साहित्यकार र सर्वसाधारण मानिसमा के फरक हुन्छ ? र अमूर्तबोधी नभएका लेखक र अमूर्तबोधी भएका लेखकमा के अन्तर पाउँनु हुन्छ ?
मैले व्याख्या गरेको अमूर्तबोधी दर्शनमा जे फरक हुन्छ, त्यहि नै फरक हो । त्यो माथिको बुँदामा अरुले आफ्नो दर्शन उभ्याएर बिचार्नू ।
१०.तपाईको हालसम्म प्रकाशित कुन कुन बिधाका पुस्तक के कति छन् ? र प्रकाशोन्मुख के कति छन् ?
उहिल्यै टिनेजमा २ वटा संयुक्त कविता संग्रह निस्किएकाछन् तिनलाई म कृतिको रुपमा मान्दिन मसंग अहिले विभिन्न विधाका ६ वटा पाण्डुलिपी छन् (Abstract Bangkok)-प्रयोग,दर्शन र जीवनीमा आधारित उपन्यास प्रकाशनको तयारीमा जुटेकोछ ।
११.तपाई चेताशील लिम्बु भएको हैसियतले अहिले संघीय लिम्बुवानको कुरा उठि रहेको छ नेपालमा त्यस बारेमा के धारणा राख्नु हुन्छ ? संघीय लिम्बुवानको आवश्यकता छ कि छैन होला ?
नेपालको परिप्रेक्षमा 'विघटन' सुगठनको सापेक्षमा सन्तुलित देखिंदैन । एकातिर लिम्बू तथा अन्य जातजाति आदिवासीमा 'स्वसत्त्वबोध' हुन जरुरी छ । 'दुरुहमार्गी चिन्तन' अवलम्बन गरेर राष्ट्रको निमित्त 'सदुपयोगिताको सिद्धान्त'मा उभिनु पर्दछ । राष्ट्रले पनि कुरूप सौन्दर्य मीमांसा अन्तर्गत असल निर्णय लिएर सबै नेपालीहरुलाई समान सम्मान र सम्बोधन गर्न जरुरी छ । अन्यथा दुर्घटना दोहोरिरहन्छ ।
१२.तपाई एउटा लेखक भएकोले वर्तमान नेपालको राजनितिलाई कसरी मध्यनजर साथै बिश्लेषण गरी रहनुभएको छ ?
नेपालको 'राजनीति' जननीति हुन सकेकोछैन । एउटा कथित दरबार ढलेर अकथित नगन्य दरबार,सामन्त,शोषक-शासकहरुको मनोमानी हाबी बढेकोछ । 'जनशक्तिको कोल्याप्स'लाई मौकाको फाइदामा राखेर विस्तारवादका भरौटेहरु अत्तिवादी-मुट्ठीवादी-एकाधिकारवादी भएर उदाएकाछन् 'विगठन'लाई सुत्र बनाएर यिनीहरु बलिया हुँदैछन् ।'फुटमा लुट' चलिरहेको अवस्था नबुझेसम्म नेपालीहरुको उन्मुक्ति सम्भव छैन । त्यसो र सांस्कृतिक चेतनाको विकासले मात्र यिनीहरुको सूत्रलाई निराकरण गर्दछ । सामान्य भाषामा भन्ने हो भने 'छिमेकीको घर जल्दा आफ्नो घर सुरक्षित रहन्छ' भन्ने भ्रमबाट मुक्ति लिनु आधुनिक नेपालको उन्मुक्तिको पहिलो कदम हुनेछ ।'एकता' -जनता हो, जनता नै देशका निर्णायक हुनु पर्दछ । नेताहरु जनताको आदेश पालक र भरौटे हुनुपर्दछ । स्वावलम्बनको निर्णयलाई लागु गरेर जनशक्तिको कोल्याप्सलाई निमिट्यान्न गर्नुपर्दछ । अन्यथा,ईतिहाँसमै अनुकूलताको सिद्धान्तमा चुकेर नेपाल र नेपाली दुर्लभ हुनेछ ।
१३.जीवन के हो ? तपाईको अमूर्तबोधी लेखनले जीवनलाई कसरी समेट्दछ त ?
'जीवन' माथि टिपोट भएका अमूर्तबोधी दर्शनका बुँदाहरुको अनुसासित संस्कार हो यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु ।'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।
१४.अमूर्तबोधी दर्शन कस्तो प्रकारको दर्शन हो ? यो दर्शनको शुरुआत र प्रयोग कसरी भैरहेको छ होला ?
यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु । 'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।
१५.गेडी लेखनको शुरुआत कहाँ,कस्ले र कहिले देखि भएको हो ? यसको विस्तार कसरी भैरहेको छ ?
गेडी लेखन मैले सुरुवात गरेकोहुँ । नेपाली साहित्य-साहित्यकार विभिन्न आगन्तुक विधाका अंगसंगति नबुझेर मरिररहेको अवस्थामा स्वसत्त्वबोधको बुँदाले नेपाली अस्तित्वमा नेपाली नश्लमा यसको जन्म भयो । यसको प्रवर्तन भयो २०१० अप्रिल १० मा यसको सार्बजनिक भयो । विश्वभर रहेका नेपालीहरुले यो विधामा स/प्रेम/गर्ब सिर्जना गरिरहेकाछन् । यो खुशीको कुरा हो । यसको बारेमा लामो लेख म उपलब्ध गराउनेछु । गेडी साधक टेकेन्द्र अधिकारीले यो विधाको सङ्ग्रह निकाल्दै छन् । अर्का गेडी साधक बिष्णुनन्द चामलिंगको गेडी संगीतकार दिनेश सुब्बाले संगीत गरेकाछन् । अब यो लिखत,गायन र श्रब्य भएर आउन थालेकोछ । यसलाई नेपालको मौलिक विधाको रुपमा दर्ता र सम्मान गर्न सम्बन्धित क्षेत्रका आधिकारिक,बौद्धिक र प्राज्ञ सबैलाई हामी हार्दिक अनुरोध गर्दछौं ।
१६.तपाईले जीवनमा भोग्नु भएको त्यस्तो अविस्मरणीय घट्नाहरु छन् कि ?
जीवनका हरेक घटना-परिघटना अविस्मरणीय लाग्छन ।
१७.जीवनमा सबै भन्दा बढी गरु लाग्ने र नगरी छाड्दिन भन्ने केहि कामहरु छन् कि ?
.सदुपयोगिताको सिद्धान्तमा आफुलाई सिर्जनशील र गतिशील राख्ने आफ्नो जीवनसँग सम्झौता भएकोछ । नेपाली चेतना परिवर्तन गर्दै नेपाली राजनीतिलाई सफा र सुकर्ममा लान तथा अनाथ असहायहरूको निमित्त काम गर्न पाउँदा भने व्यक्तिगत रुपमा खुशी हुनेछु भन्ने लाग्छ ।
१८.अवको नेपाली साहित्य लेखनले कस्तो र कतातिर मोडिन जरुर देख्नु हुन्छ ?
अमूर्तबोधी दर्शनमा भेट भएर हिजोका रुन्चे-पिन्चे लेखन,विलाप-विवशता र लाचारी प्रस्तुति,रोष-दोषको आक्षेप प्रवृत्ति, गुनासो-बिलौनाको आत्म लघुताभाष,रुखो नारावादी अकलात्मक प्रस्तुति,केवल बयान, हरिया डाँडाका गीत लिला-रसरंगको बुर्जुवा लेखन, हजुरिया र ढोग-पत्र लेखन,आत्मचर्चामुखी 'वाद' फेशन सप्पैलाई संसोधन र निराकरण गरेर जीवन र जगतको उन्मुक्तिमा कला सौन्दर्य र दर्शन सौन्दर्यको विशिष्ट भेटमा साहित्य पुग्नु पर्दछ ।
१९.नेपाली समाजमा तपाई आफूलाई कुन रुपले स्थापित गराउँन चाहनुहुन्छ ? र किन ?
एउटा सामाजिक स्वयम्सेवक ! समाज विकासक !
२०.लिम्बुवान ब्लगस्पोट डटकम मार्फत विश्वभरी छरिएर रहनु भएका पाठकहरुलाई केहि शन्देश दिन चाहनु हुन्छ कि ?
'स्वसत्त्वबोध'ले अमूर्तबोधी दर्शनलाई भेट्नू ! त्यसरी नै जगतको निमित्त जीवनलाई र जीवनको निमित्त जगतलाई माया गर्नू !