Apr 17, 2008

दिनेश सुब्बा

बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको जन्म दार्जिलिङमा भएको हो । वहाँको पूर्ख्यौली घर भने पाँचथरमा हो । स्नातक पूरा गरेका दिनेश सुब्बाले संगीतमा संगीत विशारद र बी म्यूजिक पुरा गरेका हुन् । हङकङ आउनु भन्दा अगाडि निशाद एल्बम निकाली सक्नु भएका संगीतकार विदेशमा बसेर पनि मनोभाव गीतिसंग्रह केही वर्ष अगाडि प्रकाशन गर्नु भएको छ । विगत १२ वर्ष देखि निरन्तर हङकङमा सपरिवार बसोवास गर्दै आउनु भएको छ । विदेशमा बसेर पनि नेपाली सुगमसंगीतको लागि डटी रहनु भएको छ । त्यहि संगीतलाई हङकङवासी नेपालीहरुमा वृद्धि गराउन हिमालय टोन्स म्यूजिक एकेडेमी खोलेर निरन्तर संगीत सेवा गरिरहनु भएको छ । उनै बरिष्ठ संगीतकार दिनेश सुब्बासंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फे संग गरिएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
१.तपाई हाल हङकङमा के गर्दै हुनुहुन्छ ? र हङकङ जस्तो व्यस्त ठाउमा व्यवहारीक जिवनसंग गीतसंगीत कर्मलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
संगीतप्रेमी नेपालीहरुका लागि आफ्नो मौलीक कला संस्कृति सिकाउन हिमालयन टोन्स म्युजिम एकेडेमी नामक संगीत प्रशिक्षण केन्द्र हङकङमा चलाएर वसेको छु । राम्रै तालमेल मिली नै राखेको छ ।

२.हालसालै तपाईले हङकङमा दिनेश सुब्बा एकल साझ सम्पन्न गर्नु भयो यसरी एकल साझ सम्पन्न गर्दा कस्तो अनुभूति प्राप्त गर्नु भयो ?
मेरो यो प्रथम एकल साझ त्यो पनि विदेशी भूमिमा हुदा मलाई नै अनौठो लागि रहेको छ । मैले यसरी ठुलो सफलताका साथ होला भन्ने सोचेको थिईन । सम्पूर्ण हङकङवासी गीतसंगीतप्रेमी नेपालीहरु प्रति आभारी छु ।

३.हङकङमा गीतसंगीतको अवस्था कस्तो प्रकारको छ ? र यसलाई कसरी हेरीरहनु भएको छ ?
यहा रहर गर्नेहरु धेरै छन् । तर डटेर लाग्ने थोरै छन् । संगीत साहित्यको लागि घर र समाजको वातावरणले पनि पारेको हुन्छ । हामी नेपाली समुदायमा सानै देखि सिकेर,जानेर अघि वढ्नु पर्दछ भन्ने सोच विकसित हुन सकि राखेको छैन तर त्यो सोच हङकङवासी नेपालीहरुमा पनि हुन नितान्तै आवश्यक छ । हङकङमा चाइनिज समुदायमा संगीत पनि शिक्षा जस्तै पढेर सिकेर जान्नु पर्छ भन्ने गुणहरु हामी सवै नेपालीले अनुकरण गर्नु अति नै आवश्यक छ ।

४.तपाई गीत संगीत र गायन साथै वाद्यवादन संयोजन समेत गर्नुहुन्छ त्यसैले यो पेशाको रुपमा भैरहेको छ कि छैन होला ?
मैले पेशा भन्दा पनि नेपाली समाजलाई संगीतको पारी तर्ने साघुको ब्रिजको काम गर्न चाहेको हो । तर यसो भन्दैमा हङकङ जस्तो ठाउमा आफुलाई केहि नभई समाज सेवामा लाग्न सकिन्न । समग्रमा भन्दा यो पेशा प्रति सन्तोष नै छु ।

५.तपाई गीतसंगीत र गायन क्षेत्रमा कसैसगं प्रभावित भएर लाग्नु हो कि ?
गीत संगीतमा प्रभावित भएर लागेको भन्दा पनि यो मेरो जन्मसिद्ध पाईलेको विधा होला भन्छु । किनकी सानै देखि म मा गीतसंगीतको लक्षणहरु देखा परेका थिए । जस्तै गाउनु बजाउनु भने पछि सानै देखि ललायित हुन्थे ।

६.समग्रमा नेपाली गीतसंगीतको अवस्थालाई कसरी हेरी रहनु भएको छ - यसको विकासको लागि तपाईले केहि पूर्वाधारहरु सोच्नु भएको छ कि ?
नेपाली संगीत सतहिरुपले हेर्दा राम्रो जस्तो देखिए पनि गहिर्राईमा विचलित अवस्थामा छ । यस्तो अवस्थावाट गुज्रिनु सरकार,कलाकार,मिडिया र बजार ब्यवस्थापक सवैको तालमेल चाहिन्छ । अव आशा लाग्दा दिनहरु आउदैछन् हेरौ । आशावादी हौ ।

७.गीतसंगीत तथा गायन क्षेत्रमा लाग्न चाहाने नया कलाकारहरुलाई तपाई कस्तो प्रकारको सुझाव दिन चाहानु हुन्छ ?
मेरो सुझाव भनेको कलाकारितामा इमान्दारीताको नितान्तै आवश्यकता पर्दछ । त्यस पाश्चात अध्यायन,अभ्यास,त्याग र धैर्यता चाहिन्छ ।

८.हाल सम्म तपाईले कति गीत संगीत र आफ्नो आवाजमा स्वराङ्कन गरी सक्नु भएको छ ? साथै कतिवटा संग्रहहरु प्रकाशित गरी सक्नु भएको छ ? कुनै नया संग्रहको तयारीमा हुनुहुन्छ कि ?
खासै तथ्याङ्क थाहा नभए पनि २ सय जतिमा संगीत भरी सकेको हुला र ५० वटा जतिमा स्वर दिइसकेको छु । निषाद र मनोभाव मैले संगीत दिएका गीतिसंग्रहहरु हुन् । चाडै नै आफ्नै स्वरमा एउटा एल्वम निकाल्ने सोचमा छु ।

९.लिम्वू कलाकार भएको हैसियतले तपाईको लिम्वूवान प्रतिको धारणा कस्तो छ ?
जन चाहाना र प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार सवै जात,वर्ग,धर्मले समान अवसर पाउनु पर्ने अवको समय हो । लिम्वू जाति धर्म संस्कृति भाषा समान अवसरको खातिर लागेका कुनै पनि विचार सित म सहमत छु ।

१०.गीतसंगीत तथा गायनमा यहा सम्मको सफलता पाउनमा ककस्को हात वढी छ होला जस्तो लाग्छ वा ककस्लाई वढी स्मरण गर्न चाहानु हुन्छ ?
मैले गीतसंगीत र गायन क्षेत्रमा यहा यात्रा तय गर्नुको पछाडी मेरो आफ्नो मेहनत,अध्यायन,लगनशीलता र इमान्दारीता हो । म मेरा अग्रज गुरुहरु जसवाट मैले गीतसंगीत सिके र मेरो परीवारहरुलाई जस्ले मलाई निरन्तर गीतसंगीतमा लाग्न हौसला प्रदान गर्नुभयो यति वेला वहाहरुलाई आत्मै देखि स्मरण गर्न चाहान्छु ।

११.यस क्षेत्रमा लागेर तपाईले कस्तो महसुस गरीरहनु भएको छ ? र कहिले सम्म लाग्ने विचार गर्दै हुनुहुन्छ ?
गीतसंगीत र गायन नै मेरो लागि पाइलेको जीवन हो भन्छु । अव यो उमेरमा नया जागीर खाने कुरो पनि आएन । त्यसवाट व्यवसाय गर्ने मुटु छैन राजनिती गर्ने क्षमता छैन र संगीत नै अन्तिम सम्मको शाहारा ।

१२.लिम्वूवान व्लगस्पोट डटकम मार्फत संसारभर छरीएर रहनु भएका नेपाली गीतसंगीत तथा गायन प्रेमी तपाईका श्रोता वर्गहरुलाई केहि शन्देस दिन चाहानु हुन्छ कि ?
लिम्वूवानवासी तथा सम्पूर्ण नेपाली हरुलाई नया नेपालको लागि जुटौ भन्ने आहृवान गर्दछु । सायद भोलिका दिनहरु अवश्य पनि उज्वल होला । तसर्थ आआफ्नो भाषा संस्कृतिमा सवै नेपाली रमाउन सकौ ।

No comments: