Sep 16, 2008

डि.वि.पालुङवासँगको अन्तरवार्ता

मेरो आलाप गीति संग्रहमा मैले शब्दको सुन खारेको छु - डि.वि.पालुङवा

मेची अञ्चल ताप्लेजुङ जिल्ला अन्तर्गत फुङलिङ गा.वि.स.- २ मेदिवुङ जन्मनु भएका कवि तथा गीतकार श्री डि.वि. पालुङवा २०३७ साल देखि धरान नगर पालिका वडा नं.-१२ चतरालाईनमा स्थाई वासीन्दा वन्नु भएको हो ।वाल्यकाल देखि नै साहित्य लेखनमा आकर्षित हुनुहुन्थ्यो तर समयको संजोक नपरेर हो कि ? यौवन अवस्थामा कलमलाई त्यति दौडाउँनमा ध्यान दिनु भएन । हङकङ आई.डी.ले गर्दा हाल वहाँहङकङे नेपाली चाईनिज वन्नु भएको छ । त्यसो त हङकङ आउनु भन्दा अगाडी नै दक्षिण कोरीयाको अर्को वैदेशीक अनुभव पनि वहा संग सिङ्गै छ । यौवन अवस्था नाघेर ब्यवहारिक जिवन विताउँने वेलामा पालुङवा शसक्त कवि तथा गीतकार भएर नेपाली साहित्य लेखनमा हाम्फाल्नु भएको छ । हङकङको बाक्लो साहित्यिक कार्यक्रम र यहाको साहित्यिक वातावरणले गर्दा वहाको लेखनकलाले निक्कै छलाङ मारीसकेको छ । विशुद्घ साहित्यिक संस्था नेपाली साहित्य प्रतिष्ठान हङकङको क्रियाशील सदस्य हुनुहुन्छ । साथै जातिय संस्था किरात यक्थुङ चुम्लुङ हङकङ तथा लिम्वूवान राष्ट्रिय मोर्चामा समेत संलग्न हुनुहुन्छ । हालसालै आलाप नेपाली आधुनिक गीतसंग्रह हङकङबाट प्रकाशन गरे पछि वहा चर्चाको शिखरमा पुग्नु भएको छ उनै कवि तथा गीतकार डि.वि. पालुङवासंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१)हङकङको ब्यस्त दिनाचार्यसंग यो साहित्य लेखनको परिस्थिती कसरी समायोजन गरिरहनुभएको छ ?
हङकङको ब्यस्तदिनचार्य एकातिर छदैछ , तर पनि एउटा सचेत नागरिकले नगरि नहुने कर्महरु धेरै हुन्छन ।यी नगरिनहुने कर्महरु मध्ये मेरो बिशेष रुचीको बिषय नै साहित्य भएकोले म सिधै यतातिर तानिएको छु । र मलाई साहित्यले जागरुक र इमान्दार बनाएको छ । अत म यतैतिर प्रेरित भएर अति साँगुरो समयलाई अलिकति पनि खेर नफाली लेखन कार्यलाइ समायोजन गर्दै आएको छु ।
-
२)हालसालै तपाइले आफनो एकल गीत लेखनमा बिभिन्न गायक गायिका र संगीतकारहरुको संयोजन गरी आलाप नेपाली गीतीसंग्रह हङकङमा बिमोचन गर्नुभयो यसको बिक्री बितरण र प्रतिक्रिया कस्तो पाउदैहुनुहुन्छ ?
हेर्नोस टंक जी यो बिक्री बितरणको जुन सवाल छ,यो एकदमै जटिल कार्य हो । यसमा मलाइ भन्दा बढी तपाईलाई अनुभव छ,जो कोही पनि यस्ता सृजनाहरु झट्टै लिन हिचकाउछन् । तै पनि एउटा Relationship र Friendship भन्ने कुरा मुख्य बिषय हो जस्तो मलाई लाग्छ , अहिले सम्म जे जति बिक्री बितरण भईरहेछ येही Relationship र Friendship को सन्जाललाइ अघि बर्ढाईरहेछु । जे होस राम्रै गईरहेकोछ , र जे जति जांदैछन् सबैतिरबाट एकदमै राम्रो प्रतिक्रियाहरु आईरहेके छन् । धेरै जसो श्रोताहरुले मलाइ फोन गरेर कसैले इमेल गरेर पनि मेरो एलबम्को प्रसंसा गरीदिनु भएको छ । यो मेरो लागी खुसीको कुरा हो , जसले मलाइ थप उत्साहित बनाएको छ ।

३)गीत र कविता सक्रियरुपले हङकङमा वसेर लेख्दैहुनुहुन्छ यसरी लेख्नुमा कसैको प्रभाव त छैन ? र यसरी गीत र कविता लेख्दा तपाई कस्तो अनुभूति गर्नुहुन्छ ?
गीत र कबिता लेख्नु कसैको प्रभाव नभएर बिशेष गरेर मलाई जीवन् र जगतले नै बढी प्रभावित बनाईरहेको हुन्छ , र हृदयको अन्तसकरणबाट स्वतस्फुर्त निस्कने अभिब्यक्तिहरुले नै मलाइ बढी चलयमान बनाइरहेको हुन्छ । र प्राय म चलिरहको हुन्छु । र जतिखेर म गीत कबिता लेख्न बस्छु त्यतिखेर म बिषय बस्तु बाहेक धेरै कुराहरु बिषिर्रहेको हुन्छु । जतिखेर गीत अथवा कबिताको बीट मार्न लाग्छु त्यतिखेर निकैपटक आत्मनविकरण गरेर बाहिर आउंछु , र एक किसिमको आनन्द, आत्मसन्तुष्टि, र मुक्तिको सुखानुभुति मलाई त्यतिखेर प्राप्त हुन्छ ।

४)गीत संगीतको वजार हङकङमा भन्दा नेपालमै ठुलो छ त्यसको लागि के सोच्दै हुनुहुन्छ ? फेरी अहिले गीति एलवम् भन्ने बित्तिकै म्यूजिक भिडियोको कुरा आउछ,त्यस वारे तपाईको योजना के छ ?
निश्चितरुपमा यो हङकङमा हामी अप्रवाशीहरुको संख्या कति नै पो छ र ? अझ त्यसमा पनि यू.के. मा Migrant भएर जानेहरुको संख्या दिनानुदिन बढिरहेको छ । फेरी अर्को कुरा यो एलवम्मा डायोस्पोरिक गीत पनि भएको कारणले पनि यस्को शन्देश आम नेपाली जनताको कान सम्म पुग्नु पर्छ भन्ने मेरो मान्यता हो । तर भने जस्तो त कहां हुन्छ र टंक जी, तै पनि म कोशिस गरिरहेछु । र यस्को लागी केही महिना पछि म नेपाल जांदैछु र नेपालमा एउटा कार्यक्रम गरेर बजार बिस्तार गर्ने योजना तर्जुमा गर्दैछु । र अर्को कुरा म्यूजिक भिडीयोको जुन सवाल छ , यो हुनै पर्छ भन्ने मान्यताबाट म अलि पर छु । जुन यी मेरा आधुनिक गीती संग्रहमा जम्मै त म भन्न सक्दिन यंहा यस्ता गीतहरु पनि छन् जो कालजयी टाइपकालाई पनि श्रब्य दृष्य नै चाहिन्छ भन्ने मलाई लाग्दैन । जस्का श्रोताहरु भिन्न प्रकारका हुन्छन् , वंहाहरु सम्म पुगोस भन्ने मेरो तीव्र इच्छा छ । तर श्रब्य दृष्यको लागी मेरो चाहना नै नभएको त कहां हो र ? त्यति गर्नलाई म आर्थिक रुपले सवल भईसकेको नै कहां छु र ?

५) तपाई लिम्बु मात्रृभाषा भएको नेपाली साहित्यकार त्यसैले आफनै मातृभाषामा गीत कबिता लेख्न कतिको जागरुक हुनु भएको छ ? के तपाई नेपालको परिबर्तित परिस्थितीले आफनै भाषाको सेवा गर्न उत्प्रेरीत गरेको छैन ?
मैले आफनै मात्रृभाषा र लिपीमा कुनै साहित्यहरु लेख्न नसके पनि नेपाली साहित्यबाटै लिम्बुवान् राज्यको सार्वभौम र अखण्डता त्येहीको आदीवासी जनजाती र जातीहरुको हातमा नै हुनुपर्छ भन्ने भावना अनुरुप सधैं यस्तै प्रकारका साहित्यहरु पहिल्यै देखि लेख्दैआएकोछु । बिभिन्न पत्रपत्रिका मार्फत प्रकाशित हुदै पनि आएको छ । यसै कुराले पनि मेरो आफनो भाषा प्रतिको मोह झल्किन्छ । र आजको परिबर्तित समयलाई हामीले चिनेर भाषाको मात्रै होइन, लिम्बुवान राज्यको विकाश कसरी गर्न सकिन्छ भन्ने कुराको चिन्ता लिम्बुवानबासी सबैमा हुनुपर्छ भन्ने मलाई लाग्दछ ।

६) हङकङमा बसेर नेपाली साहित्य लेख्नुको उदेश्य के हो ? किन लेख्नु हन्छ ? साहित्य प्रति तपाईको दृष्टिकोण के हो ?
मेरो बर्साई हङकङमै भईसके पछि हङकङमै बसेर लेख्नु मेरो बाध्यता हो । नेपाल फर्किहाल्ने स्थिती पनि आई सकेको छैन । बिदेशिनुको पीडा त छदैछ , यहां लेख्नुको उदेश्यको कुरा उठाउनु भयो , बिशेष त साहित्य लेखन मेरो रुचिको बिषय पनि हो , त्यसैले पनि म लेख्ने गर्छु । तर लेख्न बस्दा मैले देखेको सत्य र मैले भोगका अनुभूतिहरुलाई गीत र कबिता बिद्याबाट नै देश र समाजको लागी ससक्त ढंगले केही गर्न सकिन्छकी भन्ने अभ्रि्रायले कबिता र गीती बिद्यामा केन्द्रित भएको छु । साहित्य प्रतिको मेरो दृष्टिकोणको कुरा उठाउनुभयो , मलाई लाग्छ साहित्य भनेको यस्तो एउटा विशाल फूलबारी हो , यहा जो कोही पनि हांस्न सक्छ , रुन सक्छ , गाउन सक्छ, र यस्को आकाश पनि त्यतिकै फराकिलो छ । यहां जो कोही अटाउन सक्छ । यहां कुनै धर्म सम्प्रदाय अथवा कुनै वर्गको वोलवाला निशन्देह छैन ।साहित्यको यहां मैले ब्याख्या गर्दा साहित्यकै परिभाषा दिन खोजे जस्तो होला । तर म साहित्यको परिभाषा दिन त नसकुला । यध्यपी मलाई के लाग्छ भने साहित्यले जहिले पनि राम्रा कुराहरुलाई मात्र अङ्गीकार गर्ने हुदा यहां नराम्रा कुराहरु Automatically पाखा लाग्दछन् । त्यसैले पनि मेरो मुल धर्म किरांत पछिको अर्को धर्म नै साहित्य हो भन्न म मन पराउछु । र यथार्थ पनि येही हो । हालमा आएर हाम्रो दाजु भाई तथा दिदी बहिनीहरु अन्य धर्म सम्प्रदायमा समाहित भएर जांदैछन् र आफ्नो अस्तित्व पनि मेटाउदै जांदैछन् , मलाई लाग्छ यो एकदमै भ्रम र विकृत संस्कारको विकाश हो । यस्ता कुराहरुलाई रोक्नका निमित्त साहित्यले अहम् भूमिका निभाउनु पर्छ भन्ने मलाई लाग्छ , र त्यस्ता हाम्रा दाजुभाई तथा दिदी बहिनीहरुलाई पनि म येही सल्लाह र सुझाव दिएर ती त्यस्ता कुराहरुबाट टाढा रहनको लागी यसै पत्रिका मार्फ हार्दिक अपिल गर्दै अनुरोध समेत गर्न चाहान्छु । र हाम्रो जाती धर्म संस्कार संस्कृतीको विकाश गर्दै एउटा शिक्षित,सुसंस्कृत र सभ्य समाजको निर्माणको लागी साहित्य पढौं लेखौं भन्ने मेरो साहित्य प्रतिको दृष्टिकोण हो ।

७) तपाई नेपाली साहित्य प्रतिष्ठान् हङकङ तथा लिम्बुवान मुक्ति मोर्चा हङकङमा पनि आवद्ध हुनुहुन्छ , यी दुबै संस्थामा आफुलाई कसरि प्रस्तुत गर्नुहुन्छ ? वा गरिरहनु भएको छ ?
आफ्नो अस्तित्व र आत्मसम्मानलाई कसरी सुरक्षित गर्न सकिन्छ , र मान्छे भएर बांच्नुको औचित्य के हो ? भनेर बुझ्ने जो कोही एउटा सचेत नागरिकले समाजमा आफुलाई सामाजिक , आर्थिक, राजनैतिक , धार्मिक, भाषिकरुपले स्थापित गर्नको निमित्त उ सधैं त्यसकै वरिपरी घुम्न मजबुर हुन्छ । जस्लाई यस्ता कुराहरुले छुदैन, उ झन्डै मान्छे मात्रै भएर बांचेको हुन्छ , त्यसको के अर्थ रहन्छ र ? तर मलाई के लाग्छ भने मान्छे भएर अलि कति मात्रै भए पनि मान्छे जस्तो भएर बांच्नुको अर्थले मलाई जहिले पनि प्रेरित गरीरहन्छ , र नै म यी संस्थाहरु लगायत अन्य संघ संस्थाहरुमा पनि आबद्ध भई बिभिन्न क्रियाकलापहरुमा सक्रियरुपले समयलाई समायोजन गर्दै आफ्नो क्षेत्रबाट समाजमा केही योगदान पूर्याउन सकिन्छ की भनेर नै म लागीपरिकै छु । तर यहां ब्यक्तिगत अथवा पारिवारिक कुरा गर्नुपर्दा मैले मेरो सानो छोरा र श्रीमतीको समय भने जरुर चोरेको छु । यस कुराले भने मलाई कहिले कांही दोषी बाबु र पतिको रुपमा खडा गरिदिन्छ , त्यतिबेला मलाई कता कता दुःख लाग्छ । तर यी सबै कुराहरु मेरो आफ्नै लागी मात्रै गरिरहेको भने पक्कै होईन ।

८) स्वदेशमा वसेर लेख्नु र परदेशमा वसेर लेख्नुमा कस्तो भिन्नता पाउनु भएको छ ? साथै लखन्लाई कहिले सम्म निरन्तरता दिने विचार गर्नुभएको छ ?
हेर्नोस टंकजी श्वदेशमा वसेर लेख्नुको स्वाद र पीडा अर्कै हुन्छ , भने बिदेशमा वसेर लेख्दा त्यो बढि डायोस्पोरिक बन्न जान्छ , अथवा विदेशमा वसेर लेख्दा श्वदेशको माया र माटोको तिर्खा भने मन् भित्र दन्दनी सल्किरहेको हुन्छ , त्यसैले आफ्नो देश र माटो भनेको हर हर तिर्खा मेट्ने सङलो पानी हो , हामी विदेशमा वसेर लेख्नेहरु राहतको रुपमा मात्रै भए पनि लेखेर त्यो प्यास मेट्ने कोशिस गरिरहेका हुन्छौ । त्यसैले विदेशमा वसेर लेख्नुको स्वाद र पींडा नै फरक ढंगको हुन्छ भन्ने मेरो बुझाई छ । जहां सम्म निरन्तरताको कुरा छ , यो मेरो सवालमा मृत्युपर्यन्त रहिरहन्छ , किनकी साहित्य मेरो उठवसको परममित्र हो ।

९) आलाप नेपाली आधुनिक गीतीसंग्रहका गीतहरु लेख्दा आफुले कति न्याय गरे जस्तो लाग्छ ? साथै संगीत र स्वरमा कति न्याय भए जस्तो लाग्छ ? यो संग्रह निकाल्न कसैको श्रेय छ कि ?
यो मेरो आलाप गीति संग्रहमा मैले शब्दको सुन खारेको छु , र मैले शब्दको अर्थमा वहुलता खोजेको छु , किनभने आधुनिक गीत र कवितामा शब्दको सतहबाट अर्थमा सिधै हाम्फाल्दा त्यो गीत र कविताको हत्या हुन्छ भन्ने भयले म सधैं सजक रहेर आलाङकारिक प्रतिक र बिम्बमा अर्थको वहुलता लिएर एउटा इमान्दार लेखकको रुपमा उपस्थित भएको छु जस्तो मलाई लाग्छ । र यहां स्वरमा कुनै तुक छैन । यद्यपी शब्द अनुसारको संगीत भने एक दुइ वटा गीतले नपाएको मैले मुल्याङकन् गरेको छु , र मलाई के लाग्छ भने कि म एउटा नयां गीतकारको शब्दमा संगीतकार त्यति गहिर्राईमा नगएको जस्तो मैले महसुस गरेको छु । यहां श्रेयको पनि कुरा गर्नु भयो , यो एलवम निकाल्नमा कसैको श्रेय छैन । बरु म तपाईबाटै बढी पे्ररित भएर यो एलवम यसरी बाहिर आउन सफल भएको हो । जब तपाईको मनोभाव एलबम बाहिर आयो , त्यसपछि मलाई पनि यस्तो कार्य गर्न प्रेणा मिल्यो , र मैले यस्लाई पूर्ण रुप दिन सफल भएं । तर यस्को पछि दिनेश सुब्बा र दिल पालङ्वाको पनि ठूलो भुमिका छ , म वहांहरुलाई पनि कहिल्यै विर्सन सक्दिन ।

१०)नेपालमा लिम्बुवानको आन्दोलन अझै पनि टुङ्गीएको छैन तपाई आफै पनि लिम्बुवानबादी कार्यकर्ता त्यसैले अबको दिनहरुमा लिम्बुवान प्राप्तीको लागी के कस्तो पाईला हाम्रा लिम्बुवानवादी नेताहरुले चाले राम्रो होला ? तपाईको भनाई र सुझाव के छ ?
नेपालमा संबिधान सभाको चुनाव पश्चात देशले लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी सकेको छ । संबिधान निर्माण हुन बांकी नै छ , र त्यो निर्माण हुने संबिधानले लिम्बुवान राज्य पुनस्थापना हुनु पर्छ भन्ने सम्पूर्ण लिम्बुवानबासीको भावनालाई कसरी सम्वोधन गर्छ , त्यो हेर्न बांकी नै छ , र लिम्बुवान राज्य पुनःस्थापना हुनै पर्छ भन्ने हाम्रो मान्यता अनुरुप हामी दृड संकल्प लिएर हामीले हाम्रो आन्दोलनलाई अहिंसात्मक तथा शान्तीपूर्ण ढंगले अघाडी बढाईरहेका छौ । र हाम्रो चाहना पनि यो आन्दोलन शान्तीपूर्ण ढंगले समाधान हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । तर यो समस्याको समाधान त्यती सजिलै संभव देखिन्न । त्यस्को लागी हाम्रा सम्पूर्ण लिम्वुवानबादी नेता कार्यकर्ताहरुका साथै लिम्बुवानबासी लिम्बुवानबादी सभासदहरुले यो विषयलाई नेपाल अधिराज्यको मुल मुद्धाको रुपमा शसक्त ढंगले प्रस्तुत गर्न सक्नुपर्छ । साथै लिम्बुवानबादी नेता कार्यकर्ताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर , फुटेर होईन जुटेर हाम्रो लक्ष्यप्राप्तिको लागी एक ढिक्का भई लाग्नुपर्छ भन्ने मलाई लाग्दछ । र तमाम नेपालीहरुले यो कुरामा प्रष्ट भई दिनुपर्छ भन्ने पनि मलाई लाग्दछकी ,आदीम्कालको जस्तो लिम्बुवान राज्य आजको एक्काईसौ शताब्दीमा पाच्य नहुने कुरामा हामी अस्पष्ट छैनौं र आजको युग सुहाउदो आत्मनिर्णयको अधिकार, समावेशी, बहुदलीय, संघीयबादलाई अवलम्बन गरेर लिम्बुवान राज्यलाई कसरी बैज्ञानिकीकरण गर्न सकिन्छ भन्ने परिकल्पनाबाट अभिप्रेरित भएर हामी लागी परेका कुरा तमाम नेपालीहरुमा स्पष्ट हुन म आग्रह गर्दछु । किन पनि भने लिम्बुवान राज्यको पृष्टभ्मि हेर्ने हो भने जस्तोकी त्यहांको भौगोलिक बनावट र अखण्डता, सामाजिक, आर्थिक, धार्मिक र भाषिकरुपले आफैमा समृद्ध र सार्वभौम् सम्पन्न देखिन आउछ , त्यती हुंदा हुदै पनि आदीमकाल देखि तात्कालिन् समयमा अथवा वि.स.१८३१ मा पृथ्वीनारायणशाह संग गरेका सन्धि संझौता र त्यसपछिका तत्कालिन राजा त्रिभुवन देखि वीरन्द्रको शाशनकाल सम्मका किपट प्रथा र त्यहांका राजा रजौटाहरुले शाशन गरेका अनेकौ प्रमाण र अवशेषहरु अझै पनि देख्न र पाउन सकिन्छ । यस्ता धेरै ज्वलन्त उदारणहरु हामी संग घाम जस्तै छर्लङ्ग हुंदा हंदै पनि आजको शाशन सत्ताको वागडोर सम्हालेका ती संबिधान निर्माण गर्ने मन्त्री सभासदहरुले यदी हाम्रो भावनालाई दवाउन खोजेमा त्यसको प्रतिकार गर्न हामी कुनै कसर बांकी राख्ने छैनौं ।

११)लिम्बुवान व्लगस्पो डटकम मार्फत लिम्बुवानबासीहरु र संसारभर छरिएर रहेका श्रोता तथा शुभचिन्तकहरुलाई केही शन्देश दिन चाहानु हन्छ कि ?
र्सवप्रथम त यस limbuwan.blogspot.com मार्फत विश्वभरि छरिएर रहेका तमाम नेपालीहरु माझ तपाईले मलाई आफनो धेरै कुराहरु राख्ने जुन अवसर दिनुभयो । यसको लागी तपाईलाई धन्यवाद नदिई म रहन कहां सक्छु र । र यहां मुख्य कुरा भर्खरै मैले एउटा मानबिय संबेदना बोकेको नेपाली सुमधुर आधुनिक गीती संग्रह "आलाप"नाम गरेको एलवम लिएर बजारमा आएको छु । आसा गर्न सक्छुकी यो एलवम बढी भन्दा बढी श्रोताहरुले सुनिदिएर मेरो भावनाको कदर गरी दिनुहुनेछ भन्ने कुरामा विश्वास राख्दै जजसले सुनिदिनु भएको छैन वहांहरुले पनि यो एक एक प्रति CD लिईदिएर यो एउटा छुट्टै नश्लको चित्कारलाई नजिकैबाट श्रवण गरी दिनुभएमा यस्को मुल्याङकन जरुर हुने थियो । र यस एलबममा जे जस्ता क्रिया प्रतिक्रियाहरु आए पनि म सहर्ष स्वीकार गर्ने नै छु । यहां राजनितिक प्रसंग पनि उठयो , तर साहित्यको अगाडी राजनितिक बिषय गौण हुन्छ , भन्ने मलाई लाग्दछ । किनभने राजनितिक बिषय भनेको बिशेष बर्ग, समुह, र सिद्घान्तको निती निर्देशनमा चलेको हुन्छ भने साहित्यको कुनै बर्ग समुह र सिद्धान्त नहुने भएकोले यसको संसार नै अलग्गै हुन्छ, र यो संसारमा रमाउनेहरु अलि बढी नै भावुक मात्रै हुदैनन् यहां मानवताको Relation पनि बढी हुन्छ । त्यसैले पनि साहित्यमा रुची राख्ने जो कोही पनि सभ्य, शुसिल र इमान्दार हुन्छन् भन्ने मेरो ठम्याई हो ,यो सत्य नहुन पनि सक्छ । फेरी यो क्षेत्रमा नलाग्नेहरु सभ्य र इमान्दार हुदैनन् भन्ने मेरो मतलव चाही कदापी होईन । तर साहित्यले साधा जीवन् र उच्च विचारलाई बढि प्राथमिकता दिने हुंदा यो क्षेत्रको जीवन केही हद सम्म सुखि होला भन्ने मलाई लाग्दछ । त्यसैले अन्त्यमा विश्व भरि छरिएर रहेका तमाम नेपालीहरु माझ साहित्य पढौं लेखौं र एउटा शिक्षित, इमान्दार, र सभ्य समाजको निर्माणमा जुटौं भन्ने आग्रहकासाथ मेरो भनाईको वीट मार्न चाहान्छु । धन्यवाद ।

Sep 8, 2008

भूपेन्द्र चेम्जोङसंगको अन्तरवार्ता

वि.सं. २०२२ असोज ९ गते मेची अञ्चल पान्थर जिल्ला अन्तर्गत फाकतेपमा जन्मनु भएका भूपेन्द्र चेम्जोङ्ग ले विज्ञानमा स्नातक,बि.एड साथै अंग्रेजीमा स्नातकोत्तर सम्मको अध्यायन पुरा गर्नु भएकोछ । नेपालमा रहदा लामो समय सम्म शिक्षक भएर काम गर्नुभएका चेम्जोङ्ग ले शिक्षक पेशामा मात्र आवद्घ नभइ लेखन क्षेत्रमा पनि खासगरी कविता,समसामयिक लेख र समालोचनामा सक्रिय हुनुहुन्छ । पहिले नेपाली आदिवासी जनजाती महासंघका महासचिव हुनुहुन्थ्यो भने हाल अध्यक्षको गरीमामय पदमा रहेर काम गरीरहनु भएको छ । हङकङमा पत्रकारीता र दोभाषेको काममा पनि उतिक्कै लगनशील भएर समाज सेवाको काममा लागि रहनु भएको छ । वहा हङकङवाट प्रकाशित सनराइज साप्ताहिकका सम्पादक पनि हुनुहुन्छ उनै कर्मयोगी सम्पादक भूपेन्द्र चेम्जोङ्गसंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१.नेपाली आदिवासी जनजाती महासंघ हङकङ कहिले स्थापना भएको हो ? यो संस्था हङकङमा स्थापना गर्नुको मुख्य उदेश्य के हो ?
नेपाली आदिवासी जनजाति महासंघ विधिवत रुपमा १९९८ सालमा स्थापना भएपनि यसले जातीय संस्थाहरुलाई मात्र सदस्य दिएर महासंघको रुपमा विकसित भएको चाहि २००४ सालदेखि हो । यसको उद्देश्य हङकङमा रहेको विविध जातजातिहरुवीच समन्वय गर्ने, परम्परा तथा साँस्कृतिक आदान प्रदान गर्ने उनीहरुको भाषा,संस्कृति तथा संस्कारहरुको संरक्षण र विकास गर्ने तथा नेपालमा रहेका आदिवासी नेपालीहरुको हरेक जायज कदमहरुमा समर्थन र सहयोग गनु रहेको छ ।
२.हङकङमा नेपाली आदिवासी जनजाती महासंघको आवश्यकता किन पर्‍यो ? विदेशमा बसेर नेपालको आदिवासी जनजाती अन्दोलनलाई कसरी सहयोग पुर्‍याउँन सकिन्छ होला ?
विदेशमा रहेको नेपालीहरुमा मध्ये हङकङ मात्र एक यस्तो शहर हो जहाँ नेपाली आदिवासी जनजातिहरुको संख्या ९५ प्रतिशत भन्दा पनि वढी छ । चीनीया तथा पश्चिमेली संस्कृतिको अधिक प्रभाव भएको यो हङकङमा यहाँ वसोवास गर्न आएका नेपालीहरु चाडै ती विदेशी साँस्कृतिसंग प्रभाभित हुन स्वभाविक हो । यस प्रभावको वावजुद्ध कम्तिमा पनि यहाँका नेपाली आदिवासी जनजातिहरुलाई आफ्नो मातृभूमि भाषा,संस्कृति तथा भेषभूषा सहित आफ्नै पहिचान रहेको वोध गराउन पनि यो संस्थाको आवश्यकता परेको हो । यो आदिवासी वाहुल्य नेपाली समाजको सम्वन्ध मातृ भूमी नेपालको माटोसंग यही संस्कार तथा संस्कृति मार्फ सधै समीप्य होस र उनीहरुको पहिचान विदेशमा रहेर पनि कायम राख्न हरप्रयत्न गर्ने उद्देश्यले आदिवासी जनजाति महासंघ स्थापना गरिएको हो । नेपालको आदिवासी जनजाति आन्दोलनलाई हामीले हरेक कोणवाट सहयोग गर्न सकिन्छ । आर्थिक संकलन गरेर,राजनैतिक दवाव समूहको रुपमा हङकङमै रहेर वा व्यक्तिगत रुपमा नेपाल गएरै पनि सहयोग गर्न सकिन्छ ।
३.हालसालै हङकङमा पनि १४ औ विश्व आदिवासी जनजाती दिवश भब्यताका साथ सम्पन्न भयो यसलाई तपाईले हङकङको प्रमुखको नाताले कसरी हेर्नु भएको छ ? नेपाली आदिवासी जनजाती र हङकङका आदिवासी जनजाती विच कुनै सम्वन्ध छ ?
विश्व आदिवासी दिवस विश्वमा रहेका २५ करोड भन्दा वढी आदिवासीहरुको आदिवासी भएको नाताले आफ्नो माटो,भाषा,परम्परा,धर्म सम्वन्धि विविध अधिकारको कुरा प्रथम चोटि संयुक्त राष्टसंघमा उठेको दिन हो । हामी जहाँ गएपनि नेपालको लागि हामी आदिवासी नै हौं । हामी हङकङलाई मातृभूमिकै रुपमा स्वीकार्न अझ समय लाग्छ । तर्सथ पनि हामीले नेपाली आदिवासीको नाताले आदिवासी दिवस मनाउन सान्दर्भिक भएको छ ।आज सम्म हामी आफ्नै परम्परा संस्कार,संस्कृति मानिरहेकाछौं । आफ्नै भाषा वोलिरहेकाछौं । यसवर्षो विश्व आदिवासी दिवस भव्य हुनुमा यही मातृभूमी र आफ्नोपन प्रतिको हाम्रो अगाध आस्था र माया नै सफलताको कारण हो । हामी नेपालको आदिवासी जनजाति महासंघसंग अत्यन्तै राम्रो सम्वन्ध छ हाम्रा हरेका महत्वपूर्ण कार्यक्रमहरुको आदान प्रदान भइरहेको छ । नेपाल आदिवासी जनजाति महासंघले हाम्रा हरेक कदमहरुमा र्समर्थन जनाएको छ ।
४.यसपाली सिर्जनशील साहित्य समाज हङकङको संयोजनमा १४ औ विश्व आदिवासी जनजाती दिवसको अवसर पारी हङकङ वसोवास गरी वस्ने नेपाली आदिवासी जनजाती स्रष्टाहरुको कृतिहरु पनि प्रदर्शन गरीएको थियो यसरी प्रदर्शन गर्नुको उदेश्य के हो ? र यसपाली बढी स्रष्टाहरुलाई नै सम्मान तथा पुरस्कार दिईयो नि ?
आन्दोलन भन्ने कुरा एकै कोणवाट मात्र हाँक्दा सफल नहुन पनि सकिन्छ । सफल भएपनि सफलता ढिलो हात लाग्न सक्छ । असिंसात्मक आन्दोलनको सवभन्दा ठूलो हिस्सा लेखक वा पुस्तकहरुले वोकेका हुन्छन्। यी लेखक वा पुस्तकहरु मार्फ आम जनतालाई मानसिक रुपमा आन्दोलनको तयारीमा जुट्न ठूलो मद्दत पुग्नेहुन्छ । तर्सथ आन्दोलनको संवाहक पुस्तकहरुको विषयमा र्सवसाधारणहरुले जानकारी पाउन सकुन भन्ने उद्देश्यले यो पुस्तक प्रदर्शनी गरिएको हो । श्रष्टाहरु नै सामाजिक तथा राजनैतिक आन्दोलनका अगुवाहरुहुन । उनीहरुको भिजनले समाजलाई सही वाटोमा लग्न मद्दत पुग्छ । यही भिजनका सम्वाहक श्रष्टाहरुलाई सम्मानित गरिएको हो यसपाली ।
५.तपाई नेपालको लिम्वुवान क्षेत्रको लिम्वु भएकोले लिम्वूवानवादी नेता भएर पो आउँनु पर्ने हो किन नेपाली आदिवासी जनजाती महासंघ हङकङमा आवद्घ हुनुभयो ? त्यो क्षेत्रमा पद नपाएर पद कै लागि यो महासंघ रोज्नु भएको त होईन ? महासंघमा लागेर कति न्याय गरे जस्तो लाग्छ तपाईलाई ?
टीवीको रोग लागेको व्यक्तिलाई ज्वारो आउँछ । तर त्यो ज्वरो सीटामोल ख्वाएर निक्को हुनेवाला छैन । टीवीको औषधि नै दिनुपर्दछ । लिम्वूवान राज्य नहुनु एक अर्थमा ज्वरो हो । हामीलाई लिम्वूवान मात्र होइन,यहाँ रहेको सम्पूर्ण आदिवासी जनजातिहरुको ऐतिहासिक थलो,भाषिक वा जातीय आधारमा स्वायत्त राज्यहरु दिइनुपर्दछ भन्ने आदिवासी जनजातिमहासंघको माग हो । यही माग भित्र लिम्वूवान स्वायत्त राज्य स्वत परेन र ? आदिवासी जनजाति महासंघको माग पूराहुने वित्तिकै अन्य जातीय समस्याहरु स्वतः समाधान हुन्छन तसर्थ जनजाति महासंघमा लागेर लिम्वूवानलाई मैले अन्याय होइन पूर्ण रुपमा सहयोग गरिरहेछु । साथै तमुवान,मगरात,ताम्वासालिङ ,नेवा लगायत अन्य प्रदेशको आन्दोलनलाई पनि एकै चोटि उठाइरहेका छौ । जहाँसम्म पदको कुरा छ काम गर्नेलाई पदको आवश्यकता पर्दैन लिम्वू जातिभएको नाताले लिम्वूवानवादीहरुको हरेक जायज मागहरुमा मेरो समर्थन र सहयोग छ ।
६.तपाई साहित्यको सर्जक सामाजिक संस्थाको अध्यक्ष साथै कुशल शिक्षक र हाल आएर दोभाषे सम्मको कार्य अनुभव छ तर तपाईलाई नेपाली समाजले कुन हिसावले हेरुन जस्तो लाग्छ ? अथवा आफुलाई नेपाली समाजमा कसरी चिनाउँन चाहानु हुन्छ ?
हो पेशागत रुपमा म धेरै वटा पेशाहरुसंग संवन्धित छु तर चिनारी भने जसरी मलाई साथीभाई शुभ चिन्तकले चिन्छन् त्यसरी नै । उत्तर आधुनिकतामा कुनै कुराको केन्द्रियता हुन्न भन्छन् । शायद त्यसैले यही नै हो भन्न मलाई पनि गाह्रो लाग्यो ।
६.शाही साशनको अन्त संगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको छ यसको साथसाथै लोकतान्त्रिक सरकारको समेत गठन भैसकेको छ के यो सरकारले नेपाली जनताले चाहे अनुरुपको सम्विधान निर्माण गर्न सक्छ होला ? अझै सम्विधानसभामा सम्पूर्ण नेपाली आदिवासी जनजातीहरुको प्रतिनिधित्व हुन सकेको छैन यस वारे तपाई धारणा के छ ?
सर्वप्रथम त हामी विदेशमा वसेका नेपालीहरुले स्वदेशी नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुलाई मुरी मरी वधाई तथा धन्यवाद दिन चाहन्छु । उनीहरुको वलिदान,संघर्ष र संकल्पको लागि । शहीदहरुको वलिदान वेगर यो २४० वर्षे निरंकुश शासन ढल्ने कुरै थिएन । गणतान्त्रिक नेपाललाई हृदयदेखि नै स्वागत गरौ सवैले । जहाँ सम्म संविधान निर्माणको कुरा छ, त्यसमा तपाई हामी सवैको हात छ । संविधान कस्तो वनाउने भन्ने कुरामा हामीले विदेशमा रहेर पनि सल्लाह र सुझाव दिन सकिन्छ । यस सरकारको विषेश गरी संविधान वनाउन नै मूख्य भूमिका भएकोले यस्ले सफलता पाउनै पर्दछ संविधान वनाउन सकिएन भने देश फेरि अर्को नराम्रो द्धन्दमा फस्न सक्छ । जसरी पनि संविधान त वनाउनै पर्दछ । तर जहाँ सम्म आदिवासी जनजातिहरुको हितकोलागि संविधान वन्ने कुरा छ त्यो चाहि वास्तवमै ठूलो प्रश्न र शंकाको घेरामा छ । किनभने नेपालका आदिवासी जनजातिहरुले जातीय,भाषिक वा क्षेत्रीयताको आधारमा स्वयत्त राज्यहरु स्थापना भएको हेर्न चाहान्छन् । तर नेपालका ठूला पार्टी भनिने कतिपय पार्टी यसको विरोधमाछन् । यस्ता विरोधी जमात अहिले संविधान सभामा उनीहरुको उपस्थिति उल्लेखनीय रुपमा रहेको छ । तसर्थ आदिवासी जनजातिहरुको हितमा संविधान वनाउन निक्कै ठूलै कसरत गर्नु पर्छ । यसको लागि हामी देश तथा विदेशमा रहेका हरेक जनजातिहरुले तन मन तथा धनले सहयोग गर्नु पर्दछ । हाम्रो पक्षको आवाजलाई गगन भेदी वनाउनु पर्दछ ।
७.संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाले गर्दा संघीय लिम्वुवान राज्य नियमत स्थापना हुनु पर्ने हैन र ? अहिले लिम्वुवानवादी नेताहरु मोर्चा कसेर लिम्वुवान कै लागि अन्दोलन गरी रहेकाछन् किन होला ? यसमा तपाईको बुझाई के छ ? अथवा लिम्वुवानको लागि हुनुपर्ने के हो ?
संघीय राज्य भन्दैमा लिम्वूवान नै स्पेसिफिक रुपमा हुनुपर्दछ भन्ने वुझाई गलत हो । संघीयता धेरै किसिमले हुन सक्छ-भौगोकि हिसावले ,जातीय हिसावले, भाषिक हिसावले वा अन्य कुनै हिसावले ।लिम्वूवान चाहि मेरो विचारमा जातीय हिसावले मागिएको स्वयत्त राज्य हो र यही नै हुनुपर्दछ । लिम्वूवान वादीहरु पनि कुनै कुनै त क्षेत्रियताको माग गरिरहेकाछन् । तर जे भएपनि लिम्वूवान भन्ने वित्तिकै लिम्वू जातिसंग गाँसिएर आएको हुनाले झट्ट सुन्दा जातीय आधारमा नै माग गरिएको हो कि भन्ने लाग्छ । माग गरिनुपर्ने पनि जातीय आधारमा नै हो लिम्वूवान परिवेशमा भने । लिम्वूवानवादी नेताहरु नेपाललाई संघीयतामा परिणत गर्दा जातीयताको आधारमा नहोला कि भन्ने डरले नै नेपाल संघीयतामा जाने निधो हुदा हुदै पनि उनीहरु मोर्चा कसेर वसेको हो कि भन्ने मलाई लाग्छ ।
८. नेपाली आदिवासी जनजातीहरुको अवस्था हङकङमा कस्तो छ ? नेपालमा आदिवासी जनजातीहरुको आन्दोलन कुन रुपले बढी रहेको छ होला ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले अवका दिनहरुमा आदिवासी जनजातीहरुलाई कतिको उन्मुक्ति दिन सक्ला ?
नेपाली आदिवासीहरु हङकङमा सचेत हुँदा हुँदै पनि उनीहरुलाई मुख्य गरेर रोजी रोटीको समस्याले गर्दा नेपालका आदिवासी जनजातिहरुको विषयमा त्यति घोरिएर लाग्न पाएकाछैनन् । थोरै नेपाली आदिवासीहरु यसप्रति निराशा सोच पनि राख्दछन्। हङकङमा वसेर चुप चाप पैसा मात्र कमाउने अन्य केही नगर्ने भन्ने सोचाइका मानिसहरु पनि केही मात्रामा छौ । तर अधिकांश नेपालीहरु हङकङमा भन्दा आफ्नो मातृभूमि नेपालमै लगानी गर्न चाहान्छन् । आफूले कमाएको पैसा मासिक केही न केही रुपमा नेपाल पठाइ रहेकाछन् । धेरै जनाको नानीहरु नेपालमै वसेर पढेकाछन् । यस्को मतलव नेपाली आदिवासी जनजातिहरु अन्ततोगत्व नेपाल फर्किने मनस्थितिमा छन भन्ने वुझिन्छ । नेपालमा पनि आदिवासी जनजाति महासंघले संविधानसभामा वढीसे वढी आफ्नो प्रतिनिधि पठाउनको लागि संघर्ष गरेको थियो । अंशिक रुपमा त्यो सफलता पनि हात लागेको छ । आज हाम्रा आदिवासी जनजाति सभासदहरु प्रशस्त मात्रामा संविधानसभामा पुगेकाछन् । आदिवासी जनजाति महासंघको आन्दोलन वेगर यो संभव हुने थिएन । संघीय लोकतन्त्र आफैमा साध्य चाही होइन साधन मात्र हो । आदिवासी जनजातिलाई सधै एकछत्र रैती वनाएर शासन गर्ने राजतन्त्र उन्मुलन भइसकेपछि पक्कै पनि आदिवासी जनजातिहरुले वढी आशा राखेका छन् । आदिवासीको सफलता र असफलता हामी आदिवासहरुहो लविङ,मिहिनेत तथा संघर्षमा भर पर्दछ ।
९.तपाई सनर्राईज साप्ताहिक हङकङको सम्पादक भएकोले पत्रकारीताको अनुभव कस्तो लागि रहेछ ? हाल यो पत्रिकाको अवस्था कस्तो छ ? हङकङको नेपाली समाजले कतिको पत्रपत्रिका किनेर पढेको पाउँनु भएको छ ?
विदेशको ठाउँमा केवल २० हजार नेपाली भाषीहरुको माझमा नेपाली साप्ताहिक पत्रिका चलाउनु अवश्य पनि चुनौतीपूर्ण काम हो । यहाँ धेरै जसोले दिनको उज्यालो राम्ररी नदेख्ने अवस्थामाछन् । उनीहरुले वाहिर निस्केर पत्रिका पढलान भन्ने सोच नराखे पनि भयो । जो टीन एजरहरु हङकङमै शिक्षा हासिल गरे तीनीहरुको लागि त नेपाली अक्षर भैसी गाई जे सम्झे पनि भो उनीहरुले पढने कुरा आएन ।नेपालवाट पनि दैनिक पत्र पत्रिका आउने हुनाले पत्रिकाको वजार निक्कै प्रतिस्पर्धात्मक छ । हाल सनर्राईजको अवस्थाको वारेमा हाम्रा व्यापारी महानुभावहरुले विज्ञापन दिएर सहयोग गरेकाछन्,संघसंस्था, तथा व्यक्तिहरुले विज्ञापन दिएर सहयोग गरेकाछन र पाठकहरुले पत्रिका पढेर सहयोग गरेकाछन् । जसो तसो वाँचेको छ । मैले र मेरो सहयोगी स्वतन्त्र पत्रकार चन्द्र दुमी र्राईले विना पारिश्रमि पत्रिकामा सेवा गरेकाछौं।
१०.तपाई विभिन्न संघसंस्थामा आवद्घ भएकोले हङकङको नेपाली समाज प्रति कतिको उत्तरदायी भएको महसुस गर्नु हुन्छ ? हङकङको नेपाली समाजमा पछिल्ला युवा पीडीहरुको अवस्था कस्तो देख्नु भएको छ ? हङकङको नेपाली समाज प्रति तपाई सल्लाह सुझाव के दिन चाहनु हुन्छ ?
यहाँ खोलिएका सम्पूर्ण संघ संस्थाहरु अवश्यमूलक नै छन् । तर कुनै संस्था वढी सक्रिय कुनै कम त्यतिमात्र फरक हो । जे भएपनि सवै संस्थाहरु आफ्नो द्देश्य अनुरुप उतरदायी हुनै पर्ने समूह वा जमात संग उतरदायी हुनै पर्दछ नत्र टिकी रहन सक्दैन र औचित्य नै समाप्त हुन्छ । हालका युवा पीडीहरु विशेष गरी हङकङमा हुर्के पढेकाहरुलाई आफ्नो सँस्कृति तथा परम्पराहरु सम्वन्धि ज्ञानको अभाव छ उनीहरुलाई नेपाली भाषा वोल्न आएपनि लेख्न आउँदैन । उनीहरुले आफ्नो सामाजिक परम्परा विषयमा थाहा छैन ।
एकातिर यो अवस्था छ भने अर्कोतिर स्कूल जाने विद्यार्थीहरु अभिभावकको निगरानीको अभावमा नराम्रा साथीहरुको संगतमा लागेर खराव वाटोमा समेत लाग्ने सम्भावनाहरु वढी भएको छ । यो समस्यासंग जुध्नकोलागि अभिभावक,स्कूल र सरकार तथा सामाजिक संस्थाहरु सवैको प्रयास हुनु जरुरी छ ।
११. लिम्वूवान व्लगस्पोट डटकम मार्फत लिम्वूवानवासीहरु र संसारभर छरीएर रहेका आफन्त तथा शुभचिन्तकहरुलाई केहि सन्देश दिन चाहानु हुन्छ कि ?
देशमा आफ्नो अधिकार खोज्नेवेला हो यो । असारमा धान रोपे मात्र मंसीरमा वाली उठाउन सकिन्छ । नत्र वाली नपाक्न सक्छ । यतिखेर लिम्वूवान स्वायत्त राज्य माग गर्ने र स्थापनातिर अघिवढने अति उपयुक्त समय हो । लिम्वूवान स्वायत्तता चाहने सम्पूर्ण लिम्वूरुले यतिखेर एकचोटि लिम्वूवानलाई सम्झनु पर्दछ । सक्नेले घर र्फकने वेला हो नभएपनि हरेक क्षेत्रवाट सहायोग गर्नु पर्दछ यतिवेला।,जो जो आफ्नो श्री सम्पति वेचेर विदेशतिर विमुख हुन लाग्नुभएको छ उहाँहरुले आ-आफ्नो निर्णय परिवर्तन गर्नु पर्दछ । नेपालमै वस्ने चाजो मिलाउनु पर्दछ । लिम्वू नै नभएको लिम्वूवानको के अर्थ हुन्छ । विदेश गएकाहरु पनि घर फर्को । आत्मआन्दोलन गरौं । आफ्नो भाग्य आफै निर्माण गरौं ।

Sep 3, 2008

हाङयुग अज्ञातसंगको अन्तरवार्ता

मेची अञ्चल इलाम जिल्ला अन्तर्गत इलाम नगरपालिका वडा नं. १मा २०३३ साल पौष १ गते जन्म लिनुभएका सिर्जनशील अराजक कवि हाङयुग अज्ञातले कलामा स्नातक सम्म अध्यायन पुरा गर्नुभएको छ । वहाँ सिर्जनशील अराजक साहित्यका प्रवर्तक मध्ये एक हुन् । रङ्गीन आविष्कार - २०५७,ढुङ्गामुढाको मन - २०५८,करङको हिरासत - २०६०,ककपिक - २०६१ आदि उनका कविताकृतिहरु प्रकाशन भैसकेकाछन् । साहित्य समन्वयको सम्पादन साथै हङकङको आगमन पछि सिर्जनशील साहित्य समाज हङकङको अध्यक्षको पदमा रहि साहित्य सेवामा अनवरत लागि पर्नु भएको छ । नेपाली आदिवासी जनजातीहरुको भाषा साहित्यलाई नेपाली साहित्यको मुलधारको रुपमा हुनुपर्छ र हो भन्ने वहाँको मान्यता रहदै आएको छ । नश्लवोधिय लेखनलाई सिर्जनशील अराजक समूहले मुख्य नाराको रुपमा लिदै लेखन क्षेत्रमा नौलो साहित्यको पाटालाई जनमानसमा प्रस्तुत गर्न सक्षम भैरहेको छ । उनै साहित्यका सर्जक कवि हाङयुग अज्ञातसंग लिम्वुवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१. हङकङको व्यस्त समयसँग साहित्य लेखनको तालमेल कसरी मिलाइरहनु भएको छ ? र, हाल हङकङमा समय कसरी बिताइरहनु भएको छ ?
हङकङ आउनु दुइदिन अगाडि नेपालका वरिष्ठ कवि तथा गीतकार इश्वरवल्लभज्यूले म हङकङ जाँदैछु भन्ने थाहा पाएर मलाई केही अर्तिउपदेश दिनुभएको थियो । चीनको औपचारिक भ्रमणमा गएको बेला उहाँ हङकङ पनि निस्किनु भएको रहेछ । पहिलो कुरा उहाँले हङकङको समय घोडाजस्तो दौडिन्छ तेसैले यो समयसित तालमा ताल मिलाउन सकिएन भने पछाडि परिन्छ भन्नु भएको थियो । र, दोश्रो कुरा समुन्द्र सधैँ मुख आँ गरेर बसेको हुन्छ तेसले निल्नसक्छ, कहिलेकाहीँ तमोर र अरूणलाई पनि सम्झीनू भन्नु भएको थियो ।इश्वरवल्लभका यी दुइ वचनले मलाई हङकङको व्यस्त समयसँग लाप्पा खेल्ने आँट दिएको हो । भर्खर इश्वरवल्लभ पनि बितेछन् नेपालमा । व्यस्त समयसँग साहित्य लेखनको तालमेल मिलाउन गारो हुन्छ । तथापि, मैले उता नेपालका प्रख्यात कविलेखकहरूले व्यस्त समयसित साहित्य लेखनको तालमेल मिलाएको देखेर आएकोले यहाँ मलाई तेत्ति गारो परेन । नेपालमा व्यस्त समयसित तालमेल मिलाउनेमा विष्णुविभु घिमिरे, दिनेश अधिकारी, कृष्ण धराबासी, खगेन्द्र सङ्ग्रौला, गोविन्दराज भट्टराई प्रख्यात छन् । मलाई यतिबेला के लागिरहेको छ भने साहित्य लेखनका लागि थोरै समय पनि पर्याप्त हुन्छ । सप्पैभन्दा महत्वपूर्ण कुरा के हो भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि साहित्यप्रति बलियो विश्वास हुनुपर्छ । म २४ घण्टामा पाँच घण्टा सुत्छु । सुतेको बेला सपना देखेँ भने पनि म तेसलाई साहित्यको आँखाले विचारविमर्श गर्छु जागेको १९ घण्टा त म साहित्यकै विषयमा साहित्यकै वरिपरि चिन्तन गरेर बिताउँछु । यो चौबिसै घण्टा साहित्यको संसारमा खेल्ने मेरो व्यक्तित्व यौटा भो भने अर्को व्यक्तित्व छ जो सधैँ व्यवहारिक छ । त्यो व्यक्तित्व अन्य र्सवसामान्य मान्छेजस्तो काममा जाने, कोठा फर्किने, भात पकाउने खाने र सुत्ने गर्दछ । यो दुइ बेगलबेगल व्यक्तित्वहरूको तालमेल मिलाउनुका लागि लामो समयको स्थिर साधना चाहिन्छ । यी दुइ व्यक्तित्वहरूको तालमेल मिलेन भने कि त आफ्नो संसारिक जीवन चौपट हुन्छ कि त लेखन जगतमा विपद आइलाग्छ । छोटकरीमा भन्नुपर्दा हङकङको व्यस्त समय र साहित्य लेखनलाई सृजनात्मक सोच र शैलीले भरसक तालमेलको दायराभित्र ल्याउने प्रयत्न गरिरहेको छु । र, हङकङको समय पनि यीनै यस्तै कुराहरूमा बितिरहेको छ ।

२. सृजनशील अराजक समूहको कहिले स्थापना भएको हो ? यसका प्रमुख उद्देश्यहरू के के हुन् ? हाल यो समूहको गतिविधि कसरी सञ्चालन भइरहेको छ ?
सृजनशील अराजक समूह नामको कुनै सङ्गठन छैन । हामीले वि.सं. २०५२ सालदेखि नेपाली साहित्यमा यौटा सँस्कृति, यौटा धर्म, यौटा सौर्न्दर्यचेत, यौटा पक्ष, यौटा स्वभाव मात्रै हाबी भयो तेसकारण नेपाली साहित्यको विकास सोलोडोलो रूपमा भइरहेको छैन भन्न थालेका हौं । पछि २०५७ सालमा चाहिँ म र राजन मुकारूङ मिलेर नेपाली साहित्यमा 'सृजनशील अराजकताको आग्रहसम्मत्मा पाँचवटा कुराहरू प्रक्षेपण गर्‍यौं, १) वैचारिक अनेकानेक २) साँस्कृतिक वैविध्य ३) नश्लीयबोध ४) कवित्व निस्सीमता ५) र, सृजनात्मक निर्णय। यसको उद्देश्य भनेको तथाकथित् नेपाली साहित्यलाई साँच्चिकै नेपाली साहित्य बनाउनु रहेको थियो र यो आठ-नौ वर्षो अवधिमा तथाकथित् नेपाली साहित्यको परम्परागत धारणाहरू भत्किदैं नयाँ मान्यताहरू स्थापना हुँदैछन् । आदिबासीजनजातिले साहित्य लेख्न सक्दैनन् या उनीहरूले लेखेको साहित्य साहित्य होइन भन्ने ब्राम्हणवादी पुरेत वर्गका लेखकहरूको अहङ्कारलाई धेरै हदसम्म सृजनशील अराजकताको आग्रहले ध्वस्त पार्ने काम गरेको छ । नेपाली समाजजस्तै नेपाली साहित्य पनि विविधताको योग हो भन्ने मान्यता एकप्रकारले नेपाली साहित्यकार र प्राज्ञहरूमा स्थापित भइसकेको छ । अब यसलाई राज्यसत्ताले स्वीकार्न बाँकी छ । राज्यसत्ताले स्वीकार गरेपछि नेपाली साहित्य धेरैधेरै सँस्कृति, धेरैधेरै जाति, धेरैधेरै वर्ग र लिङ्गको साझा थलो हुनेछ । संविधानसभाको निर्वाचनको नतिजाले देखाएको प्रष्ट कुरा भनेको नेपालीहरूको विविध अस्तित्वलाई जसले सम्मान गर्छ उसैलाई आमजनताले स्वीकार गर्छ भन्ने हो । सृजनशील अराजकताले आग्रह गरेको नेपाली साहित्यको मोडेल र प्रचण्डपथले अग्रसर गराएको नयाँ नेपालको संघात्मक राज्यप्रणालीको बनोट झन्डै मिल्दोरहेछ । हाम्रा गतिविधिहरूको सवालमा चाहिँ कवि राजन मुकारूङ हाम्रा विचारहरूलाई मूर्त रूप दिन प्रत्यक्ष आमजनतामा पुगेर चेतना फैलाइरहनु भएको छ भने कवि उपेन्द्र सुब्बा केन्द्रमा बसेर केन्द्रलाई धक्का पुर्‍याउने काम गरिरहनु भएको छ । म भने हङकङबाट अन्तरराष्ट्रिय विचारपद्घतिको अध्ययन तथा अवलोकन गर्दै यहाँका कविहरूलाई प्रोत्साहित गर्ने काममा संलग्न छु । उता पान्थरमा सृजनशील उत्तरवर्तीहरू पनि खटिरहनु भएको छ । काठमान्डौमा रङ्गवादीहरूले अत्यन्तै त्रि्र रूपमा सृजनशील अराजकताको गतिविधिलाई बढाइरहेका छन् । यहाँ हङकङमै पनि भयवादका नाममा देश सुब्बाले आदिबासीहरूको सँस्कृति र परम्परा खोजिरहनु भएको छ । मुक्त अभियान पनि दमकबाट सञ्चालित छ । यी सप्पैलाई मैले सृजनशील अराजकताका गतिविधिहरूको रूपमा बुझेको छु ।

३.तपाइँहरूले लेख्ने साहित्यले कुन वर्गसमाज र कस्तो खाले लेखनको प्रवृत्तिलाई बढी मुखरित गर्दछ ? हालसम्म सृजनशील अराजक लेखनले समाजमा कति प्रभाव पारे जस्तो लाग्छ ?
हामीले प्रस्ताव गरेको साहित्यले छुने वर्ग भनेको उत्पीडित, उपेक्षित, आदिबासीजनजाति, मधेसी र दलितदमित वर्गसमाज हो । तेसो त हिजोका प्रगतिशील भनाउँदाहरूले पनि यही भन्थे तर उनीहरूले नारा मात्रै दिएका रहेछन् । मोदनाथ प्रश्रतिको कुरा हेरौं, ऊ आफूलाई नम्बर वन प्रगतिशील मान्छ, उत्पीडितउपेक्षित, आदिबासी तथा मधेसीको पक्षको लेखक हूँ भन्दै पञ्चायतकालभरि घुमिहिँड्यो तर हिजोआज उत्पीडिउपेक्षित वर्गलाई नै तथानाम् गाली गर्दै, दबाउँदै लेखिरहेको छ । त्यो प्रदीप नेपाल र खगेन्द्र सङ्ग्रौलाको पनि पारा उस्तै हो । डेमोक्र्याटिक लेखकहरूको सर्न्दर्भमा चाहिँ के छ भने उनीहरूले भरसक उत्पीडितउपेक्षितहरूको मुद्दालाई लेख्नै चाहदैनन्, लेखेको खण्डमा पनि भाग्यवादमा लगेर हुल्छन् । हिजोआज केही छन् यस्ता सुध्रिएका डेमोक्र्याट्सहरू, जस्तो गोविन्दराज भट्र्राई, कृष्ण धराबासी, सञ्जीव उप्रेती आदि । अब हाम्रो लेखन प्रवृत्ति भनेको चाहिँ तथाकथित् प्रगतिशील र डेमोक्र्याट्सहरूको भन्दा बेगल छ । यो प्रवृत्तिलाई चाहिँ मैले सृजनशील प्रवृत्ति भन्ने गरेको छु । यो प्रवृत्तिमा माथि नै मैले भनेँ जस्तो पाँचवटा सहमति बनाउनु अनिवार्य छ । पछि यो पाँचवटामा कसैले सृजनात्मक निर्णय गरेर केही थप्दै आउँछ भने पनि तेसलाई सृजनशील प्रवृत्ति मान्न सकिन्छ । जस्तो धर्मेन्द्रविक्रमहरूले रङ्गवाद भनेर थप्दै आए, देश सुब्बाले भयवाद भनेर थप्दै आए, भवानी तावाहरूले सृजनशील उत्तरवर्ती भनेर थप्दै आए । भोलि अरूहरू आउलान् नयाँ कुराहरू थप्दै जालान् । सृजनशील प्रवृत्तिको यो परिवर्तनशीलतालाई फोकस गर्दै कतिपय समिक्षकहरूले यो मार्क्सवादजस्तो रहेछ पनि भनेका छन् । कतिले त नन्कन्फर्मिस्ट पनि भनेका छन् । पछि समय आइपुगेपछि यो प्रवृत्तिको पुरै रूप देखिएला, अहिले विकासक्रममै छ । सृजनशील अराजकताको आग्रहले हाम्रो नेपाली समाजमा धेरै प्रभाव पारेको विश्लेषण गरिरहेको छु म । किनभने नेपाली साहित्यमा र्राई, लिम्बू, गुरूङ, मगर, तामाङ, सुनुवार, लगायत अन्य जनजाति समाजबाट विचार र सौन्दर्य भित्रिरहेको छ । नेपाली समाजमा वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता र नश्लीयबोधले सुन्दर प्रभाव पारेको कारणले नै आमजनताले माओवादीलाई धेरै मतदान गरे । काङ्ग्रेस र एमालेको वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता र नश्लीयबोधमा अस्पष्ट विचार भएकै कारणले आमजनताले सृजनात्मक निर्णय गर्दै उनीहरूलाई आफ्नो भारी मत दिएनन् । नेपाली समाजमा अब क्षेत्रीबाहुनले आदिबासीजनजातिहरूको अस्तित्व मान्ने, मधेसीहरूको अस्तित्व पहाडबासीहरूले मान्ने, पुरूषहरूले नारीहरूको अस्तित्व मान्ने संस्कारको विकास भइरहेको छ । सहअस्तित्वमा विश्वास गर्ने सृजनशीलहरूको यो सकारात्मक प्रभावलाई इतिहासले बिर्सिने छैन ।

४. तपाइँले नेपाली साहित्य प्रतिष्ठानको आठौं वाषिर्कोत्सवमा नयाँ लेखकको जन्मको घोषणा गर्नु भयो, त्यो कस्तो प्रकारको नयाँ लेखक होला ? को हो त्यो नयाँ लेखक र किन तपाइँले नै घोषणा गर्नु भयो ?
नयाँ लेखकको जन्म बारे कार्यपत्र प्रस्तुत गर्ने मञ्च र समय दिएकोमा नेपाली साहित्य प्रतिष्ठानको आठौं वाषिर्कोत्सवलाई र विषेशगरी कवि टङ्क सम्बाहाम्फेलाई धन्यवाद दिन चाहन्छु । उत्पीडित तथा उपेक्षित वर्ग, जाति र लिङ्गका मुद्दाहरूलाई जुन लेखकले आफ्नो लेखनमार्फत उठाएर न्यायका निम्ति पहल गर्दै नयाँ नेपाल निर्माणका लागि जनचेतनासित सहकार्य गर्दछ त्यस्तो लेखक नयाँ लेखक हो । नेपाली साहित्यमा यसरी योगदान पुर्‍याइरहेकाहरूलाई नयाँ लेखकका रूपमा पहिचान गरिकन नयाँ नेपालको राज्यसत्ताले उनीहरूबाट अरू धेरै सृजनशील साहित्यको अपेक्षा गर्दा हुन्छ । विषेशगरिकन यसप्रकारका लेखकहरू उत्पीडित तथा उपेक्षित वर्ग, जाति र लिङ्गबाट नै आइरहेका छन् । विश्वसाहित्य पढेका तथाकथित आभिजात्यवर्गका केही लेखकहरूमा पनि यो नयाँ लेखकको चरित्र पाइन्छ, यो निश्चय नै स्वागतयोग्य छ । आदिम विचारबाट मुक्ति प्राप्त गर्नु नै नयाँ लेखकको नयाँ र समयसापेक्ष यात्रामा अग्रसर हुनु हो, अग्रगामी लेखक हुनु हो । मैले नै किन नयाँ लेखकको घोषणा गरेँ भन्ने प्रश्न चाहिँ 'माओवादीले नै जनयुद्घ किन गर्‍यो -' भने जस्तै हो । तर, यसलाई अर्को ढङ्गबाट बुझ्दा भने म राज्यसत्ताबाट उपेक्षित तथा उत्पीडित जातिबाट साहित्यमा आएकोले सायद मबाट नयाँ लेखकको घोषणा भएको होला । यो मनोविश्लेषणको कुरा भयो । यसैलाई दर्शनतिरबाट व्याख्या गर्दा यसरी पनि गर्न सकिन्छ- हरेक लेखक साधन हो र हरेक लेखकहरू फेरि बेगलबेगल थोकका लागि साधन हुन् । हरेक लेखकहरूको प्रयोजन भिन्दाभिन्दै हुन्छ । मेरो सवालमा भने म सधैँ नयाँ थोकहरू बोक्ने साधनका रूपमा उपस्थित भएँ । तेही भएर पनि नयाँ लेखकको अवधारणापत्र मैले लेखेँ । तर, यसलाई अझ आमजनमानससम्म पुर्‍याउनका लागि तपाइँहरूजस्तो सृजनशील लेखकहरूको खाँचो अनिवार्य छ । नयाँ लेखक साझा अवधारणा हो, हरेक नयाँ नेपाली लेखकहरूको सिङ्गो ठहर हो । तेसो र पनि यो नयाँ लेखकको अवधारणालाई हामीले गाउँगाउँसम्मका हाम्रा पाठक र स्रष्टाहरूसम्म पुर्‍याउनु जरूरी छ । किनभने नेपाली साहित्यमा हाम्फाल्नुभन्दा अगाडि सबैले यो नयाँ लेखकको अवधारणा थाहा पाउनै पर्छ । नयाँ लेखकको अध्ययन अवलोकनबिना हाम्रो मस्तिष्कमा छ्याप्प बसेको यथास्थिति र पुरातनवादको जालो हट्ने छैन । यो नयाँ लेखक तपाइँ हामी सबै हौं जसले पुरानो ब्राम्हणवादी अहंकारी साहित्यलाई ध्वस्त गर्दै समावेशी नेपाली साहित्यको पक्षमा लेख्छ । सबैसबै नेपाली समाजहरू, सँस्कृतिहरू, धर्महरू र जीवनहरू समेटिएको साहित्य मात्रै यथार्थमा नेपाली साहित्य हो भन्ने धारणा अनुसार अब हामीले लेख्नुपर्छ । अर्जुनदृष्टिका कविताहरू मात्रै होइन काङसोरे साहसका कविताहरू पनि लेखौं, नयाँ लेखकले यसो भन्छ । नयाँ लेखक नै वास्तवमा नयाँ नेपाली साहित्यको सुत्रधार हो, नयाँ नेपालको नयाँ लेखक हो ।

५.अधिकांश नेपाली साहित्यकारहरू साहित्यको खेती मात्र गर्छन् तर पैसाको खेती गर्न भने विदेशतिरै लाग्नु पर्ने बाध्यता छ । तपाइँ के भन्नु हुन्छ यस बारे किनकी तपाइँ आफै नै डायोस्पोराको साहित्यकार बनिसक्नु भएको छ ?
पहिलो कुरा, म साहित्यलाई खेती मान्दिनँ । साहित्यको सम्बन्ध मनसित, मस्तिष्कसित हुन्छ । साहित्य ज्ञानसित हुन्छ । साहित्य लेखेर विकसित मुलुकहरूमा लेखकहरू बाँच्न सक्छन्, त्यो अलग कुरा हो । पैसाको खेती गर्न विदेशतिर लाग्नुपर्ने बाध्यताको जो कुरा छ, तेसमा पनि म असहमत छु किनभने विदेशमा पनि पैसाको खेती हुँदैन, बाँच्ने मेलोसम्म गर्न सकिन्छ । हिजोआज म पनि तपाइँहरू जस्तै हङकङमा बसेको छु । श्रम बेच्छु खान्छु । दोश्रो कुरा के छ भन्देखिन् तपाइँको प्रश्नको मर्मतिर म जान चाहन्छु । मैले धेरै अगाडिदेखि नै सुन्दै आइरहेको छु कि नेपाली साहित्यकारहरू कलम चलाएर बाँच्न सकिरहेका छैनन् । अथवा, साहित्य बेचेर नेपाली साहित्यकारहरूले पैसा कमाइरहेका छैनन् । पाश्चात्य दर्शनशास्त्र भनेको भौतिकवादतिरको छ भने पूर्वीय दर्शनशास्त्र अध्यात्मवादतिरको छ । तेसो हुँदा उता शेक्सपियरले कवितामा 'पैसालाई जीवित इश्वर' भनेर लेखेका छन् अब हाम्रो देवकोटाको पारा हेरौं, ऊ मुनामदनमा लेख्छ- सुनका थैला, हातका मैला के गर्नु धनले - यो दर्शनगत आधारहरूमा पाइने ठीक विपरित मान्यताका कारणले पनि उताका साहित्यकारहरू साहित्यलाई बेच्न सक्षम भएको हुनुपर्छ । यता हामी चाहिँ के गर्नु धनले भन्दै आर्दशले नाङ्गैभुतुङ्गै भइरहेका छौं । पैसा, धनसम्पत्ति पनि आफूलाई पुग्नेगरी जोड्नुपर्छ तर सारै नै नीच प्रकारले होइन । नेपाली साहित्यमा जम्मा तीन प्रकारका साहित्यकारहरू छन् । पहिलो प्रकारका साहित्यकारहरूसित पैसा प्रशस्तै छ, उनीहरू व्यापारव्यवसाय गर्दछन् । नेपाल टेलिभिजनको समय किनेर आफ्नो गीति एल्बमको प्रत्यक्ष प्रशारण समेत गर्नसक्छन् उनीहरू । दोश्रो प्रकारका साहित्यकारहरू सरकारी जागिर खान्छन्, या कुनै एनजिओ या कलेजमा काम गर्दछन्, या मिडियामा काम गर्दछन् । तेस्रो प्रकारका साहित्यकारहरूसित कुनै पनि नियमित रूपमा पैसा आउने काम हुँदैन । र, यो तेस्रो प्रकारका साहित्यकारहरूमा बढीजसो आदिबासीजनजातिहरू देखा परिरहेका छन् । उनीहरू जसो तसो बाँचिरहेका छन् र लेखिरहेका पनि छन् । अब यौटा प्रश्न उठ्छ पैसा कमाउनतिर नलागेर किन साहित्यतिर लागेका त यी आदिबासीजनजाति - ठीक यहीँनेर जोडिन्छ राजनैतिक मुद्दा । ब्राम्हणवादी राज्यसत्ताले सयौंवर्षेखि दबाइरहेको मानवीय चेतनालाई उकास्नका लागि पनि आदिबासीजनजातिहरू भोकै साहित्य लेखिरहेका छन् । तपाइँ हामी विदेशमा बस्ने आदिबासीजनजातिहरूले उनीहरूलाई सहयोग गर्नसक्छौं र उनीहरूलाई प्रोत्साहन गर्न सक्छौं । यौटा कोश खडा गरेर प्रतेक महिना सय डलर जम्मा गर्ने हो भने नेपालमा आदिबासीजनजाति साहित्यकारहरूको एकेडेमी बनाउन सक्छौं । हाम्रा प्रतिभाशाली आदिबासीजनजाति स्रष्टाहरूको संरक्षण गर्न सक्छौं । उनीहरूका कृतिहरूको बिक्रीवितरण गर्नसक्छौं र आर्थिक टेवा दिनसक्छौं । आफै लेख्नु मात्रै स्रष्टा होइन, स्रष्टाले आफूजस्तै अन्य स्रष्टालाई बचाउँदै र आफू पनि बाँच्दै जानु पर्छ । हामी विदेशमा बसेर साहित्य लेखिरहेका र पैसा पनि कमाइरहेका साहित्यकारहरूबाट नेपालका हाम्रा आदिबासीजनजाति लेखकस्रष्टाहरूले धेरै आशा गरिरहेका छन् । उनीहरूलाई हामीले बिर्सिनु हुँदैन । भविष्यमा आदिबासी लेखकहरूले रोजगारीका लागि विदेश जान नपरोस् । देशभित्रै रोजगारीको प्रबन्ध होस् । राज्य संघीय लोकतान्त्रीक गणतन्त्रमा गइरहेको अवस्थामा अब हामी पनि लोकसेवा आयोगको अन्तर्वार्तामा पास हुन्छौं होला । किनभने हिजो लिखितमा फस्ट नम्बर ल्याउने आदिबासी जनजातिहरूलाई अन्तर्वार्तामा अनुहार र नाक हेरेरै फेल गर्नेहरूमा पनि विभेद गर्नु भनेको आफ्नै जाति या वंशका लागि खतरनाक हुँदोरहेछ भन्ने ज्ञान पलाइसकेको छ । यसरी हामीले पनि सरकारी जागिर खाँदै नेपालमै कविता लेख्ने दिन अब चाँडै आउनेछ । अब म केही वर्षछि नै लिम्बुवान फर्कदै छु । म यो तपाइँको ब्लगबाट सबै प्रवासी स्रष्टाहरूलाई आफ्नै थातथलो फर्किनुपर्छ भन्न पनि चाहन्छु ।