Sep 8, 2008

भूपेन्द्र चेम्जोङसंगको अन्तरवार्ता

वि.सं. २०२२ असोज ९ गते मेची अञ्चल पान्थर जिल्ला अन्तर्गत फाकतेपमा जन्मनु भएका भूपेन्द्र चेम्जोङ्ग ले विज्ञानमा स्नातक,बि.एड साथै अंग्रेजीमा स्नातकोत्तर सम्मको अध्यायन पुरा गर्नु भएकोछ । नेपालमा रहदा लामो समय सम्म शिक्षक भएर काम गर्नुभएका चेम्जोङ्ग ले शिक्षक पेशामा मात्र आवद्घ नभइ लेखन क्षेत्रमा पनि खासगरी कविता,समसामयिक लेख र समालोचनामा सक्रिय हुनुहुन्छ । पहिले नेपाली आदिवासी जनजाती महासंघका महासचिव हुनुहुन्थ्यो भने हाल अध्यक्षको गरीमामय पदमा रहेर काम गरीरहनु भएको छ । हङकङमा पत्रकारीता र दोभाषेको काममा पनि उतिक्कै लगनशील भएर समाज सेवाको काममा लागि रहनु भएको छ । वहा हङकङवाट प्रकाशित सनराइज साप्ताहिकका सम्पादक पनि हुनुहुन्छ उनै कर्मयोगी सम्पादक भूपेन्द्र चेम्जोङ्गसंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१.नेपाली आदिवासी जनजाती महासंघ हङकङ कहिले स्थापना भएको हो ? यो संस्था हङकङमा स्थापना गर्नुको मुख्य उदेश्य के हो ?
नेपाली आदिवासी जनजाति महासंघ विधिवत रुपमा १९९८ सालमा स्थापना भएपनि यसले जातीय संस्थाहरुलाई मात्र सदस्य दिएर महासंघको रुपमा विकसित भएको चाहि २००४ सालदेखि हो । यसको उद्देश्य हङकङमा रहेको विविध जातजातिहरुवीच समन्वय गर्ने, परम्परा तथा साँस्कृतिक आदान प्रदान गर्ने उनीहरुको भाषा,संस्कृति तथा संस्कारहरुको संरक्षण र विकास गर्ने तथा नेपालमा रहेका आदिवासी नेपालीहरुको हरेक जायज कदमहरुमा समर्थन र सहयोग गनु रहेको छ ।
२.हङकङमा नेपाली आदिवासी जनजाती महासंघको आवश्यकता किन पर्‍यो ? विदेशमा बसेर नेपालको आदिवासी जनजाती अन्दोलनलाई कसरी सहयोग पुर्‍याउँन सकिन्छ होला ?
विदेशमा रहेको नेपालीहरुमा मध्ये हङकङ मात्र एक यस्तो शहर हो जहाँ नेपाली आदिवासी जनजातिहरुको संख्या ९५ प्रतिशत भन्दा पनि वढी छ । चीनीया तथा पश्चिमेली संस्कृतिको अधिक प्रभाव भएको यो हङकङमा यहाँ वसोवास गर्न आएका नेपालीहरु चाडै ती विदेशी साँस्कृतिसंग प्रभाभित हुन स्वभाविक हो । यस प्रभावको वावजुद्ध कम्तिमा पनि यहाँका नेपाली आदिवासी जनजातिहरुलाई आफ्नो मातृभूमि भाषा,संस्कृति तथा भेषभूषा सहित आफ्नै पहिचान रहेको वोध गराउन पनि यो संस्थाको आवश्यकता परेको हो । यो आदिवासी वाहुल्य नेपाली समाजको सम्वन्ध मातृ भूमी नेपालको माटोसंग यही संस्कार तथा संस्कृति मार्फ सधै समीप्य होस र उनीहरुको पहिचान विदेशमा रहेर पनि कायम राख्न हरप्रयत्न गर्ने उद्देश्यले आदिवासी जनजाति महासंघ स्थापना गरिएको हो । नेपालको आदिवासी जनजाति आन्दोलनलाई हामीले हरेक कोणवाट सहयोग गर्न सकिन्छ । आर्थिक संकलन गरेर,राजनैतिक दवाव समूहको रुपमा हङकङमै रहेर वा व्यक्तिगत रुपमा नेपाल गएरै पनि सहयोग गर्न सकिन्छ ।
३.हालसालै हङकङमा पनि १४ औ विश्व आदिवासी जनजाती दिवश भब्यताका साथ सम्पन्न भयो यसलाई तपाईले हङकङको प्रमुखको नाताले कसरी हेर्नु भएको छ ? नेपाली आदिवासी जनजाती र हङकङका आदिवासी जनजाती विच कुनै सम्वन्ध छ ?
विश्व आदिवासी दिवस विश्वमा रहेका २५ करोड भन्दा वढी आदिवासीहरुको आदिवासी भएको नाताले आफ्नो माटो,भाषा,परम्परा,धर्म सम्वन्धि विविध अधिकारको कुरा प्रथम चोटि संयुक्त राष्टसंघमा उठेको दिन हो । हामी जहाँ गएपनि नेपालको लागि हामी आदिवासी नै हौं । हामी हङकङलाई मातृभूमिकै रुपमा स्वीकार्न अझ समय लाग्छ । तर्सथ पनि हामीले नेपाली आदिवासीको नाताले आदिवासी दिवस मनाउन सान्दर्भिक भएको छ ।आज सम्म हामी आफ्नै परम्परा संस्कार,संस्कृति मानिरहेकाछौं । आफ्नै भाषा वोलिरहेकाछौं । यसवर्षो विश्व आदिवासी दिवस भव्य हुनुमा यही मातृभूमी र आफ्नोपन प्रतिको हाम्रो अगाध आस्था र माया नै सफलताको कारण हो । हामी नेपालको आदिवासी जनजाति महासंघसंग अत्यन्तै राम्रो सम्वन्ध छ हाम्रा हरेका महत्वपूर्ण कार्यक्रमहरुको आदान प्रदान भइरहेको छ । नेपाल आदिवासी जनजाति महासंघले हाम्रा हरेक कदमहरुमा र्समर्थन जनाएको छ ।
४.यसपाली सिर्जनशील साहित्य समाज हङकङको संयोजनमा १४ औ विश्व आदिवासी जनजाती दिवसको अवसर पारी हङकङ वसोवास गरी वस्ने नेपाली आदिवासी जनजाती स्रष्टाहरुको कृतिहरु पनि प्रदर्शन गरीएको थियो यसरी प्रदर्शन गर्नुको उदेश्य के हो ? र यसपाली बढी स्रष्टाहरुलाई नै सम्मान तथा पुरस्कार दिईयो नि ?
आन्दोलन भन्ने कुरा एकै कोणवाट मात्र हाँक्दा सफल नहुन पनि सकिन्छ । सफल भएपनि सफलता ढिलो हात लाग्न सक्छ । असिंसात्मक आन्दोलनको सवभन्दा ठूलो हिस्सा लेखक वा पुस्तकहरुले वोकेका हुन्छन्। यी लेखक वा पुस्तकहरु मार्फ आम जनतालाई मानसिक रुपमा आन्दोलनको तयारीमा जुट्न ठूलो मद्दत पुग्नेहुन्छ । तर्सथ आन्दोलनको संवाहक पुस्तकहरुको विषयमा र्सवसाधारणहरुले जानकारी पाउन सकुन भन्ने उद्देश्यले यो पुस्तक प्रदर्शनी गरिएको हो । श्रष्टाहरु नै सामाजिक तथा राजनैतिक आन्दोलनका अगुवाहरुहुन । उनीहरुको भिजनले समाजलाई सही वाटोमा लग्न मद्दत पुग्छ । यही भिजनका सम्वाहक श्रष्टाहरुलाई सम्मानित गरिएको हो यसपाली ।
५.तपाई नेपालको लिम्वुवान क्षेत्रको लिम्वु भएकोले लिम्वूवानवादी नेता भएर पो आउँनु पर्ने हो किन नेपाली आदिवासी जनजाती महासंघ हङकङमा आवद्घ हुनुभयो ? त्यो क्षेत्रमा पद नपाएर पद कै लागि यो महासंघ रोज्नु भएको त होईन ? महासंघमा लागेर कति न्याय गरे जस्तो लाग्छ तपाईलाई ?
टीवीको रोग लागेको व्यक्तिलाई ज्वारो आउँछ । तर त्यो ज्वरो सीटामोल ख्वाएर निक्को हुनेवाला छैन । टीवीको औषधि नै दिनुपर्दछ । लिम्वूवान राज्य नहुनु एक अर्थमा ज्वरो हो । हामीलाई लिम्वूवान मात्र होइन,यहाँ रहेको सम्पूर्ण आदिवासी जनजातिहरुको ऐतिहासिक थलो,भाषिक वा जातीय आधारमा स्वायत्त राज्यहरु दिइनुपर्दछ भन्ने आदिवासी जनजातिमहासंघको माग हो । यही माग भित्र लिम्वूवान स्वायत्त राज्य स्वत परेन र ? आदिवासी जनजाति महासंघको माग पूराहुने वित्तिकै अन्य जातीय समस्याहरु स्वतः समाधान हुन्छन तसर्थ जनजाति महासंघमा लागेर लिम्वूवानलाई मैले अन्याय होइन पूर्ण रुपमा सहयोग गरिरहेछु । साथै तमुवान,मगरात,ताम्वासालिङ ,नेवा लगायत अन्य प्रदेशको आन्दोलनलाई पनि एकै चोटि उठाइरहेका छौ । जहाँसम्म पदको कुरा छ काम गर्नेलाई पदको आवश्यकता पर्दैन लिम्वू जातिभएको नाताले लिम्वूवानवादीहरुको हरेक जायज मागहरुमा मेरो समर्थन र सहयोग छ ।
६.तपाई साहित्यको सर्जक सामाजिक संस्थाको अध्यक्ष साथै कुशल शिक्षक र हाल आएर दोभाषे सम्मको कार्य अनुभव छ तर तपाईलाई नेपाली समाजले कुन हिसावले हेरुन जस्तो लाग्छ ? अथवा आफुलाई नेपाली समाजमा कसरी चिनाउँन चाहानु हुन्छ ?
हो पेशागत रुपमा म धेरै वटा पेशाहरुसंग संवन्धित छु तर चिनारी भने जसरी मलाई साथीभाई शुभ चिन्तकले चिन्छन् त्यसरी नै । उत्तर आधुनिकतामा कुनै कुराको केन्द्रियता हुन्न भन्छन् । शायद त्यसैले यही नै हो भन्न मलाई पनि गाह्रो लाग्यो ।
६.शाही साशनको अन्त संगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको छ यसको साथसाथै लोकतान्त्रिक सरकारको समेत गठन भैसकेको छ के यो सरकारले नेपाली जनताले चाहे अनुरुपको सम्विधान निर्माण गर्न सक्छ होला ? अझै सम्विधानसभामा सम्पूर्ण नेपाली आदिवासी जनजातीहरुको प्रतिनिधित्व हुन सकेको छैन यस वारे तपाई धारणा के छ ?
सर्वप्रथम त हामी विदेशमा वसेका नेपालीहरुले स्वदेशी नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुलाई मुरी मरी वधाई तथा धन्यवाद दिन चाहन्छु । उनीहरुको वलिदान,संघर्ष र संकल्पको लागि । शहीदहरुको वलिदान वेगर यो २४० वर्षे निरंकुश शासन ढल्ने कुरै थिएन । गणतान्त्रिक नेपाललाई हृदयदेखि नै स्वागत गरौ सवैले । जहाँ सम्म संविधान निर्माणको कुरा छ, त्यसमा तपाई हामी सवैको हात छ । संविधान कस्तो वनाउने भन्ने कुरामा हामीले विदेशमा रहेर पनि सल्लाह र सुझाव दिन सकिन्छ । यस सरकारको विषेश गरी संविधान वनाउन नै मूख्य भूमिका भएकोले यस्ले सफलता पाउनै पर्दछ संविधान वनाउन सकिएन भने देश फेरि अर्को नराम्रो द्धन्दमा फस्न सक्छ । जसरी पनि संविधान त वनाउनै पर्दछ । तर जहाँ सम्म आदिवासी जनजातिहरुको हितकोलागि संविधान वन्ने कुरा छ त्यो चाहि वास्तवमै ठूलो प्रश्न र शंकाको घेरामा छ । किनभने नेपालका आदिवासी जनजातिहरुले जातीय,भाषिक वा क्षेत्रीयताको आधारमा स्वयत्त राज्यहरु स्थापना भएको हेर्न चाहान्छन् । तर नेपालका ठूला पार्टी भनिने कतिपय पार्टी यसको विरोधमाछन् । यस्ता विरोधी जमात अहिले संविधान सभामा उनीहरुको उपस्थिति उल्लेखनीय रुपमा रहेको छ । तसर्थ आदिवासी जनजातिहरुको हितमा संविधान वनाउन निक्कै ठूलै कसरत गर्नु पर्छ । यसको लागि हामी देश तथा विदेशमा रहेका हरेक जनजातिहरुले तन मन तथा धनले सहयोग गर्नु पर्दछ । हाम्रो पक्षको आवाजलाई गगन भेदी वनाउनु पर्दछ ।
७.संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाले गर्दा संघीय लिम्वुवान राज्य नियमत स्थापना हुनु पर्ने हैन र ? अहिले लिम्वुवानवादी नेताहरु मोर्चा कसेर लिम्वुवान कै लागि अन्दोलन गरी रहेकाछन् किन होला ? यसमा तपाईको बुझाई के छ ? अथवा लिम्वुवानको लागि हुनुपर्ने के हो ?
संघीय राज्य भन्दैमा लिम्वूवान नै स्पेसिफिक रुपमा हुनुपर्दछ भन्ने वुझाई गलत हो । संघीयता धेरै किसिमले हुन सक्छ-भौगोकि हिसावले ,जातीय हिसावले, भाषिक हिसावले वा अन्य कुनै हिसावले ।लिम्वूवान चाहि मेरो विचारमा जातीय हिसावले मागिएको स्वयत्त राज्य हो र यही नै हुनुपर्दछ । लिम्वूवान वादीहरु पनि कुनै कुनै त क्षेत्रियताको माग गरिरहेकाछन् । तर जे भएपनि लिम्वूवान भन्ने वित्तिकै लिम्वू जातिसंग गाँसिएर आएको हुनाले झट्ट सुन्दा जातीय आधारमा नै माग गरिएको हो कि भन्ने लाग्छ । माग गरिनुपर्ने पनि जातीय आधारमा नै हो लिम्वूवान परिवेशमा भने । लिम्वूवानवादी नेताहरु नेपाललाई संघीयतामा परिणत गर्दा जातीयताको आधारमा नहोला कि भन्ने डरले नै नेपाल संघीयतामा जाने निधो हुदा हुदै पनि उनीहरु मोर्चा कसेर वसेको हो कि भन्ने मलाई लाग्छ ।
८. नेपाली आदिवासी जनजातीहरुको अवस्था हङकङमा कस्तो छ ? नेपालमा आदिवासी जनजातीहरुको आन्दोलन कुन रुपले बढी रहेको छ होला ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले अवका दिनहरुमा आदिवासी जनजातीहरुलाई कतिको उन्मुक्ति दिन सक्ला ?
नेपाली आदिवासीहरु हङकङमा सचेत हुँदा हुँदै पनि उनीहरुलाई मुख्य गरेर रोजी रोटीको समस्याले गर्दा नेपालका आदिवासी जनजातिहरुको विषयमा त्यति घोरिएर लाग्न पाएकाछैनन् । थोरै नेपाली आदिवासीहरु यसप्रति निराशा सोच पनि राख्दछन्। हङकङमा वसेर चुप चाप पैसा मात्र कमाउने अन्य केही नगर्ने भन्ने सोचाइका मानिसहरु पनि केही मात्रामा छौ । तर अधिकांश नेपालीहरु हङकङमा भन्दा आफ्नो मातृभूमि नेपालमै लगानी गर्न चाहान्छन् । आफूले कमाएको पैसा मासिक केही न केही रुपमा नेपाल पठाइ रहेकाछन् । धेरै जनाको नानीहरु नेपालमै वसेर पढेकाछन् । यस्को मतलव नेपाली आदिवासी जनजातिहरु अन्ततोगत्व नेपाल फर्किने मनस्थितिमा छन भन्ने वुझिन्छ । नेपालमा पनि आदिवासी जनजाति महासंघले संविधानसभामा वढीसे वढी आफ्नो प्रतिनिधि पठाउनको लागि संघर्ष गरेको थियो । अंशिक रुपमा त्यो सफलता पनि हात लागेको छ । आज हाम्रा आदिवासी जनजाति सभासदहरु प्रशस्त मात्रामा संविधानसभामा पुगेकाछन् । आदिवासी जनजाति महासंघको आन्दोलन वेगर यो संभव हुने थिएन । संघीय लोकतन्त्र आफैमा साध्य चाही होइन साधन मात्र हो । आदिवासी जनजातिलाई सधै एकछत्र रैती वनाएर शासन गर्ने राजतन्त्र उन्मुलन भइसकेपछि पक्कै पनि आदिवासी जनजातिहरुले वढी आशा राखेका छन् । आदिवासीको सफलता र असफलता हामी आदिवासहरुहो लविङ,मिहिनेत तथा संघर्षमा भर पर्दछ ।
९.तपाई सनर्राईज साप्ताहिक हङकङको सम्पादक भएकोले पत्रकारीताको अनुभव कस्तो लागि रहेछ ? हाल यो पत्रिकाको अवस्था कस्तो छ ? हङकङको नेपाली समाजले कतिको पत्रपत्रिका किनेर पढेको पाउँनु भएको छ ?
विदेशको ठाउँमा केवल २० हजार नेपाली भाषीहरुको माझमा नेपाली साप्ताहिक पत्रिका चलाउनु अवश्य पनि चुनौतीपूर्ण काम हो । यहाँ धेरै जसोले दिनको उज्यालो राम्ररी नदेख्ने अवस्थामाछन् । उनीहरुले वाहिर निस्केर पत्रिका पढलान भन्ने सोच नराखे पनि भयो । जो टीन एजरहरु हङकङमै शिक्षा हासिल गरे तीनीहरुको लागि त नेपाली अक्षर भैसी गाई जे सम्झे पनि भो उनीहरुले पढने कुरा आएन ।नेपालवाट पनि दैनिक पत्र पत्रिका आउने हुनाले पत्रिकाको वजार निक्कै प्रतिस्पर्धात्मक छ । हाल सनर्राईजको अवस्थाको वारेमा हाम्रा व्यापारी महानुभावहरुले विज्ञापन दिएर सहयोग गरेकाछन्,संघसंस्था, तथा व्यक्तिहरुले विज्ञापन दिएर सहयोग गरेकाछन र पाठकहरुले पत्रिका पढेर सहयोग गरेकाछन् । जसो तसो वाँचेको छ । मैले र मेरो सहयोगी स्वतन्त्र पत्रकार चन्द्र दुमी र्राईले विना पारिश्रमि पत्रिकामा सेवा गरेकाछौं।
१०.तपाई विभिन्न संघसंस्थामा आवद्घ भएकोले हङकङको नेपाली समाज प्रति कतिको उत्तरदायी भएको महसुस गर्नु हुन्छ ? हङकङको नेपाली समाजमा पछिल्ला युवा पीडीहरुको अवस्था कस्तो देख्नु भएको छ ? हङकङको नेपाली समाज प्रति तपाई सल्लाह सुझाव के दिन चाहनु हुन्छ ?
यहाँ खोलिएका सम्पूर्ण संघ संस्थाहरु अवश्यमूलक नै छन् । तर कुनै संस्था वढी सक्रिय कुनै कम त्यतिमात्र फरक हो । जे भएपनि सवै संस्थाहरु आफ्नो द्देश्य अनुरुप उतरदायी हुनै पर्ने समूह वा जमात संग उतरदायी हुनै पर्दछ नत्र टिकी रहन सक्दैन र औचित्य नै समाप्त हुन्छ । हालका युवा पीडीहरु विशेष गरी हङकङमा हुर्के पढेकाहरुलाई आफ्नो सँस्कृति तथा परम्पराहरु सम्वन्धि ज्ञानको अभाव छ उनीहरुलाई नेपाली भाषा वोल्न आएपनि लेख्न आउँदैन । उनीहरुले आफ्नो सामाजिक परम्परा विषयमा थाहा छैन ।
एकातिर यो अवस्था छ भने अर्कोतिर स्कूल जाने विद्यार्थीहरु अभिभावकको निगरानीको अभावमा नराम्रा साथीहरुको संगतमा लागेर खराव वाटोमा समेत लाग्ने सम्भावनाहरु वढी भएको छ । यो समस्यासंग जुध्नकोलागि अभिभावक,स्कूल र सरकार तथा सामाजिक संस्थाहरु सवैको प्रयास हुनु जरुरी छ ।
११. लिम्वूवान व्लगस्पोट डटकम मार्फत लिम्वूवानवासीहरु र संसारभर छरीएर रहेका आफन्त तथा शुभचिन्तकहरुलाई केहि सन्देश दिन चाहानु हुन्छ कि ?
देशमा आफ्नो अधिकार खोज्नेवेला हो यो । असारमा धान रोपे मात्र मंसीरमा वाली उठाउन सकिन्छ । नत्र वाली नपाक्न सक्छ । यतिखेर लिम्वूवान स्वायत्त राज्य माग गर्ने र स्थापनातिर अघिवढने अति उपयुक्त समय हो । लिम्वूवान स्वायत्तता चाहने सम्पूर्ण लिम्वूरुले यतिखेर एकचोटि लिम्वूवानलाई सम्झनु पर्दछ । सक्नेले घर र्फकने वेला हो नभएपनि हरेक क्षेत्रवाट सहायोग गर्नु पर्दछ यतिवेला।,जो जो आफ्नो श्री सम्पति वेचेर विदेशतिर विमुख हुन लाग्नुभएको छ उहाँहरुले आ-आफ्नो निर्णय परिवर्तन गर्नु पर्दछ । नेपालमै वस्ने चाजो मिलाउनु पर्दछ । लिम्वू नै नभएको लिम्वूवानको के अर्थ हुन्छ । विदेश गएकाहरु पनि घर फर्को । आत्मआन्दोलन गरौं । आफ्नो भाग्य आफै निर्माण गरौं ।

No comments: