May 26, 2010

रविन कुमार नाल्बोसंगको अन्तरवार्ता

मेची अञ्चल ताप्लेजुङ जिल्ला अन्तर्गत नाल्बु गा.बि.स.वडा नं.५ चाम्ब्रुङमा बि.सं.२०३२ फाल्गुन ४ गते जन्मनु भएका रविन कुमार नाल्बो(लिम्बु) हाल हङकङमा सपरिवार बसोवास गरी रहनुको छ । पाटन बहुमुखी क्याम्पसबाट प्रमाण पत्र तहसम्मको शिक्षा ग्रहण गरि हङकङ आउनु भएको हो वहाँले पहिले कोरीया ताई क्वान दो चुङ दो क्वान नेपाली समूहमा ८ वर्षसम्म आवद्ध भएर ३ डन सम्मको खेल उपाधि लिई सक्नु भएको छ । त्यसपछि आफैले कोरीया ताई क्वान दो चुङ दो क्वान सम्वद्ध भएर एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापना गरे पाश्चात ४ डनको उपाधि पनि हाँसील गरेर ब्यावसायीक र सामाजिक सेवामा निर्लिप्त भएर लाग्नु भएको छ । एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापनाको चारौ बर्षको क्रममा झण्डै २००भन्दा बढी नेपाली तथा गैरनेपालीहरु ताई क्वान दो खेलको प्रशिक्षण लिई रहेकाछन् । तेस्रो,चौथो अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पियनसीपमा रजत र कास्य पदक समेत प्राप्त गरी सक्नु भएको छ । नेपाली महासंघ हङकङले सन् २००८ र २००९ मा कदर पत्र र मेडल साथै नेपाली पदक तेस्रोले विभूषीत हुनु भएको छ । र किरात यक्थुङ चुम्लुङ हङकङले पनि सम्मान पत्र दिएको छ । हङकङमा भएका ताइ क्वान दो च्याम्पियनसीपहरुमा अफिसियल जज र रेफ्रीको भूमिका पनि असल तरिकाले पूरा गरी सक्नु भएको छ । यिनै दिग्गज खेलाडी गुरुसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।
१.ब्यवहारीक काम,सामाजिक कामसंगै खेलकुदको समयलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
हङकङ जस्तो ब्यस्त ठाउँमा सम्पूर्ण काम गर्नु पर्ने भएकोले ब्यवहारीक काम,सामाजिक कामसंगै खेलकुदको समयलाई आफ्नो कर्तब्य सम्झेर निरन्तर रुपले अगाडी बढ्ने काम गरी रहेको छु । विशेष खेलकुदमा ताई क्वान दोलाई ,सामाजिक तथा पेशागत रुपले हङकङमा अङगाली रहेको छु । त्यसै भएकोले यी सारा कामहरुको तालमेल मेरो आन्तरीक इच्छाशक्तीले भएको हो ।
२.तपाईले ताई क्वान दो खेलको चार डन लिई सक्नु भएको ब्यक्ति हुनु भएकोले यो खेलमा प्राप्त गर्नु भएको अनुभव छोटकरीमा बताई दिनु होस् ?
खासगरी म ताई क्वान दो खेलमा लागेको लगातार १२ बर्षपुग्यो । र यहाँ लाग्नुको प्रमुख कारण यस प्रकार छ । सबै भन्दा पहिले खेलले शारीरीक,मानसिक,बौद्धिक र नैतिक,आत्मरक्षा र ब्यतित्व बिकास गर्दछ तसर्थ यीनै कारणले आकषिर्त गरेर यता लागेको हुँ । त्यहि अनुरुप मैले यस क्षेत्रबाट यी सबै कुरा सिक्ने ,जान्ने अवसर पाए । जस्ले गर्दा आज म आफ्नै खुट्टा उभ्न सक्ने सक्षम ब्यक्ति भए । र यस शिक्षालाई हङकङमा बसोबास गर्नुहुने नेपाली तथा गैरनेपालीहरुमा बाड्ने काम एभरेष्ट ताई क्वान दो एकेडेमी स्थापना गरेर हङकङको बिभिन्न स्थानहरुमा प्रशिक्षण कक्षाहरु सञ्चालन गरीरहेको छु । युवा युवती देखि लिएर प्रौढ सम्मका ब्यक्तिहरुलाई कुलतबाट बचाउँन साथै आत्मरक्षा, शारीरीक,मानसिक,बौद्धिक र नैतिक र ब्यक्तित्व बिकासको लागि यो कार्यमा निरन्तर लाग्दै आएको छु । र आज सम्म मैले प्राप्त गरेका अनुभवहरु यिनै नै हुन् ।
३.ताई क्वान दो खेलमा लागेर आज सम्ममा तपाईले कुनै पदक तथा सम्मानहरु प्राप्त गर्नु भएको छ ?
यस ताई क्वान दो खेलमा लागेर सन् २००३ मा अमेरीकामा भएको तेस्रो अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पीयनसीप इस्पायरीङ खेलमा सबै भन्दा पहिले रजत पदक प्राप्त गरे साथै सन् २००५ सालमा चौथौं अन्तर्राष्ट्रिय ताई क्वान दो च्याम्पीयनसीप इस्पायरीङ खेलमा पनि मैले काश्य पदक प्राप्त गरेको थिए । च्याम्पीयनसीप होस्टिङ कमिटीको सदस्य र आर्थिक सहयोग विभागको अध्यक्ष समेत भएको थिए । यस क्षेत्रमा क्रियाशील रुपले लागेको हुँदा किरात याक्थुङ चुम्लुङ हङकङले सन् २००५ मा सम्मान पत्र र नेपाली महासंघ हङकङव्दारा सन् २००८ मा कदर पत्र साथै मेडल र सन् २००९ मा नेपाली तेस्रो पदकव्दारा सम्मानित भएको छु ।
४.ताई क्वान दो खेलकुद क्षेत्रमा लाग्नुको प्रमुख कारण के हो ?
खासगरी म ताई क्वान दो खेलमा लाग्नुको प्रमुख कारण शारीरीक,मानसिक,बौद्धिक र नैतिक,ब्यक्तित्व बिकासको लागि नै हो । साथै यसक्षेत्रबाट सामाजिक प्रतिष्ठा र सम्मान पनि प्राप्त गर्न सकिने भएकोले खेल क्षेत्रबाट अगाडी बढेको हुँ । हङकङ ताई क्वान दो एसोसीएसनबाट एड्भान्स कोच (प्रशिक्षक)गरेको छु साथै क्वैलिफाइड रेफ्रीको रुपमा पनि काम गरी रहेको छु । वल्ड ताई क्वान दो फेडेरेसन कुकीवनबाट अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स सन् २००७ मा पुरा गरी सकेको छु ।
५.ताई क्वान दो खेलले मानिसको जीवनमा कस्तो प्रकारको प्रभाव पार्दछ ?
ताई क्वान दो खेलले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्दछ । जस्तो की नेपालको ताई क्वान दो खेल क्षेत्रलाई फर्केर हेर्दा सबै भन्दा पहिले सन् १९८८ को साउथ कारीया सिउल ओलम्पीकबाट बिधान लामाले कास्य पदक प्राप्त गरेका थिए । जस्ले गर्दा सिङगो नेपाललाई बिश्वभरी चिनाएका छन् । त्यसरी नै बिश्वलाई नेपाल चिनाउनेहरुमा राज कुमार राइ,सीता राइ,सङगीना वैद्य,रेनुका मगर,दीपक बिष्ट आदि हुन् । तसर्थ ताई क्वान दो खेलले मानसम्मान साथै बौद्धिक,नैतिक,शारीरीक र मानसिक,ब्यक्तित्व बिकास गर्ने भएकोले मानिसको लागि ज्यादै महत्वपूर्ण कुरा हो । राष्ट्रलाई बिश्वमा चिनाउदा देशले पनि उच्च सम्मानका साथ आर्थिक पुरस्कार दिने भएकोले खेलाडीको जीवनस्तरलाई धेरै सहयोग पुर्याएको छ । ताई क्वान दो खेलले गर्दा बैदेशीक रोजगार,बैदेशीक आत्मसम्मान साथै अन्य बिभिन्न अवसर समेत पाएका छन् ।
६.तपाई ताई क्वान दो खेलको गुरु हुनु भएकोले अन्य कार्यक्षेत्रमा पनि गुरुको चरित्र प्रदर्शन गर्नु हुन्छ की हुन्न ?अथवा खेल र कार्य क्षेत्रमा गुरुले निभाउनु पर्ने भूमिका वेग्लै हुन्छ ?
म एउटा ताई क्वान दो खेलको गुरु भएको नाताले के भन्न चाहन्छु भने खेल र कार्य क्षेत्रमा चरीत्र प्रदर्शन गर्नु पर्नेमा केहि फरक पर्दछ । किनकी ताई क्वान दो खेल अनुसारको निति नियम र निर्देशन पालना गर्नुपर्ने भएकोले त्यहि अनुरुप गुरुले आफ्नो चरीत्र प्रदर्शन गर्नु पर्दछ । साथै कार्यक्षेत्रमा कम्पनीको निति नियम र निर्देशन अनुसार बिभिन्न ओहदामा रहेर काम गर्नु पर्ने हुँदा त्यहि अनुरुप नै काममा प्रस्तुत हुनु पर्दछ । खेल र कामको प्रकृति नै फरक भएकोले परिस्थिती अनुसार म प्रस्तुत हुने गर्दछु ।
७.तपाई लिम्बुवानको लिम्बु खेलाडी भएको नाताले हाल नेपालमा लिम्बुवान स्वायत राज्यको कुरा आईरहेको छ यस बारेमा तपाईको बिचार के छ ?
म एउटा लिम्बुवानको लिम्बु खेलाडी भएको नाताले हाल नेपालमा लिम्बुवान स्वायत राज्यको कुरा आईरहेकोलाई सकारात्म रुपले हेरी रहेको छु । र त्यसको लागि सहयोग गर्नुपर्ने मानसिक तथा आर्थिक सहयोग पूर्णरुपले गरी नै रहेको छु । नेपालको इतिहासलाई पल्टाएर हेर्दा लिम्बुवान राज्य छुट्टै भएको देखिन्छ । तर शासकहरुले यस राज्यलाई तहसनहस गरी नामेट गराएका थिए । र पनि लिम्बुहरुको भाषा,धर्म,संस्कार,संस्कृति,लिपि कहिल्यै लोप भएर गएन । शायद यसकै कारणले होला लोकतन्त्रको आगमन पाश्चात लिम्बुवान शब्दले पुनर्जन्म पायो । त्यसैले अव म के भन्न चाहन्छु भने लिम्बुवान स्वायत राज्य नेपाल सरकारबाट नै घोषणा होस् । साथै अव बन्ने लिम्बुवान स्वायत राज्य लिम्बुहरुको मात्र नभएर गैरलिम्बुहरुको पनि हो । यसैले लिम्बुवानलाई सारा लिम्बुवानबासीहरुले माया गरौं ।
८.तपाईले हङकङमा एभरेष्ट ताई क्वान दो एकेडेमी समेत खोलेर खेलको बिकास र शिक्षा दिईरहनु भएको छ त्यसैले यस संस्थाको कार्य र उदेश्य के होला ?
एभरेष्ट ताई क्वान दो एकेडेमीको प्रमुख कार्य भन्नु नै ताई क्वान दो खेलको बिकास गर्नु हो । साथै यस संस्थाले खेलाडीहरुको मानसीक,बौद्धिक,शारीरीक,नैतिक र ब्यक्तित्व बिकास गर्ने कार्यमा लागि रहेको छ । खेलबाट नै सामाजिक र ब्यावसायीक सेवा गर्न सकिने भएकोले नेपाली तथा गैरनेपाली खेलाडीहरुमा यिनै उदेश्यहरु राखेर खेल प्रशिक्षण कार्य गर्दै आएको छ । यसै क्रममा हङकङ नेपाली महासंघले सन् २००८ म प्रशिक्षकलाई कदर पत्र प्रदान गरेको थियो भने २००९ मा संस्थालाई नेपाली तेस्रो पदकले समेत सम्मान गरेको थियो ।
९.तपाईले खेल क्षेत्र नै रोज्नुको कारण के होला ?यदि खेल क्षेत्रमा नलाग्नु भएको भए कुन क्षेत्रलाई रोज्नु हुन्थ्यो होला ?
म एक प्रकारले सानै देखि खेल खेल्नमा मरीहत्ते गर्थे । त्यसवेला मलाई खेलबाट समाजसेवा वा ख्याती कमाईन्छ भन्ने कुरा थाहा थिएन तर पनि खेलप्रति ज्यादै आकर्षित थिए । खासगरी म सानो छदा बिना हतियार बलियो हुन मन लाग्थ्यो । साथै माध्यमिक विद्यालय जादा ताप्लेजुङमा मैले औपचारी कराते खेल प्र दर्शन गर्ने मौका पाए । त्यसपछि क्याम्पस अध्यायन गर्दा काठमाडौंमा मैले औपचारीक रुपले ताई क्वान दो खेल खेल्ने र सिक्ने अवसर पाएको थिए । नेपालमा रहदा समय अभावले गर्दा ताई क्वान दो खेललाई निरन्तरता दिन सकिन । तर हङकङ अगमन पाश्चात भने कोरीया ताई क्वान दो चुङ दो क्वान हङकङको नेपाली समूहको प्रशिक्षार्थी र प्रशिक्षक भएर झण्डै ८ वर्ष त्यहा आवद्ध भए ।त्यसपछि भने मैले एभरेष्ट ताई क्वान दो एकेडेमी खोलेर यो खेलको प्रशिक्षण दिने कार्य पनि गर्दै आएको छु । हाल यो एकेडेमी चौथौं बर्षा प्रवेश गरीसकेको छ । म सानो छदाको खेल खेल्ने सपना अहिले आएर वास्तबिकतामा परिणत भएको छ । खेल नै मेरो सपना भएकोले खेल क्षेत्र रोजेको हुँ । यदि खेल क्षेत्रमा नलागेको भए नेपाल भने राजनितिक नेता नै हुन्थे होला । किनभने सानो छदा पनि राजनितिक गतिविधीलाई रुचाउथे । हङकङमा पनि खेललाई नरोजेको भए सामाजिक सेवा तिर खुलेर लाग्थे होला । खासगरी यहाँ मैले खेलबाट नै समाजिक सेवाको कार्य गरी नै रहेको छु ।
१०.ताई क्वान दो खेल क्षेत्रमा आउनु हुने नयाँ पुस्ताका खेलाडीहरुलाई कस्तो प्रकारको सल्लाह र सुझाव दिन चाहनु हुन्छ ?
ताई क्वान दो खेलको शुरुआत हुँदा मार्सल आर्टको रुपमा खेलिदै आएको थियो । तर पछि गएर पूर्णरुपले स्पोर्टको रुपमा परीणत भयो । त्यसपछि भने बिश्व कै लोकप्रिय खेलको रुपमा खेल्न थालियो । यो खेलको स्तर र महत्व दिनप्रति दिन स्तरीय बन्दै गयो जस्ले गर्दा बिश्वभरीमा १३४ देशबाट झण्डै १ करोड ८० खेलाडीहरु र ५० लाख भन्दा बढी प्रशिक्षकहरु मात्र रहेकाछन् । यसरी खेलाडीहरु दिनानु दिन वृद्धि हुनुको प्रमुख कारण मानसीक,नैतिक,वौद्धिक,शैक्षिक,ब्यक्तित्व र आर्थिकको समेत बिकास गर्ने भएकोले यो खेलमा लाग्नको लागि नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरीत गर्न चाहन्छु । यो खेलको भविष्य अहिले भन्दा पनि अझ गुणात्मक रुपले वृद्धि हुदै जाने भएकोले यो खेलको मुल्य र मान्यता बिश्वभरीमा नै उच्च रहेको छ । त्यसैले ताई क्वान दो खेल क्षेत्रमा लाग्न नयाँ पुस्ताका खेलाडीहरुलाई सल्लाह र सुझाव दिन चाहन्छु ।
११.तपाई हङकङमा रहनु भएकोले नेपालको वर्तमान राजनैतिक परिस्थितिलाई एउटा खेलाडी हैसियतले कसरी मुल्याङकन गर्दै हुनुहुन्छ ?
म अहिले हङकङमा रहे पनि नेपालप्रतिको मायाँ र स्नेह नेपाल रहनु हुने नेपालीहरुको जति नै छ । सायद बिदेशी भूमिमा बसीएकोले होला नेपाल प्रतिको माया झन प्रगाढ भएर आएको छ । खासगरी नेपाल दुइ ढुङगा बिचको तरुल भने पनि हुन्छ । दुइ बिश्व कै शक्तिसाली देशहरुको बिचमा रहेर राजनैतिक खिचलो मचाउनु निक्कै अशुभ कार्य हो किनकी भोलि गएर राजनैतिक तानातानले गर्दा राष्ट्रको नाम नै नामेट भएर जान सक्छ । त्यस कारण नेपालका ठुला साना सबै राजनैतिक पार्टीहरु एकजुट भएर राष्ट्रको हितमा अगाडी बढ्न जरुरी छ । र नेपालमा शान्तिको अमनचयन कायम गरी सारा नेपालीहरुको बाच्ने अधिकार सुरक्षित गर्नु पर्दछ । तब मात्र नेपालले बिकासतिर फड्को मार्ने सुअवसर प्राप्त गर्दछ । नेपाली नागरिकहरुको सम्पूर्ण हकअधिकार सुरक्षित गरी शैक्षिक,आर्थिक,नैतिक बिकास भएको म हेर्न चाहन्छु । जस्को लागि नेपालको राजनैतिक पार्टीहरुले प्रमुख भूमिका खेल्नु पर्दछ । चीन र भारत बिच राजनैतिक समन्वय कायम गरी अघि बढ्नु पर्दछ । तब मात्र नेपालको सार्वाङगीण बिकासको ढोका खुल्दछ । अहिलेको राजनैतिक परिस्थिति सकरात्मक र नकरात्मक दुबै पक्ष बिच गुज्रिरहेको छ । त्यसैले दुवै पक्ष मिलेर राष्ट्रको लागि अगाडी बढ्नु नै उचित ठान्दछु ।
१२.एउटा ताई क्वान दो खेलाडी गुरुको आँखाले खेल र जीवनलाई कसरी हेर्नु हुन्छ ?
एउटा ताई क्वान दो खेलाडी गुरुको हैसियतले म खेललाई मानिसको जीवनको अत्यान्तै जरुरी अथवा नभई नहुने कुराको रुपमा हेर्दछु । किनभने खेलले मानिसको ब्यक्तिगत जीवनलाई बिकास गर्न सहयोग गर्दछ । खेलले खासगरी शारीरीक,मानसिक,बौद्धिक,नैतिक,आत्मरक्षा,ब्यक्तित्व र आर्थिक हिसावले पनि अगाडी बढ्न मद्दत गरेको छ । ताई क्वान दो खेल ओलम्पीकको लोकप्रिय खेल मध्ये एकमा पर्दछ । र यो खेल बिश्व कै धेरै भन्दा धेरै मानिसहरुले खेल्ने गरेका छन् । मानिसको शारीरीक बिकासको लागि खेल ज्यादै आवश्यक पर्दछ । त्यसैले खेललाई मानिसको लागि नभई नहुने कुराको रुपमा हेर्दछु । किनभने बिश्वका मानिसहरु कुनै न कुनै खेलमा आवद्ध भएका हुन्छन् । मानिसले जन्मे देखि अन्त्य सम्ममा महान कार्य गरेका हुन्छन् । जस्तै बैज्ञानिक,पाइलट,डाक्टर,इन्जिनियर,राजनेता,अभिनेता,भविष्यवेत्ता,मनोवैज्ञानिक,भूगर्भशास्त्री र अर्थशास्त्री आदि बन्छन् । त्यसरी नै खेलले गर्दा पनि मानिस लोकप्रिय खेलाडी रुपमा प्रस्तुत हुन सक्दछ । जस्तै राष्ट्रलाई चिनाउने खेलाडीहरु हुन्छन् । यसकारणले गर्दा मानिसको जीवनलाई खेलाडी गुरुको आखाले हेर्दा ज्यादै भिन्न रुपले देख्दछु ।
१३.यस खेलमा लाग्नको लागि कसैको प्रेरणा छ की ? साथै खेलमा प्राप्त गर्नुभएको श्रेय कस्लाई दिन चाहनु हुन्छ ?
खासगरी यस खेलमा लाग्नको लागि कसैको प्रेरणा छैन भन्दा पनि हुन्छ । म आफै त्यागी भएर लागेको हुँ । सुरुमा यस खेललाई अङगाल्दा कसैले पनि खेल क्षेत्रमा लाग्नको लागि प्रोत्साहन दिएनन् । बरु हतोत्साह गर्न खोजे तर मैले आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर पाइला चाली रहे । जस्ले गर्दा म आज यस स्थानलाई ग्रहण गर्न पुगे । खेल क्षेत्रमा लागेर प्राप्त गरेको श्रेय खासगरी मेरो परिवारलाई दिन चाहन्छु । किनभने मेरो घर परिवारको सम्पूर्ण काम मेरी श्रीमति एक्लैले पुरा गरी दिएर सारा समय निकाली दिन्थिन् । त्यहि समयको सदुपयोग गर्दै खेल क्षेत्रबाट यस्तो उपलब्धि प्राप्त गरेको हुँ । यदि घरको सरसहयोग नहुने हो भने मेरो खेलको सपना अवश्य पुरा हुने थिएन ।
१४.लिम्बुवान ब्लगको माध्यमबाट बिश्वभर छरिएर रहनु भएका पाठकहरुलाई केहि सन्देश दिन चाहनु हुन्छ ?
सर्वप्रथम यस ब्लगमा मलाई आफ्नो दुइ शब्द राख्ने मौका दिनु भएकोमा तपाई टंक सम्वाहाम्फेलाई धन्यवाद दिन चाहन्छु । र बिश्वभर छरिएर रहनु भएका मेरा साथीभाइ सम्पूर्ण सुभचिन्तकहरुलाई र्सबप्रथम कुनै पनि खेलमा लागेर खेलको बिकासमा जुनसुकै देशमा वा स्थानमा रहेर पनि योगदान दिन सक्नु हुनेछ । खासगरी खेलले ब्यक्तित्व,नैतिक,वौद्धिक,शारीरीक,मानसिक,आत्मरक्षा र आर्थिक बिकासमा सहयोग पुर्याउने भएकोले यस क्षेत्रमा लागेर तपाईहरु सधै अगाडी बढी रहनुहोस् । जहाँ रहे पनि हाम्रो देश नेपाल र नेपालीलाई माया गर्नुहोस् । खेल अहिले समयसापेक्ष सवैले खेल्नु नै उचित ठान्दछु ।

No comments: