Oct 19, 2009

विक्रम सुब्बासंगको अन्तरर्वार्ता

“गणतन्त्रको खेती कविता आन्दोलान” अझै जारी छ - विक्रम सुब्बा

विक्रम सुब्बाको वैयक्तिक विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रश्न १. गणतन्त्रको खेती कविता आन्दोलन कविता सुरु गर्नु भएको थियो । मुलुकमा गणतन्त्र आईसक्यो । यो आन्दोलन विर्सजन गर्नु भयो कि जारी छ ?
प्राविधिक रुपमा, प्रश्नमा भनेजस्तो ‘मुलुकमा गणतन्त्र आइसक्यो’ भनिहाल्न मिल्दैन । जबसम्म ‘गणतान्त्रिक सम्बिधान’ बन्दैन तबसम्म गणतान्त्रिक राज्यसञ्चालन प्रणाली सँस्थागत हुँन थाल्दैन । तसर्थ “गणतन्त्रको खेती कविता आन्दोलान” अझै जारी छ भन्नु पर्छ । तर अहिले आएर परिस्थिती फेरिएको छ आन्दोलनको रुप पनि फेरिएर “होसियार” भएको छ । यसको आसय हो - अझैपनि गणतन्त्रतिर उन्मुख नगराएर मुलुकलाई अर्कैतिर लैजान कसैले खोज्लान ! होसियार है ! भनि नीति निर्माता तथा सबै प्रबुद्ध पाठकहरूलाई सचेत गराउँनु हो । गणतन्त्रले सम्बिधान मार्फत सँस्थागत रुप पाईसकेपछि (पाउला भन्ने बिश्वासका साथ) “गणतन्त्रको खेती कविता आन्दोलान”लाई पनि विधिवत विसर्जन गर्ने विचार छ । त्यसको लागि काम पनि हुँदैछ । हेरौँ, हाम्रो मुलुक ‘नेपाल’कै रुपमा रहिरहे एउटा कार्यक्रम नै गरेर “गणतन्त्रको खेती कविता आन्दोलान”को विसर्जन गरौँला ।
२. गणतान्त्रिक नेपालमा कवि साहित्यकारका इच्छा आकांक्षा पुरा भए त ?
यो प्रश्नको जवाफमा एउटा ठट्ठा सुनाउँनु उचित लाग्यो । एकपल्ट एकजना कविलाई स्वर्गमा ईन्द्र महाराजको दरवारबाट बोलावट आएछ । ईन्द्र महाराजले आफ्ना सबैभन्दा राम्री अप्सराहरूको लस्करै कविको समुन्ने लस्करै बसाएर देखाएछन् । कविलाई स्वागतका माला पहिर्‍याईसकेपछि कवि कुर्सिमा बसेपछि उनलाई एक प्याला सुरा पनि टकर्‍याईयो । कविले प्यालाबाट एक सुरुप तानेर प्याला टेवलमा राख्नेबित्तिकै ईन्द्र महाराजले सोधेछन् - ‘मेरो दरवारका सुन्दरी अप्सराहरु कस्ता लागे कविजी?’ कविले जवाफमा भनेछन् - ‘यी मेरा सामुन्नेका अप्सराहरूलाई मैले यिनलाई हेरि सकेँ । यी सुन्दर छन् । तर यी भन्दा अझ सुन्दरीहरू चाहीँ कहाँ छन् नि?’ अर्थात कवि साहित्यकारहरू हाल उपलब्ध सौन्दर्यमा मात्र अल्झेर बस्ने जातका मानिस होइनन् । कविहरूको सौन्दर्यको भोक ईन्द्र महाराजले पनि पुरा गर्न सक्दैनन् । जुनदिन कविहरूको इच्छा आकांक्षा पुरा हुन्छ त्यो दिन दुनियाँको उन्नति प्रगतीमा ‘स्ट्यागनेशन’ आउँछ । कवि हुनु भनेको आजिवन प्रतिपक्षमा बस्नु हो । अर्थात, समाजमा वा मुलुकमा जे जति बेथिती छन् तिनको खोज तलास गरेर उजागर गर्दै ‘के गरेर गर्छौ मुलुकको अवस्था सुधार गर’ भनि देखाइदिनु कविको नित्य काम हो । यो काम रोकियो भने समाज वा मुलुक यथास्थितीमा जकडिन्छ । यो भनेको समाज वा मुलुक ‘अघि बढ्नु’को विपरितार्थ हो । त्यसैले, सच्चा ‘कवि वा साहित्यकारहरूको इच्छा आकांक्षा पुरा भयो’ भन्ने हुँदैन । भाट कवि वा साहित्यकारहरुको हकमा मात्र ‘इच्छा आकांक्षा’ पुरा हुने कुरा होला ।
३. एकताका तपाई छोटा कविता (छोक) अभियानमा सक्रिय हुनहुन्थ्यो । अहिले चर्चा छैन नि त्यो छोड्नु भयो कि?
‘छोक’ अभियानले नेपाली कवितामा आफ्नै ठाउँ बनाइसकेको छ । अहिले केयौँ कविहरू मेरो अभियान वा छोक अवधारणाको कुरै नगरी छोक लेख्दैछन् । मैले छोक थालेपछिको पुस्ताका के कति कविले छोक लेख्न थाले भन्ने कुरा कसैले अध्ययन गरे त्यो प्रष्ट हुन्छ । मैले आफैले के बोलुँ ?
४. तपाईंको मन पर्ने विधा कुन हो किन ?
मलाई मन पर्ने विधा कविता, बायोग्राफी र दर्सन शास्त्र हुन् । मानिसका भनुभूतिहरू कवितामा नै सबैभन्दा मिहिन किसिमले सशक्त रुपमा प्रकट हुन्छन् । मलाई मनको तस्विर जस्तो लाग्छ कविता र मन पर्छ । वुद्धले ‘भावनामय पञ्या’ भनेको पनि यही हो जस्तो लाग्छ । किनभने आफैले सशरिर वा अनुभूतिको तहमा जीवनका अनेक पाटाहरू भोगेर मात्र राम्रो कविताको सृजना गर्न सकिन्छ ।
बायोग्राफी पनि वुद्धले ज्ञानको एक स्रोतको रुपमा उल्लेख गरेको ‘सुत्तमय पञ्या’ हो । मानिसले जे जस्तो जीवन भोग्छ वा अनुभव गर्छ त्यसको यथार्थ दस्ताबेज हो योग्राफी । त्यो दस्ताबेज पुस्तौँ पुस्ताका निम्ती ज्ञान दिने बेज्जोड शैक्षिक सामग्री नै भएर रहिरहन्छ । मेरो विचारमा रामायण, महाभारत, बाइबल, कुरान वा मुन्धुम जस्ता महान ग्रन्थहरू पनि तात्कालिन समय-ग्राफी हुन् जसले पुस्तौँ पुस्तासम्म त्यतिखेरको समाज कस्तो थियो भनेर सूचना वा ज्ञान निरन्तर दिइरहन्छन् । त्यस्तै गरेर महात्मा गान्धीको वायोग्राफी होस् वा नेल्शन मण्डेलाको Long Walk to Freedom ले, बिपी कोइरालाको ‘जेलजर्नल’ले होस् वा परमहंस योगानन्दको ‘योगी कथामृत’ले, बाराक ओबामाको Dream from My Father र The Audacity of Hope ले होस् वा कर्ण शाक्यको ‘सोच’ले, यी पुस्तकले तात्कालिन समयमा उपरोक्त समाज के कसत् थियो भन्ने बारेमा थुप्रै कुरा सबिस्तार बताउँछन् । अर्थात, पछिको समाजलाई ‘हिजोको हाम्रो समाज कस्तो थियो’ भनेर बूझ्न यिनले मद्दत गर्छन् । कुनै पनि समाजले आफ्नो ‘हिजो’लाई राम्ररी बुझे मात्र आफ्नो ‘आज’लाई बुझ्न सक्छ । र, जुन समाजले आफ्नो ‘विगत’ र ‘वर्तमान’लाई राम्रोसँग बुझ्न सक्छ त्यसले मात्र आफ्नो ‘भविष्य’को बारेमा स्पष्टसँग ‘सोच्न’ सक्दछ । जुन समाजले आफ्नो ‘भोलि’ कस्तो हुनु पर्छ भनि स्पष्टसँग सोचेर काम गर्न सक्छ त्यही समाज कतै अलमल नगरी प्रगतिमा अघि बढ्दछ ।
दर्शन शास्त्रले यो जीवन के हो? यो चराचर संसार के हो र कसरी चल्छ? यो समाज के हो र किन फरक फरक किसिमले चल्छ? भन्नेजस्ता जस्ता थुप्रै गंभीर प्रश्नहरूको जवाफ दिन खोज्छ । यस्ता गंभिर प्रश्नहरूको जवाफलाई आधार मानेर चल्नेहरूको समाज सभ्य हुन्छ । अर्थात जीवनलाई, जगतलाई, समाजलाई ठीक ढंगले बुझ्न दर्शन शास्त्रले मद्दत गर्दछ । जसले जीवन, जगत र समाजलाई ठीक ढंगले बुझ्दछ उसैले नेतृत्व लिए मात्र समाजको गतिशीलता सही दिशातिर अग्रसर हुन्छ ।
५. गणतन्त्र अघि र पछिका साहित्य लेखनमा के फरक पाउनु भएको छ ?
‘गणतन्त्र अघि र पछि’ भन्ने बेला भइसकेको छैन । माथि नै मैले भनेँ - ‘गणतान्त्रिक सम्बिधान’ नबनेसम्म मुलुक ‘ट्रान्जिस्नल फेज’मा छ । अझै पनि हामीले जोडतोडका साथ लागेर साँच्चैको ‘गणतान्त्रिक सम्बिधान’ बनाउँनु छ । ‘यो मेरो सम्बिधान हो’ भनेर मुलुकका सबैले मन पराएको सम्बिधान नै नयाँ नेपाल वा ‘गणतन्त्र नेपाल’को सही आधार हुन सक्दछ । यही पृष्ठभूमिमा टेकेर निरंकुश राजतन्त्र ढल्नु अघि र पछिको समयसिमालाई लिएर हेर्ने हो भने निरंकुश राजतन्त्र ढल्नु अघि के माओवादी, के कांग्रेस, के एमाले सबैको अर्जुन-तीर निरंकुस राजतन्त्रका विरुद्ध ताकिएका थिए । अहिले कोही गणतन्त्रलाई सँस्थागत गर्नु पर्छ भनेर लागेका छन् भने कोही ‘शिरपेचबिनाको राजा’का रुपमा सकृय छन् । जनजन आफ्नो समस्याहरूले किचिएर मुक्तीका लागि चिच्याइरहेछन् । मुलुकै कतै हराउला भन्ने त्रास छ । तसर्थ अहिलेको साहित्य यिनै चिन्ता र चाहनाहरुलाई केन्द्रविन्दुमा राखेर लेखिएको देखिरहेछु पढिरहेछु । अर्थात इमान्दार साहित्यकारहरू अहिले पनि ‘गणतन्त्र नल्याई थकाइ मारौला’ भनि खवरदारी गरिरहेछन् । म अहिलेको साहित्यलाई खवरदारी साहित्य भन्दछु ।
६. अबका लेखकले कस्तो साहित्य लेख्नु पर्छ ?
लेखकले जहिले पनि जीवन लेख्ने हो, आफ्नो समाज लेख्ने हो, आफ्नो देश लेख्ने हो र आफुले बाँचेको युग लेख्ने हो । जीवन, समाज देश कहिले राजाको निरंकुश शासनमुनि पिसिएको बेला त्यसबाट मुक्ति पाउन लागिपरेका जनतालाई उत्साह थप्न सघाउँने गरी साहित्य लेखिन्छ । आफुले बाँचेको युग पनि कहिले हस्तक्षेपकारीहरूको दबदबामा चल्ने अवस्था आउँछ, मुलुकको अस्तित्व नै खतरामा पर्छ र त्यस्तो बेला मुलुकलाई जोगाउँन प्रत्साहित गर्ने साहित्य लेखिन्छ । अहिले आएर सन् २०१५ सम्ममा नेपाललाई भारतमा गाभ्ने रणनीति मुताबिक ‘र’ ले काम गरिरहेको छ भनि पुस्तकै पढन (एक उदाहरण: जासुसीको जालो विदेशी गुप्तचरको नेपाल चलखेल, पृष्ठ २-६०, सरोजराज अधिकारी २०६५, प्रकाशक: सुनिता भट्टराई) पाइन्छ । अझ के पनि हल्ला सुनिन्छ भने नेपाल सरकारको टप लेवलका अफिसरहरू नै करिव दुइ हजारको संख्यामा ‘र’ कै “ग्र्याण्ड डिजाइन” अनुसार नेपाललाई भारतमा गाभ्ने कसरतमा छन् अरे । किनभने ‘र’ को विश्लेषणमा संबिधान सभाको यो ‘ट्रन्जिस्नल फेज’ जस्तो सुवर्ण अवसर फेरि आउँने छैन । यही धमिलो पानीमा माछा मार्नै पर्छ’रे । अब नेपालले भारत र चीनसँगको मित्रतालाई सन्तुलित ढंगले अघि बढाउँन नसके ‘नेपाली’ भन्ने शब्द मात्र संसारभरि रहला तर ‘नेपाल’ भन्ने शब्द दुनियामा कहीँ नहुन पनि सक्छ । यस्तो अवस्थामा गर्लफ्ण्डसितको माया-पिरतीका कुरा भन्दा मुलुकको मायामा कविता वा साहित्य रचिनु पनि स्वाभविकै हुने भो ।
७. तपाईले आफ्नो मातृ भाषामा कुनै कृति लेख्नु भएको छ ?
मैले लिम्बु भाषामा कुनै कृति लेखेको छैन । एकचोटी एउटा कविता “आलुङमा ही:म” अर्थात ‘मलाई विरक्त चल्छ’ भन्ने शिर्षकको कविता रचेर प्रज्ञा प्रतिष्ठानमा वाचन गरेको थिएँ । त्यो कविता पनि कहाँ पुग्यो ? पत्तो छैन ।
८. तपाईंका अहिलेसम्म प्रकाशित भएका वा प्रकाशोन्मुख कृति के के रहेका छन्?
मेरा अहिले सम्म प्रकाशित वा प्रकासोन्मुख (नेपाली र अंग्रेजी भाडामा) कृतिहरु माथि परिचयमा उल्लेख भएका छन् । ९. तपाईंका कृतिले वा तपाईं आफैले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
छैन छैन । एकचोटी व्यथित काव्य पुरस्कार दिने प्रस्ताब आएको हो । मैले ‘नलिने गरेको’ कुरा राखे पछि कुरै सिद्धियो । त्यस्तै गरेर प्रज्ञा प्रतिष्ठानको सदश्यका रुपमा एकचोटी मेरो नाम चयन भएको थियो त्यो आफै बदर भयो । अर्थात, मैले कुनै पुरुस्कार नलिने निधो गरेको छु । पुरस्कारको निम्ती होइन ‘समाजको रुपान्तरणका निम्ती साहित्य लेखनु पर्छ’ भन्ने मेरो मान्यता हो । सोझै वा घुमाउरो रुपमा पुरस्कारमा खरिद बिक्रीको पनि गंध आउँछ जसले लेखकभित्रको ‘प्रतिपक्ष’ तत्व भुत्ते हुन्छ र उसले सम्झौता गर्न थाल्छ । जब साहित्यकारले सम्झौता गरेर लेख्न थाल्छ तब त्यो साहित्य होइन ‘चाकडी’मा परिणत हुन्छ । मेरो कविता पढेर केही मानिसलाई मात्र समाज परिवर्तनका लागी थोरै पनि उर्जा दिए त्यही नै पुरस्कार हो । सम्मान गर्दै कसैले माला वा खादा लगाइदिएको चाहीँ ग्रहण गर्ने गरेकोछु ।
१०. अब बन्ने संविधानमा मातृ भाषाको बारेमा कुनै कुरा किटानिसाथ लेखियोस् भन्ने ठान्नु हुन्छ ?
संबिधान सभा कुनै पनि मुलुकको जीवनमा पटकपटक नघट्ने घटना र मौका दुबै हो । अब बन्ने संविधानको पूर्वशर्तका रुपमा ‘संबिधान सबै नेपालीका लागी स्वीकार्य हुनु पर्दछ’ भन्ने अवधारणाबाट निर्देशित हुनु पर्दछ जस्तो लाग्छ । यसरी हेर्ने हो भने संबिधान सभामा पार्टीगत रुपमा चुनिएर आउँने मात्र होइन अन्यको पनि सहभागिता हुनु पर्थ्यो । जस्तो त्यहाँ नागरिक समाजको सहभागिता हुनु पर्थ्यो, कुनै पार्टीको झण्डा नबोकी महिलाको मात्र सवालमा लाग्ने एक्टिभिष्टहरुको प्रतिनिधित्व हुनु पर्थ्यो, कुनै पार्टीको झोला नबोक्ने तर जनजाती-सवालको झण्डा बोक्नेको पनि सहभागिता हुनु पर्थ्यो, आफ्नै हकहितको कुरा गर्ने दलीतहरूको सहभागिता हुनु पर्थ्यो । जुन हुन दिईएन । अब संबिधान सभाले उल्लेखित क्षेत्रका आवाज र सवालहरू समेट्न सक्नेछैन । तपाइँनै हेर्नोस् मधेशको सवाल उठाउँने पार्टी मात्र तीन चार वटा भए तर महिला, जनजाती र दलितको सवाल उठाउँने त कोही भएनन् । यो एक ठूलो ऐतिहासिक भूल कांग्रेस, एमाले र माओवादीले गरेकाछन् जसको नकारात्मक असर मुलुकले पछिसम्म भोग्नु पर्नेछ ।
मिहिन किसिमले अध्ययन गरे थाहा हुन्छ - अब बन्न लागेको संबिधान सिरिफ ‘पार्टी’हरू र ‘मधेश’वादीहरूको संबिधान बन्दैछ । किनभने नागरिक समाजको, महिलाको, जनजातीको र दलीतको झण्डा उठाउँने संबिधान सभामा कोही छैनन् । पार्टीभित्रबाट संबिधान सभामा पुगेका महिला, जनजाती र दलितहरूले पार्टीको लाईनभन्दा पर गएर आफ्नो हकहितका कुरा गर्न थाले पार्टीको “ह्वीप” लाग्छ । त्यसैले अहिले संबिधान सभामा पुर्‍याइएका महिला, जनजाती र दलितहरूले साँचो अर्थमा महिला, जनजाती र दलितहरूको प्रतिनिधित्व गर्दैनन् बरु ती त झुक्याउँनका लागी सृंगारिक प्रतिनिधित्व (Ornamental representation) गराएईएका कठपुतली मात्र हुन् । यो मुलुक पार्टीहरु र मधेशवादीहरुको मात्र पनि होइन क्यारे । यो मुलुक त सम्पूर्ण नेपालीको हो र यो मुलुकको संबिधान पनि पार्टीहरूले मन पराएको ‘राम्रो’ संबिधान होइन सम्पूर्ण जनताले ‘हाम्रो’ भनि अंगिकार गरेको संबिधान हुनु पर्थ्यो । जुन अब हुन सक्दैन । अर्थात, ‘पार्टीहरू’ र ‘मधेश’वादीहरूले बनाएको संबिधान मार्फत नागरिक समाजको, दलितको, महिलाको र जनजातीको सवालहरूको सम्बोधन अब हुन सक्दैन । किनभने पार्टीहरू ‘खस’ जातिको कब्जामा छन् तिनले ‘खस’ जातिकै हितलाई ध्यानमा राकेर ‘मनुस्मृती’कै आधारमा संबिधान लेख्नेछन् जसले महिलालाई, दलितलाई र जनजातीलाई दबाएरै राख्ने दार्शनि आधार दिन्छ । ‘मधेश’वादीहरू हिन्दु अतिवादिको प्रतिनिधित्व गर्दछन् र तिनले ‘वौद्ध’को, किरातको, जैनको, ईशाइ र मुस्लिम आदीको हित संविधानमा समायोजन गर्न खोज्ने कुरै भएन । अझ सुन्छु ‘मधेश’वादिहरू त भारतका हिन्दु अतिवादीको प्रायोजनमा संचालित छन अरे । छनक पनि उस्तै छ । ‘हिन्दी’ भाषा कै कुरा लिउँ । ‘हिन्दी’ यस्तो अनौठो भाषा हो जुन दुनियामा कसैको पनि मातृ भाषा होइन । तर मधेशवादीहरू ‘हिन्दी’ भाषालाई ‘नेपाली’ सरह ‘लिङ्ग्वाफ्राङ्का’ को रुपमा संबिधानमा राख्नु पर्छ भन्दैछन् । यो त झनै खतरनाक कुरा भयो । अबको युगमा बन्दुकले सके बन्दुकले, बन्दुकले नसके व्यापारले, व्यापारले नसके केमिकल वारले (जस्तो कि अहिले स्वाइन फ्लु अमेरिकाले केमिकल बमको रुपमा बनाएर परिक्षण गरेको भन्ने पनि सुनिन्छ), कतै भाषा र साहित्यले (जस्तो कि नेल्शन मण्डेलाले भनेका थिए - ‘बृटिशहरुले दक्षिण अफ्रिका पस्दा बाइबल र अंग्रेजी भाषा दिए । हामीले आँखा चिम्लेर बाइबल र अंग्रेजी भाषा थाप्यौँ । आँखा खोलेर हेर्दा बाइबल र अंग्रेजी भाषा हाम्रो हातमा थियो तर हाम्रो मुलुक बृटिशहरुको हातमा थियो ।‘) साम्राज्य फैलाउँनेहरू सकृय छन् । फेरि कुरा अब बन्ने संबिधानको, यसले महिला, जनजाती, ईसाइ, मुस्लिम, नागरिक समाज आदीको सवाल नसमेटेपछि महिलाले, जनजातीले, दलितले, ईशाइले, मुस्लीमले र नागरिक समाजले त्यो संबिधानप्रति असहमति जनाउँनेछन् । अर्थात संबिधान जन्मिँदै इनबिल्ट असहमतिहरू लिएर जन्मिनेछ । त्यो भनेको संविधानले नै अशान्तिको विऊ मुलुकमा रोप्नेछ । कस्तो विडम्बना ! दुनियाँभरि संविधान लेखनको उद्देश्य ‘शान्ति’ प्रत्याभूत गर्नु हुन्छ, नेपालमा संविधान लेखनको उद्देश्य ‘अशान्ति’ प्रत्याभूत गर्नु भइरहेछ ।
माथि उल्लेखित बृहद पृष्ठभूमिमा मतृभाषाको सवाललाई पनि हेर्नु पर्दछ । ‘गणतन्त्र’को छहारीमा बस्ने र ‘मतृभाषाको अधिकार’ कसैले पाउँदैन भन्ने कुरा त आइएलओ १६९ र यूएनड्रिप वा बेजिङ १० जस्ता अन्तर्राष्ट्रिय कानूनहरूकै बिपरित हुन्छ । यसो भएमा नेपाल सरकारले अन्तर्राष्ट्रिय कानूनका आधारमा सजाय भोग्नु पर्ने हुन्छ । किनभने यी सबै अन्तरार्ष्ट्रिय कानूनहरूमा नेपालले सहमती जनाएर सहीछाप गरिसकेकोछ । तर यस सवालको अर्को पाटो पनि रहेको कुरालाई भुल्नु हुन्न । त्यो के हो भने - मातृभाषामा लेख्न पढ्न दिने तर ती मातृभाषामा पढिने र लेखिने विषयवस्तु चाहीँ मानव अधिकार असम्मत, जनजातिको अधिकार विरोधी, महिला अधिकार बिटुल्याउँने किसिमका भए त ‘मातृभाषा’को प्रयोग पनि झन विषालु किसिमले भएको ठहरिन्छ । अर्थात, ‘लिम्बुवान’ हुने तर लिम्बुहरूले अधिकार नपाउँने, ‘मिथला’ हुने तर मैथिलहरूले अधिकार नपाउँने, ‘थरुहट’ हुने तर थारुले अधिकार नपाउँने किसिमको ‘गणराज्य’हरू बनाए त फेरि पनि त्यहाँ अशान्ति हुन्छ नै । त्यसैले, अब बन्ने संबिधानमा मातृभाषा र सबैको अधिकारलाई अंतरिम संबिधानमाभन्दा पनि प्रष्ट रुपमा किटान गरिनु पर्छ । तर शंक के छ भने ‘खस भाषा’ र ‘हिन्दी भाषा’को मात्र वकालत गर्ने, अरुको मातृभाषाको अधिकार सुन्नै नचाहने ‘पार्टीहरू’ र ‘मधेशवादीहरु’का बाँदर थुन्ने चिडिया घरजस्तो संविधान सभाले जनजातीको, महिलाको, दलीतको अधिकारको कुरा संबिधानमा समेट्न सक्दैनन् जसले फेरि मुलुकमा अशान्तिको विऊ रोपिने पो हो कि ? त्यसो भए ‘नेपाल’मा दीर्घकालिन रुपमै ‘अशान्ती’ एक सँस्कार भएर रहने छ । जुन देशमा ‘अशान्ति’ भइरहन्छ त्यो देशलाई अरुले हेप्छन्, उन्नती र विकास ज्यादै सुस्त हुन्छ र विस्तारै भारतजस्तो मुलुकले भारतमै ‘विलय होउ’ भनि प्रस्ताव गर्ने आधार मिल्छ ।
११. नेपाली भाषामा लेखिरहेका मातृ भाषि लेखकलाइ के सल्लाह दिनु हुन्छ ?
प्रथम त ‘नेपाली भाषामा’ र ‘मातृ भाषि लेखक’ भन्ने तपाइँको शव्दावलीहरूको प्रयोग मिलेन । तपाइँजस्तो प्रवुद्ध व्यक्तीले यसरी सब्दावली प्रयोग गरेर महिन किसिमले विभेदि कुरा गर्नु असोभनिय कुरा हो भन्ने ठान्दछु । यसमा मेरो आपत्ति छ । यी शब्दावलिहरूको प्रयोग भित्र ‘खस’ भाषालाई चाहीँ ‘नेपाली’ भाषा र नेपालको अन्तरिम संविधानले नै ‘राष्ट्र भाषा’को रुपमा स्वीकारी सकेको अन्य सबै भाषाहरूलाई चाहीँ ‘मातृभाषा’ भनि पश्चगामी सोच झल्किन्छ जुन अब असंबैधिनक कुरा पनि हो । यो असंवेदनशीलताप्रति मेरो समवेदनशील कमेण्ट हो । ‘खस’ भाषा (तपाइँले ‘नेपाली भाषा’ भनेको)मा लेखिरहेका अन्य भाषाका लेखकहरू (तपाइँले ‘मातृभाषि’ भनेका)हरू दुइ किसिमका छन् । पहिलो किसिमकाले आमाको दूध पुरै विर्सेर ‘हिन्दु’ अवधारणा र मिथकको वरिपरि बसेर साहित्य सृजना गरे वा आफ्नो कुराहरू सम्प्रेशण गरे वा त्यो गर्न कुनै कारणवश वाध्य भए । यस कोटीमा भूपि शेरचन, कृष्णचन्द्रसिं प्रधान जस्ता केही जनजाति लेखकहरू पर्दछन् । दोस्रो किसिमकाहरू सचेत रुपमा आफ्नै जातीय ‘अवधारणा’ र ‘मिथक’हरू र समाजका अन्य सबै सँस्कृति समेतको फ्युजन गरेर साहित्य सृजना गर्न जुटेका देखिन्छन् । जस्तै सूर्गालाल श्रेष्ठ, वैरागी काइँला । हाल ए पछिल्लो पुस्ताका असंख्य कवि लेखकहरु यस धारको मोर्चामा डटेका छन् र यो एउटा कसैले पनि रोक्नै नसक्ने आन्दोलनका रुपमा अघि बढीरहेछ । पहिले पहिले रामायण, महाभारतको पात्रसँग मिल्ने नाम राखेर काव्य रचना गरे मात्र त्यो ‘काव्य’ ठहरिन्थ्यो । तर रायनको गिति काव्यको नाम राई भाषाको ‘सिम्मा’ शव्द सबैले मन पराए । त्यस काव्यका नायकको नाम ‘ड्याङसु’ कति मजाले सुहायो । हुँदा हुँदा अमर तुम्याङले ईमानसिं चेमजोङलाई नायक बनाएर सिरिजोङगा लिपीमा महाकाव्य णे ळैकीशखै । मैथली, मगर, गुरुङ, थारू, नेवार, शेर्पा, तामाङ, राई लगायत नेपालका सबैजसो राष्ट्र भाषाहरूमा आज गीतका क्यासेट धमाधम निस्किरहेछन् र चलचित्र समेत फटाफट निर्माण भइरहेछन् । अब बल्ल नेपालका बिभिन्न राष्ट्र भाषामा नेपालको जातीय विविधताको मोजेकका रुपमा सही तस्विर आउँन थालेकोछ । यही प्रवृत्तिले नै ‘नेपाली साहित्य’को साँचो रुप ग्रहण गर्नु बाहेक अर्को बिकल्प छैन । त्यसैले सबै जातका लेखक, साहित्यकार र कविहरूले आफ्नै जातीय (दार्शनिक) अवधारणा, कथा, सवाल, मिथकहरू, बिम्बहरू, प्रतिकहरू, उपमाहरुको प्रयोग गरेर साहित्य सृजना गर्नु पर्दछ । यसरी मात्र साँचो अर्थमा नेपाली साहित्य नेपालको साझा साँस्कृतिक धरोहरका रुपमा विकसित हुनेछ ।
१२. अबका दिनमा मातृभाषा र तिनका साहित्यलाई कसरी विकाश गर्नु पर्ला ?
ओहो, फेरि ‘मातृ भाषा’? नेपालका कुनै पनि राष्ट्र भाषा र तिनको सहित्यको विकाश आफ्नो भाषा बोल्ने लेख्ने समुदाय आफैले गर्छ । अरुले त बंग्याउँने वा गलत तरिकाले प्रयोग गर्ने मात्र हुन् । हो, मुलुकका सबै राष्ट्र भाषाको विकासमा प्राविधिक सहयोग गर्ने सरकारको दायित्व हो । जस्तै: ती भाषाहरूमा लिखित कविता, कथा, उपन्यास, व्याकरण, निवन्ध र लोक सहित्य पढनु पर्ने गरी विश्वविद्यालयहरूका कोर्समा राख्ने व्यवस्था सरकारले गर्नै पर्छ । ती भाषाहरुको विकासका निम्ती प्रज्ञा प्रतिष्ठानमा सरकारले छुट्टै विभाग राख्नै पर्छ । अब बन्ने प्रान्तहरुमा बिभिन्न भाषामा सरकारले स्कुल देखि कलेजसम्म पठनपाठन सन्चालन गराउँनै नीति अबलम्बन गर्नै पर्छ । सरकारले स्कुल देखि कलेजसम्म बिभिन्न भाषामा पठनपाठनका लागी चाहिने पाठ्य पुस्तकहरू तैयार गराउँने नीति अबलम्बन गर्नै पर्छ । बिभिन्न भाषामा विद्यावारिधी गर्नेलाई विशेष कोष खडा गरी सहयोग दिनै पर्छ । बिभिन्न भाषामा अनुसन्धान गर्नेहरूका लागि सरकारले विशेष कोष स्थापना तथा सञ्चालन गर्ने पर्छ । बिभिन्न भाषामा प्रकाशित हुने पत्रिकाहरूलाई बिजुली, फोनको बिशेष सुबिधाका साथै प्रिन्टिङप्रेश स्थापना गर्नेलाई भन्सार तथा कर छुटको विशेष सहुलियत सरकारले दिनै पर्छ । बिभिन्न भाषाका पत्रकारहरूलाई बस भाडादेखि हवाइजहाजको भाडामा र औषधि उपचारमा विशेष सहुलियत सरकारले दिनै पर्छ । बिभिन्न भाषामा रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रसारणका निम्ती सरकारले विशेष सहयोग दिनै पर्छ । यत्ति गरे नेपालका बिभिन्न राष्ट्र भाषा तथा तिनको साहित्यको विकाश हुँदै जान्छ । तपाइँ नै भन्नोस त सरकारले यत्ति मात्र गरे भाषा र साहित्यमा लाग्ने कतिले रोजागारि पाउँछन्? यसरी हाम्रो आफ्नै मुलुकका भाषा र साहित्यले केही मानिसलाई पाल्छ र यही मुलुकमा तामाङ विशेषज्ञ, लिम्बु विशेषज्ञ, गुरुङ विशेषज्ञ, थारु विशेषज्ञ, नेवार विशेषज्ञ, शेर्पा विशेषज्ञ, मैथिली विशेषज्ञ, चेपाङ विशेषज्ञ, दनुवार विशेषज्ञ, लेप्चा विशेषज्ञ सयौँको संख्यामा उत्पादन हुनेछन् । यसरी हाम्रै मुलुकका भाषाले केही मानिसको हैसियत उठाउँन ठोक योगदान गर्नेछन् । तर के गर्ने? लाजै मर्नु त तब हुन्छ जब पटक पटक कुनै गोरो छाला भएको मानिस नेपाल आउँदा ‘त्यो त तामाङ विशेषज्ञ हो’ वा ‘त्यो त नेपाल विशेषज्ञ हो’ भन्दै सरकारले सम्मान गर्छ र त्यो फिरंगीको मुखबाट आफ्नै मुलुकका बारेमा पुराण सुन्न पर्छ । कस्तो बिडम्बना हो यो? सकारात्मक सोच राखेर ‘सबै भाषाको उत्थान नै नेपाली भाषा र साहित्यको उत्थान हो’ भन्ने कुरा सबैभन्दा पहिले स्वीकार गरे तिनको उत्थान गर्ने उपाय जत्ति छन् र नेपाली साहित्यले पक्रेको दिशा पनि यही हो ।
१३. तपाई प्रायः विदेश भ्रमणमा गैरहनु हुन्छ । पछिल्लो समयमा बेलायतमा हुनुहुन्थ्यो । त्यहाँ नेपाली साहित्यका लागि के कस्ता गतिविधि भएको देख्नु भयो ?
हो, म यसपाली १ महिना आफन्तहरूसँग भेटघाटमा बेलायत गएर आएँ । मैले त्यतिबेला संलग्न नहुने नै निर्णय गरेर साहित्यिक गतिविधीहरुमा सामेल भइन । त्यहाँ गएको खबर पनि ज्यादै थोरैलाई मात्र गरेँ । बेलायतको ४०० किलोमिटरजति भाइ मैत लिम्बुले घुमाए तर कहीँ कतै पनि ‘औपचारिक’ कार्यक्रमले डिष्टर्व गरेन । त्यसैले ‘बेलायतमा नेपाली साहित्य’को गतिविधी बारे ताजा कुरा मैले थाहा पाइन । तथापि, त्यहाँ नेपाली भाषा र साहित्य फष्टाइरहेको सूचकका रुपमा नेपाली भाषाकै साप्ताहिक पत्रिकाहरु पढेँ । जसमा कथा र कविता पनि छापिएका थिए । नेपाली भाषामै टिभी च्यानेल पनि चलिरहेको रहेछ जसमा नेपालीहरूको जीवन र उनका जल्दाबल्दा सवालहरुका साथै नेपाली गीत-संगीत पनि प्रसारण हुँदो रहेछ । त्यहाँ मेरा आफन्त गुरुङ परिवारलाई भेट्न रेरिङ जाँदा मलामी जस्तो पनि हुनु पर्‍यो । एउटा चिहानको लागि तीन हजार पाउण्ड तिरेर (तमुँधीँको संयोजनमा) जमिन किनेको र गुरुङ विधीमै गाजाबाजा बजाउँदै अन्तेष्ठी गर्दा गुरुङ बाजागाजा सुनेर बेलायती गाईहरु चर्दाचर्दै तर्सेर ठाडो पुच्छर लाएर भागेको, पsssssर पुगेपछि फेरि आफ्ना कान ठाडो पारेर ती गाईहरू बाजा बजेको ठाउँ नजिक आएको तर बाजा बजेको सुन्ने बित्तिकै फेरि तर्सेर ठाडो पुच्छर लाएर भागेको देखेँ । मैले आशफोर्डमा लिम्बुहरूको किरात याकथुङ चुम्लुङ यूकेले सन् २०१४ सम्ममा आफ्नो माङहिम (मन्दिर) निर्माण सम्पन्न गर्ने योजना बनाएर अभियानमा लागेको सुनेँ । घुम्दाघुम्दै मैले हिन्दु मन्दिरहरू पनि विम्बलेमा देखेँ । बेलायत पुगेपछि नेपालीहरूले ख्रिश्चियन धर्म ग्रहण गरेको पनि पाएँ । बेलायत बसोबास गर्ने नेपालीहरूका पेसागत पक्षको सोधखोज गर्दा विभिन्न पेशामा संलग्न नेपालीहरु रहेको कुरा त्यहाँका जानिफकारहरुले जानकारी दिएका छन् । जस्तै १) एउटा सानो समुह नेपाली डाक्टरहरुको रहेछ; २) नर्श पेसामा नेपाली दिदीबहिनीहरू निक्कै रहेछन्; ३) सेक्युरिटी सेवामा कार्यरत भूपू बृटिस सेनाहरूको एउटा ठूलो जमात रहेछ; ४) लरी ड्राभरहरूको पनि एउटा सानो जमात रहेछ; ५) फाट्टफुट्ट आफ्नै व्यापार (रेष्टुरेण्ट वा प्रोभिजनल पसल) चलाउँनेहरू पनि रहेछन्; ६) बेलायती सेनामा (बिएनओ समेत) संलग्न नेपालीहरूको बलियो जमात पनि रहेछ; ७) अध्यनका निम्ती गएकाहरूको पनि एउटा जमात रहेछ; ८) दुइ-चार जना प्राध्यापन पेसामा पनि संलग्न नेपालीहरू रहेछन्; ९) एकजना (हाल दुई जना) राजनीतिमा पनि लागेर कौन्सिलर (नेपालको वडा अध्यक्षजस्तो) समेत भएका नेपालीहरु पाइए; र अन्तमा ९) एउटा ठूलो जमात लेबर काममा संलग्न रहेछ ।
त्यहाँका नेपालीहरूको शिर ‘घर’को र ‘कार’को ‘मोडगेज’के किचेको हुँदो रहेछ । त्यसै गरेर श्रीमान-श्रीमती दुबैले काम गर्नु पर्ने भएकोले बच्चाहरुको हेरचाह बा-आमाले गर्न नभ्याउँदा कि त टिभी, कि त कम्पयुटरले बेबी शिटरको काम गरिदिँदा रहेछन् । जसले गर्दा बा-आमाले भन्दा टिभि, कम्प्युटर र त्यहीँको स्कूलले सिकाएको सँस्कार बच्चाहरुको रगतमा पसिसकेको देखियो । छिप्पिएर गएका नेपाली महिला-पुरुषहरू ‘नेपालै फर्केर आनन्दसँग आफ्नै मातृभूमिमा मर्ने’ कुरा त सोच्दा रहेछन् तर त्यहाँको रिनमै भए पनि प्राप्त सुख-सुविधा गुमाउँन पनि सकिन्न कि भन्ने दुबिधामा रहेछन् । टिन एजमा बेलायत छिरेकाहरु पनि ‘नेपाली थिङकिङ ईङलिस ह्याबिट’को चेपाईमा परेका रहेछन् । दुधे बालक अवस्थामै बेलायत छिराइएकाहरूको ‘बोली र स्वाभाव सबै अंग्रेजी, अनुहार मात्र नेपाली’ जस्तो देखिँदो रहेछ । कम पढेकाहरुले पनि अंग्रेजी बोल्ने कोर्स गरेर लेबरको काम गरिरहेका रहेछन् जसले गर्दा घरको मुल व्यक्तीमा आर्थिक भार अलि कम हुँदो रहेछ र अलि अलि कमाउँने छोराछोरीहरूसँको बा-आमाको सोचाई पनि सकारात्मक हुँदो रहेछ । केटाकेटीको शिक्षा र स्वस्थ्य पुरै निशुल्क भएकोले पनि बेलयात धेरैको निम्ती आकर्षक रहेछ । अझ बुढेसकालमा सरकारले नै हेरचाह गरिदिने सुबिधा भनेजस्तै रहेछ । दुइवटा कुकुर पाल्ने बृटिशले कुकुरकै भत्ताले खान पुर्‍याउँदो रहेछ । दुइजना बच्चाकी समगल मदर भयो भने पनि मज्जाले पुग्ने भत्ता पाउँदा रहेछन् । जिपिएस (टमटम)को प्रयोगले गर्दा पोष्टकोड हाले पछि त्यसैले चाहेको घरमै पर्‍याउँदो रहेछ जसले गर्दा गाडी चलाउँन सजिलो रहेछ । ट्राफिक पुलिसको काम सडकमा जडान गरिएका लाखौँ क्यामराले गर्दा रहेछन् । कसैले ट्राफिक नियम मिचे क्यामेराले खिचेर ३ दिन भित्र प्रमाण सहित फाइन घरमा आइपुग्दो रहेछ । ३ वा ४ चोटी गल्ति गरेपछि ड्राइभिं लाइसेन्स नै खोसिने रहेछ । यो जस्तो ठूलो सजाय त्यहाँ केही नहुने रैछ । लरी हाँक्नेले तोकिएको समयसिमा पुगेपछि १ घण्टा आराम गर्‍यो कि गरेन? भन्ने समेत क्यामराले अनुगमन गर्दो रहेछ । नगरेको पाइए उही कडा सजाय । बेलायत बस्नेहरुको स्वास्थ्य समस्याको रुपमा ‘मोटोपना’ रहेछ । त्यहाँ बढी मासु र बोसोयुक्त खाना खाँदा रहेछन् जसले गर्दा कोलेष्ट्रोल बढेकाहरुको संख्या धेरै रहेछ । खाना पनि सबै तैयारी सुपर मार्केटमा पाइँदो रहेछ । घरमा सिर्फ ततायो खायो । बेलायतको आर्थिक अबस्था अहिले रिरेसशनले गर्दा निकै अपठ्यारोमा परेको रहेछ । जसलाई अहिले ‘स्टेरोइड’मा बाँचेको अर्थव्यवस्था भन्दा रहेछन् । रिसेशनले पनि यूकेलाई सन २०११ सम्मै दु:ख दिने देखिन्छ भनि पत्रपत्रिकामा पढन पाईयो । सन २०१० को लागी यूकेले १७० बिलियन पौण्ड रिण नलिए देशै नचल्ने अवस्था रहेछ । सबै विचार गर्दा (एकजना अर्थशास्त्रीको विचारमा) सन् २०१०मा कर बढाउँनु बाहेक उपाय छैन । त्यसैले भूपु लाहुरेहरूको पेन्शिन बढाउँने कुरामा पनि बृटिश सरकारले असमर्थता देखाउँने सम्भावना देखियो । यही आर्थिक र मानसिक परिस्थितीमा बाँचेको नेपाली जीवनशैली र बेलायती-नेपाली साहित्य पनि यसैको वरिपरि घुमेको होला भनि अन्दाज गरेकोछु । कवि टंक वनेमले चाहीँ बर्मिङघमको घरैमा बोलाए र उनको श्रीमती तथा छोरासँग पारिवारिक वातावरणमा सहित्यबारे केही कुराकानी भयो । जसबाट मैले बेलायतमा नेपाली साहित्य लेख्नेहरूले सबैभन्दा धेरै कविता लेख्दो रहेछन् भनि थाहा पाएँ ।

1 comment:

lilimhang said...

I viewed interview of Bikram Subba and feel that, it is a tonic for liberation fighters those who are fighting for their land autonomy. Also it is hitting to those people who don't want to reform and transform from fuedal and autocratic charector. On the other hand it inspiring to people those who want to get rehabilation from more kinds of oppressions.