कथाकार बुद्ध चेम्जोङ जन्म बि.सं. २०३५ साल चैत्रमा भएको छ । वहाँको जन्मस्थान कोशी अञ्चल धनकुटा जिल्ला अन्तर्गत राजारानी गा.बि.स. १ मा हो । नेपालमा स्नातक सम्मको अध्यायन समाप्त गरेर अमेरीका हानीएका कथाकारले उतै बसेर हालसालै रुपकी रानी रुपा कथासंग्रह प्रकाशन गरेर चर्चा कमार्इ रहेका छन् । चर्चा कमाउँनुको प्रमुख कारण कथासंग्रहबाट आएको रकम सामाजिक सेवामा लगानी गर्नु हो । नेपालका ठुला पत्रिकाहरुमा उनको ब्यापक चर्चा यहि कारणले भएको हो । बिभिन्न पत्रपत्रिका तथा वेभसाइटहरुमा कविता,कथा,लेख आदि धेरै प्रकाशित भएका छन् । यो कथा संग्रह नेपाली साहित्य प्रतिष्ठान हङकङले प्रकाशनमा ल्याएको हो। उनै प्रखर कथाकारसंग कुराकानी गरेको अंश यहाँहरुलागि प्रस्तुत गरेको छु । धन्यवाद ।
१.हालसालै रुपकी रानी रूपा कथा संग्रह ल्याएर पाठकहरुको हातमा पुर्याउनु भएको छ, पाठकहरुको प्रतिक्रिया के कस्तो आई रहेको छ त ? कथा लेखनमा बढी रुचि हुनुको कारण के हो ? कस्तो प्रकारको कथा लेख्न जरुरी ठान्नु हुन्छ र किन ?
धन्यवाद, बढो सान्दर्भिक र गहन प्रश्न गर्नुभयो | हुन त भर्खरै यो "रुपकी रानी रूपा" कथा संग्रह बजारमा आएको छ तर नेपालभरका मुख्य सहरहरुमा नपुग्दै कथाहरु सकिन लाग्यो भनेर प्रकाशनका ब्यबस्थापक साथीहरुले भन्दै हुनुहुन्छ | यो सुनेर नेपाली साहित्यमा राम्रो खुराक पस्कि दियो भने पाठकहरुले खोजि खोजि पढ्छन भन्ने पूर्ण विश्वास भएको छ | विशेष गरेर नेपाल मात्र नभएर अमेरिकाको न्यु योर्क राज्यमा मात्र ६०/६५ किताबहरु बिक्री भई सकेको छ | अब अन्य राज्यतिर पनि पठाउने जमर्को गर्दैछु | साथै हंगकंग, मलेसिया, अरब राष्ट्रहरु र युरोपतिर पनि पठाउने तारतम्य मिलाउदै छु | र अहिलेको यो ग्लोबल भिलेजको अवधारणासंगै नेपाल मात्र नभएर संसारभरका साथीहरुले साह्रै समय सापेक्ष सामाजिक कथा संग्रह पस्कि दिनुभयो भनि बधाई तथा शुभकामना दिई रहनु भएको छ | अब प्रसंग बदलौ, मलाई कथा विधा नै किन रोजे भन्ने सवालमा,..... म स्कूल पढ्दादेखि नै वादविवाद तथा निबन्ध लेखनमा रुचि राख्दथे | सायद त्यही बेलाको रुचि अहिले आएर प्रफुश्टित भएको जस्तो लाग्छ | र कस्तो कथा लेख्ने सवालमा चाही, म एक सामाजिक प्राणी हुँ, समाजको लागि नै केहि गर्नुपर्छ र सेवा गर्नुपर्छ भन्ने भावना राख्दछु | यसैले म, सामाजिक कथाहरु लेख्न रुचाउछु | जुन कथाले समाजमा केहि न केहि मार्ग दर्शन दिओस र समाजमा मानविय भावना र सदभाव कायम होस् |
२.नेपाल बाहिर बसेर नेपाली साहित्य लेखेर छाप्दा के कस्तो कठिनाई भोग्नु पर्यो त ? नेपाल बाहिर रहेर नेपाली साहित्य लेख्नेलाई नेपालभित्र बसेर लेख्ने साहित्यकारहरुको दृष्टिकोण कस्तो रहयो ? नेपाल बाहिर र भित्र साहित्यको प्रकाशन कस्तो पाउनु भयो त ?
मैले यी कथाहरुको अन्तिम रुप मात्र विदेश बसेर पुरा गरेको हो | कथाहरुको जुन स्केच छ, त्यो त म स्कूल छदादेखि नेपालमा कलेज पढ्ने बेलामा पनि दिमागमा थियो र अलि अलि लेखेको पनि थिए | म रोजीरोटीको सिलसिलामा विदेश लागेपछि अभाग्यवस केहि कविताहरु, कथाहरु हराए पनि उबेलाको स्मिर्तीलाई पुन: जगाएर पुरा गरेको हुँ | विदेश जस्तो ज्यादै ब्यस्त हुने ठाउँमा बसेर साहित्यमा समय दिनु भनेको निकै गाह्रो काम हो | तथापी मलाई आफ्नो रुचि भएको क्षेत्रमा थोरै थोरै समय निकालेर भए पनि यो क्षेत्रमा लागिरहेको छु | अब नेपाल बाहिर रहेर लेखिने साहित्यलाई नेपाल भित्र रहनु भएका साहित्यकारहरुले सौतेनी आमाको छोरा जस्तो व्यवहार गर्छन भन्ने सुनेको छु | तर मेरो कथा संग्रहको बारेमा खासै टिप्पणी सुनेको छैन | तर मेरो एउटा अनुरोध छ, नेपालमा रहनु भएका अग्रज साहित्यकारहरुलाई, हामी संसारको जुनसुकै भूगोलमा रहे पनि हाम्रो अस्तित्व भनेको नेपाली नै हो | हामी विदेशमा बस्ने नेपाली मुलका नेपालीले जहाँ बसे पनि हामी सदा नेपाललाई नै सम्झी रहेका छौ | त्यसैले तपाईहरुले त्यो भावनालाई आफ्नो मनबाट निकाली दिनोस | होइन भने आसाम, भुटान, दार्जीलिंग, देहरादुनबाट नेपाली साहित्यलाई टेवा पुगेको त हाम्रो इतिहास साक्षि नै छ | अहिले आएर युरोप, अमेरिका, जापान, हंगकंग आदि देशहरुबाट लेखिएका साहित्यलाई त्यो व्यबहार नगर्न अनुरोध गर्दछु | आखिर हामी पनि नेपाली साहित्यलाई अझ उचाईमा पुर्याउन आफ्नो तर्फबाट लागि परेको होनी, होइन र ? अब प्रकाशनको बारेमा भन्नु पर्दा, विदेशमा भन्दा नेपालमा प्रकाशन सस्तो पर्न आउछ | र अर्को कुरा हाम्रो ७५% पाठकहरु त नेपाली नै हुन् नी त | त्यसैले मैले नेपाली साहित्य प्रतिष्ठान हंगकंगको सहयोग लिदै नेपालबाट नै प्रकाशित गरेको हुँ |
३.नेपाल बाहिर बसेर बढी कस्तो नेपाली साहित्य लेखेको पाउनुभयो ? नेपाल बाहिरको नेपाली कथा नेपाली साहित्यका लागि कति उपयोगी हुन्छ होला ? यसरी विदेश बसेर लेखिएको साहित्यको मुल्यांकन नेपाल सरकारले कतिको गरेको जस्तो लाग्छ ?
यो बारेमा भन्नुपर्दा प्रवासबाट सिर्जित मैले म्याक्सिमम कविता संग्रह बढी देखे | कविता द्वरा सर्जकहरुले आफ्ना मात्र नभएर सम्पूर्ण परदेशी नेपालीहरुको दु:ख दर्द र भावनालाई पोखेका छन् | दु:ख, पीडामात्र नभएर खुशीका, रमणीय ठाउका वर्णनहरु, त्यहाका सामाजिक संरचनाका बारेमा लेखेको पाएको छु | अब नेपाल बाहिरको नेपाली कथा भन्नुभयो,......मैले अघि नै भनि हाले नी, आखिर हामी नेपाली जहाँ गएपनि थातथलो त नेपाल नै हो | हाम्रो जन्मेदेखिको संस्कार उही नेपाली नै हो | त्यसैले हामीले लेख्ने कथा पनि नेपालको गाउ ठाउँसंग जोडिंदै विदेशी भुमि पुग्ने हो | र कथा कहिले नेपालमा शुरु भएर विदेशमा टुंगिन्छ त, कहिले विदेशमा शुरु भएर नेपालमा टुंगिन्छ | र यस्ता कथाले नेपालभित्र रहनु भएका सम्पूर्ण नेपालीहरुलाई विदेशको बारेमा केहि न केहि जानकारी गराउछ नै साथै जनचेतना पनि गराउछ | विदेशमा सुखै सुख हुन्छ या त रुखबाट पैसा झर्छ या त विदेशी मान्छेहरु देउता जस्तै मानविय हुन्छन भन्ने भ्रमलाई चिरी दिन्छ | अब आयो साहित्यको मुल्यांकन,......यो चाही अलि गाह्रो प्रश्न गर्नुभयो, प्रवासमा रहेर लेख्ने साहित्यकार साथीहरुको गुनासो सुन्दा होकी जस्तो पनि लाग्छ | नेपाल सरकारले विदेशमा लेखिएका साहित्यलाई खासै मुल्यांकन गरेको पनि देखिदैन | अर्कोतिर प्रवासमा लेखिएका कमै साहित्यमात्र खारिएको हुन्छ भन्ने, नेपालमा रहनु भएका अग्रज साहित्यकार औल्याऊछन् | हुन सक्छ नेपालभित्र रहनु हुने अग्रज साहित्यकारहरुको पहुचको कारण यो आवाज नेपाल सरकारलाई नपुगेको जस्तो लाग्छ | आखिर सरकार भनेको नै कसैले सुनाएपछि, प्रतिवेदन दिएपछि बल्ल ब्युझिने होनी, होइन र ?
४.अमेरिका बसोबास गर्ने नेपालीको कथा र नेपाल बस्ने नेपाली कथामा कस्तो कति भिन्नता पाउनु भयो ? तपाईले लेख्नु भएको कथाले अमेरिकाको वस्तु स्थिति मात्र नसमेटेर अन्य देशका कथा पनि समेट्नु भएको छ, त्यो कसरी सम्भव भयो त ?
अमेरिका मात्र नभएर नेपाल बाहेक जुन सुकै देशमा पुगेका नेपाली कथाकारको कथामा विशेष गरि प्रवासी नेपाली जनजीवनसंगै त्यहाको रहन सहन संस्कृति र समाजको चित्रण हुन्छ र उनीहरुका कथामा विदेशदेखि नेपालसम्म अथवा नेपालदेखि विदेशसम्मका दर्शनहरु समेटिएका हुन्छन | तर नेपाल भित्रका लेखकले नेपाल भित्रको मात्र प्रतक्ष्य अनुभव गरि लेख्न सक्छ अरु त पढेको भरमा या त कल्पनाको भरमा लेख्ने न हुन् | म १७ वर्षको उमेरमा काठमाडौँमा आफै संघर्ष गर्न होमिएको थिए साथै २२ वर्षको उमेरमा प्रथम पटक अरब भुमि दुबईमा रोजीरोटीको लागि पुगेको थिए | कालान्तरमा म दुबई मात्र नभएर कतार, ओमान हुदै एटलान्टिक महासागरको बर्मुडा टापुमा काम गर्न पुगे, साथै युकेको भ्रमण पनि गरे | र भर्खरै २०१० मा म अमेरिका प्रवेश गरेको हुँ | त्यसैले यी बिभिन्न मुलुकमा पुगेका सुखद तथा दु:खद क्षणका अनुभवलाई समेटेर नै यो कथाको जन्म हुन पुगेको हो | ती देशहरुमा रोजगारको लागि पुग्नु भएका नेपाली दाजु भाइ, दिदि बहिनिहरुको चित्रण साथै त्यहाको बहु सांस्कृतिक समाजमा नेपालीहरुले भोग्न पुगेका मर्मस्पी कुरालाई उतार्न खोजेको हुँ |
५.अमेरिका बसेर लेखेका कथाहरु नेपालमा प्रकाशन तथा विमोचन कार्य गर्नु भो र पुस्तक बाल सचेतना केन्द्र, नेपालका अध्यक्षलाई पुस्तक हस्तान्तरण गरेर मानविय तथा सामाजिक कार्यमा पुस्तकलाई लगानी गर्नु भो नि ? र अरुले नगरेको यस्तो राम्रो कार्य गर्न कसरी विचार आयो ? मानविय सहयोग गर्नु साहित्यकारको दायित्व भित्र पर्छ पर्दैन ?
मैले अघि नै भनि हाले नि, आखिर हामी जहाँ गए पनि नेपाली नै होनी, हाम्रो अस्तित्व भनेको नेपाल नै हो | जुन सुकै देशमा बसेर लेखे पनि नेपाली साहित्यलाई टेवा पुर्याउनु पर्दछ जस्तो लाग्छ मलाई | अर्को कुरा म विदेशमा भए पनि नेपाली साहित्य पढ्ने पाठकहरु त नेपाली नि होइनन् र ? त्यसैले मैले आफ्नो मातृभूमि नेपालमा नै यो पुस्तक विमोचन गरेको हो | अब आयो पुस्तक हस्तान्तरणको कुरा,.....हामी मानिस एक सामाजिक प्राणी हौ, म पनि त्यही समाजमा जन्मी हुर्केको एक प्राणी हुँ | हाम्रो समाजमा अझ पनि शिक्षा र स्वास्थ्य अनि चेतनाको कमि छ | त्यसैले म जन्मेको समाजको लागि मैले केहि त गर्नु पर्छ भन्ने हेतुले यी असहाय बाबु आमा नभएका टुहुरा बालबालिकाको शिक्षा र स्वास्थ्यको लागि यो सानो कदम चालेको हो | यसो भन्दा खेरि मेरा नितान्त व्यक्तिगत कार्यहरु, यो भन्दा पहिला नै २००८ तिर मैले आफुले पढेको स्कूलमा गेट बनाई दिएर, १०+२ पढाईको लागि रकम चन्दा दिएर साथै शिक्षाको खातिर छात्रवृति अक्षय् कोष खडा गरि दिएर, सकेको केहि गर्ने जमर्को गर्दै आएको छु | अब यसमा अरुले नगरेको कार्यभन्दा पनि आफ्नो मातृभूमि, जन्म ठाउंप्रतिको मेरो आफ्नो माया मोह हो, जहाँ म जन्मेर अहिले यो अवस्थामा छु, त्यो त कहाँ भुल्न सकिन्छ र | म विशेष गरि नेपालमा शिक्षा र स्वास्थ्यलाई जोड दिन चाहन्छु, समग्र देश विकाश हुनलाई सबभन्दा पहिले यिनै दुइ कुरा आवश्यक हुन्छ | अब आयो मानविय सहयोग गर्नु साहित्यकारको दायित्वको बारेमा,......समग्र मानव जाति समाजमा जन्म लिन्छ, उक्त समाजमा उसले सबै कुरा सिक्छ | त्यसैले जन्मेपछि अवश्य उसको पनि दायित्व हुन्छ समाजमा केहि गर्ने | आखिर साहित्यकार हुदैमा, या त अन्य पेशावाल हुदै समाजमा सहि बाटो देखाउने कार्यमा मुन्टो बटार्ने कार्य गर्नु राम्रो होइन | म त भन्छु, हामी मानिसले जहाँबाट जे सकिन्छ समाजको समृदीको लागि, देश र समाजको लागि आफ्नो आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौ | आफ्नो समाज र राष्ट्रलाई माया गरौ, यो नै मानवता हो |
अन्तमा, नेपाली साहित्य प्रतिष्ठान हंगकंग तथा लिम्बुवान ब्लग पोष्ट डट कम का सम्पादक, गीतकार, साहित्यकार टंक सम्बाहाम्फेप्रति आभार प्रकट गर्दछु | उहाँ मार्फत संस्प्रेसन भएको यस अन्तर्वार्ता पढ्नु हुने सम्पूर्ण पाठक वर्ग ज्यूहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु | र यस रोमान्चक "रुपकी रानी रुपा" कथा संग्रह अवश्य पढ्नु हुनेछ भन्ने आशा गर्दछु | धन्यवाद,