Aug 5, 2012

अमूर्तबोधी साहित्यकार खगेन्द्र लिम्बु पन्धाकसंगको बार्ता

बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक - ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन - गायनमा निक्कै पहिले देखि नै लागि पर्नु भएको छ । हाल वहाँ बैङककमा बसेर अमूर्तवोधी दर्शन लेखनमा त्यतिक्कै ब्यस्त बन्नु भएको छ । लेखन,गायन र चित्रकारीता दिनचर्यासंग गाँसीएका बिषयवस्तु भएकाछन् साहित्यकार खगेन्द्र लिम्बु पन्धाकको । गेडी लेखनका प्रवर्तक समेत रहनु भएका साहित्यकार खगेन्द्र जीवन र जगतलार्इ अमूर्तरुपमा देख्नु हुन्छ । हालसालै अमूर्तबोधी साहित्यको प्रयोग गरेर एब्स्ट्रयाक्ट बैंकक उपन्यास प्रकाशन गरेर चर्चाको शिखर पुग्नु हुने बहुप्रतिभाशाली ब्यक्तित्वसंग मैले लिम्बुवान ब्लगस्पोट डटकम र फेसबुकको लागि गर्नु भएको कुरानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।

१.बिदेशीभूमिको दिनचर्या,ब्यक्ती,समाजको कथालाई उपन्यास मार्फत ल्याउँनलाई तपाईलाई के कुरा झकझकायो ? साथै अनुसन्धानात्क र खोजमूलक यथार्थ कथा भएकोले कति समय बिताउँनु भयो यो उपन्यासको लागि ?
बैंकक पूर्विय तथा पश्चिमा जीवनको फ्यूजन सहर हो । यो फ्यूजन सहरमा एसिया र संसारभरको सँस्कृति र जीवनलाई पढ्न सकिन्छ । यसर्थ:ले पनि बैंककलाई मेरो अध्ययनको केन्द्रथलो बनाएँ । यहाँको प्रभाव संसारको जुनसुकै कुना तुरुन्त पुग्न सक्ने हुनाले पनि यहाँको कथा लेख्नु त थियो नै । तर यहाँको प्रभाव त एसियामा झन चाँडो पुगि पनि हाल्दछ । यै फ्यूजन सहरमा भर्सटाइल जीवन बाँचेकी एक आदर्श पात्रको भेटले अमूर्तबोधी दर्शनको थप जीवन्त बयान गर्दछ भन्ने निश्चितताले मैले करीब ६ बर्ष उनको जीवन कथा र सम्बन्धित कथा तथा अवस्थाहरुको अध्ययन र अनुसन्धान गरेँ । जसलाई उपन्यासमा लेखेर सबैलाई बुझाउन सहज होस भनेर मैले ‘अब्स्ट्र्याक्ट बैंकक’ लेख्नु पर्यो । 
२.बिदेशी कथा त्यहि माथी नेपाली परीवेश भन्दा फरक त्यसलाई नेपाली स्टायलमा उपन्यास लेख्दा कथाले न्याय पाए जस्तो लाग्छ ? थाइलेण्डको कथा भएकोले त्यहाँका लेखकहरुसंग कुनै अन्तर्क्रिया गर्नु भयो यो एब्स्ट्रयाक्ट बैंकक उपन्यासको बारेमा ? अमूर्तबोधी साहित्य दर्शनको उद्देश्य के हो ? 
कथा अलग, प्लट फरक, जीवन, समाज र भूगोल अन्य वा विषयवस्तु विविध नै भए पनि मान्छेहरूको समवेदना मिल्दछ । भूगोलका जुनसुकै कुना, कुनै पनि दूर पटाङगिनी अर्थात इतिहाँसको जुनसुकै समयमा बाँचेको मान्छे नै होस्, सबैले जीवनमा सुख, खुशी, शान्ति र सम्पन्नता नै चाहेका हुन्छन् । नेपाली समाजको कुनै पनि ब्यक्तिले पनि यै चाहेका हुन्छन् र उपन्यासको नायिकाले पनि यै कुरा चाहेकी छिन् । त्यसैले कथा जहाँको भए पनि फरक पर्दैन । यति हो- सुख, खुशी, शान्ति र सम्पन्नताको प्राप्तिकालागि कुन दर्शन-चिन्तन आवश्यक र उपयुक्त हुन सक्दछ भन्ने अन्तर मात्र हो । मैले भनें-अमूर्तबोधी दर्शन उत्कृष्ठ हो ।भाषा नेपाली र मौलिक शब्द संस्कारले लेख्दैमा पनि यो नेपाली स्टाईल नै हो भन्दिन किन भने आजसम्म आधा दशक बिदेशी परिवेशलाई अध्ययन गरेर कुनै पनि नेपाली उपन्यास लेखिएका मलाई थाहा छैन । पुनश्च: यसमा अझै जीवित पात्र, संसारभरका बेनामे पात्रका सत्यकथालाई दर्शनमा ब्याख्या गरिएको छ । बैंककको बारेमा संसारका धेरै नामी लेखकले पनि उपन्यास लेखेका छन् । जस्तो कि-MURDER AT HORNY TOAD BAR :Dean Barret, PRIVATE DANCE: Stephen Leather, A NAIL THROUGH THE HEART & THE FOURTH WATCHER: Timothy Hallinan, BANGKOK 8: John Burdett, SPIRIT HOUSE: Chriistopher G. Moore आदि । तर यि उपन्यासहरूभन्दा पनि भिन्न तरिकाले ABSTRACT BANGKOK लेखिएको छ । मूख्य लेखन कला र दर्शनकलाले मैले उही परिवेशको उही कथा लेख्दा पनि यो फरक हुन पुग्यो । फरक छ । विश्वका बिभिन्न लेखक र स्थानिय थाई लेखकहरुसँग पनि दर्शनको बारेमा र यस पुस्तकको बारेमा चर्चा गरेकोछु । उनीहरु पोजेटिव प्रतिकृया दिएका छन् । कम्मनली ‘वन्डरफुल’ भनेका छन् ।अमूर्त बोधी दर्शनका बारेमा चाहीँ यो छोटो अन्तर्वार्तामा पूर्ण ब्याख्या गर्न सम्भव नहोला । तर यसलाई छोटकरीमा बताउनेछु । 
क) दर्शन, जीवन र जगतको उन्मुक्ति र उन्नयनप्रति सधैं सकरात्मक चिन्तन र नयाँ-भरपर्दा विकल्पहरुको विश्वासिलो सिद्धान्त हो । 
ख) परिपूरकको सिद्धान्तले जीवन र जगत आफैंमा पूर्ण छ । तर मानव जीवन आजसम्म आइपुग्दा पनि अझै अभावमा गुज्रिएकोछ । तसर्थ: परिपूरकका कारक अमूर्त कुराहरू, आविस्कार, सिर्जना आदिलाई अमूर्तबोधी दर्शनले बोध गरेर ल्याउँदछ । 
ग) १.आजसम्म मान्छेले गरेका जीवन र जगतका असल कुराहरुको सम्वर्धन, बिकास, बढावा र उजागर गर्ने ।२. जो नराम्रा काम गरिएका छन्, तिनलाई सुधार्ने, सुधार्न सम्भव नहुनेलाई पूर्णरुपमा निराकरण गर्ने ।३. जो अझै जीवन-जगतकोलागि पर्याप्त भएको छैन, त्यसलाई पूर्ति गर्ने । 
घ) १.आत्मज्ञान, २. बिज्ञान र ३. प्रकृतिको सम्मानको तादम्यता ।यसलाई कसरी practice र Utilize गर्ने भन्ने बारेमा पनि निकै लामो यसभित्र उपबूँदाहरू छन् । ति उपन्यासमा पनि बूँदागत रुपमा लेखिएका छन् र तपाईले नै लिनु भएको पहिलेको अन्तर्वार्तामा पनि केहि मूख्य बूँदाहरु टिपोट गराईसकेकोछु । यसलाई विस्तृत रुमा अनलाईमा मौखिक ब्याख्या दिनहुँ गरिरहेकोछु । यो Self Practice सँग पनि सम्बन्धित छ ।
३.तपाईले लेख्नु भएको एब्स्ट्रयाक्ट बैंकक उपन्यास डायस्पोरा नेपाली साहित्य क्षेत्रमा धेरै चर्चा छ तर नेपाली साहित्य बजारमा यसको प्रभाव कस्तो पाइरहनु भएको छ त ?
प्रथमत: म डायस्फोरा शब्द र त्यसको अर्थ्याईसँग सहमत छैन । जसले यो शब्दलाई नेपाली साहित्य र कलामा खुब उचालीरहेका छन् । एति भन्छु- ताप्लेजुङ्को रितिथिति, त्यहाँको समाज, भूगोल, रहनसहनबाट फुत्त निस्किएर अलग भूगोलमा रहेको काठमाडौको रितिथिति, समाज,सँस्कार, शासन आदिमा बसेर लेख्दा किन डायस्फोरा भएन ? यसको जवाफ कसैले नदिए पनि यसको बारेमा म कुनैदिन बोल्नेनैछु । तपाईको सङ्केतानुसार अहिले नेपाल बाहिर रहेका नेपाली पाठकले यो उपन्यासलाई अति नै मन पराइदिनु भएकोछ । यो सत्य हो । नेपालमा रहेका पाठकले पनि खोजी-खोजी पढेर मलाई सकरात्मक प्रतिकृया दिइरहनु भएकोछ । कुनै बिज्ञानपन, मेडिया, बिमोचनआदि बिना पनि पाठकले नै यो उपन्यासलाई बहुत चर्चित बनाईदिनु भएकोछ । प्रथम सँस्करण छोटो अवधी मै सकिएको अवस्था छ । 
४.नेपाली उपन्यासहरुको दोस्रो संस्करण धेरै कमले मात्र पाउँने गरेका छन् तर तपाईको एब्स्ट्रयाक्ट बैंकक उपन्यासले दोस्रो संस्करण छिटै पाउँने कुरा सुन्छु के यो सत्य हो ? र दोस्रो संस्करणमा अरु सुधारहरु आउँनेछन् होला नी ? 
कति सँस्करणसम्म नेपाली उपन्यास बिक्छन भन्ने मलाई थाहा छैन र यो मेरो चासोको विषय पनि होइन । असल चिन्तनले असल सिर्जना गर्नुपर्दछ भन्ने पूर्णत: आत्मविश्वासले काम गरेको मात्र हुँ । अन्तत: यसको प्रभाव राम्रो रह्यो । अबको सँस्करणमा जीवित पात्रको थपकथा, नयाँ आवरण, पाठक-समालोचकका बिचार, भाषा शुद्धिकरण तथा प्राविधिक स्तरलाई ध्यान दिएर निस्किनेछ । 
५.एब्स्ट्रयाक्ट बैंकक उपन्यासमा अमूर्तबोधी साहित्य दर्शनलाई प्रयोग गर्नु भएको छ ? के दर्शन नै हाल्दा मात्र उपन्यास सफल हुन्छ र ? दर्शन बारे जान्न,बुझ्नलाई साधारण पाठकलाई गाह्रो हुन्न र ? 
दर्शनबिनाको साहित्य त आत्माबिनाको मान्छे जस्तो हुन्छ । अझ भनौं प्राणबिहिन मान्छे जस्तो । मूर्दालाई मेरो कृति हो भनेर तपाईहरुसामू आउन सक्दिन,सकिन त्यसैले उपन्यासमा दर्शन त पस्ने नै भयो । साहित्यले जीवन-जगतको मङ्गलताको बारे कुनै ज्ञान वा उपयुक्त संदेश र सङ्केत दिँदैन भने त्यो साहित्य केकालागि ? र, अमूर्तबोधी दर्शन नै किन ? भन्ने प्रसङगमा चाहीं यो दर्शन नै जीवन र जगतकोलागि सबैभन्दा उपयुक्त दर्शन हो भन्ने मेरो पूर्ण मान्यता छ । मेरो बाँच्नेकलादेखि मेरो हरेक कार्य-सिर्जना यै दर्शनमा आधारित छन् ।मैले सिर्जना गरेको चित्र होस्, लेखेका कविता होस वा भाषण होस् । सबै अमूर्तबोधी दर्शनमा आधारित छन् ।दर्शनबारे स्पष्ट नहुँदा दर्शन भन्ने बितिक्कै धेरैको पसिना छुट्छ । तर उनीहरू आफैंमा पनि दर्शन छ, त्यो उनीहरुलाई नै थाहा हुन्न । त्यसैले यसरी थाहा नभएका अमूर्त कुराहरुलाई बोध गरेर ल्याउनु पनि अमूर्तबोधी दर्शन हो । माथि नै मैले दर्शनको छोटो परिभाषा भनिसकेकोछु । जीवनमा अनेकतासँग हरेकमा अनेक दर्शन छन् । सबैले जीवनलाई सुखमय, शान्तिमय, सम्पन्न र खुशीमय नै भोग्न चाहन्छन् । तर यसका प्राप्तिकोलागि अनेक जीवन झैं अनेक दर्शन आउँदछन् । ति अनेक दर्शनहरुका राम्रा र उपयुक्त कुराहरूलाई पनि समेटेर यो अमूर्तबोधी दर्शन अघी बढ्दछ ।यसको बारेमा ‘अमूर्तबोधी दर्शन’ को लेखन कुनै दिन हुनेनैछ । यस कुराकानीकालागि साहित्यकार टङ्क सम्बाहाम्फे र लिम्बूवान ब्लग डट कमलाई सबैको मङ्गलताको कामना सहित हार्दिक आभार ब्यक्त गर्दछु । अरु विवरणकोलागि www.khagendrapandhak.com 

No comments: