बि.सं.२०२५ चैत्र ८ गते मेची अञ्चल इलाम जिल्ला अन्तर्गत पशुपतिनगर ४ मा जस बहादुरार्इ र रत्न कला रार्इको कोखबाट जन्मनु भएका प्रखर कवि तथा गीतकार मुकेश रार्इ हाल बेलायत बसोबास गर्नुहुन्छ । हालसालै अनुभूतिका रंगहरु कविता संग्रह प्रकाशन गरेर चर्चामा हुनुहुन्छ । फूटकर कविताहरु छाप्दाछाप्दै अलि ब्यस्तताका कारण अलि ढीलो मात्र कविता संग्रह पाठकहरुको सामु ल्याएका छन्। नेपाली प्रतिभा प्रतिष्ठान बेलायत,इलाम सोसाइटी बेलायतमा आवद्ध हुनुहुन्छ । यस पुस्तक पाश्चात नयाँ गीती एल्वमको तयारीमा जुट्नु भएको छ । पक्कै पनि केहि समयपछि नयाँ र हिट गीतहरु पस्केर हामीलार्इ मनोरञ्जन गराउँनु हुनेछ भन्ने कुरामा आशावादी छौ। उनै प्रतिभाका धनी कवि तथा गीतकार मुकेश रार्इसंग गरेको कुराकानी यहाँहरु समक्ष प्रस्तुत छ । धन्यवाद ।
१.तपार्इले हालसालै मात्र अनुभूतिको रङगहरु कविता संग्रह प्रकाशनमा ल्याउँनु भयो नि उमेर हेरेर त धेरै पछि मात्र प्रकाशन भयो ? कि धेरै अनुभूतिहरु संगालेर मात्र निकाल्नु भएको हो ? उमेरलार्इ हेर्दा त अलि धेरै कृतिहरु निस्कनु पर्ने हो यसमा केहि कारणहरु छन् ?
हो कृति निस्कन केही ढिलो भएको हो ! यसमा पहिले कारण त मेरो आफ्नै कार्य ब्यस्तता र कार्य स्थानान्तर भईरहनु पर्ने अवस्थाले गर्दा नै हो ! तर पनि फुटकर रुपमा विभिन्न पत्र पत्रीकाहरुमा आईरहेकै थियो ! उमेरको परिपक्वता सगैँ अनुभव थुप्रै नै सगाँलियो पातलै रुपमा भए पनि रचनाहरु गर्दै रहेँ प्रथम कृतिको रुपमा कवितासङ्रह अनुभूतिका रङहरु आयो तथापी मैले लेखन तर्फ सिक्ने क्रम जारी छ ! यस् अर्थमा मैले सिक्नु र गर्नु पर्ने धेरै नै छ !
२.अनुभूतिका रङगहरु कविता संग्रहमा खास गरेर कस्ता प्रकारका कविताहरु समेट्नु भएको छ ? कवितामा बढी कस्ता बिम्बहरु बढी प्रयोग गर्नु हुन्छ साथै कवितालार्इ कसरी परीभाषीत गर्न रुचाउँनु हुन्छ ? कविता लेखी सकेपछि कस्तो अनुभूति प्राप्त हुन्छ ?
अनुभूतिका रङहरुमा जीवन भोगाईका क्रममा देखिएका, भेटिएका अनेकानेक विविध कुरोहरु लगायत केही नोष्टाल्जिक, परदेशिनुको पिडानुभूतिहरु बहुआयामिक रुपमा समेट्ने प्रयास गरेकोछु !
प्राय : जसो म आफ्नो रचनाहरु सिर्जना गर्दा सकभर ज्यादै नै सरल अनि सहज शब्द, बिम्ब र प्रतिकहरुलाई प्राथमिकता दिने गर्दछु ! क्लिष्ट बिम्बहरुको प्रयोगले कविता दुर्बोध्य हुन जान्छ यसैले सर्जक, कविता र पाठक बिचको नाता जोडनको निम्ती सहज हुन आवश्यक छ भन्ने मेरो सोच रहेको छ ! भावना जब प्रफुस्टन हुन्छ ति कुनै न कुनै साहित्यका बिधाको रुप लिन्छ, जस्तो रुपमा प्रस्तुत भए पनि ति सार्वजनिक भएपछि सबैले बुझ्न सकोस भन्ने मेरो मान्यता रहेको छ् !
साहित्य सिर्जना कै एउटा विशिष्ट अनि सशक्त बिधा हो कविता ! यसको परिभाषा हरेक विद्वानहरुले आफ्-आफ्नै तरिकाले व्याख्या गरेका छन ! मेरो विचारमा कुनै ब्यक्ति बिशेषले कुनै पनि कुरोलाई आफ्नो कल्पना शक्तिले कलात्मक शैलीमा काब्यीक सिर्जना गर्छन् भने त्यो कविता हो ! मैले लेख्ने कविताहरु संरचनागत रुपमा प्राय अन्य कविहरुले लेख्ने जस्तै लघु या छोटो कविताहरु हुन्छन, लेखन पक्ष चाँही म स्वच्छन्द रुपमा अर्थात कुनै वादमा केन्द्रित नरहेर प्रगतिशिल धारका कविताहरु लेख्न रुचाउँछु !
३.बेलायतमा रहेर पनि बिभिन्न साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । ब्यस्तताको बाबजूद पनि साहित्य लेख्न तम्सिनु हुन्छ । खास गरेर साहित्य लेख्नुको औचित्य के हो ? किन र कस्को लागि लेख्नु हुन्छ ? संघसंस्थामा रहेर कतिको नेपाली समाजलार्इ योगदान पुर्याए जस्तो लाग्छ ?
ब्यस्तताको वावजुद पनि म लेखन र पठन मेरो दैनिकीमा पर्ने एउटा महत्वपूर्ण कार्य हो ! मान्छेमा समयसगैँ परिपक्वता आउँछ अनि उमेरको उचाईँसगैँ सिकाईका क्रम पनि बढ्दै जान्छ ! कति कामले काम सिकाउँछ भने झैं आफ्नो अनुभवले सिकिन्छ भने कति अध्ययन गरेर सिक्न सकिन्छ ! साहित्य सिर्जना गर्नु र संस्थाहरुमा आबद्ध भएर काम गर्नु नितान्तै फरक कुरो हो जस्तो लाग्छ मलाई ! साहित्य लेखिनु भनेको रहर र सस्तो मनोरन्जन मात्रै होईन आफ्नो अनुभवले जानेको ज्ञान र सिप अरुसगँ शेयर गर्नु पनि हो अर्थात लिने दिने प्रकृया पनि हो जस्तो मलाई लाग्छ !
केही संघसस्थाँमा आबद्ध रहेको छु तर आफुले दिनु पर्ने योगदान भन्नाले ब्यक्तिगत रुपमा गरिने सिर्जनाका कार्य एउटा बिषय हो भने सस्थाँगत भनेको सामुहिक रुपमा एक्यबद्ध भएर सस्थाँको विधिवत नियम र लक्ष्य पहिल्याएर गरिने कुरा हुन ! म आबद्ध रहेको साहित्यीक् सस्थाँ भनेको नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ब्रुनाइ अनि अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टर हुन ! जसले कुनै पनि विधाका नव प्रतिभा र उदियमान प्रतिभाहरुलाई उत्साहित गर्ने र उनीहरुको प्रतिभालाई बहिर ल्याउन सघाउ पुर्याउने अनि सम्पूर्ण साहित्यीक विचारका ब्यक्तित्वहरुलाई एकीकृत भएर कार्य गर्न मदत् पुर्याउंछ भने केही अन्य सस्थाहरु जस्तो ईलाम समाज बेलायतमा आबद्ध छु जसले आसक्त, असहाय अनि भवितब्य परेकाहरुलाई सकेसम्म च्यारिटबल कार्य गरेर आर्थिक सहयोग गर्ने कोशीश गर्छ !
आफ्नो क्षेत्रबाट निश्छल भावनाले सहयोग गर्ने हो यसमा यति नै योगदान पुर्याएँ भन्ने सोच मेरोमा कुनै छैन, यति हो कसैलाई मैले गरेको सहयोगले अलिकती मात्रै पनि राहत पुग्छ भने मलाई आत्म-सन्तुष्ट महसुस हुन्छ !
४.साहित्य र आफ्नै परीवार जोडीएको पाउँनु हुन्छ हुन्न ? र साहित्यले के दिए जस्तो र पाए जस्तो लाग्छ ? साथै डायस्पोरा नेपाली साहित्यलार्इ कसरी मुल्याङक गर्नु हुन्छ ?
>साहित्य समाजको दर्पण हो भने परिवार जीवन र समाजको निम्ती अति नै महत्वपूर्ण छ ! यसकारणले साहित्य र परिवार अर्थात जीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको छ ! यसैले म आफ्नो जीवन, परिवार र समाज नै भनौं साहित्यसगँ अति नै नजिक रहेको पाउँछु ! साहित्यले स्वच्छ मनोरन्जन दिन्छ, त्यसपछि अझै गहिरिए चेतना, भाव विचार र अनेक खाले सन्देश पाउन र बुझ्न् सकिन्छ ! अहिले डायस्पोराबाट जन्मिएका नेपाली साहित्य लेखन एउटा कुनै बिन्दुसम्म मात्रै सिमित छैन ! संख्यात्मक अनि गुणात्मक दुवै सशक्त रुपमा आईरहेको अवस्था छ र यसको बिकासक्रम जारी छ !
५.बिदेशमा बसेर नेपाली साहित्य लेखिएको नेपालमा कतिको मुल्याङकन भएको पाउँनु भएको छ ? बिदेशमा नेपाली साहित्यको सेवा गरेर प्राज्ञ हुन पाउँने कि नपाउँने यसमा के भन्नु हुन्छ ? समग्रमा अबको नेपाली साहित्यले कसरी अगाडी बढे राम्रो होला ?
यो एकदमै गहन प्रश्न सोध्नु भयो र जटिल बिषय पनि हो ! बिशेषत जहाँ बसेर लेखिए पनि नेपाली भाषा साहित्य प्रतिको लगाव, राष्ट्र प्रतिको प्रेम अनि समर्पण पनि हो ! भनिन्छ भाषा मर्यो भने अस्तित्व पनि लोप हुन्छ ! हामी आफ्नो थात थालो छोडेर बाध्यतावश बिदेशिएका छौं तर आफ्नो कला संस्कृतिसगैँ भाषाको जगेर्ना गर्नु पनि लागिपरेका छौं ! हामी नेपालीहरु विश्वभर जहाँ जहाँ छरिएर रहेका छौं आफ्-आफ्नै तवर तरिका र पहुँचले भ्याएसम्म प्रतक्ष्य रुपमा नै सिर्जनात्मक कामहरु गरिरहेका छौं !
जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ भनिएता पनि कल्पना शक्ति र भावनामा पुगिएला यो सत्य हो तर यथार्थमा हामी जहाँ जहाँ पुगेका छौं त्यस नौलो स्थान र परिवेशको अनुभवहरु सगाँलेका ब्यक्ति बिशेषबाट नेपाली साहित्यको निम्ती केही न केही सिर्जना हुनु भनेको ज्यादै नै राम्रो अनि गहन कुराहरु हुन तर मेरो विचारमा त्यसको सहि मुल्यांकन भने भईरहेको छ जस्तो मलाई लाग्दैन !
अहिले नेपाल बाहिरका केही साहित्यिक सघंसस्थाहरुले देशसगँ जोड्ने जोडतोड्का साथ प्रयत्न गरिरहेका छन साथै देशका केही विशिष्ट ब्यक्तिवहरुले डायस्पोरिक नेपाली साहित्यलाई पनि उत्तिकै मान्यता दिएर यसका मुल्यांकन हुनुपर्छ भन्ने कुरो उठाईरहनु भएका छन, सहयोगका हातहरु बढाईरहनु भएका छन ! जुन ज्यादै नै सकरात्मक् पक्ष हुन !
जहाँ रहे पनि, जहाँ गए पनि कर्मक्षेत्र पो फरक हुन त हाम्रो पहिचान र राष्ट्रियता त नेपाल र नेपाली नै हुन ! यसकारणले कुनै पनि स्थानबाट साहित्यको निम्ती मात्रै होइन कुनै पनि महत्वपूर्ण क्षेत्रबाट राष्ट्रको शिर उच्चोँ पार्ने सुकार्य गरिएको छ भने सबैलाई उत्तिकै सम्मान गरिनु पर्छ ! स्थान र अन्य कुनै कुराहरुको आधारमा असमान ब्यवहार गरिनु हुन्न, कर्मको आधारमा उचित मान सम्मान र हक अधिकार पाउनु पर्दछ ! अन्त्यमा लिम्बुवान ब्लगमा आफ्नो मनका कुराहरु राख्ने मौका दिनु भएकोमा टंक सम्बाहाम्फे ज्यु लगायत ब्लगका सम्पूर्ण टिममा हार्दिक धन्यवाद ! सम्पूर्ण पाठकवर्गमा सेवा, आसेवारो
No comments:
Post a Comment